नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको छ । काठमाडौंको पर्यटन बोर्डमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई अमूल्य कलाश्री सम्मान अर्पण गरिएको थियो । १ लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा. डा. लक्ष्मण गौतमलाई, ७५ हजार राशिको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिनलाई, ६० हजार राशि सहितको थिर छायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारीलाई, ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा. टङ्क उप्रेतीलाई तथा ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरिएको छ ।
संस्थाका प्रमुख संरक्षक डा. विमल कोइरालाले यो संस्था प्रज्ञा र अभिव्यञ्जनाको यात्रामा हिँडिरहेको बताए । सभ्यताको आधारभूमि भनेको कलासाहत्य हो भन्दै कला साहित्य शाश्वत हुने उनले बताए । प्रमुख अतिथि बैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्याएको विशिष्ट योगदानको प्रशंसा गरे ।
अध्यक्ष मोमिलाले यो एक सामूहिक कार्य भएकोले सबैको निरन्तर साथ आवश्यक रहेको बताइन् । संस्थाले पन्ध्र वर्षे मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने बताइन् । सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय सर्जक महेश पौड्यालले गराएका थिए