शाश्वत पराजुली आधुनिक ढङ्गले कम उमेरका बालबालिकालाई लक्षित गरेर बालसाहित्य सिर्जना गर्नमा महारथ हासिल गरेका सक्रिय बालसाहित्य सर्जक हुन् । एक सिर्जनशील स्रष्टाका अतिरिक्त एक कुशल सम्पादकको छवि बनाएका शाश्वतले कान्तिपुर ‘कोपिला’ को सम्पादक भएर पनि लामो समय बालोपयोगी कार्य गरेका छन् । स्तरीय बालपत्रिका ‘मेला’ लगायत, रुम टु रीड र रत्न पुस्तक भण्डारका धेरै किताबका सम्पादक शाश्वतले मेला बुक्सको स्थापना र सञ्चालनका माध्यमबाट पनि नेपाली बालसाहित्यलाई ठूलो योगदान गरेका छन् ।
प्रसिद्ध साहित्यकार कृष्णप्रसाद पराजुलीको पारिवारिक बात्सल्यमा हुर्केका शाश्वतलाई मैले सुनकोसी साहित्य प्रतिष्ठानको स्थापना र सञ्चालनका बखत नजिक रहेर सङ्गत गर्ने लामो अवसर पाएको हुँ । हालै नेपाल प्रज्ञा प्रतिष्ठानका लागि नेपाली बालसाहित्यको इतिहास लेखनका क्रममा उनीलगायत बागमती प्रदेशमा जन्मेका बालसाहित्यकारहरुसँग साक्षात्कार गर्ने, खोजीखबरी गर्ने र उनका बारेमा लेख्ने अर्को अवसर जु¥यो । लेखन, प्रकाशन र सम्पादनका तीन कोणबाट बालसाहित्यमा उल्लेखनीय सेवा गर्दै आएका शाश्वत पराजुली अनुकरणीय स्रष्टा हुन् ।
१. बालकथाकार शाश्वत
हीराको टुक्रा शाश्वतको पहिलो बालकथा सङ्यस्ग्रह हो । यसको प्रकाशन २०४४ सालमा भएको हो । हीराको टुक्रामा पाँच कथा सङ्गृहीत छन् । ‘हीराको टुक्रा’, ‘मीठो खानेकुरा’, ‘मकैको रोटी’, ‘परीक्षा’ र ‘तीन उपदेश’ यसभित्रका कथाहरु हुन् । यसमा टेकवीर मुखियाका चित्रहरु रहेका छन् । ‘अनुहारको चित्र’ २०५४ सालमा प्रकाशित भएको हो । अनुहारको चित्रमा ‘अनुहारको चित्र’, ‘ममताको रहर’, ‘पैसाको उपयोग’, ‘मनोहर’ र ‘मिहिनेत’ शीर्षकका कथा रहेका छन् । यसमा सूर्यनारायण श्रेष्ठका चित्र रहेका छन् । ‘लाटोकोसेरोलाई लड्डु’ २०५८ मा प्रकाशित कथासङ्ग्रह हो । यसमा ‘लाटोकोसेरोलाई लड्डु’, ‘आँप चाख्न खोज्दा’, ‘प्ले कार्ड’, ‘तिलको लड्डु’, ‘बाँसबारी जुत्ता’ र ‘फागु’ कथा सङ्गृहीत छन् । यसमा भएका चित्रहरु सुनिल थापाले बनाएका हुन् । यी तीनै किताब रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो ।
२०६४ मा साझा प्रकाशनबाट प्रकाशित सोहन र सर्कस नामक शाश्वतको बालकथासङ्ग्रहमा सङ्गी श्रेष्ठका चित्रहरु रहेका छन् । यस सङ्ग्रहमा बालमस्तिष्कको विकासमा मदत पुग्ने सातवटा छोटामीठा बालकथाहरु रहेका छन् । ‘सोहन र सर्कस’, ‘चराको गीत’, ‘पिन्टु र शङ्ख’, ‘मुना र मोबाइल फोन’, ‘चाँैरी गोठालो’, ‘अमोघको गाउँयात्रा’ र ‘ढुङ्गेधारा’ यसमा भएका बालकथाहरु हुन् ।
शाश्वतका प्रारम्भिक चरणका कथासङ्ग्रहका बारेमा नेपाली बालसाहित्यको इतिहासमा साहित्यकार प्रमोद प्रधान भन्छन्, “लाटोकोसेरोलाई लड्डुमा तथा सोहन र सर्कसमा शाश्वत पराजुलीका कथाहरु साना हुँदाहुँदै पनि गहिरा, सरल हुँदाहुँदै पनि महत्वपूर्ण र मनोरञ्जनपूर्ण हुँदाहुँदै पनि ज्ञानमूलक भएकाले यी सबै बालरुचिअनुकूल हुन पुगेका छन् तथापि ‘हीराको टुक्रा’का कथाहरुभन्दा पछिल्ला सङ्ग्रहका कथाहरु प्रौढ लाग्छन् । हीराको टुक्रा भित्रको ‘परीक्षा’ कथा पौराणिक विषयका आधारमा लेखिएको भए पनि अन्य कथाहरु र पछिल्ला दुवै सङ्ग्रहका कथाहरुले उनको मौलिक कथा सिर्जना गर्ने रुचिलाई प्रस्तुत गरेका छन् । थोरै र बालपात्रपात्रा, स्पष्ट कथानक र सरल प्रस्तुति उनका बालकथाका विशेषता हुन् । उनी पछिल्ला सङ्ग्रहसम्म आइपुग्दा परम्परागत विषयभन्दा अलि बेग्लै खालका कथाहरुको सिर्जनामा रुचि लिन थालेको आभास हुन्छ, यो सुखद कुरा हो । उनको हीराको टुक्रा को २०५८ मा प्रकाशित तेस्रो संस्करणमा भने पूर्वसंस्करणमा रहेको ‘मकैको रोटी’ शीर्षकको कथालाई झिकेर ‘साधुको थाल’ र ‘दिनेश दाइ र दसैँ’ दुई कथा थपिएका छन् ।”
छाता र बर्सादी नामक बालकथा–सङ्ग्रहमा सबैको फरकफरक महत्व र विशेषता हुने गर्छन् भन्ने ज्ञान दिने प्रकारका चारवटा रमाइला कथा सङ्गृहीत छन् । यो बालकथासङ्ग्रह मेला बुक्सबाट २०६४ सालमा प्रकाशित भएको हो । यस किताबमा श्रद्धा श्रेष्ठको दुईरङ्गी चित्र रहेका छन् ।
शाश्वतकै अर्को बालकथासङ्ग्रह गुइँठे र गुलेली मेला बुक्सबाट २०६९ मा प्रकाशित छ । उत्तम नेपालको चित्रसहित यो कथासङ्ग्रहका चारै कथाहरु रमाइला र बालरुचिअनुकूलका छन् । ‘नानीशोभा नर्सरी’, ‘बिनु र रणमत्त महाचील’, ‘माटोसँग मिलेर’ तथा ‘गुइँठे र गुलेली’ यसमा भएका कथाहरु हुन् । यो सङ्ग्रहमा शाश्वतका नयाँ स्वादका कथाहरु पाइन्छन् । बालबालिकाको पठनसीप विकास गर्ने उद्देश्यले यी कथा बुनिएका छन् ।
शाश्वतका बालकथाका बारेमा स्नातकोत्तर तहमा शाश्वत पराजुलीका बालकथा सङ्ग्रहको अध्ययन शीर्षकमा शोध गरेकी गीता गुरुङका अनुसार ‘शाश्वतका बालकथा मनोरञ्जन प्रदान गर्नका साथै व्यावहारिक शिक्षा प्रदान गर्ने खालका छन् । उनका बालकथाहरु बालमनोवैज्ञानिक ढङ्गले प्रस्तुत गरिएको हुँदा उत्कृष्ट बनेका छन् । उनले बालबालिकाको मनोविज्ञानलाई बुझेर आफ्ना कथाहरुमा चित्रहरुको कलात्मक रुपमा संयोजन, भाषाशैलीमा परिष्कार, बालउमेर समूहको ख्याल गर्दै स्तरीय बालकथाहरुको सिर्जना गरेर बालबालिकालाई मनोरञ्जन गराउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् । शाश्वत आफ्ना कथाहरुमा मानवीय र मानवेत्तर पात्रहरुको प्रयोग गरेर बालबालिकालाई मनोरञ्जन गराउनुका साथै बालभावना, इच्छा, चाहना, आवेग, संवेगको कलात्मक रुपमा प्रस्तुत गराएर नवीन सन्देश दिन सफल बालकथाका सर्जक हुन् । त्यसकारण उनको योगदान बालसाहित्य जगत्मा र बालकथासाहित्यमा अतुलनीय रहेको पाइन्छ ।’
२. ‘बालचित्रपुस्तक’का सर्जक शाश्वत
माथि उल्लेख गरिएका कथासङ्ग्रहका अतिरिक्त शाश्वतका चार दर्जनभन्दा बढी बालचित्रकथाका पुस्तक प्रकाशित छन् । बालसाहित्यमा सर्वाधिक रुचाइएको यस विधामा शाश्वतका सिर्जना निकै परिष्कृत र बालरुचिअनुकूल रहेका पाइन्छन् । प्रारम्भिक उमेरका बालबालिकामा पठनसीपको विकास गराउन र उनीहरुमा साहित्यप्रति चासो सिर्जना गर्न उपयोगी यस किसिमका बालचित्रपुस्तक बुन्न शाश्वत निकै सिपालु र सिद्धहस्त देखिन्छन् ।
शाश्वतको पहिलो बालचित्रपुस्तक पुतलीको यात्रा (२०५८) हो । यो बालसंसार, बालसाहित्य प्रवद्र्धन केन्द्रले प्रकाशनमा ल्याएको हो । यसमा एकाराम सिंहका एकरङ्गी चित्रहरु रहेका छन् । रातो बङ्गला, त्रियोगलगायतका विद्यालयका पाठ्यक्रममा समेत समेटिएको यो किताब बारम्बार पुनर्मुद्रण भएको छ । यसमा एउटी पुतलीले गरेको साहसिक यात्राको कथा छ । यात्राका क्रममा आइपर्ने कठिनाइ र यात्राको रमाइलोलाई शाश्वतले निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।
यसपछि २०६० सालमा शाश्वतका एकैपटक छ बालचित्रका पुस्तकहरु रत्नपुस्तक भण्डारबाट प्रकाशित भएको पाइन्छ । राष्ट्रकवि माधव घिमिरेबाट होटेल शङ्करमा सार्वजनिक भएका ती चित्रपुस्तकहरु हुन् ः १. बिचरो बुख्याचा, २. सुरीको साइकल, ३. चुस्के र छुस्के, ४. भकुल्लेको साथी को ?, ५. हिउँ कान्छा र ६. दङ्ग फुरुङ्ग । यस सम्बन्धमा प्राध्यापक डा. धु्रव घिमिरे बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य ग्रन्थमा भन्छन्, “आधा दर्जन चित्रपुस्तकहरु एकै दिन सार्वजनिक हुनुलाई यस दशकको उपलब्धिका रुपमा लिन सकिन्छ । यी पुस्तकहरुले कथालाई पनि चित्रकथाका रुपमा प्रस्तुत गर्न सकिने तथ्यलाई सोदाहरण प्रस्तुत गरेका छन् भन्दा अत्युक्ति हुनेछैन ।”
यीमध्ये बिचरो बुख्याचा शाश्वतको बहुचर्चित र अत्यधिक रुचाइएको चित्रपुस्तक हो । यो चित्रपुस्तक प्रकाशित हुनुपूर्व नै यसले बालसाहित्यको महत्वपूर्ण पुरस्कार पारिजात पाण्डुलिपि पुरस्कार–२०५९ प्राप्त गरेको थियो । यसमा सुजन चित्रकारका सुन्दर चित्रहरु रहेका छन् । बिचरो बुख्याचामा एक निर्जीव पात्रको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । पात्रसँगै खुसी हुन र बालकका मनमा पात्रप्रति सहानुभूति सिर्जना गराउन यो चित्रकथा सफल देखिन्छ । शाश्वतले उत्कृष्ट शैलीमा यसको कथा बुनेका छन् । यो किताब बालरुचिअनुकूल पठन अभ्यासलाई रमाइलो र सहज बनाउने उद्देश्यका साथ पनि प्रकाशित भएको छ । बालबालिकाको यो किताबप्रतिको रुचिलाई बुझेरै हुनुपर्छ, २०७८ मा बिचरो बुख्याचा नयाँ, आकर्षक र बालमैत्री कलेवरमा मेला बुक्सबाट परिमार्जित स्वरुपमा पुनप्र्रकाशन भएको पाइन्छ । यसपटक भने यसमा सुमन महर्जनले आकर्षक चित्रहरु बनाएका छन् ।
‘सुरीको साइकल’ पुरानो घरको भरेङमुनि बस्ने बिरालोको कथा हो । उसलाई मान्छेले जस्तै साइकल चढ्न मन लाग्छ । ऊ कल्पनामा साइकल चढ्छ र रमाउँछ, तर यथार्थ अर्कै हुन्छ । बालबालिकालाई कथाका माध्यमबाट कल्पनाको संसारमा विचरण गराउन यो चित्रकथा सक्षम छ । बालबालिकाले रुचाएकैले हुनुपर्छ, यसका थुप्रै संस्करण निस्केका छन् । यो पुस्तकमा चित्र सुजन चित्रकारले बनाएका हुन् ।
चुस्के र छुस्के शाश्वतको अर्को बालचित्रपुस्तक हो । यो कृति बालबालिकाको रचनात्मक क्षमताको उन्नयनका अपेक्षामा लोककथालाई बान्की मिलाएर पुनर्कथन गरिएको बालकृति हो । यस किताबका चित्रहरु प्रसिद्ध कलाकार केके कर्माचार्यले बनाएका हुन् ।
‘भकुल्लेको साथी को हो ?’ साथी नभेटेर चङ्गा उडाउन नपाएको एउटा फोहोरी सुँगुरको कथा हो । आफ्नो सफाइ आफैँ नगर्नेलाई कसैले रुचाउँदैन । पछि भने फोहोरी सुँगुर साथीको मदतले सफा हुन्छ र सबै उसलाई साथी बनाउन राजी हुन्छन् । बालबालिकालाई सफा हुन प्रेरित गर्ने यो एउटा सुन्दर चित्रकथाको पुस्तक हो । यसमा चित्रहरु उज्ज्वलकुन्दन ज्यापूले बनाएका हुन् ।
शाश्वतको वेबपृष्ठ shaswat.com.np का अनुसार हिउँकान्छा हिउँचितुवाको कथा हो । चितुवा सानै छ । उसले बाहिरको संसार देखेकै छैन । ऊ आफ्नी आमासँग हिमालको फेदीमा रहेको एउटा गुफामा बस्छ । आमा सिकार खोज्न बाहिर जान्छिन् । सानो चितुवालाई पनि बाहिर जाने मन त छ तर ऊ सानै भएकाले आमाले लाँदिनन् । एक दिन ऊ भागेर बाहिर निस्कन्छ । बाहिर उसले अनेक बाधा–व्यवधानहरु झेल्नुपर्छ । यात्रा त रोमाञ्चक हुन्छ तर उसलाई थुप्रै समस्या आइपर्छन् । अन्तमा उसलाई आमाले भेटेर गुफामा ल्याउँछिन् । यो पुस्तकमा फरक वातावरणमा एउटा बालकले गर्ने अनुभूतिका झिल्कालाई प्रस्तुत गर्ने कोशिस गरिएको छ।’ किताबमा चित्र शान्ता हिताङले बनाएका हुन् ।
‘दङ्ग फुरुङ्ग’ पनि जनावर पात्रकै कथा हो । यस चित्रकथामा मुसाका एक जोडी बालबालिकालाई रमाइलो संसारमा विचरण गराउँछन् । मुसाहरु खानेकुरा खोजीमा भौँतारिन्छन् । खानेकुरा भेट्दा दङ्ग फुरुङ्ग पर्छन् तर खान नपाउँदा जिल्ल पर्छन् । अन्तमा भने उनीहरु थुप्रै खानेकुरा भेट्छन् र खुसी मनाउँछन् । ‘दङ्ग फुरुङ्ग’ साना बालबालिकाहरुको पठनसीप विकास गर्नका लागि रमाइलोसँग बुनिएको कथा हो । यस चित्रपुस्तकका चित्रहरु सुजन चित्रकारले बनाएका हुन् ।
शाश्वतका धेरै चित्रपुस्तक रुम टु रीडबाट प्रकाशित भएका पाइन्छन् । शाश्वत लामो समय उक्त संस्थासँग सम्बद्ध पनि रहेका हुन् । उक्त संस्थाबाट सबैभन्दा पहिले सन् २००३ मा प्रकाशित पुस्तक शाश्वतकै गोपीको टोपी हो । यो चित्रपुस्तकमा कवितात्मक शैलीमा नेपालमा प्रयोग हुने थरीथरीका टोपीहरुलाई चिनाइएको छ । “एउटै कवितालाई पुस्तकाकार रुप दिइएको गोपीको टोपी पुस्तकमा उनले उमेर, नाता, धर्म, पेसा, पद, मौसम, परिवेश, ठाउँ, इतिहास, भूगोल, संस्कृतिका आधारमा मानिसले अलग–अलग टोपी लगाउने गरेको प्रसङ्ग जोड्दै गोपी नामक बालपात्रले नेपाली ढाका टोपी लगाउने रहर गरेको कुरा उल्लेख गरिएको छ र ढाका टोपीमा नेपाली राष्ट्रियता झल्किने कुरालाई कविले अघि सारेका छन् ।” (रमेशचन्द्र घिमिरे, कवि शाश्वत पराजुलीका प्रतिनिधि बालकविताको विश्लेषण)
यस चित्रपुस्तकका चित्रहरु प्रसिद्ध चित्रकार टेकवीर मुखियाले बनाएका हुन् । गोपीको टोपी रुम टु रीडका प्रकाशनहरुमध्ये निकै लोकप्रिय किताब भएको सर्वेक्षणले बताएको छ ।
रुम टु रीडबाटै सन् २००३ मा शाश्वतको सिँहपता मैजु र अरु कथाहरु प्रकाशित भएको देखिन्छ । यसमा ‘मेरै जीवन सुखी’, ‘सिँहपता मैजु’ र ‘छट्टु स्याल’ गरी तीन चित्रकथा प्रकाशित÷सङ्गृहीत छन् । यी तीनैवटा लोककथाहरु हुन् । शाश्वतले मीठो शैली र सरल भाषामा यिनलाई पुनर्कथन गरेका हुन् । सिँहपता मैजु र अरु कथाहरुमा पनि चित्र टेकवीर मुखियाकै रहेको छ ।
म आफैं गर्न सक्छु शाश्वतद्वारा लिखित र रुम टु रीडबाट प्रकाशित अर्को चित्रपुस्तक हो । पुस्तकमा चित्रको सट्टा वास्तविक तस्बिरको प्रयोग गरिएको छ । तस्बिरहरु छायाचित्रकार राजभाइ सुवालले खिचेका हुन् । यसमा आफूजस्तै बालबालिका विभिन्न क्रियाकलापमा सरिक हुँदा बालपाठकहरु रमाइलो मान्छन् । साहित्यकार प्रमोद प्रधानका अनुसार यस पुस्तकले बालबालिकालाई सानातिना हल्का कामहरु आफैँ गर्नुपर्छ भन्ने शिक्षा र उत्प्रेरणा दुवै दिन्छ ।
सन् २०१२ मा मेला बुक्सको संयोजनमा रुम टु रीडबाट शाश्वतको लेकमा के के छ ?चित्रकथाको पुस्तक प्रकाशित भएको पाइन्छ । यस चित्रपुस्तकका चित्र कीर्तिकौशल जोशीले बनाएका हुन् । एक बालक पासाङ नाम गरेका लेकका दाइसँग कवितात्मक संवाद सुरु गर्छन् । लेकमा के के छ ? किताबमा कुनै एक बालपात्रले हिमाली भेकका एक जना बासिन्दासँग हिमाली भूभागमा पाइने कुराको बारेमा जिज्ञासा राखेपछि उनले उक्त बालकलाई हिमालमा बाह्रै महिना पर्ने हिउँ, चौँरी गाई, डाँफे चरी, जीउभरि ऊन भएका भेडा, सानासाना थुम्का र गुम्बाहरु, भारी बोक्ने खच्चड, पर्वतारोही, राताराता गाला भएका बाबुनानीलगायतका सबै कुराको बारेमा जानकारी गराएका छन् ।” (रमेशचन्द्र घिमिरे, कवि शाश्वत पराजुलीका प्रतिनिधि बालकविताको विश्लेषण) ।
चित्रकथाको ठूलो स्वरुप ठूलो–किताब ९द्यष्न द्यययप० पनि हो । फुर्वा र साइकल शाश्वतद्वारा लिखित चित्रकथाको ठूलो–पुस्तक हो । ठूलो आकारमा प्रकाशित यस्ता किताबहरु प्रारम्भिक तहका बालबालिकालाई वर्ण चिनारी गराउँदै उनीहरुको पठन प्रवाहको सीप विकासमा प्रयोग गरिन्छ । फुर्वा र साइकलमा एउटा बालकले आफ्ना बाबुसँग नसोधी बाबुको साइकल चढ्दा आइपरेको समस्यालाई कथामा बुनिएको छ । कथाको अन्त्यमा भने फुर्वा र उनका बाबु दुवै खुसी हुन्छन् । यस किताबको चित्र राजुबाबु शाक्य ‘सारब’ले बनाएका हुन् । यसलाई रुम टु रीडले २०७० सालमा प्रकाशित गरेको हो । यसै गरी शाश्वतको चित्रकथाको अर्को ठूलो–पुस्तक तलमाथि पनि २०७० सालमा रुम टु रीडबाटै प्रकाशित भएको पाइन्छ । यो किताब तल र माथिको अवधारणा चिनाउने उद्देश्यले कम उमेर समूहका बालबालिकालाई लक्षित गरेर प्रकाशित गरिएको हो । यस किताबका चित्रहरु दीपक गौतमले तयार गरेका हुन् ।
चस्मै चस्मा सन् २०१४ मा रुम टु रीडबाट प्रकाशित शाश्वतको रमाइलो र उपयोगी चित्रकथाको किताब हो । शाश्वतको वेबपृष्ठ कजबकधबत।अयm।लउ मा उल्लेख गरिएको छ, “यसमा एउटा कक्षाका विद्यार्थीहरुले गरेको सिर्जनात्मक क्रियाकलापको प्रसङ्ग छ । सधैँ चस्मा हराइरहने शिक्षकलाई विद्यार्थी प्रतीकात्मक रुपमा कागजको चस्मा उपहार दिन्छन् । उनीहरुले बनाएका चस्माका आकार पनि विभिन्न किसिमका हुन्छन् । यस किताबले गोलो, तीनकुने, बाटुलोजस्ता आकारका अवधारणालाई पनि परिचित गराउने कोसिस गरेको छ ।” चस्मै चस्मा चित्रपुस्तकका चित्रहरु बन्दना तुलाचनले बनाएकी हुन् ।
हजुरआमाको कथा शाश्वत पराजुलीको अर्को रुचाइएको चित्रपुस्तक हो । सधैँ कथा भन्ने हजुरआमा एक दिन नबोल्दा बालकले जनाएको प्रतिक्रियासँगै कथानक अघि बढेको छ । हजुरआमा किन नबोल्नुभएको हो भन्ने कुतूहलता मेटिएपछि बालकको बालसुलभ अभिव्यक्ति प्रकट हुँदा कथामा हास्यपुट थपिन्छ र रोचक अन्त्य हुन्छ । रुम टु रीडबाट २०७१ मा प्रकाशित यस पुस्तकका सुन्दर चित्रहरु बन्दना तुलाचनले बनाएकी हुन् ।
रुम टु रीडबाटै २०७१ सालमा शाश्वतको अर्को चित्रकथाको पुस्तक मीठो नमीठो प्रकाशित भएको पाइन्छ । यसमा घरको खाना नमीठो भन्दै बजारिया खानेकुरा खोज्न हिँडेकी मनीषा नाम गरेकी बालिकाको कथा छ । भोजनभन्दा भोक मीठो हुने सन्देश पनि यस चित्रकथाले प्रपाहित गरेको छ । यस पुस्तकको चित्र प्रज्ज्वल थापा मगरले तयार गरेका हुन् ।
बालसाहित्यमा नाम चलेको प्रकाशन गृह कथालयबाट शाश्वतका चित्रकथाहरु प्रकाशित भएका छन् । कथालयका प्रकाशनहरुमध्ये सबैभन्दा बढी लोकप्रिय किताबको सूचीमा रहेको मह बेच्ने भालु शाश्वतको चित्रकथा–लेखनको अर्को कोसेढुङ्गा हो । बालबालिकाले निकै रुचाएको मह बेच्ने भालु नेपाली, अङ्ग्रेजी, नेपाली भाषा र मैथिली गरी चार भाषामा प्रकाशित भएको पाइन्छ । एउटा सानो भालुले मह बेच्न हिँड्दा घटेका घटनाहरु साथै उसले पाएका उपहार अन्त्यमा निकै उपलब्धिमूलक भएको कुरालाई यस चित्रकथामा कुशलपूर्वक संयोजन गरिएको छ ।
यो किताब कथावाचनका लागिसमेत एक नमुना पुस्तक हो । यस चित्रकथामा प्रशस्त संवाद रहेका छन् । शब्दावलीहरुको आवृृत्तिले यस चित्रकथाको कथावाचनमा एउटा छुट्टै मिठास भरिन्छ । कथालयका प्रकाशक राजीवधर जोशी पनि कथावाचनमा सबैभन्दा बढी प्रयोग भएको चित्रकथा मह बेच्ने भालु भएको स्वीकार्छन् । यस चित्रकथाका चित्रहरु समित श्रेष्ठले तयार गरेका हुन् । मह बेच्ने भालु किताबले नेपाल बालसाहित्य समाजबाट ‘उत्कृष्ट बालपुस्तक पुरस्कार’ प्राप्त गरेको छ ।
कथालयबाट प्रकाशित शाश्वतको अर्को चित्रकथाको पुस्तक हो, मेरो भोटो खै ? । यस पुस्तकमा एउटा बालकले आफ्नो भोटो खोज्दै जाँदा पाठकलाई विभिन्न आकार र रङका अवधारणालाई पनि परिचित गराउँछ । अन्त्यमा बालकले भोटो त भेट्छ तर त्यो भोटो प्रयोग गर्न नमिल्ने हुन्छ । कथामा बालसुलभ जिज्ञासा, चञ्चलता र आमाको सहयोगी भावनालाई उजागर गरिएको छ । यस चित्रकथाका चित्रहरु समित श्रेष्ठले तयार गरेका हुन् ।
(क्रमशः)