चीन र नेपालबीचको सांस्कृतिक सम्बन्ध युगौंदेखिको पुरानो सम्बन्ध हो । यसको पृष्ठभूमिमा,अन्य कुराको अतिरिक्त बौद्ध धर्म र संस्कृतिले ओगटिराखेको एउटा अद्वितीय भूमिका पनि छ । यस प्रसङ्गमा एउटा ज्वलन्त उदाहरणस्वरूप जनगणतन्त्र चीनको राजधानी पेकिङको (पैचिंगको) मध्यभागमा अवस्थित श्वेत चैत्यलाई औंल्याउन सकिन्छ ।
यो श्वेत चैत्यको निर्माण नेपाली वास्तुकलाविद् अरनिकोले आजभन्दा सात सय वर्षअघि अर्थात् सन् १२७१ मा युआन वंशका सम्राटद्वारा त्यसबेला कार्यान्वित गर्न लगाइएका प्रमुख योजनाहरू अन्तर्गत सुरु गरी जम्मा ८ वर्ष लगाएर सन् १२७९ मा पूर्ण गरेका थिए ।
युआन वंशकालमा जुनबेला यो श्वेत चैत्य निर्माण हुनलागेको थियो, त्यो बेला वर्तमान पेकिङ्ग (चीनियाँ उच्चारण पैचिङ) को नाम ता तू थियो । यही ता तू को पश्चिमपट्टि फू छङ मन नामक एउटा प्रवेशद्वार छ, हाल त्यो प्राचीनकालको विशाल प्रवेशद्वार र त्यससँग जोडिएका अग्ला पर्खालहरू सबै भत्किसकेका छन् । तैपनि पेकिङ्ग निवासीहरू अद्यापि त्यस ठाउँको मूलसडकलाई फू छङ मन ताचे भन्दछन् । नेपाली कलाकार अरनिकोले बनाएको श्वेत चैत्य यसै फू छङ मन सडकनेर उत्तरतिर पर्दछ । यस चैत्यको वर्ण सेतो भएकोले पेकिङ्ग निवासीहरू यसलाई पाइ था भन्दछन् । पाइ था को अर्थ हो सेतो चैत्य अर्थात् श्वेत चैत्य । अनि पाइ थाकै नामबाट श्वेत चैत्यसँग जोडिएको अर्को मूलसडकको नाम पाइ था लू रहेको छ ।
तिब्बतमा सुवर्ण चैत्य निर्माण गरी प्रशस्त अनुभव हासिल गर्नुको साथै, अनेक नाम र यस कमाई चीनियाँ सम्राटको विशेष अनुरोधमा धर्मगुरु पागसपाका साथमा पेकिङ्ग आइपुगेका नेपाली वास्तुकलाविद् अरनिकोले नेपाली परम्परा र शैलीमा श्वेत चैत्यको ढाँचा र लगत तयार गर्दा चिनीयाँ परम्परा र शैलीलाई पनि आत्मसात् गरी एउटा विशाल बौद्ध महाविहारको पनि नक्सा उतारी निर्माणकार्य सुरु गरेको विदित हुन्छ । यसैले यो श्वेतचैत्यकै गिर्दामा सन् १२७९ मा ता सङ सौ वान् आन् श (सम्राटको दीर्घायु कामनास्वरूप) नामक श्वेतचैत्य महाविहार पनि बन्यो । पछि दैवात् यो महाविहारमा ठूलो आगलागी भयो र यो नराम्रोसँग बिग्रिनगयो । अनि मिङ्गवंशकालमा श्वेतचैत्यमा अनेक जीर्णोदार कार्य हुँदा, आगलागीबाट नष्ट भैराखेको यस विहारको पनि पुननिर्माण गरियो र यसको नाउँ मियाउयिङ श (दैवी प्रतिकारको प्रतीक) राखियो ।
उहिले यो श्वेतचैत्यको मियाउयिङ श महाविहारमा प्राचीन शैलीमा निर्मित तीनवटा ठूलठूला ढोका भएको सान् मन् नाम गरेको प्रवेशद्वार अनि त्यसका दायाँबायाँ कूलो र चुइलो नाम गरेका अग्ला भवनहरू तथा भिक्षु र भिक्षुणीहरू बस्ने लाङ ऊ फैतेन् नामका ध्यानकुटीहरू पनि बनेका थिए । आजभोलि चाहिँ भत्की बिग्रिसकेकाले देख्न पाइँदैनन् । अहिले त त्यहाँ बाक्लो बस्ती नै बसेको पाइन्छ । तर मियाउचिङ श महाविहारको भित्री आँगनको सम्पूर्ण भागचाहिँ यथावत् रूपमा कायम नै छ र अहिलेचाहिँ यहाँ पस्नलाई मूलसडकबाट सय पाइला उत्तर एउटा सानो गल्ली पार गर्नुपर्दछ ।
मियाउशिङ श महाविहारमा पस्नेबित्तिकै बायाँतिर स्वागतकक्षको रूपमा रहेको फु ऊ पू नामक प्राचीन शैलीको भवन देखापर्दछ । यस भवनको पुरानो नाम थन वाङ तन् रहेछ उहिले यहाँ विहार रक्षा गर्ने चारजना शक्तिशाली महापुरुषहरूका मूर्ति थिए रे भनिन्छ । दायाँतिर चाहिँ पाइ था वन् ऊ चाङ लान (श्वेतचैत्य विषयक पुरातात्विक सामग्रीहरूको प्रदर्शनीकक्षको रूपमा रहेको) नामक अर्को ठूलो प्राचीन शैलीको भवन छ । यसभवनको पुराना नाम साफो तन् रहेछ (उहिले यहाँ तीनवटा विशालकाय बुद्ध मूर्तिहरू थिए रे भनिन्छ ।) यस प्रदर्शनीकक्षमा पस्दा सामुन्ने नै एउटा ठूलो विवरण पाटी देखापर्दछ । अनि यसैमा नेपाली वास्तुकलाविद् अरनिको (चिनिया नाम आनिक) को नाम र उनको अमरकृति श्वेतचैत्यको संक्षिप्त परिचय प्रस्तुत गरिएको पाइन्छ । अनि यहाँको प्रदर्शनीकक्षमा सरसरी घुमी निरीक्षण गर्दा श्वेत चैत्यका विषयमा जनगणतन्त्र चीन सरकारले लाखौं रुपियाँ खर्च गरी जीर्णोद्धार सुधार र संरक्षणका लागि उठाएका विभिन्न प्रशंसनीय कार्यहरूको जानकारी गर्न पाइन्छ । यहाँ श्वेतचैत्यको जीर्णोद्धार गरिँदा (चीनमा १९७६ मा गएको महाभूकम्पले श्वेत चैत्यको उपल्लो भागमा निकै नराम्रोसँग बिगारेको थियो) त्यसको विशालकाय गजूरको कलशाकार गर्भकाय र मण्डपाकारको आसनभित्र प्राप्त भएका अमूल्य बौद्धकला कृतिहरू, अभिलेखहरू, धर्मग्रन्थहरू पनि प्रदर्शनीका लागि राखिएका छन् । प्राय: धेरैजसो सामग्रीहरू छिङवंशका सम्राटले १७५३ मा श्वेत चैत्यको जीर्णोद्धार गरी गजुरको भित्री भागमा अमूल्य सामग्रीहरू सञ्चित गरी चढाएको विवरण पाइन्छ ।
अनि मुख्यतया यहाँ नेपाली वास्तुकलाविद् अरनिकोको जीवनी र उनका अमरकृतिहरूको विवरण युक्त दुईवटा अति महत्वपूर्ण पुस्तकहरू पनि हेर्न पाइन्छन्, तीमध्ये एउटा पुस्तकको नाम हो युआन श ले च्वाश च्याउ कुङ यी (अर्थात् युआन वंशको इतिहास, १९ औं परिच्छेद हस्तकला) । कलाकारहरूको विषय भएको यस पुस्तकमा सबभन्दा पहिले नेपालका कलाकार अरनिकोको बारेमा प्रामाणिक विवरण दिइएको पाइन्छ । अनि अर्कोचाहिँ पुस्तकको नाम हो श्वै लौ ची चुआन् छि । यस पुस्तकको सातांैं परिच्छेदमा पनि युआन वंशका एकजना नामी लेखक चेन चू फूले नेपाली कलाकार अरनिकोको बारेमा लेखेका ऐतिहासिक विवरणहरू पाइन्छन् । अनि यी सबका अतिरिक्त, यहाँ सन् १३४३ देखि वर्तमान कालसम्म समय–समयमा श्वेत चैत्य विषयक भएका जीर्णोद्धार र सुधार कार्यका विवरण तालिका पनि प्राप्त हुन्छन् ।
यस प्रदर्शनीकक्षको पछिल्तिर एउटा खुला आँगन छ र यहाँ बुट्टासहितको एउटा ठूलो ढुङ्गे आसनमा एउटा अजङ्गको फलामे धूपदानी छ । यसैको अघिल्तिर एउटा ठूलो गजुर भएको छि फो तेन नाम गरेको देवालय छ । उहिले यहाँ सप्तबुद्धका मूर्तिहरू थिए भनिन्छ । अहिलेचाहिँ यहाँ विशालकाय तीन बुद्ध (अभिताभ, शाक्यमुनि, भैषज्य तथागत) का भव्य मूर्तिहरू छन् । मध्यभागमास्थित शाक्यमुनि बुद्धका दायाँबायाँ आनन्द र काश्यपका विनीत मुद्राका दुई भव्य मूर्तिहरू पनि छन् । अनि छेउका भित्तामा दायाँबायाँ गरी सुनले मोलम्बा गरिएका अढाई हात जति अग्ला विभिन्न अर्हतहरूका १८ वटा मूर्ति छन् ।
छि फो तेन् देवालयको पृष्ठद्वारबाट बाहिर निस्कँदा फेरि अर्को आँगन देखापर्दछ र यहाँबाट ११ सिँढी माथि उक्लेपछि श्वेतचैत्यको आँगनमा च्यू लिऊ शङ थोङ तेन् नामको अर्को भव्य देवालय आउँछ । यहाँ पनि बुद्धका तीनवटा विशालकाय मूर्तिहरू छन् । अनि यहाँ दायाँबायाँ भित्तामा तारा, अवलोकितेश्वर, महषिसम्वर आदिका ठूलाठूला पौभा चित्रहरू सजाइराखेका छन् । यहाँ अनेक प्रकारका ढलौटे धूपदानीहरू तथा अन्य कलाकृतिहरू पनि सजाइराखिएका छन् । प्रत्येक बुद्ध मूर्तिको सामुन्ने उपासक उपासिकाहरूकालागि प्रार्थना गर्ने आसनहरू बिछ्याइराखेका छन् ।
अनि यही च्यू लिऊ शङ तेन्को पृष्ठभागको खुला आँनगमा मियाउयिङ श महाविहारको शिरस्थानस्वरूप विशाल श्वेतचैत्य उभिएको छ । यो श्वेतचैत्य यन्त्राकार त्रिकोणहरू भएको मण्डपमा बनेको छ । यसको जगबाट उठेका आसन तीन खण्डमा विभाजित छ, दोस्रो र तेस्रो खण्डमा कमलका आकृतिहरू छन् । यसको आधारभूमिको परिधि ३० मिटरको छ, अनि यसका उचाइ चाहिँ ५०.९ मिटर ।
यसको मध्यभागको गर्भगृहको आकृति घोप्टिएको पिण्डपात्रको समान छ र यसको माथिल्लो भागमा त्रिकोण परेको आसनहरू उठाएर त्यसमा आनुपातिक आकृतिमा त्रयोदश भूमिको प्रतीकस्वरूप तेह्रवटा चक्रावली उठाएर माथि लगिएका छन् । चक्रावलीको माथिल्लो भागमा ९.७ मिटर व्यास भएको ताँवाको पातायुक्त अजङ्गको गोलाकार छत्र छ, यसका वरिपरि ताँवाका बुट्टे µल्लर र ३६ वटा ताँवाकै ठूलाठूला घण्टाहरू छन् । अनि यसदेखि माथिल्लो भागमा उष्णीय चूडामणिस्वरूप कलशाकार सुनको मोलम्बा भएको गजुर छ ।
यो श्वेतचैत्यको जीर्णोद्दार कार्यमा खटिएका एकजना पुरातत्वविद् ऊ मेङलिनको कथनअनुसार नेपाली वास्तुकलाविद् अरनिकोले चीनमा जम्मा तीनवटा चैत्य निर्माण गरेकोमा, यो मियाउयिङ श महाविहारमा रहेको श्वेत चैत्यचाहिँ सबभन्दा पुरानो, सबभन्दा ठूला र सबभन्दा राम्रो गनिएको छ ।
अनि यही श्वेतचैत्य चीनियाँ र नेपाली जनताबीचको युगौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीक पनि हो ।
पेकिङ विश्वविद्यालय र चीनीयाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत नेपाली संस्कृति र इतिहाससम्बन्धी अन्वेषण कार्यमा लागिरहनुभएका प्रा. वाङ होङ वैको शोधकार्यअनुसार नेपाली कलाकार अरनिकोले सञ्चालन गरेका परियाजनाहरूमा तीनवटा बौद्ध चैत्य, नौवटा बौद्ध महाविहार, दुईवटा मन्दिर र तावोमतको एउटा राजप्रसादलाई उल्लेख गर्न सकिन्छ । उहाँकै कथनानुसार, उक्त तीनवटा बौद्ध चैत्य भनिएकोमा चीनको शान्सी प्रान्तस्थित ऊ थाई सान् (पञ्चशीर्ष पर्वत)मा श्वेत चैत्यकै ढाँचाको जुन अर्को विशाल चैत्य छ, त्यो पनि कलाकार अरनिकोले नै बनाएका हुन् । अर्को चीनियाँ विद्वान् हाइ लानले पनि कलाकार अरनिकोले चीनको शान्सी प्रान्त उथाइ पहाडमा अर्को µन् ठूलो चैत्य बनाएका थिए भनेका छन् (दि राइजिङ नेपाल, पैचिङ्गस् ह्वाइट डागोबा, अगष्ट १०, १९८०) । यस चैत्यको फोटोसहित उथाइसानको संक्षिप्त सचित्र विवरण रेनमिन रिपाउ (जनदैनिक) पत्रिकाको अगष्ट २७ अङ्कमा प्रकाशित भएको छ ।
अनि ऊ थाइसान भन्नु नै महामञ्जुश्री बोधिसत्वको पवित्र थलो हो । यहाँ मञ्जुश्रीको विशाल एवं भव्य देवालय नै छ । महायानी बौद्धपरम्परामा मञ्जुश्रीको ठूलो महिमा छ । नेपालको इतिहासको थालनीमा देखापर्ने महामञ्जुश्री वास्तवमा यिनै हुन् । अनि चीन र नेपालको सांस्कृतिक सम्बन्धको सूत्रपात यसै बेलादेखि नै भएको मानिन्छ । एकथरी विद्वान्हरूले मञ्जुश्रीको समयलाई शाक्यमुनि बुद्धको महापरिनिर्वाण भएके २५० वर्षपछि अनुमान गरिएको छ (हायन्ड बुक अफ चाइनिज बुद्धिजम्, पृ. ९/९५) ।
अत: चीन र नेपाल यी दुई देशबीचको सांस्कृतिक सम्बन्धको ऐतिहासिक क्रमबद्धताको खोजी गर्नमा, चीनको बौद्ध धर्म दर्शन कला र संस्कृतिको अध्ययन अन्वेषण गर्नमा तथा बौद्ध धर्म दर्शनले एकताका सारा एशियामा सिर्जना गरेको सांस्कृतिक एकता र प्रभावका मूलतत्वहरूलाई पुनर्जीवित पार्नमा पनि यो श्वेतचैत्यले आफ्नो अस्तित्व प्रदर्शन गरिरहेको छ । जनगणतन्त्र चीन सरकारले यसको सम्पूर्ण जीर्णोद्वार कार्य समाप्त गरी सन् १९८० जुलाई १ तारिखदेखि विश्वका सारा पर्यटकहका लागि समेत यसको प्रवेशद्वार खुला गरिदिएको छ । यो ज्यादै प्रशंसनीय र दूरदर्शी कार्य भएको छ ।
अन्तमा यो श्वेतचैत्यको परिकल्पना गरी यसलाई मूर्तरूप दिने वास्तुकलाविद् अरनिको आज हाम्रो सामुन्ने छैनन् । सन् १३०६ मा ६३ वर्षको उमेरमा उनको निधन भइसकेको छ । र त्यसबेलाका सरकारले उनलाई जीवित कालमा क्वाङ लू ताइ फु (मन्त्रीसरहको दर्जा) जस्तो उच्च ओहदामा सन्मान गर्नुको अतिरिक्त मरणोपरान्त पनि उनलाई ल्याङ को कोङ (काजीसरहको सम्माननीय मानार्थ पदवी) प्रदान गरेको तथ्य उल्लेखनीय छ र आज उनले आत्मसात गरेर गएको दर्शन र कलाको प्रतीकात्मक भावनामा यो श्वेत चैत्य उनकै अमर कीर्तिसरह विद्यमान भइरहेको छ । वास्तवमा चैतन्य स्वरूप चित्तकै प्रतीक हो चैत्य । अनि श्वेत वर्णचाहिँ चैत्यकै पञ्चाक्षर बीजबाट सिर्जित पञ्चरेश्मीको एक तत्व । अत: यो श्वेत चैत्यमा स्वयम्भू अर्थात् प्रभाश्वर सदाकाल सुप्रभातम्, सुप्रभातम् भैरहेको छ, बहुजन हिताय तथा बहुजन सुखायका लागि भन्नुमा अत्युक्ति हुनेछैन, अस्तु ।
२०६६ साल चैत्र १५२ अंकमा सत्यमोहन जोशी विशेष अंकमा प्रकाशित