जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

नर्मदेश्वरी सत्याल नर्मदेश्वरी सत्याल
प्रकाशित २७ कार्तिक २०८१, मंगलवार
बाल साहित्य भित्र
0
घर परिवारभित्र बालसाहित्य


घर’ र ‘परिवार’ शब्द एकअर्कामा अन्तरनिहित भएर रहेका छन् । यी दुई शब्दको सान्दर्भिकतालाई छुट्याउने सम्भावना रहन्न । ‘घर’ भन्नाले मानिसका लागि जन्मदेखि मृत्युसम्म प्रत्यक्ष रुपमा सरोकार राख्ने विषय हो । विभिन्न कोणबाट घर अपरिहार्य हुने हुँदा मानिसको जन्म, कर्म र मृत्युको दोसाँधमा उत्तिकै महत्वपूर्ण रहन्छ । यसका साथै एकाघरमा रहने मानिसहरु जो सँगै खानपिन गर्छन् । तिनीहरु नै परिवार हुन् ।

नेपाली प्रज्ञा बृहत् शब्दकोशमा ‘परिवार’ शब्दको अर्थ यसरी दिइएको छ । परिवार : १. एउटै भान्सामा खाने घरका मानिसहरुको समूह; जहान । २. कुनै संस्था वा सम्पन्न व्यक्तिका आश्रममा रहने मानिसहरुको समूह; आश्रित जन; परिजन । ३. नातादार र कुटुम्ब आदिको समूह । ४. रगत, वीर्य, नाता, घर, अनुकुलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह, ५. सजातीय व्यक्तिहरुको समूह; वर्ग । वर्ग : को अर्थ समान दृष्टिका जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुनेहरुको समूह; दल; श्रेणी; दर्जा; विभाग भनिएको छ । यसरी परिवार शब्दको अर्थलाई आधार मान्दा सारमा मानिस एक्लै हुँदैन भन्ने निष्कर्षमा पुगिन्छ । यसैकारण मानिसलाई सामाजिक प्राणी भनिएको हो ।परिवार भनेको मानिसका लागि जीवनको आधार हो । भनिन्छ; ‘घरको जग दरो भए पो राम्रो हुन्छ ।’ हुन पनि हो । यसो भएर नै आफ्नो पारिवारिक सञ्जाल दरिलो छ भने उसलाई कसैले हेप्न सक्तैन । असल परिवारका व्यक्ति हर कुरामा सजग रहन्छन् अर्थात् पूर्व सचेतनाका पाठ सिकाइन्छ । फलस्वरुप कुलतमा फस्ने र कुसंस्कार बोक्ने सभ्भावना कमभन्दा कम रहन्छ । पारिवारिक गठबन्धन दरिलो हुनका लागि अभिभावक विवेकशील र व्यावहारिक हुनुपर्छ । विवेकी अभिभावकले आफ्ना पारिवारिक सदस्यलाई जीवनको सही गोरेटो छान्न सहयोग पुर्‍याउँछ र उचित सल्लाह प्रदान गर्दछ ।

अभिभावक नै गैरजिम्मेवार भएको परिवार छ भने कुनै न कुनै बेला विशृङ्खलित हुनपुग्ने सम्भावना रहनसक्छ । वास्तविकतामा उभिएर परिवार भनेको राष्ट्रकै समानार्थी रुप हो । जहाँ परिवार सञ्चालनका लागि आन्तरिक र बाह्य नीतिनियमहरु बनाइएको हुन्छ । घरपरिवार बालबालिकाका लागि पहिलो पाठशाला हो । जहाँ अभिभावक प्रधानाध्यापकका रुपमा रहन्छन् भने पारिवारिक सदस्यहरु शिक्षकका रुपमा रहन्छन् । यसर्थ हरेक बालबालिकाको भाषिक सीप घरभित्रबाटै सुरु हुन्छ । भाषाका चार सीप सुनाइ+बोलाइ+पढाइ+लेखाइ सीपको विकास विद्यार्थीरुपी बालबालिकाले पहिलो विद्यालयबाटै क्रमश: प्राप्त गर्दै रहन्छन् । थप बालसाहित्यको चरणगत सिकाइ सिपको प्रयोगले उनीहरुमा मेहनती, सिर्जनशील र उत्प्रेरित हुन महत्व्वपूर्ण भूमिका निर्वाह गर्दछ बच्चाहरुले जन्मिनासाथ थाङ्नामा गुटमुट्याउँदाको न्यानो अनुभव गर्छन् ।

प्राय: एक महिना पुग्दानपुग्दै आमाको अनुहार देखेर आँखा जुधाउँछन् आमाको काखको न्यानो मेसो पाउँछन् किनभने रुँदारुँदैका बच्चाबच्ची आमाले काखमा च्यापेपछि चुप लाग्छन् । झन्डै ६ महिना पुग्दानपुग्दै त हाउभाउसहित आ, उ, हु गर्दै बोलीचालीको भाषा सुरु गर्छन् । उनीहरुको छेउमा बसेर कसैले बोलाउन वा कुरा गर्न थालियो भने क्वारक्वार्ती हेर्दै खुसी भएर बुझेझैँ गरी आवाज निकाल्न थाल्छन् । नचिनेको व्यक्ति भए रुन खोज्छन् । वर्षको हुँदानहुँदै मामा, बाबा, पापा, आमा, दादा, चाचाजस्ता शब्दहरु सुन्ने, बोल्ने र बुझ्ने गर्छन् । तीन वर्षको उमेर पुग्दानपुगदै त केही शब्दका छोटा वाक्यहरु नै बोल्न थाल्छन् । अधिकांश बालबालिकामा यी प्रक्रिया स्वाभाविक मानिन्छ ।

केही बालबालिकामा भने विभिन्न कारणले गर्दा सुनाइ र बोलाइ सीपको विकास हुन समय लाग्ने समस्या पनि देखिन्छ । यसो हुनु भनेको चाहिँ अस्वाभाविक अवस्था हो । अस्वभाविक अवस्थाका बालबालिकालाई स्वाभाविक अवस्थामा ल्याउन पनि आमालगायत परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बोलाइ सीपको विकासका लागि सुनाइ सीपको विकास हुन आवश्यक छ । यसर्थ बालबालिकालाई झर्को नमानी एउटै शब्द वा कुरालाई पटक पटक भनिदिने गर्नुपर्छ । यसका साथै सिकाइलाई व्यावहारिक बनाउन पनि परिवारबाटै प्रयास गरिएको हुन्छ । बालबालिकाले पारिवारिक वातावरणमा हाँस्ने, खेल्ने, ताली बजाउने, नमस्कार गर्ने, खाने, आफ्ना सामान तोकिएको ठाउँमा राख्ने र झिक्ने, फोहोर टुङ्गामा फाल्ने, खाएका भाँडा माझ्ने, ठाउँमा राख्ने, आफ्ना कपडा चिन्ने र एक ठाउँमा राख्ने जस्ता कामहरु खुसी हुँदै गर्छन् । यसले गर्दा परिवारले बालबालिकासँग जति घुलमिल गर्न सक्यो उति बालबालिका जिम्मेवार र सक्रिय हुँदै जान्छन् ।

बालसाहित्यको परिचय र उपादेयता
सर्वप्रथम त बालसाहित्यको परिचय दिनुअघि बालबालिकाको परिचय दिनु सान्दर्भिक हुन्छ । विशेषत बालबालिका भनी ०–१८ वर्षसम्मको अवधिलाई मानिएको पाइन्छ । यसभित्र पनि ०–२ वर्ष (दूधमुखे अवस्था), २–४ वर्ष (शैशवावस्था), ४–७ वर्ष (पूर्ववाल्यावस्था), ७–१० वर्ष (बाल्यावस्था), १०–१२/१३ (उत्तरवाल्यावस्था), १३–१८ वर्ष किशोरावस्था भनी वर्गीकरण गरेको पाइन्छ । यस आधारमा धेरै देशमा १८ वर्ष उमेर समूहकालाई बालबालिका भनिएको पाइन्छ । अङ्ग्रेजी भाषामा टिन एज भनी १९ वर्षसम्मकालाई सम्बोधन गरिएकाले कसैकसैले १९ वर्षसम्मका उमेर समूहलाई बालबालिका भन्ने गरेको पनि पाइन्छ । यिनै उमेरजन्य बालबालिकासँग सम्बन्धित भएर प्रौढ व्यक्ति वा बालबालिकाद्वारा लेखिएको साहित्यलाई बालसाहित्य भनी परिभाषित गरिएको छ । सर्वप्रथम बालसाहित्यको प्रयोगको प्रारम्भ घरपरिवारभित्रबाट सुरु हुन्छ । बालबालिकाले आमाका मुखबाट लल्लोरी, निदरी, कोक्रे गीत निदरी गीत), खेलगीत ……… आदि शिशुगीतहरु लगायत एकादेशबाट सुरु गरिएका दन्त्य कथा/लोककथाहरु आमाबुबा, हजुरबाआमा लगायत परिवारका अन्य सदस्यहरुबाट भन्ने र सुनाउने गरिन्छ । घर बालबालिकाका लागि पहिलो विद्यालय हो भने परिवारका सदस्यहरु शिक्षक हुन् र स्वयम् बालबालिका विद्यार्थी हुन् । यसर्थ हरेक बालबालिकाको भाषिक र व्यावहारिक सीप घरपरिवारबाटै सुरु भएको हुन्छ । घर परिवारभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लोक बालसाहित्यले प्राथमिकता पाएको देखिन्छ । बालसाहित्यको परिभाषाका सन्दर्भमा विभिन्न बालसाहित्यकारहरुले विभिन्न कोणबाट परिभाषित गरे पनि सारमा एकै भाव देखिन्छ । यस सन्दर्भमा कसजू भन्छन् –‘बालसाहित्यका माध्यमबाट बालबालिकाले मनोरञ्जनका साथै काल्पनिक शक्तिको अभिवृद्धि, कलात्मक आत्माभिव्यक्तिको सीप, सिर्जनशील सोच, व्यवहारपटुताजस्ता जीवनोपयोगी सक्षमता प्राप्त गर्छन् / कसजू; २०७४ : २४) ।


जुन साहित्यले बालबालिकाहरुलाई हँसाउँदै रमाउँदै, नचाउँदै र सिकाउँदै वास्तविक संसारको ज्ञान दिलाउन सक्दछ त्यो नै बालसाहित्य हो । पराजुली; २०६८ : २०) ।
बालसाहित्य यही नै हो भनी यसको सटिक परिभाषा गर्न कठिन भएको छ । त्यसैले बालबालिकाले रुचिका साथ जे पढ्छन् त्यो नै बालसाहित्य हो । यस्ता पुस्तकहरुमा प्राय: बालआख्यानात्मक पुस्तकका अतिरिक्त आख्यानरहित तथ्यपुस्तक, लयात्मक बालकविता, नाटक आदि पर्दछन् । यीबाहेक कमिक्स, चुट्किला, कार्टुन पुस्तकमात्र नभई आदिदेखि अन्त्यसम्म पढ्न नपर्ने शब्दकोश, बालविश्वकोश र अन्य बालोपयोगी सान्दर्भिक लेख्य सामग्रीहरु पनि बालसाहित्यभित्रै पर्दछन् । (विकिपिडिया चिल्डे«न्स लिट्रेचर, वेब) ।
प्रस्तुत बालसाहित्यका परिभाषालाई मूल्याङ्कन गर्दा बालबालिकाका लागि बालसाहित्यको उपादेयता अत्यन्त जीवनमुखी देखिन्छ । बालसाहित्यको उपादेयताका सम्बन्धमा व्यक्त गर्नुपर्दा पठन संस्कृतिको विकास, मनोरञ्जन, ज्ञानको प्रवद्र्धन, चेतनास्तर वृद्धि, उत्पन्न जिज्ञासाहरुको समाधान, भाषिक सीपको विकास, सिर्जनशीलता, व्यावहारिक रुपान्तरण, सत्चरित्रप्रति आकर्षण, लोकसंस्कृतिको रुपान्तरण र हस्तान्तरण, कुसंस्कारको त्याग र सुसंस्कारको पालना, राष्ट्रियता, प्रकृति प्रेम, आत्मविश्वास र स्वावलम्बन, कारुणिकता, समानताको भाव मानवतावादी दृष्टिकोण, उत्प्रेरणा, सूचना प्रवाह, सहयोगी भावना, विविधताभित्रको एकता र सौन्दर्य, कलात्मक सीप, बालव्यक्तित्वको विकास आदि रहेका छन् । यसरी कच्चा माटोरुपी बालबालिकालाई योग्य नागरिक बनाउने सन्दर्भमा अन्य विषयहरुका तुलनामा बालसाहित्य अन्यन्त प्रभावकारी देखिएको छ ।

पारिवारिक वातावरण र बालसाहित्य
पारिवारिक वातावरण अनुकूल बनाउन बालबालिकालाई खानपिन, खेलकुद, मनोरञ्जन, मायाममताका साथै सिकाइ सीप अभिवृद्धिका लागि बालपुस्तकहरु सङ्कलन र व्यवस्थापन गरिदिनुपर्ने हुन्छ । बालबालिकाको पठनका लागि सङ्कलित पुस्तकहरु राखिने ठाउँलाई बाल पुस्तकालय भन्न सकिन्छ चाहे कोठाभरि पुस्तक राखियोस् वा एउटै दराजको एक खण्डमा किन नहोस् चाहेका बेला सट्ट झिक्न, राख्न र पढ्न सकिने व्यवस्था भएमा पुस्तकालयको व्यवस्थापन भएको मान्नुपर्छ । पुस्तक+आलय संस्कृत भाषाका दुई शब्द मिलेर पुस्तकालय शब्दको व्युत्पादन भएको छ । जसले नेपाली भाषामा पुस्तकको घर भन्ने जनाउँछ । तर पनि घरै चाहिन्छ भन्ने अर्थ होइन । परिस्थितिअनुसार अनुकूलित अवस्थालाई मध्यनजर गरी घरको एउटा कुनामा उपलब्ध सामग्रीको दराज बनाएर एक खण्डमा मात्रै भए पनि बालपुस्तकहरु राखेर पुस्तकालय व्यवस्थापन गर्न सकिन्छ । जुन अभिभावकले बालसाहित्यको महत्व बुझेर बालबालिकाका लागि बालसाहित्यका पुस्तकहरु किनेर, खोजेर, मागेर ल्याई पढ्न उत्प्रेरित गर्छन् यो नै पठन सीपका लागि महत्व्वपूर्ण र बौद्धिक कुरा हुन्छ । जुन अभिभावकले बालसाहित्यका सामग्रीप्रति वेवास्ता गर्दै बालबालिकालाई पाठ्यपुस्तक मात्र पढ्न निर्देश गर्छन् तिनीहरुले बालबालिकालाई सिर्जनशील बनाउने बाटो बिराएका हुन्छन् । वर्तमान सन्दर्भमा परिवर्तित समयसँगै प्रविधिको रहरलाग्दो विकासले ‘ई–बुक्स’ को अवधारणा पनि भिœयाएको छ । जमाना कहाँबाट कहाँ पुगिसकेको छ । हामी भने पठनपाठनका लागि विद्यालय र पाठ्यपुस्तकको मात्र भरपर्ने गर्दैछौँ । यो अवस्थालाई मनन गरी हरेक परिवारले जहाँ बसिन्छ त्यही उक्त प्रविधिसँग समाहित गराई बालबालिकालाई भरपुर प्रयोग गराउन पनि सकिन्छ । सिकाइप्रति विवेकपूर्ण ढङ्गले समयमै चनाखो भएर उपलब्धता हासिल गराउन सकियो भने बालबालिकालाई आवश्यकीय सीपबाट बञ्चित हुनुपर्ने अवस्था रहन्न । वर्तमान परिपे्रक्ष्यमा ई–बुक्सका अतिरिक्त अप्टिकल डिक्स डिभिडी, सिडी आदि), ई रिसोर्सेस आदि प्रविधिमैत्री सामग्रीहरुको सङ्कलन र व्यवस्थापनतिर पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

परिवारले चाहेमा र जिम्मेवारी बोध गरेमा बालबालिकालाई थोरै समयमा पनि धेरै उपलब्धिमूलक सिपहरु सिकाउन सकिन्छ । बालबालिकालाई चारित्रिक र योग्य बनाउन परिवारको अनुपम भूमिका रहन्छ । यसका लागि पारिवारिक सदस्यका बिच एकात्मक, सहयोगी र मेलमिलापको भावना अपरिहार्य रहन्छ । जुन परिवारमा पारिवारिक वातावरण शान्त र सौम्य हुन्छ त्यो परिवारका बालबालिकालाई समय व्यवस्थापन गर्न सहज हुन्छ । परिवार सुदृढ हुनु भनेको समाज सुदृढ हुनु हो । समाज सुदृढ भएपछि विद्यालय सुदृढ हुने हो अर्थात् विद्यालय सुदृढ भएपछि समाज सुदृढ हुने हो । तब पो योग्य नागरिक उत्पादन गर्न सकिन्छ । जहिले पनि पारिवारिक अनमेल नै सिकाइ उपलब्धिका लागि चुनौतीको विषय बनेको छ । प्राय: अभिभावकहरु विद्यालय सुदृढ होस् बालबालिकाहरु जेहेन्दार हुन् भन्ने चाहन्छन् तर घरपरिवार सुदृढ बनाउने कुराप्रति चाहिँ खासै वास्ता गर्दैनन् । घरपरिवार र विद्यालयको सिप सिकाइसम्बन्धी कुरालाई अन्तरसम्बन्धित बनाएर लान सकेमा बालबालिकाले सजिलोसँग नयाँ कुरा सिक्न सक्छन् ।

बालसाहित्य सिर्जनशील हुने भएकाले यसको अध्ययन गर्ने बालबालिकाहरु स्वभावैले सिर्जनशील हुन्छन् । बालसाहित्यको पठनले बोलाइमा नम्रता गराइमा परिपक्वता, जिज्ञासु, सहनशील, धैर्यवान्, जिम्मेवारीबोध र नेतृत्वदायी सीप आर्जनका लागि सहयोगी भूमिका निर्वाह गर्ने कुरालाई नकार्न मिल्दैन ।

पठन संस्कृतिमा बालसाहित्यको महत्व
पठन संस्कृति भनेको पढ्ने बानी हो । पठन संस्कृति भन्नासाथ विशेष गरी विद्यालयमा गएर पढ्ने बानी र पढाइने वातावरण सम्झिनुपर्छ । बालबालिकालाई पठन संस्कृतिको विकास उपयुक्त वातावरण भएमा जहाँ र जहिले पनि प्राप्त गर्न सक्छ । उनीहरुका लागि अभिभावकले उपयुक्त पठन सामग्रीको बन्दोबस्त भने मिलाइदिनु पर्ने हुन्छ । पठन सामग्री भन्नाले बालबालिकाका हितका लागि स्तरअनुकूलका लेख्य पठन सामग्री भन्ने जानकारी हुन्छ । यी सामग्रीहरु जीवनोपयोगी जुनसुकै विषयका हुन सक्छन् ।

अधिकांश बालबालिकाहरुको समय घरपरिवारभित्रै बित्दछ । धेरैले सावाँ अक्षर पनि परिवारमै फट्कार्न थाल्दछन् । सहरीकरणको सुविधा र बाबुआमाको व्यस्तताका कारण बालबालिकालाई शिशु अवस्थादेखि नै बेबीकियर र प्लेग्रुपमा पुर्‍याउने प्रचलनको सुरुवात नेपालमा पनि भएको छ । सिकाइका क्रममा सावाँ अक्षर फुटाउन थालेपछि बालबालिकाहरु कनीकुथी पढ्न उत्सुक देखिन्छन् । हो; यस्तै बेलादेखि नै अभिभावकले उनीहरुको उत्साही भावनालाई पक्रिंदै पठन संस्कृतितिर मोड्न सकिन्छ । जब उनीहरु खरखर्ती पढ्न सक्ने हुन्छन् र जिज्ञासाको ओइरो लाग्न थाल्छ तब उनीहरुलाई गुरुबा गुरुआमाको आवश्यकता महसुस हुँदै जान्छ । यसर्थ घररुपी विद्यालयका गुरुबा गुरुआमाले पनि विद्यालयमा जस्तै समय तालिका मिलाएर सिकाउने गर्नुपर्दछ । बालबालिकालाई सिकाउनुपर्छ भन्ने जिम्मेवारी बोध भएमा घरायसी कामको बाँडफाँड मिलाएर पारिवारिक सदस्यहरुले पालैपालो मनोरञ्जनसँगै पढाउन सकिन्छ । मानिस भएका नाताले आफ्नो परिवारलाई कसरी सञ्चालन गर्दा सहज र उपयुक्त हुन्छ भन्ने कुराबारे सुनेर, देखेर, भोगेर, सिकेर, भनेको मानेर पूर्वसतर्कताका साथ काम गर्न अभिभावक तयारी हुनुपर्छ । नत्र त ‘मियोबिनाको दाइँ’ भनेझैँ पारिवारिक अवस्था लथालिङ्ग हुने सम्भावना रहन्छ ।

पठन संस्कृतिको विकासका लागि कक्षाव्यवस्थापन गरिनु जत्तिको महत्व्वपूर्ण हुन्छ । बालबालिकाका लागि पारिवारिक व्यवस्थापन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । कक्षा व्यवस्थापन यस अर्थमा भनिएको हो; जहाँ कुन विषय पढाउने जिम्मेवारी पाइएको छ ? कसरी पढाउँदा प्रभावकारी शिक्षण गर्न सकिन्छ ? विद्यार्थीले के चाहेका छन् ? सोको विचार गरी शैक्षिक सामग्रीहरु पनि जुटाउनुपर्ने हुन्छ । यसै गरी चाहेमा र आवश्यक परेमा घरपरिवारभित्र पनि सहजढङ्गले वातावरण उपलब्ध गराउन सकिन्छ । प्राय: आमाहरुले जस्तोसुकै अभावमा पनि सन्तानको भावना बुझी अन्य कुराहरुको सिकाइसँगै बालसाहित्यका विधागत रुपहरु जानेर वा नजानेर प्रयोग गर्ने गर्छन् नै । यसअन्तर्गत अर्ति, आनीबानी, नियमको पालना, सुझाव, सन्देश, सूचना, सतर्कता, आँट, धैर्य, आत्मनिर्भरता, मित्रता आदिबारे विशेष चासो राखेको पाइन्छ । व्यावहारिक सीप आर्जनका लागि बालबालिकालाई बालसाहित्यको पठनमा उत्प्रेरित गरिन्छ । बालसाहित्यका माध्यमबाट आफ्ना बालबालिकालाई फुल्याउनुपर्दा, खुवाउँदा, सुताउँदा, हिँडाउँदा, खेलाउँदा, फुक्र्याउँदा नाच्न लगाउँदा आदि परिस्थितिजन्य अवस्थामा लोकगीत, लोककविता, लोककथा, लोकगाथा, लोकनाटक आदि भन्ने परम्परा विश्वमै पाइन्छ । यस्ता क्रियाकलापहरु सुनाइ र बोलाइ पठनसीपका पूर्वाधार मानिन्छन् । परिवारभित्र बालबालिकाले सुनेका कुराहरु सजिलै पढ्न सक्ने वातावरण सिर्जना हुँदा फुर्की फुर्की पढ्ने गर्छन् । यसरी हेर्दा प्रभावकारी पढाइका लागि बालसाहित्य निकै फलदायी हुन्छ । यसैले बालसाहित्य बालबालिकाको परम् मित्रका रुपमा साबित भएको हो ।

बालबालिका विद्यालयमा पढ्न जाने अवस्थाका भएपछि पनि उनीहरुलाई विद्यालयमा हुने गरेको पाठ्यक्रम निर्देशित सिकाइले मात्र पुग्दैन । बालबालिकाको सिकाइका क्रममा घरपरिवार र विद्यालय जुनसुकै अवस्थामा एकअर्काका पुरक हुन् । सिकारुको सिकाइ प्रक्रियामा सरलता र सहजता ल्याउन बालसाहित्यको प्रयोग प्रभावकारी मानिएको छ । बालबालिकालाई विद्यालयमा सिकाइने पठन सीपको विकाससँगै घरपरिवारले पनि पठनसीपको थप विकासका लागि बालसाहित्यप्रति रुचि जगाउन प्रयत्न गरिरहनु पर्दछ । यस कार्यका लागि उमेर र स्तर सुहाउँदा बालसाहित्यिक कृतिहरुको व्यवस्थापन घरपरिवारभित्र गरिनु बाञ्छनीय देखिन्छ । बालबालिकाको पठन सिपको द्रुततर विकासका लागि बालसाहित्यिक कृतिहरुको व्यवस्थापन गरी दिनुपर्छ भन्दै गर्दा सबैखाले परिवारको आर्थिक अवस्था एकै हुन्न भन्ने कुराप्रति पनि ध्यान पुर्‍याउनुपर्दछ । परिवारमा आर्थिक अवस्था कमजोर हुनु एउटा कुरा हो । यसमा पनि मन कमजोर हुनु अर्कै कुरा हो । पारिवारिक सदस्यहरु मिलेर काम गरेमा धेरै कुरा सम्पन्न गर्न सकिन्छ । परिवारमा अरु कोही भएनन् र दम्पत्ति मात्र छन् भने पनि सन्तानका लागि दुवै मिलेर काम गर्ने वातावरण सिर्जना गरेमा उनीहरुको सिकाइमा बाधा उत्पन्न हुँदैन । यसमा पनि एकै मात्र जीवित भइएछ भने पनि अरुसँग मिलेर हुन्छ कि, एक्लै सामना गर्नुपर्ने हुन्छ कि, बालबालिकाको सिकाइका निम्ति समय छुट्याउनैपर्छ ।

अभिभावक, शिक्षक, बालबालिका र बालसाहित्यको अन्तरसम्बन्ध
बालबालिकाको पठन संस्कृति सिकाइका सन्दर्भमा अभिभावक, शिक्षक, बालबालिका र बालसाहित्य अन्तरसम्बन्धित रहेका हुन्छन् । यी चारमध्ये एकको मात्र फितलो अवस्था रह्यो भने सिकाइ सीप कमजोर बन्न सक्ने सम्भावना रहन्छ । यसका साथै हर कुराको सिकाइ सीप अभिवृद्धिका लागि पठन संस्कृतिको विकास हुनु आवश्यक छ । पठन सीपको पूर्वाधारका रुपमा भने पहिलो विद्यालयको उल्लेख्य भूमिका रहेको हुन्छ । पठनपाठनको व्यवस्थापनका लागि पहिलो विद्यालयको प्रधानाध्यापकका रुपमा अभिभावक रहन्छन् । ‘अभिभावक’ भन्नाले प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार –
१. बाबुआमा वा संरक्षक । २. छात्रछात्राको जिम्मा लिने वा जिम्मेवारी वहन गर्ने । ३. जित्ने; पराजय गर्ने । ४. पालनपोषण गर्ने; रेददेख गर्ने; संरक्षक । ५. वशमा पार्ने । भनी प्रस्तुत गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने जुनसुकै अवस्थामा पनि अभिभावक परिवारको सर्वेसर्वा भएर रहेको हुन्छ । अभिभावक हुनेहरुले प्राय: जस्ताखाले आचारसंहिता बनाउँछन्, सबैले पालना गर्नुपर्ने हुन्छ । यसर्थ आफ्नो परिवारभित्रका बालबालिकालाई कस्तो वातावरण दिएर हुर्काउँदा चाहेजस्तो बनाउन सकिन्छ भन्नेबारे चिन्तन मनन गर्नैपर्छ । पढाइका सन्दर्भमा शिक्षकको उल्लेख्य भूमिका रहन्छ । शिक्षक भनेको शिक्षा दिने व्यक्ति हो । तसर्थ उसले जस्तोसुकै परिस्थितिमा रहनुपरे पनि बालबालिकाको जिम्मा दिएपछि सिकाउन सक्नुपर्छ । विगतमा हाम्रा पूर्खाहरुले जङ्गलमा रहेको ऋषि आश्रममा विद्या आर्जनका लागि पठाउने गरेको इतिहास छ । जहाँसुकै पनि सिकाइका लागि शिक्षक अनिवार्य मानिन्छ । प्रज्ञा नेपाली शब्दकोशमा ‘शिक्षक’ शब्दको अर्थ यसरी दिइएको छ :

शिक्षक : शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर । शिक्षा लिने र दिने ठाउँ भन्नाले हाम्रा प्रचलित विद्यालय हुन् भन्ने ठानिन्छ । विद्यालयमा प्रधानाध्यापक लगायत शिक्षकहरु हुन्छन् । विद्यालयमा जसरी सिकाइका लागि व्यवस्थापन गरिन्छ त्यसरी नै घररुपी विद्यालयमा अभिभावक प्रधानाध्यापकका रुपमा रहन्छन् भने पारिवारिक सदस्यहरु शिक्षकका रुपमा रहन्छन् । सिकाइलाई अझ सिर्जनात्मक बनाउन बालसाहित्यले भरपर्दो किसिमले सहयोगी भूमिका निर्वाह गर्छ भन्ने कुराको जानकारी घरपरिवारभित्र पनि हुनु आवश्यक छ । जब अभिभावकले सिकाइका लागि बालसाहित्य प्रभावकारी हुन्छ भन्ने कुराप्रति जानकारी र विश्वास राख्छन् तब उनीहरुले किनेर, खोजेर, मागेर जेजसरी भए पनि बालपुस्तकहरुको तर्जुमा गरिदिँदै बालबालिकालाई पढ्न अभिप्रेरित गर्छन् । यसर्थ सिकाइसँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय वा अन्य सङ्घसंस्थाहरुले समय मिलाई अभिभावक भेला गराएर बालसाहित्यको औचित्यबारे प्रकाश पार्ने खालका कार्यक्रमहरुको आयोजना गर्नुपर्छ ।

वास्तवमा प्रभावकारी सिकाइका लागि पहिलो विद्यालय होस् कि दोस्रो विद्यालय होस् अभिभावक, शिक्षक, बालबालिका र बालसाहित्य एकआपसमा अन्तरसम्बन्धित रहेर गाँसिएका हुन्छन् । यो कुरा शिक्षक हुनेवालाले गहिरोसँग नबुझेसम्म बालबालिका र बालसाहित्य मात्र भनेर लक्षित उद्देश्य हासिल गर्न सकिँदैन । यसबारेमा वरिष्ठ बालसाहित्यकार शान्तदासको भनाइ सान्दर्भिक ठहर्छ । उनी भन्छन् – … “यसरी हामी निराश भएर हुँदै होइन आशावादी नै भएर नयाँ पुस्तालाई हुर्काइरहेका शिक्षक बनौँ । यसलाई यसरी पनि भन्न सकिन्छ, हामी मन र काम दुवै किसिमले लागौँ । हामीमध्येका केही, साथीहरु राम्ररी तालिम प्राप्त हुनुहुन्छ तर आफ्नो काममा उहाँहरु भित्री मनले लाग्नुहुन्न भने उहाँहरुका सेवा निरसका सेवा, उहाँहरुको बोली निष्प्राण बोली हुने छन् ।”
– शान्तदास, २०७३ : २–३

शान्तदासले शिक्षक साथीहरुसँग पत्रात्मक शैलीमा छलफल गर्ने सन्दर्भमा शिक्षकहरुलाई झकझक्याउँदै शिक्षक र सिकाइ सीपसम्बन्धी ३७ ओटा महत्वपूर्ण कुराहरु उल्लेख गरेको देखिन्छ । यी कुराको पठनपश्चात् शिक्षकहरुले आफ्नो पेसागत जिम्मेवारी र दायित्वबोधबारे अवश्य चिन्तनमनन गर्छन् भन्ने विश्वास गर्न सकिन्छ । यी महत्वपूर्ण कुराहरुको जानकारी पहिलो विद्यालयका जिम्मेवार व्यक्तिहरुलाई पनि जानकारी गराउन सकिन्छ । सिकाइका लागि जहाँ भए पनि तरिका एकै हो; ठाउँ मात्र फरक !

उपसंहार
बालबालिकाको सिकाइका क्रममा भाषिक सीप पहिलो सीप हो । यसका लागि घर आधारभूत विद्यालय हो भने पारिवारिक सदस्य शिक्षक हुन् । भाषिक सीप प्राप्तिका लागि सिकाइका चार चरणभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यो प्रवेशका लागि सुरुमा आमा नै जिम्मेवार भएकाले तयार हुन्छिन् । यसैले आमा कक्षा शिक्षकका रुपमा रहन्छिन् । प्रतिकुल परिस्थिति उत्पन्न भई आमा नहुँदाको अवस्था आइलागेमा जसले बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ ऊबाट स्वभावैले भाषिक सीपका चरणबद्ध श्रृङ्खलामा प्रवेश गराइन्छ । सुरुमा अधिकांश बच्चाले आमाबाट सुनाइ सीप आर्जन गर्छ । क्रमश: उसले बोलाइ सीपमा प्रवेश गर्छ । सुनाइ र बोलाइ सीपको थप अभ्यासका लागि पारिवारिक सदस्यहरु पनि जिम्मेवार हुन्छन् र तयार रहन्छन् । पढाइ र लेखाइ सीप भने आमालगायत अन्यबाट पनि सिकाउन र अभ्यास गराउन सकिन्छ बालबालिकाको भाषिक सीप आर्जनका लागि पुस्तक झन् असल मित्र हो । बालपुस्तकमा बाल उपयोगी विषयवस्तुका माध्यमबाट असल विचार, भावना, ज्ञान, सीप, शब्दभण्डार, वाक्यगठन सन्देश, प्रेरणा, उत्साह आदिका साथै जीवनोपयोगी विविध कुराहरु प्रस्तुत गरिएको हुन्छ । अभिभावकले आफ्ना बालबालिकाका लागि घरमा कुनै ठाउँ प्रयोग गरी बालपुस्तकहरुको पठनको व्यवस्था मिलाउन सकिन्छ । समयको अन्तरालसँगै बालबालिकाको रुचि, आवश्यकता, विषयवस्तु र वातावरण पनि बदलिँदै जान्छ । यस कुरालाई मध्यनजर गरेर समयोचित हुने खालका बालपुस्तकहरु किन्ने, खोज्ने र उपयुक्त किसिमले व्यवस्थापन गरी समय मिलाएर बालबालिकालाई पढ्न उत्प्रेरित गर्ने जिम्मेवारी र दायित्व बोध हरेक अभिभावकमा हुनुपर्छ । वर्तमानकालीन परिवेशमा अधिकांश अभिभावकमा हुनुपर्छ । वर्तमानकालीन परिवेशमा अधिकांश अभिभावकहरुको अस्तव्यस्त परिस्थितिले गर्दा बालबालिकालाई समय दिई हेरचाह गर्न र सिकाउन कठिनाइ उत्पन्न भएको देखिन्छ । तर पनि, जीवनको सर्वोच्च काम भनेकै आफ्ना सन्तानलाई सक्षम बनाउनु हो । यसर्थ व्यवहारमा हात हालेपछि परिवारभित्र मिलेर काम गर्ने बानी बसाल्नैपर्छ । परिवारमा मिलेर काम गर्दा आफ्ना बालबालिकाको सिकाइका लागि आलोपालो गरी समय उभार्न सकिन्छ । कतिपय सचेत परिवारले बालबालिकाका लागि मिलेर समय छुट्याउने गरेका पनि छन् ।
सिकाइका क्रममा बालसाहित्यसम्बन्धी विविध कुराहरु भन्ने र सुन्ने परम्पराको सुरुवात घरपरिवारभित्रैबाट भएको हो । बालबालिकालाई उमेर र स्तर मिल्दो बालसाहित्यिक कृतिहरुको पठनले सिर्जनशील बनाउन भरपुर सहयोग पुर्‍याउँछ । मनोरञ्जनसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनको सही गोरेटो पहिल्याउन बालबालिकालाई बालसाहित्यले दृश्यात्मक वा अदृश्यात्मक रुपम निर्देश गरिरहेको हुन्छ । यसर्थ अभिभावकले बालबालिकाको पठन क्षमता अभिवृद्धिका लागि पारिवारिक वातावरण अनुकूलित बनाउन प्रयास गरेमा सहज किसिमले सिकाइ गर्न सकिन्छ । यसैले अभिभावक गतिलो हुनुपर्छ भनिएको हो ।
सक्षम र कर्तव्यनिष्ठ परिवारका बालबालिका हर कुराबाट सुरक्षित र सामथ्र्यवान् हुन्छन् । उनीहरुका लागि घरायसी वातावरण ठुलो कुरा हो । मानिसका लागि घर पहिलो विद्यालय हो । यहाँ प्रयोग गरिएको लोकबालसाहित्यले पठन संस्कृतिका लागि बालसाहित्यतिर आकर्षण बढाउन उत्प्रेरित गर्दछ । फलस्वरुप बालसाहित्यले पठन संस्कृतिको विकास गराउँछ । पठन संस्कृति भनेको पढ्ने बानीको विकास भएकाले लक्षित उद्देश्य प्राप्तिका लागि पठन सीप अनिवार्य तत्व हो । पठन सीप अभिवृद्धिका लागि अभिभावक, शिक्षक, बालबालिका र बालसाहित्यको अन्तरसम्बन्ध रहन्छ । यी चारै कुराको संयोजनकारी भूमिका पहिलो विद्यालयका रुपमा रहेको घरपरिवारभित्र प्रत्यक्ष रुपमा मूल्याङ्कन गर्न सकिन्छ । स्वभावैले दुवै विद्यालयका वातावरण र शिक्षण प्रभावकारी भए बालबालिका असल र योग्य हुन्छन् । यदि नभएमा उनीहरुको सिकाइ प्रक्रियामा अवरोध उत्पन्न भई बालबालिका स्वभावैले बरालिने डर हुन्छ । यसर्थ बालबालिकासँग सम्बन्धित पारिवारिक सरोकारवाला व्यक्तिहरुले सर्वप्रथम चनाखो भएर पारिवारिक सञ्जाल अनुक्रलित बनाउन सक्दो प्रयास गर्नुपर्छ । परिवार भनेको बालबालिकाको सिकाइको पूर्वाधार हो ।
सन्दर्भ सूची
१. कसजू, विनयकुमार २०७४), नेपाली बालसाहित्य, प्रज्ञा बालसाहित्य विवेचना, काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
२. खनाल, मधुविलास २०७१), विद्यालयमा मनोवैज्ञानिक शिक्षा, ………. ।
३. घिमिरे, धु्रवकुमार २०७४), बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य, काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
४. पराजुली, रञ्जुश्री २०६८), नेपाली बालसाहित्यको नालीबेली, काठमाडौँ, विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
५. पोखरेल, केशवराज २०७३), बालसाहित्यको परिचय र प्रवृत्ति, हिमाली गुराँस ।
६. प्रधान, प्रमोद २०६९), नेपाली बालसाहित्यको इतिहास, तेस्रो सं., काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
७. प्रज्ञा, नेपाली शब्दकोश २०७९), काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
८. लामिछाने, कपिलदेव २०७४), बालसाहित्य र लोकसाहित्यको अन्तरसम्बन्ध, प्रज्ञा बालसाहित्य विवेचना, काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
९. वाग्ले, मनप्रसाद र अन्य २०५७), शिक्षाका आधारहरु, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
१०. विकिपिडिया चिल्ड्रेन्स लिटरेचर, क्क्जततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रअजष्मिचभलर स् द्दठछ ष्तिभचबतगचभ।
११. सत्याल, नर्मदेश्वरी २०७९), कक्षा शिक्षणमा बालसाहित्यको महत्व झुवानी चितवन बालसाहित्य गोष्ठीमा प्रस्तुत कार्यपत्र, नेपाल बालसाहित्य समाज ।
१२. स्पन्दन, जयन्ती र कार्की बालमुकुन्द २०७४), नेपाली प्रतिनिधि बालकविता, काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।


अघिल्लो पोष्ट

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

पछिल्लो पोस्ट

डा. ऋषि बस्ताकोटीको ‘पानीको रङ’ विमोचन

नर्मदेश्वरी सत्याल

नर्मदेश्वरी सत्याल

सम्बन्धित पोष्टहरू

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
बालकथाका तीन कृति लोकार्पण
बाल साहित्य

बालकथाका तीन कृति लोकार्पण

२७ चैत्र २०८०, मंगलवार
पछिल्लो पोष्ट
डा. ऋषि बस्ताकोटीको ‘पानीको रङ’  विमोचन

डा. ऋषि बस्ताकोटीको ‘पानीको रङ’ विमोचन

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

अस्ट्रियन कलाकारद्वारा पाटनमा 'प्यान्टोमाइम'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

२ जेष्ठ २०८०, मंगलवार
आजका नेपाली कवितामा संस्कृतिपरक र समाजशास्त्रपरक अन्तर्विषयकता

आजका नेपाली कवितामा संस्कृतिपरक र समाजशास्त्रपरक अन्तर्विषयकता

३ जेष्ठ २०८१, बिहीबार
अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

२ जेष्ठ २०८०, मंगलवार
मृत्यु जीवनको दाता हो

मृत्यु जीवनको दाता हो

२ जेष्ठ २०८०, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक