गायक खेमराज गुरुङ स्मृति ट्रष्टले यो वर्ष दुई स्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई गायक खेमराज गुरुङ स्मृति सम्मान र प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको हो । प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ राशिसहित आचार्यलाई दिइएको सम्मान उनका छोराहरु सत्यराज र स्वरुपराज आचार्यले ग्रहण गरे।
ट्रष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आचार्यलाई सम्मान गरेको हो । विसं २०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका आचार्यका राष्ट्रिय गीत, बालगीत, आधुनिक गीत, चलचित्रमा पार्श्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगीत र २५ वटा अरुका संगीतका गरेर ४ सय गीत रेकर्ड छन् ।
ट्रष्टले यो वर्षको प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको छ । रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक संगीत सम्मेलन २०५९ मा प्रथम भएका बस्नेतका दर्जनौ गीत लोकप्रिय छन् । उनलाई नगद २० हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको ट्रष्टले जनाएको छ।
गायक खेमराजको निधन २०७३ भदौमा कृष्ण जन्माष्टमीका दिन भएको थियो । उनका ‘वारि जमुना, पारि जमुना,’ ‘आलु तामाले,’ ‘धरानै बजार’ लगायत गीतहरु लोकप्रिय छन् । उनको स्मृति स्थापित ट्रष्टले कृष्ण जन्माष्टमीका दिन पारेर पुरस्कार तथा सम्मानको कार्यक्रम गर्दै आएको छ ।