प्रजातन्त्रपछि साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्रको प्रादुर्भाव भयो । एकपल्ट कटिङबाट उब्रेको कागजलाई सदुपयोग गर्दै केही राम्रा बालपुस्तक प्रकाशन गरेपनि पाठ्य पुस्तक बाहेक यसतर्फ जनक शिक्षाबाट कुनै ठोस काम भएन । नेपाली दन्त्यकथाको जुन प्रकाशन बोधबिक्रम अधिकारीले गरे त्यो अत्यन्त प्रसिद्ध भयो र त्यसको कथा एक दर्जनमा आधा दर्जन जति जनजिभ्रोमै झुण्डिने गरी प्रसिद्ध भए ।
बीसको दशक र यसको हाराहारी रमेश बिकल, कृष्णप्रसाद पराजुली, पर्शु प्रधान, कल्पना प्रधानदेखि देवीप्रसाद बनवासीका विभिन्न खाले बालकथा देखा परे ।
कमलप्रकाश शर्माले बालकथा सङ्ग्रह भाग १ र २ २०२२ सालमा ल्याए, केदारमणिको नीति कथा (२०२५) र हितका कथा (२०२६) पुरानो धारमा देखिए । सिर्जनामा कृष्णप्रसाद पराजुलीले सात गेडिका कथाहरु (२०२७), सुनौला तीन कथा (२०२७), चार चङेरी (२०२८), लुकामारी (२०३०), सुनकेस्रा (२०३६) आदि आए । यस लहरमा गौरी रानी प्रधानका सुनेका कथा (२०२९), देवकुमारी थापाको रामको कथा (२०१३) र वरपरबाट (२०३३) देखिए ।
देवीप्रसाद वनवासीको कथाकुथुङ्ग्री (२०२७) र परशु प्रधानको नानीका कथा (२०२८) र थुप्रै उनका कथाका किताप निस्किएको देखिन्छ ।
पासाङ गोपर्माको बुहारी (२०२४), प्रकाश कोविदको हाम्रो कथा भाग १ र २ सन १९७० र ७१ मा नै निस्कियो ।
बदरीनाथ भट्टराईको पौराणिक कथा (२०१८) र अरु केही देखा पर्योे । रमेश विकलले पञ्चतन्त्रका कथाहरु (२०२३) निकाले । उनको थुप्रै बाल तथा किशोर कथाहरु आए ।
नेपालका केही लेखकले फाट्टफुट्ट बालकथामा हात हालेका छन् ।
२०३६ पछिको बालसाहित्य अलि व्यापक हुँदै कथा र चित्रकथाका पुस्तक पनि आउन थाले । चित्रात्मक बालकथाका कितापले कथा क्षेत्रमा नयाँ आयाम थपियो ।
नेपालमै नेपाली बालकथाको मौलिक सिर्जना अलि पछि नै आए र तिनमा स्तर बढ्दै शान्तदास, जनकप्रसाद हुमागाईंका प्रगतिशील धाराका हुँदै प्रेमा शाहसम्ममा थुप्रै कथाहरु रचना भए । विनयकुमार कसजु, कविताराम, गोपाल पराजुली, विजय चालिसे, धुर्व घिमिरे, कपिल लामिछाने, कन्हैया नासननिका बालपुस्तक निकै अगाडि आए । पछिका पिंढीमा कार्तिकेय घिमिरे, अनन्तप्रसाद वाग्ले, सौरभकिरण श्रेष्ठका कथाहरु छन् । विजयराज आचार्य, यशुका कथाहरु प्रसस्त आउँदै रहेका छन् । पछिल्लो समय थुप्रिएका बालकथाहरुको मूल्यांकन गरी त्यसलाई ठोस मोड दिन बाँकी नै रहेको छ । एकप्रकारले बालकथामा बाढी नै आएको महसुस गर्न सकिन्छ र ती सबैको स्तर के कसो छ हेर्न चाहिँ बाँकी नै छ ।
पुराना बालसाहित्य पाठ्य सामग्रीका रुपमा आएका र ती विशुद्ध साहित्यभन्दा शिक्षा र नीतिपरक उपदेशात्मक लेखनकै आधिक्य देखिन्छ । नीतिको पेटारो, भलो कुराको नमूना राममणिले वि.सं. २०१० मा ल्याए । धुर्बको बालकथा (सन १९५७), रुद्रराज पाण्डेको इस्पनीती कथा र बाल रामायण आफ्नो समयका प्रचलित प्रसिद्ध पुस्तक हुन् । ललितजङ सिजापतिको नेपाली ऐतिहासिक कथा सङ्ग्रह (२०१६ साल), बदरीनाथ भट्टराइको कथाहरुले नेपाली जीवनमा राम्रै प्रभाव पारेका हुन् ।
रमेश विकलले बिरानो देशमा (२०१६), अगेनाको डिलमा (२०२३), पञ्चतन्त्रका कथाहरु (२०२३) आदि थुप्रै सँगालो ल्याए । कृष्णप्रसाद पराजुलीको लुकामारी (२०२३), सुनौला तीन कुरा (२०२७), सुन केस्रा (२०३५) आदि कथा सङ्ग्रहहरु निकाले । बालसाहित्यमा देवीप्रसाद बनवासीका कथा कथौरी(२०२७), केही रमाइला कथा (२०४१) आदि छन् ।
महिला लेखिकामा देवकुमारी प्रधानले कथाका बटुलो (२०३७), सुन पखेटी चरी (२०४३) र कल्पना प्रधानको नाममा सानो घोडा (२०२७), रुपैयाँ फल्ने रुख (२०३७) आदि छन् । गौरी प्रधानले सुनेका कथा (२०२९), प्रेमा शाहले जिन्की र जोकर (२०४०), रङ्गिचङ्गी कथाहरु (२०४१) आदि प्रकाशन गरेको पाइन्छ । हिरण्यकुमारी पाठकले श्रीकृष्णको लीला र रज्जुश्रीको दश थुङ्गा फूल (२०३९) आदि उल्लेख्य बालकथाका पुस्तक हुन् ।
फोहर पानी अनुवाद पनि २०४१ मा प्रकाशित भएको हो । जनकप्रसाद हुमागाईंले गुनिला पाँच कथा (२०४१), आमाको माया (२०४३) आदि प्रकाशन गरेका छन् । विश्वम्भर चञ्चलले पञ्चे बाजा (२०३०), बायुपंखी घोडा (२०४६) जस्ता बालपुस्तकहरु ल्याएका छन् ।
परशु प्रधानका नानीका कथा (२०२८), सुनको छाती (२०२८), सुन्नेलाई सुनको माला (२०३०) आदि छन् ।
रामकुमार पाँडेको सुनको माला २०४४ र चरालाई जुत्ता (२०५०), तिलौरे र फुलौरे (२०५१), झिलिमिली (२०७४) जस्ता कथाका पुस्तक छन् ।
बालसाहित्यका क्षेत्रमा तेजिला नामहरुमा बिजय चालिसे, कपिल लामिछने, धुर्ब घिमिरे, सास्वत पराजुली, विनय कसजू बालकथाको क्षेत्रमा उल्लेख्य छन् ।
धुर्ब घिमिरेको चमेरोको चुचो किन बुचो ? (२०५२), सास्वत पराजुलीको हीराको टुक्रा (२०४४), विनय कसजूको वनको दमकल आदि ।
विजयराज आचार्यले चिनिया कथा अनुवाद प्रसिद्ध चिनिया कथा, पञ्चतन्त्रका रमाइला कथाहरु, कन्हैया नासननिको टिन टिन गोल्टिन कथाहरु भिन्न खालका छन् । सुमनराज ताम्राकारले स्वास्थ्य सम्बद्ध कथा ल्याएका छन् ।
बासुदेव मुनालको हराएको हार (२०५४), कबितारामको कमिलाको कथा, अशोकमान सिंहको मैना चरी, मामा हात्ती र फुचे मुसो, न्यौरी मुसो र भ्यागुतो सबै २०७१ मा प्रकाशित भएका हुन् । बालसाहित्यमा विषय बिज्ञहरुबाट पनि राम्रा बालपुस्तक आएका छन् ।
नेपाल बालसाहित्य समाजले विभिन्न लेखकको प्रतिनिधि बालकथाको सँगालो (५० वटा) राखेर २०१० मा अङ्ग्रेजीमा प्रकाशन गरेको छ । यसैगरी नेपालीमा पनि विवेक सिर्जनशील प्रकाशनले ३६ कथाकारहरुको प्रतिनिधि बालकथाहरु २०६६ मा निकालेको छ ।
बालकथाको इतिहास नेपालीमा अच्युतशरण अर्याल (२०४५), प्रमोद प्रधान (२०५७), मुक्तिप्रसाद उपाध्याय (२०१५) र अङ्ग्रेजीमा रामकुमार पाँडेले प्रकाशित गरेका छन् । कथा सम्पादन सिद्धान्तमा २०७२ मा बिबेक सिर्जनशील प्रकाशनले बिनय कसजूको बालकथा सम्पादन निकालेको छ । रामकुमार पाँडेको बालसाहित्य सम्बद्ध केही अनुसन्धान र कथोपचार विधि अङ्ग्रेजीमा प्रकाशित छ ।
कथालय जस्ता प्रकाशनबाट बालसाहित्यका कथा व्यवस्थित रुपमा प्रकाशित हुँदै छन् । अभिप्रायगत कथा लेखनमा विद्यालयमा बालसाहित्य कार्यक्रम २०७४ मा संचालनमा ल्याइ बालसाहित्यका लेखक एवं विद्यार्थीलाई कथा लेखन प्रशिक्षण अभिमुखिकरण कार्यशाला सञ्चालनमा अगाडि आएको छ । यसबाट बाल कथामा अभावग्रस्त क्षेत्रको समस्या समाधानमा सघाउ पुग्ने देखिन्छ । नेपालमा बालसाहित्यको परम्परा समृद्ध छ । यसको भबिष्य उज्वल छ ।
अलि आलोचनात्मक रुपमा भन्नुपर्दा कथामा साधना गरेर गुणात्मक रुपमा उल्लेख्य कथा सिर्जना गर्नुभन्दा संख्या बढाएर संख्यात्मक रुपमा अघि जाने प्रवृत्ति बढी देखा परेको महसुस हुन्छ । एकै खाले कथाहरु निकै सानो विषयवस्तु र वर्णनमा पनि अघि बढ्न अल्छी लाग्ने प्रकारले कोरिएका कथाहरु बजारमा छ्याप्छ्याप्ती आएका छन् । कथामा हुनुपर्ने गुणहरुको अभाव, कथा पढेपछि वा सुनेपछि त्यसलाई पुन सम्झेर सिलसिला मिलाएर भन्न सकिने घतलाग्दा कथाको अभाव यद्यपि अभाव नै रहेको छ । कुनै कुनै ठाउँमा अलि जटिल पाराले र अनावश्यक विवरण र कथामा फूल बुट्टा भरेर मूल कथानकलाई भद्दा पार्ने प्रवृत्तिले यसको सम्पादन फितलो देखिएको पाइन्छ ।
एकोहोरो ढाँचामा लेखिएका नै बढी संख्यामा छन् । विभिन्न समस्यालाई लिएर कमै कथा लेखिएका छन् । केटीहरुका लागि, किशोर बयका लागि र बाल दुराचरणमा त्यति कथा आएका छैनन् । नैतिक ढाँचाका कथा अझै बढी नै छन् । मनोबैज्ञानिक र बैज्ञानिक अत्यल्प छन् । धार्मिक र सामाजिक गाउँले पाराका कथा बढी देखिएका छन भने साहसिक र त्रासदी, भूतप्रेत एबं बुद्धिका कथाहरु कमै छन् । राम्रा राम्रा परिकथाहरु, प्रकृतिका रहस्यमय कथाहरु, बलबान चरित्रका कथाहरु त्यति देखिएका छैनन् ।
आधुनिक कालको विद्यमान सिर्जना विचारात्मक, बौद्धिक, यौनिक, मानवीय विकृति, प्रयोग, यथार्थवादी, विद्रोहात्मक र नयाँ दृष्टिमा रचना हुँदै गरेका छन् । तर विगतका चाहे पौराणिक हुन चाहे आधुनिक नै ती बालकका लागि नभएर बालोपयोगीका बालकथाको इतिहास खोतल्दा यो निकै पछि प्रादुर्भाब भएको देखिन्छ ।
बाल वाङ्मयमा डिकोडेबल र बीग बूकका अवधारणा पनि प्रारम्भ भएका छन् । जापानको जस्तो मंगा संस्कृति सिर्जना बाँकी छ । खामी सिबाइ (चित्र देखाउँदै कथा भन्ने) रुपका कथा पनि बढ्न सकेको छैन । च्याप्टर बूकको पनि अभाव छ । विद्यार्थीबाट लेख लेखाउने र विद्यार्थीसँग लेखकको सह–लेखनका प्रयोग हुँदै गरेका छन् ।
नेपाली बालसाहित्यको सही मूल्यांकन भएको छैन । कृतिको भन्दा ब्यक्तिको मुख हेरेर उल्लेख गर्ने इतिहास र लेखहरुमा नामै मात्र देखिन्छ । देशभित्रका प्रकाशनमा उत्कृष्टता र विश्वमा जान सक्ने नेपाली बालसाहित्यबारे राम्रो विश्लेषण पाइन्न । पुस्तकहरुको परिचयात्मक प्रकाशनहरु छैन । थोरै समयमा धेरै निकाल्ने युवा जगतको मूल्यांकन हुनसकेको छैन । विद्यालयका बालबालिकाले लेखेका कतिपय कथाहरु युवा लेखकका भन्दा स्तरीय पनि देखा परेका छन् ।
बालकथाबाट सद्चरित्र र सफल जीवनका साथै यसको लागि आवश्यक मानवीय गुणको विकास, सौन्दर्य चेतना बृद्धि, प्रकृति प्रेम, सिर्जनशीलता, कल्पनाशीलता, रास्ट्रभक्ति, विश्व समझदारी जस्ता अनेकौ गुणहरु बृद्धि हुन्छ जुन औपचारिक शिक्षाका पाठ्यपुस्तकले मात्र सम्भव छैन । नेपालमा यसको चेतनाबाट पुस्तकालयको पहिलो नियम १८६९ वि.सं. (राजा गीवार्णका समयमा) बनेको र पुस्तक चिताइ तहबिल प्रथम पुस्तकालयका रुपमा आएको थियो । आधुनिक समयमा यसले राम्रो गति लिन सकेको छैन । तर पछि विद्यालयमा पुस्तकालयका लागि केही खर्च गर्ने प्रवृत्तिका साथै बालबालिकालाई बालपुस्तक किनिदिने प्रवृत्ति बढ्दै गएको छ । तर बालक एवं किशोरका लागि आवश्यक खाले पुस्तकहरु पर्याप्त आउन सकेका छैनन । यसका लागि लेखक, प्रकाशक, शिक्षक, अभिभावक र विद्यार्थी समेत सजग रही भविष्यका लागि बालसाहित्य बिकासमा योगदान गर्नु बान्छित छ ।
कथा लेखन
कथा विभिन्न समयमा सिर्जना हुँदै आज आएर यसले धेरै विकास गरेको छ । कथाको समानताले यसलाई इङ्गित गरेको देखिन्छ । रामायणकै कथा पनि देशान्तरमा विविध रहेको पाइन्छ । मुद्रणमा आउन थालेपछि नयाँ नयाँ कथाहरु कथ्ने काम पनि भए । त्यस्ता कथालाई सिर्जनशील कथाको रुपमा लिने गरिन्छ । पुराना कथाहरु एक पिँढीले अर्कोलाई मौखिक रुपमा हस्तान्तरण हुँदै पछि लिखित रुपमा अभिलेखित भएको हो । त्यस्ता दन्त्यकथा र लोक कथाहरुका लेखक वा कल्पनाकारको नाम भेटिन्न । तर ती कथा ज्यादै घतपर्दा र राम्रा भए विश्वमा पनि एक ठाउँबाट अर्को ठाउँमा सर्दै गएको पनि पाइन्छ । कति धैर्यपूर्वक सबै तत्वमा ध्यान पुर्याएर नै कथा कल्पना अघि बढेर नै कथा बन्दछ । सर्वप्रथम विचार बनाउने – के मूल विषय क्षेत्रमा लेख्ने ? कुन उद्देश्य वा अभिप्रायको कथा ? कुनै घटना वर्णन, कुनै व्यक्ति चरित्र स्केच त्यसको आँकलन गर्नु राम्रो । अथवा कुनै विषयले छोयो, कुनै अभिप्रायको लेख्न मन लाग्यो अथवा अरुको प्रभावबाट कथा वस्तु जन्मियो भने त्यसैमा मनमा खेलाउने र लेख्ने निर्णयमा पुग्ने र मसौदा टिपोट गरी क्रमश: त्यसलाई खार्दै लानु उचित हुन्छ ।
सामान्य विन्यास अर्थात् सेटिङ गर्ने । मूल बुँदा, घटना क्रमको टिपोट गर्ने । कसरी सुरु गर्ने ? कस्तो किसिमले अघि बढाउने ? कुन रुपमा चरणमा पुर्याउने ? कसरी अन्त्य गर्ने ? केही रुपरेखा बनाउने ।
चरित्र पात्रलाई मद्दत हुने अरु चरित्र सहायक पात्रहरु खडा गर्ने हो भने कस्तो ? मूल चरित्रका नायकलाई बलियो, प्रसिद्ध र योग्य बनाएर अघि बढ्ने । द्वन्द्वको लागि खल पात्र, परिस्थितिको सिर्जना के कस्तो गर्ने ? खलनायक पनि बलियो बनाएर खुलदुली र रुची जगाउने । पात्र सिर्जनामा उल्लेख्य बनाउने ।
सबैको योजना टिपोट गर्ने र त्यसै अनुसार कथालाई पूर्णता दिन समष्टिमा कस्तो हुन्छ सोच विचार पुर्याउने ।
लेखनारम्भ गर्ने । सकभर एकै बसाइमा सक्ने । लेखनमा प्रभावकारी वार्ता, संवाद, घटना, उपघटना, पात्र, सहायक पात्रकै चित्रण आफै आउने प्रकारले बयान दृश्य चित्र खिच्ने । प्रारम्भ आकर्षक र प्रेरक, सुरुमै टिपेर टिप्पा खेलाउँदै पाठकलाई डोर्याउँदै लाने हुनु राम्रो हुनेछ ।
मध्यमा द्वन्द्व, खुलदुली र अन्त्यमा समस्या समाधान र बादल लागेको चुचुरो खुल्ने हुनुपर्छ ।
लेख्न सकेपछि त्यो मस्यौदा पुनरपठन गर्दै थपघट गरी सुरुचिपूर्ण पार्ने । शैली र सुरताल कत्तिको प्रभावकारी भो ? उपयुक्त भाषा, बोलिचाली वा संवाद, वार्ता पात्र अनुकूल छ कि छैन निक्र्यौल गर्ने । भाषागत संरचना मिलाउने । सबै शब्द, वाक्यांश, वाक्य र पंक्तिको जाँच गर्ने । मूल मस्यौदा तयार भएपछि केही दिन यथावत राखेर मूड फ्रेश भएका बेला आफैले पढ्ने र परिमार्जन गर्ने । पछि साफी गरेर विज्ञसँग सुझाव लिएर आफ्नो रचना राम्रो पार्ने । आफूले फाइनल गरेपछि बालकलाई सुनाउने वा पढ्न दिने र छाप्नका लागि कथालाई अन्तिम सम्पादन गर्ने ।
कथा लेखनमा भाषा शैली सरल र सरस, बाल मनोबिज्ञान अनुकूल, बालकको उमेर, रुची, क्षमता र मानसिक विकास स्तर र पाच्य हुने, बाल स्तर सुहाउँदो विषयमा लेखिनुपर्छ । कथा कल्पनाशील र रोचक, अभिप्रायगत, उद्देश्यमूलक र सन्देशबाहक भए राम्रो मानिन्छ । सकारात्मक सन्देश र चरित्र सुधारात्मक र निर्माणात्मक भावमा प्रवाहित हुनुपर्छ । बाल चरित्र र ब्यक्तित्व निर्माणको लक्ष्य साथ लेखिए नव पीढिको जीवन उज्ज्वल हुने र समाजमा सकारात्मक प्रभाव पारी मान्छेलाई मान्छे बनाउन र जीवन सफल गराउन योगदान पुग्ने छ ।
कसरी लेखिन्छ कथा ?
धैर्यपूर्वक सबै तत्वमा ध्यान पुर्याएर कल्पना अघि बढेर नै कथा बन्दछ । सर्वप्रथम विचार बनाउने – के मूल विषय क्षेत्रमा लेख्ने ? कुन उद्देश्य बा अभिप्रायको कथा ? कुनै घटना वर्णन, कुनै व्यक्ति चरित्र स्केच त्यसको आँकलन गर्नु राम्रो । अथवा कुनै विषयले छोयो, कुनै अभिप्रायको लेख्न मन लाग्यो अथवा अरुको प्रभावबाट कथावस्तु जन्मियो भने त्यसैमा मनमा खेलाउने र लेख्ने निर्णयमा पुग्ने । सामान्य विन्यास अर्थात् सेटिङ गर्ने । मूल बुँदा, घटनाक्रमको टिपोट गर्ने । कसरी सुरु गर्ने ?, कस्तो किसिमले अघि बढाउने ?, कुन रुपमा चरणमा पुर्याउने ?, कसरी अन्त्य गर्ने ? केही रुपरेखा बनाउने । चरित्र पात्रलाई मद्दत हुने अरु चरित्र सहायक पात्रहरु खडा गर्ने हो भने कस्तो ? मूल चरित्रका नायकलाई बलियो, प्रसिद्ध र योग्य बनाएर अघि बढ्ने । द्वन्द्वको लागि खल पात्र, परिस्थितिको सिर्जना के कस्तो गर्ने ? खलनायक पनि बलियो बनाएर खुलदुली र रुचि जगाउने । पात्र सिर्जनामा उल्लेख्य बनाउने । सबैको योजना टिपोट गर्ने र त्यसै अनुसार कथालाई पूर्णता दिन समष्टिमा कस्तो हुन्छ सोच विचार पुर्याउने ।
भाषा–शैली : भाषामा बहाब हुनुपर्छ । बुट्टा भर्ने र चित्रात्मक, प्रतीकात्मक, व्यङ्गात्मक, अनुभूतिजन्य शैली पनि श्रृङ्गारिक गति, अनुभूति, ब्यङ्ग्यात्मक, आँचलिक आदिका रुपमा प्रस्तुत हुन्छ । शैलीमा वर्णनात्मक, व्याख्यानात्मक, आत्मजीवनिपरक, आत्मकथात्मक, यात्रात्मक, संवादात्मक, नाटकीय, दैनिकी, पत्रात्मक शैली, काब्यिक, लोककथीय, स्मृतिजन्य, मनोबैज्ञानिक विवरणात्मक आदि शैली कथामा विषयानुकूल प्रयोग गर्नुपर्छ । आख्यान र आख्यानेतर कथाहरुका आ–आफ्ना शैली र स्वरुप छन् । कथा लेखनमा भाषा शैली सरल र सरस, बाल मनोविज्ञान अनुकूल, बालकको उमेर, रुचि, क्षमता र मानसिक विकास स्तर र पाच्य सुहाउँदो विषयमा लेखिनुपर्छ । कथा कल्पनाशील र रोचक, अभिप्रायगत उद्देश्यमूलक र सन्देशबाहक भए राम्रो मानिन्छ । सकारात्मक सन्देश र चरित्र सुधारात्मक र निर्माणात्मक भावमा प्रबाहित हुनुपर्छ । बाल चरित्र र ब्यक्तित्व निर्माणको लक्ष्य साथ लेखिए नवपिँढीको जीवन उज्ज्वल हुने र समाजमा सकारात्मक प्रभाव पारी मान्छेलाई मान्छे बनाउन र जीवन सफल गराउन योगदान पुग्ने छ ।
कथाका कैयन आयाम छन् । महत्वाकांक्षा, साहस, खोज, स्वतन्त्रता, राम्रो–नराम्रो, न्याय, प्रेम, शक्ति, पूर्वाग्रह, सुरक्षा, आध्यात्मिक र भगवान, बचाउ, जादु, असाधारण, हास्य, यथार्थवादी, काल्पनिक, संगीत, आइटी, विदेशका विविध क्षेत्रमा कथाहरु रचना हुन सक्छ । छल, पलायन, मृत्यु, डर, इष्र्या, हानी, एक्लोपन, मुद्दा, महत्वाकांक्षा धेरै प्रकारका नकारात्मक भावहरुलाई पनि कथामा उतारेर जीवनका अनेकौ पहलुको कथाहरु सिर्जनाबाट जीवनलाई चिनेर मार्ग निर्देश हुन्छ । तर बाल मस्तिष्कलाई आघात नपर्ने प्रकारले विषयको बुनोट अघि बढाइनु जाती हुन्छ ।
कथाको शैली, पारस्पारिक साहित्य, दन्त्यकथा, जीवनी अनेकौ प्रकारले प्रस्तुति हुनसक्छ ।
ग्राफिक उपन्यास, अध्याय पुस्तक, ऐतिहासिक कथा, चित्र कथा, अवधारणा नयाँ नयाँ प्रादुर्भाव भइरहेका छन् ।
अभिप्रायगत लेखन. उद्देश्यगत लेखन आजको आवश्यकता हो । बालपुस्तक थुप्रै छन् । बालकले कुन किताप पढ्ने ? कसको किताप पढ्ने ? कस्तो किताप पढ्ने ? कति किताप पढ्ने ?
यसको उत्तरका लागि बालकको आवश्यकता, रुची, क्षमता र सन्दर्भलाई विचार गर्नुपर्छ । बालकको कमी, कमजोरी हटाएर कुलत छुटाएर, असल, सक्षम र योग्य व्यक्ति बनाउन त्यसलाई लक्षित गरेर लेखिएको चरित्र कथा बढी उपयोगी हुनसक्छ ।
बालकको अवगुण, कुलत र दुराचरण घटाउन र हटाउन तत् तत् विषयलाई लक्षित गरी अभिप्रायगत कथा लेखनबाट चरित्र निर्माणमा सघाउ पुर्याउन सकिन्छ । बालक रिसाहा छ कि ? चकचके छ कि ? ढाँट्ने, झुठो बोल्ने छ कि ? परपीडामा हाँस्ने, परानुभूति नभएको छ कि ? अनुशासनहीन, फोहरी र साँढे प्रवृत्तिको छ कि ? अथवा दौतरीको प्रभाव के छ ? संवेगात्मक स्थिति कस्तो छ ? यस्ता विषयलाई हटाउन बल पुर्याउने कथाहरु बुनेर पठनपाठन भएमा बाल चरित्रलाई प्रभाव पारी असल नागरिक बनाउन सघाउ पुग्छ । निश्चित विषयवस्तुमा नियतपूर्वक वा प्रायोजित रुपमा सुधारको आशय राखेर विषयपरक कथा लेखिदा सम्बद्ध समस्या सम्बोधित हुन्छ । यस अनुसार कथाद्वारा त्यस्ता सामाजिक रोग जस्ता नकारात्मक र विकृत आचरणलाई उपचार गर्ने रुपमा कथोपचार विधि प्रयोगमा ल्याउन सकिन्छ ।
यसअनुसार लेखिएका कथा छान्ने वा नयाँ लेख्ने र बालकको आवश्यकता अनुसार पढ्न सिफारिस गरी पठनपाठन गराउँदा यस उपचारात्मक कार्य गरी बालकलाई सबल, सक्षम र सफल जीवन प्राप्तिमा सघाउ पुग्दछ । यसप्रकार विद्यालयमा बालसाहित्यले जीवन शिक्षा प्रदान गरेर चरित्रवान नागरिक निर्माणमा सघाउ पुग्न सक्दछ । (क्रमश:)