साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक भएको छ । शेरचनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन २०८१ जेठ १४ गते साँझ साहित्यकार उषा शेरचनले आफ्नो दोश्रो कथासङ्ग्रह “बेग्लै म” फेसबुक लाइभ मार्फत् आफैले लोकार्पण गरेकी छिन्।
आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् ।
लाइभमा ३५० जना जति फेसबुक फ्रेन्ड र साहित्य अनुरागीहरू जोडिएर उनलाई बधाई दिए। एक घण्टा पाँच मिनेट समयावधिको फेसबुक लाइभमा लाइभ हेर्नेहरूसँग कथाकार शेरचनले भलाकुसारी गरेकी थिइन्।
उनले कथाहरु कोरोना महामारीको समयमा लेखेकी थिइन् । २०३५ सालमै ‘मोदी’ बेनी पत्रिकामा छापिएको कथा ‘लोप’लाई समेत उनले आफ्नो सिर्जना दस्तावेजका रुपमा पछिल्लो कथासङ्ग्रहमा समावेश गरेकी छिन् ।
आफ्नो कथासङ्ग्रह समाज र अरु सिर्जनाभन्दा फरक नभएको जिकिर गर्दै उनले सङ्ग्रहमा भएका केही कथाहरुमार्फत आम मानिसको सोच परिर्वतन आएमा आफ्नो लेखनले सार्थकता पाउने विश्वास राखेकी छिन् ।