बाह्रखरी मिडिया प्रालिले ‘बाह्रखरी कथा लेखन प्रतियोगिता २०७९’ का लागि कथा आह्वान गरेको छ । बाह्रखरीले आइतबार पत्रकार सम्मेलनमार्फत ‘बाह्रखरी कथा प्रतियोगिता’ को चौथो शृंखला घोषणा गर्दै प्रतियोगितामा कथा पठाउन नेपाली लेखकलाई आह्वान गरेको हो।
नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बाह्रखरीले कथा प्रतियोगिता आयोजना गर्दै आएको छ। आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले कथा प्रतियोगितामा भाग लिन सक्छन्।
प्रतियोगिताका लागि नेपाली भाषामा लेखिएको वा अन्य भाषामा लेखिएको अप्रकाशित मौलिक कथालाई आफैंले नेपालीमा अनुवाद गरी पठाउनुपर्नेछ। उक्त कथा अघिल्लो वर्षको प्रतियोगिताका लागि पनि नपठाइएको हुनुपर्ने बाह्रखरीले जनाएको छ । कथा पठाउने अन्तिम म्याद आगामी भदौ १४ लाई तोकिएको छ।
बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्रतियोगिताका लागि प्राप्त कथामध्येबाट ५० वटा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ। ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा छान्नेछ र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथा घोषणा गरिनेछ। यस वर्ष साहित्यकार तथा समालोचक कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू उमा सुवेदी र सगुना शाह निर्णायक समूहमा छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट २५ भित्र परेका अन्य २२ कथाकारले पनि जनही पाँच हजार रुपैयाँ पाउनेछन्। कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते सार्वजनिक गरिनेछ र सोही दिन ‘उत्कृष्ट कथा– २०७९’ को लोकार्पण पनि गरिनेछ। यस वर्ष उत्कृष्ट कथालाई नेपाली कथाको थप प्रतिनिधिमूलक संग्रह बनाउन कथाकारहरू ध्रुवचन्द्र गौतम, माया ठकुरी, बेन्जु शर्मा, राजव र अविनाश श्रेष्ठका कथा समेत समावेश गरिने भएको छ ।