सरुभक्त मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनका पागल बस्ती, तरुनी खेती उपन्यास सर्वाधिक चर्चित छन्। नेपाली साहित्यमा सरुभक्त एउटा यस्तो नाम हो, जसलाई अब परिचयको कुनै आवश्यकता नै पर्दैन । सरुभक्तका कविता, गीत, कथा, नाटक, उपन्यास सबैले राम्रो प्रशंसा पाउने गरेका छन्, सबै निकै चर्चित छन् । साहित्य विधाको खोजी, अनुसन्धान र अध्ययन गर्ने रुचाउने सरुभक्तसँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
यतिखेर म कविशिरोमणि रचना वली भाग – ४ पढ्दै छु ।यसमा लेखनाथ पाैड्यालका नाटक र निबन्ध सङ्कलित छन् ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपाली, अङ्ग्रेजी र हिन्दीका मन पर्ने पुस्तकहरू धेरै छन् ।एउटै किताब सर्वाधिक रूपले मन पर्छ भन्न सक्दिनँ । निःसन्देह महाभारत मलाई सर्वाधिक उत्कृष्ट लाग्ने ग्रन्थ हो जसको तीन वटै भाषामा अनुवाद प्राप्त छन् ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
सबै समय लेखपढका लागि उपयुक्त समय हो तर परिस्थितिजन्य कारणले लेखपढका समय तलमाथि पर्छन् ।विद्यार्थी कालमा दिनको समय घरबाहिर रहने भएकोले राती बढी लेखिन्थ्यो ।आजभोलि बिहान र दिनको समय बढी उपयोग गर्छु तर कार्यक्रमहरूले हस्तक्षेप गरिरहन्छन् ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
साहित्यका सबै विधा उतिकै शक्तिशाली हुन्छन् ।म मुख्य रूपले कविता , नाटक र आख्यानमा बढी सक्रिय भएँ ।दर्शन निबन्ध अन्तर्गत राख्न सकिने भएकोले म त्यस विधामा पनि अनुरक्त छु ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा मैले देखेको र सुनेको पहिलो पुस्तक स्वस्थानी हो ।विद्यालयका पाठ्य पुस्तक बाहेक अन्य पुस्तक हेर्न, पढ्न पाइने वातावरण थिएन ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
स्वस्थानी पछि मैले दर्शन गर्न पाएको दोस्रो पुस्तक महाभारत हो । ९/१० कक्षातिर पुगेपछि मात्र पाठ्यक्रम बाहिरका पुस्तकहरू पढ्ने अभिरुचि जाग्यो । त्यसताका पोखरामा अहिलेको पालिखे चोकमा पालिखेहरूका दुई तीन वटा पुस्तक पसल थिए । ती पसलमा उपलब्ध सबैजसो साहित्यिक पुस्तक किनेर पढियो ।क्याम्पस पुगेपछि अभिरुचिमा अरू वृद्धि भयो ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले क्याम्पस जीवनमा अर्थात् युवा उमेरमा बढी पुस्तक पढेजस्तो लाग्छ ।युवा उमेरमा पढ्ने उत्साह धेरै हुन्छु ।आजभोलि पनि पढिन्छ तर युवा उमेरको जोस र जाँगर अलि हुँदैन ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
धेरैपल्ट दोहोराएर पढेको पुस्तक– महाभारत नै हो ।अरू पनि धेरै धार्मिक, दार्शनिक र साहित्यिक पुस्तकहरू दोहर्याएर पढेको छु ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
कुनै पनि किताब दोहोराएर पढ्नुको कारण तिनमा भएका विराटता , गहनता र जीवन्ततालाई स्पर्श गर्ने उत्कट अभिलाषा हो ।महाभारत जतिपल्ट पढे पनि त्यसमा बुझ्न बाँकी , अनुभूत गर्न बाँकी र सोच्न बाँकी कुरा सकिँदैन ।यही रिपिटेटिङ भ्यालु अर्थात् पुनर्पठन मूल्यले नै सिर्जनाहरू अमर बन्छन् ।
दश वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
दश वटा पुस्तक – लेखक र पाठकहरूले निरन्तर रूपमा पुस्तक पढ्दै जानु पर्छ भन्ने मेरो विचार छ ।कुनै सीमित सङ्ख्यामा पुस्तक पढेपछि वा आफ्नो खोजीको पुस्तक पढेपछि अध्ययनलाई परित्याग गर्नु हुँदैन ।पुस्तकमा समय क्रम अनुरूप नयाँ कला, नयाँ दर्शन र नयाँ भाव संवेदनाका कुराहरू थपिँदै जान्छन् ।तिनलाई नपढ्नु आफैलाई समयभन्दा पछाडि पार्नु हुन्छ ।घाटा पुस्तकलाई लाग्दैन नपढ्ने मानिसलाई नै लाग्छ । यस्ता पुस्तकहरू मध्य महत्त्वपूर्ण दस पुस्तक- १. महाभारत (गीतासहित ) २.इलियड र ओडेस्सी ( संयुक्त रूपमा ) ३.ओरिजन अफ् स्पेसिस् ( चार्लस् डार्बिन ) ४.युद्ध र शान्ति ( लेभ तोल्तोय ) ५.दी लाइफ एन्ड वर्क अफ् सिडमण्ड फ्रोइड (अर्नेष्ट जोन्स ) ६.आइडियाज् एन्ड ओपिनियन्स (अलबर्ट आइन्स्टाइन ) ७.अ ब्रिफ हिस्ट्र अफ् टाइम (स्टेफेन हकिङ )७ हिस्ट्री अफ् वेस्टर्न फिलोसफी (बट्रेन रसेल ) ८ इस्टर्न फिलसफी ( सर्बपल्ली राधाकृष्णन् ) ९.कम्प्लिटस् वर्कस् (विलियम सेक्सपियर ) १०.धम्मपद ( गौतम बुद्ध ) अन्य महान् पुस्तक प्रति क्षमा प्रार्थी छु ।
तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
मसित केही हजार पुस्तक छन् ।नयाँ पुस्तकका लागि स्थानको अभाव भएको अवस्था ।बेलाबेला पुस्तकालय र पाठकहरूलाई पुस्तक दिन पाउँदा रमाउँछु ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
पढ्न चाहेर पढ्न नपाएका, मूल भाषामा पढ्न नसकिएका पुस्तक असङ्ख्य छन् ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
मन परेका स्वदेशी र विदेशी लेखक धेरै छन् ।पाँच- पाँच जनाका नाम लिँदा छैटौँ आदिलाई अन्याय हुन्छ कि ?
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
अध्ययन र लेखन बाहेक मेरो अभिरुचि रङ्गमञ्च, खेलकुद, चलचित्र , भ्रमण आदिमा पनि छन् । बिद्यार्थी कालमा फुटबल , भलिबल, बक्सिङ , दौड, पौडी आदिमा खुब रुचि थियो ।अहिले मेरो खेल – अभिरुचि प्रत्यक्ष रूपमा नाति आदिभ सित खेल्नुमा सीमित छ ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
बाङ्गाटिङ्गा धर्साहरू पछि अहिले म अर्को संस्मरणात्मक पुस्तक लेखन गर्दै छु ।नेपाल मुक्तक प्रतिष्ठान, युकेबाट सरुभक्तका मुक्तक प्रकाशित हुँदै छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जनाको सम्बन्ध हेर्ने कुरा भन्दा अनुभूत गर्ने कुरा हो ।मैले जहिले पनि सिर्जनालाई स्रष्टाको सिर्जनात्मक अहमको अभिव्यक्ति मान्दै आएको छु ।यदि कतै सम्पूर्ण जीव र जगतको स्रष्टा छन् भने अवश्य पनि उनको सिर्जनात्मक अहमको अभिव्यक्त नै हुनुपर्छ यो सम्पूर्ण विराटता जुन कति ज्ञात छन् कति अज्ञात नै ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मलाई कला क्षेत्रमा लाग्ने सर्वप्रथम प्रेरणा मेरा पूजनीय बुबा गणेशबहादुर श्रेष्ठबाट प्राप्त भएको हो ।म बालक छँदा बुबा धार्मिक नाचहरूमा अगुवा भएर नाच्नुहुन्थ्यो ।म उहाँलाई पछ्याई हिड्थें ।