कथाकार तथा नियात्राकारका रूपमा परिचित स्रष्टा हुन्, इल्या भट्टराई । नेपाली भाषा–साहित्यका सक्रिय लेखिका इल्याको ६ वटा कथा सङ्ग्रह र ५ वटा नियात्रा सङ्ग्रह प्रकाशित छन् । उनको पछिल्लो नियात्रा सङ्ग्रह मिसरलाई धेरैले रुचाइएको छ ।
अध्यापन सेवामा पनि आफूलाई समर्पित तुल्याइसकेकी यिनी नियात्रा र कथा लेखनमा समर्पित हुन पाउँदा खुसी व्यक्त गर्ने गर्छिन् । नेपाल इन्जिनियर श्रीमती समाजकी महासचिवसम्म भइसकेकी यिनले समाजद्वारा प्रकाशित ‘मनको कुरा जस्ताको तस्तै’ स्मारिकाको सम्पादन पनि गरिसकेकी छन् । इल्या वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितका सुपुत्री पनि हुन् । इल्या भट्टराई धेरै पढ्ने साहित्यकारहरुमध्ये पनि पर्छिन् । पढ्न पाउँदा रमाउने उहाँसँग जनमतले पुस्तक र पढ्ने प्रवृत्तिको सेरोफेरोमा रहेर गरेको कुराकानी ।
तस्बिर : पहिलो पोष्टवाट
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
यतिखेर म शून्यको मूल्य पढ्दै छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपाली को माधवी, हिन्दी भाषाको डा. रागेंय राघवको “महायात्रा गाथा”, अंग्रेज़ी भाषाको momoire of a geisha पुस्तक ले मलाई बेसरी तानेको थियो !
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
लेखपढको लागि उपयुक्त समय जतिखेर मलाई फुर्सद हुन्छ म लेख्ने गर्छु ! समय नै तोकेर यति बेला भन्ने छैन ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
साहित्यको शक्तिशाली विधा त कविता नै हो ! यसले थोरै शब्दमा गहिरो प्रभाव पार्न सक्छ ! त्यसपछि कथा र उपन्यास , निबन्ध आदी विधा हुन भन्ने मलाई लाग्छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मैले बाल्यकालमा बेताल, चित्र कथाहरूबाट पढ्न सुरु गरेकी हुँ ! त्यसपछि तोतामैना, गुलबकावली, हातिमताई, शेख चिल्ली, सहस्र रजनी आदि बाल कथा र उपन्यासहरू पढ्न पाएँ ! बाल्यकालदेखि नै बुझे पनि नबुझे पनि मैले हिन्दी, हिन्दी भाषा मा अनुवाद भएका रसियन साहित्य र नेपाली भाषाका साहित्यिक पुस्तकहरू पढेँ ! यसरी बाल्यकालदेखि नै म पढ्नको अम्मली थिएँ !
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
उमेरअनुसार किशोरावस्थामा इब्ने सफीका जासुसी उपन्यासहरू धेरै पढेँ । पिताजीको पुस्तक सङ्ग्रहमा जुन जुन पुस्तक हुन्थे ती सबै पढ्थेँ ! हिन्दी, बङ्गालीका नाम चलेका प्राय सबै लेखकका पुस्तकहरू पढ्ने मौका पाएँ ! कृष्ण चन्दर र मन्टो पिताजीलाई मन पर्ने लेखक थिए, त्यही भएर मैले पनि प्राय उहाँहरूका सबैजसो कृतिहरू पढ्ने मौका पाएँ । र उहाँहरूबाहेक अमृता प्रीतम , आचार्य चतुर सेनका पुस्तकहरू पनि मलाई निकै पढ्न मन लाग्थ्यो ! तीबाहेक हिन्दी भाषामा अनुवाद भएका रुसी भाषाका विभिन्न विश्व प्रसिद्ध लेखकका कृतिहरू पनि निकै नै पढेकी हुँ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
१२/१३ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म त निकै नै पढ्ने गर्थेँ । पछि घर गृहस्थी, सन्तान, कामले पढ्ने गति सुस्त पार्यो ! तर पनि अहिलेको उमेरसम्म पनि दिनको केही भाग मेरो अध्ययनमा बित्छ!
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
धेरै पुस्तक दोहोराएर पढेकी छु ! आफूलाई मन परेको पुस्तक जतिपल्ट पढेँ पनि उत्तिकै आनन्द आउँछ ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
शायद जुन पुस्तक ले मेरो मर्ममा छोएको हुन्छ, जस भित्र मैले आफूलाई पाएकी हुन्छु, जुन पुस्तक पढेर म तृप्त र आनन्दित भएकी हुन्छु की पुस्तकहरू फेरि पढ्दा मैले ती कुराहरू नै पाउँछु । त्यही भएर मलाई ती पुस्तकहरू दोहोर्याई, तेहेराई पढ्न मन लागेको होला !
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
जुन पुस्तकको संवेदनासँग,सोच,विचार र भावनासँग त्यहाँको परिवेशसँग पाठकको संवेदना, सोच, विचार र भावनाको अन्तर घुलन हुन्छ, सके त्यही पुस्तक पाठकले दोहोर्याई, तेहेराई पढ्न खोज्छ !
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
असाध्यै पछ्याउँछ ! “ दी काइट रनर” पढेको यतिका वर्ष भइसक्दा पनि त्यसका पात्रहरू मनमा उपस्थित छन् । विशेष गरी मूल पात्र आमिर ! यस्ता धेरै नबिर्सने पात्र र घटनाहरू छन् !
तपाईँको विचार पढ्नु केका लागि हो ?
खोइ पढ्नु केका लागि भनूँ !! मेरो लागि त यो एउटा अम्मल हो ! आत्म सन्तुष्टि पनि हो । यही पठनबाट नै विभिन्न ज्ञान पाएकी हुँ ! अरूका लागि पनि यस्तै होला ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
हामी किशोरावस्थामा हुँदा “ डेल कार्नेगी” का उपदेशात्मक किताबहरू हामीमाझ एकदम लोकप्रिय थियो ! हामीले तिनका धेरै पुस्तक पढ्यौँ । ती पुस्तकहरूले बानीबेहोरा सुधार्न धेरै मदत गर्यो जस्तो लाग्छ ! मैले कक्षा ९ वा १० मा जवाहर लाल नेहरुले आफ्नी छोरीलाई लेखेका चिठीहरू “ नेहरूज लेटर” भनेर कोर्समा पढेकी थिएँ ! त्यो पुस्तक ले र किशोरावस्था मै पढेका डा. रांगेय राघवको “महायात्रा गाथा “पुस्तकहरूले र आचार्य चतुर सेनको “ वयं रक्षाम “ भन्ने पुस्तकहरूको अध्ययनले नै मेरो आजको व्यक्तित्व निर्माण गरेका हुन भन्ने मलाई लाग्छ !
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
मेरो रुचि र अरूको रुचि मिल्नु पर्छ भन्ने छैन ! आफ्नो रुचि अनुसारको पढ्ने हो ! आफैँले ११ वटा पुस्तक लेखेकी छु ! म मेरै पुस्तकहरू पढ्नु होस भन्छु नि !!
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?.
आफूलाई मन परेका पुस्तकहरू जम्मा गरेकी छु । ४०० पुस्तकहरू मसँग होलान् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो त कति पुस्तक हुन्छन् ! तर अहिलेको बेलामा खोजेको पुस्तक जसरी पनि भेटेकै छु ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
मदन मणि दीक्षित, ताना शर्मा, अमृता प्रीतम, तोल्सतोय, ख़ालिद हुसेन आदि हुन् ! तर उहाँहरू पाँच जनाबाहेक पनि मलाई मन पर्ने लेखकहरू धेरै हुनुहुन्छ !
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
अध्ययन र लेखनबाहेक मलाई गाउन र नाच्न निकै रुचि लाग्छ ! गार्डेनिंग पनि मलाई असाध्यै मन पर्छ !!
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
त्यसो भन्न म अलि सक्दिनँ ! आ-आफ्नो रुचि हो ! मलाई इतिहास र संस्कृति निकै मन पर्ने विषय हुन् । साहित्यबाहेक म यिनै विषयका पुस्तक हरू पढ्न रुचाउँछु ! त्यस्तै सबैले आफ्नो रुचिको विषय पढ्ने हो ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
मेरो कम्प्युटरमा तीन वटा पुस्तक लेखिँदै गरेका छन् ! अधूरा छन् । एउटा त लगभग अन्तिम अवस्थामा छ ! पहिला त्यसलाई सकाउँछु ! अनि बाँकी दुई पुस्तकहरू पनि लेख्ने छु !
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सृजनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । स्रष्टाले नै सृजना गर्छ । स्रष्टा नभै सृजना हुँदैन ! स्रष्टाद्वारा सृजित सृजनाले नै स्रष्टालाई परिचित गराउँछ ! महान् र अमर पनि बनाउन सक्छ। आफ्नो सृजनद्वारा नै स्रष्टाले ख्याति पाउने हो ! यसरी दुवै एक अर्काका लागि अपरिहार्य हुन् !
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
सानैदेखि त मेरो रोल मोडलजस्तो कोही थिएन ! आठ वर्षको उमेरमा एउटा कथा लेखेकी थिएँ । परिवार र आफ्नो छरछिमेकहरूबाट हौसला पनि निकै पाएकी थिएँ । तर त्यो यत्तिकै भयो । उमेर चढ्दै जाँदा खुब पढ्थेँ, तर भविष्यमा म पनि लेख्नेछु भन्ने कल्पनै थिएन ! तरुनी हुँदै जाँदा सुरुमा केही कविताहरू लेखेँ तर त्यो त्यतिकै भयो । विवाहको धेरैपछि मात्र मैले लेखेँ ! त्यसपछि भने मेरो श्रीमानले बाँचुन्जेल मलाई अघि बढ्ने प्रेरणा दिनुभयो ! आज मलाई लेखनमा उहाँले नै स्थापित गराउने गराउनु भएको हो ! मेरो लेखनको मार्गलाई प्रशस्त पार्ने काम उहाँले नै गर्नु भएको हो !