दोस्रो महायुद्धपश्चात् विश्वका अधिकांश भागमा प्रजातन्त्रको लहर चल्न थाल्यो । छिमेकी देश भारतबाट सन् १९४७ मा अङ्ग्रेजहरु पलायन भएपछि नेपालका राणा शासकहरुमा अस्थिरताको सूत्रपात हुन थाल्यो । नेपालमा भइरहेको आन्दोलनको सन्दर्भमा श्री ५ त्रिभुवन भारतीय राजदूतावासमा प्रवेश पछि दिल्ली पुगिबक्स्यो । २००७ साल फागुन ४ गते श्री ५ त्रिभुवन र तत्कालीन राणा प्रधानमन्त्री मोहन शमसेरका प्रतिनिधि तथा आन्दोलनका सुप्रिम कमाण्डर नेपाली कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइराला बीच भारतीय प्रधानमन्त्री नेहरुको मध्यस्थतामा सम्झौता हुनपुग्यो । त्यही सम्झौता अन्तर्गत नेपालका विभिन्न भागमा चर्किरहेको जनक्रान्ति स्थगित भयो । भारतबाट नेपाल फिर्ती सवारी पश्चात् श्री ५ त्रिभुवनबाट २००७ फागुन ७ गते नेपाल अधिराज्यको लागि प्रजातन्त्रको घोषणा गरिबक्स्यो र नेपालका विभिन्न भागमा चर्किरहेको आन्दोलनको सन्दर्भमा विराटनगर कटन मिलको एउटा सानो कोठाबाट सञ्चालित क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियोको प्रसारण पनि बन्द भयो । त्यसबेला क्रान्तिको दौरानमा स्थापित त्यस रेडियोबाट नेपालीमा समाचार तारणीप्रसाद कोइरालाले प्रसारण गरेका थिए । त्यसपछि त्यसको केही दिनपछि नेवारीमा गजाधर भक्तले समाचार दिने गरेको सुन्न पायौं ।
जनक्रान्ति बन्द भएपछि विराटनगरबाट तारिणीप्रसाद कोइराला काठमाडौं फर्के । उनले काठमाडौंकै मुटु सिंहदरबार भित्र रेडियो स्थापना गर्ने विचार गरी सुब्बा ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस रहेको पाको पोखल ड्याङस्थित घरमा प्रथम बैठक राखे । त्यस बैठकमा बालकृष्ण सम, मुरारीकृष्ण शर्मा, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ आदि सम्मिलित थिए । मुरारीकृष्ण शर्मा स्रेस्ता पाठशालामा पढ्दाका मेरा सहपाठी थिए । त्यसैले तारिणीको गतिविधि थाहा पाइ राख्न मलाई सजिलो पनि भएको हो । दोस्रो बैठक बालकृष्ण समको निवासस्थान ज्ञानेश्वरमा बस्यो । यसभन्दा अगाडि तारिणीप्रसादले सिंहदरबार भित्र राणा प्रधानमन्त्रीका नाति नातिनाहरुलाई पढाउने गरेको बंगला, जहाँ आकाशवाणी सेट पनि रहेको थियो, त्यहीँबाट २००७ चैत्र २० गते विहान र बेलुका गरी एक एक घन्टाको कार्यक्रम प्रसारण गर्ने निर्णय गरियो । त्यही निर्णयअनुसार चैत्र २० गते तारिणीप्रसाद कोइरालाको अगुवाईमा विहान बालकृष्ण सम, रश्मि राज्यलक्ष्मी, मुरारीकृष्ण शर्मा, हरिप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, हरिबहादुर रञ्जितकार, जीवनाथ लोहनी र प्रतिमान परियार आदि त्यही बंगलामा भेला भए । प्रसारणको शुभारम्भ रश्मि राज्यलक्ष्मीको उद्घोषणपश्चात तारिणीले एक किसिमको लामो भाषणबाट गरे । यसपछि रश्मि राज्यलक्ष्मीबाट गीतको उद्घोषण भयो, जुन शंकर लामिछानेले रचेका थिए, हरिप्रसाद रिमालले हारमोनियममा गाउन थाले :
मेरो दिल टुक्रा बनेर एकदिन
आँखाको बाटो भएर बहने छ ….
यसपछि कवि सिद्धिचरणद्वारारचित गीत समरबहादुर मल्लले गाउन थाले । तबलामा पछिल्लोपटक हरिप्रसादले साथ दिए, पहिलोमा समरबहादुरले दिएका हुन् ।
हिमगिरिमण्डित सुगन्ध शोभित
जय जय आमा नेपाल…….
आर्य, अनार्य, बौद्ध र हिन्दु
मिश्रित हाम्रो देश महान् ….
यसपछि अरु कलाकार हरिबहादुर रञ्जितकार र कृष्णप्रसाद रिमालले गाउन थाले, रिमालको स्वर भने माइक अनुकूल थिएन । गीतको अन्तमा नेपालीमा तारिणी र अङ्ग्रेजीमा मधूसुदन देवकोटाले समाचार प्रसारण गरेका थिए । समाचारपश्चात् रश्मि राज्यलक्ष्मीको उद्घोषबाट १ घण्टाको त्यस दिनको प्रातकालीन कार्यक्रम प्रसारण बन्द भयो । केही दिनसम्म विराटनगरको भाषा – क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियो भनी त्यही बंगलाबाट प्रसारण भइरहेको थियो । प्रथम दिनको त्यो उद्घाटन सभामा जनार्दन सम अस्वस्थताको कारण आउन सकेनन् ।
अच्युतरमण अधिकारीको सम्पादनमा प्रकाशित ऋद्धिबहादुर मल्ल स्मृति विशेषाङ्क उन्नयन त्रैमासिक पत्रिकामा जीवनाथ लोहनीले अङ्ग्रेजीमा समाचार प्रसारण गरेको भनी उल्लेख गरे तापनि त्यसो नभई मधुसूदनले प्रसारण गरेका हुन् । यो कुरा मधुसूदनले मलाई भनेका थिए । जीवनाथ लोहनी त्यही आकाशवाणी सेक्सनका प्रमुख थिए । केही दिनपछि उनी गृह मन्त्रालयमा सरुवा भई गएका हुन् ।
तेस्रो दिन बिहान म रेडियो भवनको बंगलामा पुग्दा मैले त्यहाँ बालकृृष्ण सम, तारिणीप्रसाद कोइराला, भवानीराज मास्के, रश्मि राज्यलक्ष्मी आदि परिचित व्यक्तिलाई देखें । अनि त्यही बंगलाको पश्चिमतिर एउटा ठूलो कोठा थियो । त्यही कोठामा आकाशवाणी सेट पनि थियो रेडियो प्रसारण गर्ने । त्यो आकाशवाणी सेट विराटनगर वा अन्त कतैबाट ल्याइएको थिएन, दिल्ली र काठमाडौंबीच त्यही आकाशवाणी सेटद्वारा वार्ता अथवा समाचार आदन–प्रदान हुन्थ्यो । त्यही कोठाभित्र एक छेउमा एउटा ठूलो काठको दराज थियो । त्यही दराजको माथिल्लो भागमा एकातिर मात्र अङ्ग्रेजीमा टाइप गरेर राखिएका थुप्रै कागजहरु थिए । हामीले धेरै दिनसम्म कागज नभएर त्यही कागजमा समाचार लेख्ने गरेका थियौं ।
२००७ साल चैत २५ गते हिन्दीमा समाचार राजेन्द्रकुमार गुप्ताले प्रसारण गरे । २००८ साल वैशाख १ गते बिहान नेवारीमा मैले समाचार शुभारम्भ गरें । त्यसबेला हिन्दीमा १० मिनेट, अङ्ग्रेजीमा ५ मिनेट र नेवारीमा पनि ५ मिनेट समाचार प्रसारण हुन्थ्यो ।
नेपाली, हिन्दी, अङ्ग्रेजी एवं नेवारीमा समाचार बिहान भएको केही दिनपछि अङ्ग्रेजीलाई बिहानबाट झिकेर बेलुकीको कार्यक्रममा मात्र राखे र क्रान्तिकारी भन्ने शब्द पनि झिकेर प्रजातन्त्र रेडियो नेपालमात्र भन्न थाल्यो । तीन–चार महिनापछि प्रजातन्त्र झिकियो र नेपाल रेडियो नाम राखियो । केही दिनपश्चात् त्यसलाई पनि संशोधन गरेर रेडियो नेपाल राखियो । बालकृष्ण समले यो नामाकरण नेपाली व्याकरणमा सामञ्जस्य नभएको तर्क दिए तापनि तारिणीले यही नाम उपयुक्त ठाने, जुन आजसम्म पनि यही नामबाट रेडियो सञ्चालन हुँदै आइरहेको छ । केही महिनापछि फेरि अङ्ग्रेजीलाई बिहान ल्याइयो ।
त्यसदिन जब म त्यहाँ पुगेको थिएँ, मलाई त्यसबेला अनौठो लागेको थियो – त्यस्तो राष्ट्रव्यापी प्रसारण एउटा सानो कोठाबाट कसरी सम्भव भएको थियो ? त्यहाँ मैले त्यसबेला देखेको थिएँ – एउटा पुरानो हारमोनियम, एकजोर तबला र एउटा पुरानो सोफा र अर्कोतिर फोल्डिङ्ग गर्न हुने काठको ठूलो टेबुल र टेबुल वरिपरि मेच, अनि मेचमा उद्घोषिका, समाचार सम्पादक प्रसारकहरु बसिरहेका थिए । त्यसको अतिरिक्त एउटा पुरानो ठूलो शतरंजा पनि बिछ्याइराखेको थियो । पछिबाट मैले थाहा पाएँ –हारमोनियम र तबला पनि ऋद्धिबहादुरकै घरबाट ल्याएका रहेछन् ।
त्यसबेला निर्देशक अरु दर्शकहरुको साथ त्यही एउटै कोठामा बसेको देख्दा मलाई साह्रै असजिलो लाग्यो ।
बालकृष्ण सम मेरो पुरानो परिचित व्यक्ति थिए, तारिणीले मलाई देखेर बाहिर आएर भने –‘यहाँ नेवारीमा समाचार पनि राख्दैछु, तपाईंले सहयोग गर्नुपर्यो ।’
२००८ साल वैशाख १ गतेदेखि नेवारीमा समाचार प्रसारण मैले गरें, तर नियुक्तिपत्र भने वैशाख १९ गते मात्र पाएँ । नियुक्तिपत्रमा मेरो तलब कं रु. उल्लेख भए तापनि मोरु दिन्थे । मेरो नियुक्तिपत्रमा –
श्री हरि श्रेष्ठ, भोँसिको
महाशय,
प्रजातन्त्र नेपाल रेडियो तपाईंलाई अस्थायी रुपमा आजका मितिदेखि वर्षको कं. रु. ६०० को दरले नियुक्त गर्दछ । आशा छ, तपाईं हाम्रो रेडियो स्टेशनको अनुशासनमा रहनुहुनेछ ।
०८–१–१९
भवदीय
तारिणी प्र. कोइराला
त्यस समय सबैको तलब कम थियो तर पनि कसैको यसप्रति गुनासो थिएन । सबैमा जाँगर थियो, उत्साह थियो, मैले त्यसबेला यही देखें – नातिकाजी, शिवशंकर, हरिप्रसाद रिमालको मासिक तलब १०० रुपैया र रत्नदास प्रकाशको तलब १२५ थियो । असिष्टेन्ट डाइरेक्टर रश्मि राज्यलक्ष्मी र प्रोग्राम डाइरेक्टर जनार्दन समको वार्षिक खान्गी प्रत्येकलाई २४०० थियो । वाद्यवादकहरुको ५० मासिक थियो । चीफ मेकानिक्स बद्रीप्रसाद ठाकुर र सेक्रेटरी भवानीराज मास्केको वार्षिक खान्गी ३००० थियो । तलबको त्यसबेला कुनै निश्चित मापदण्ड थिएन । यतिमात्रै पनि होइन, त्यसबेलाको रेडियो प्रसारणको कथा एउटा अलग्गै थियो । कसैको सोचाइभन्दा भिन्न, बिल्कुल भिन्न । एउटा सानो प्रसारण कोठा, अनि गोजीमा अटाउन सक्ने एउटा माइक, त्यही रेडियो नेपाल हो । टेबुलमाथि रहेको त्यही सानो माइकलाई उद्घोषिकाले उद्घोषण गर्दै यताउति सार्नुपर्ने, जसले बोल्ने हो उद्घोषिकाले उसको सम्मुख लैजानुपर्ने । त्यो एउटा माइकलाई कार्यक्रम हुन्जेल उद्घोषिकाले यताउति–तलमाथि कतिपटक सार्थिन् यो कुरा माइकलाई नै थाहा होला ।
मलाई सम्झना छ, एकपटक मेरो आफ्नै तीन–चार वर्षको माहिलो छोरो दिनेशलाई उसकी आमाको साथमा लगेको थिएँ, भित्र पसेपछि छोरो त्यसै पनि रुन लागेको देखेर तारिणीले बाहिर लैजाने संकेत गरे, तर बाहिर लैजान नपाउँदै रोइहाल्यो । घर–घरमा रेडियो सुनिरहेका स्रोताले बच्चा रोएको आवाज सुने । तारिणी यो घटनाबाट साह्रै दु:खी भए । बडो बेमज्जा माने, तर उनले मलाई केही भनेनन् ।
यतिमात्रै होइन, एक विहानको घटना हो – प्रकाशमानले नेपालीमा समाचार पढ्न सिध्याएपछि उद्घोषिका एलिस राणाले अब नेवारीमा समाचार सुन्नुस् भनेर माइक मेरो सामुन्ने राख्न ल्याइन् । म समाचार पढ्दै थिएँ, प्रकाशमानले काम नपाएर आफू बसेको मेच आफैले अगाडि पछाडि हल्लाइरहेका थिए । अकस्मात प्रकाशमान पछिल्तिर पल्टन पुगे, उठ्न सकेनन् । दायाँ बायाँ रहेका अरु मेच नसारी उनलाई उठाउने कसरी ? उद््घोषिकाहरु खित्खित् हाँस्न थाले र समाचार पढिरहेको मैले पनि हाँसोे थाम्न सकिनँ । तारिणीले रश्मिसँग भएको रुमाल हतपत लिएर मेरो मुखमा कोच्न ल्याए, तर पनि हाँसो माइकले टिपिहाल्यो ।
त्यो प्रसारण कोठाको दक्षिणतिर ठूलठूला सल्लाका रुखहरु थिए । झ्याल खोले काग कराएको आवाज आउने, झ्याल बन्द गरे अँध्यारो हुने । घर–घरमा रहेका रेडियोमा कहिले काग कराएको आवाज, कहिले बच्चो रोएको आवाज, कहिले खित्खित् हाँसेको आवाज सुनियो, यही थियो त्यसबेलाको रेडियो नेपाल । बजेट कार्यक्रम र साधना कुनैको समुचित व्यवस्था नगरिकन यसरी रेडियो नेपालको स्थापना गर्न खोज्नु तारिणीमा रहेको आत्मविश्वाससिवाय केही होइन अथवा यो उनको कमजोरी पनि थियो ।
कमसेकम बजेटको व्यवस्था त हुनुपथ्र्यो, त्यो पनि छैन । एकपटक त्यहीँका पिउनले माइक उठाएर लगेछ, एउटा सानो माइक त्यो पनि नभएपछि त रेडियो प्रसारण नै बन्द हुने भयो । तारिणी चिन्तित भए, बल्लतल्ल माइक उठाएर लैजाने पिउनलाई समातेर ल्याइयो । तारिणीले सोधे –‘किन माइक उठाएर लगेको ?’ पिउनले सफासफी जवाफ दियो –‘हो मैले माइक उठाएर लगेको हुँ, तलब नपाएको तीन महिना नाघिसक्यो, आज आउला छैन, भोलि आउला छैन । तलब नलिएर सधै कसले मरेर काम गर्न सक्छ ? मेरी जहान विरामी छिन्, औषधि गर्ने पैसा भएन, त्यसैले मैले माइक उठाएर लगेको हुँ । काम लगाएपछि मान्छेलाई पैसा दिनुपर्छ, होइन भने जाऊ भन्नुपर्छ ।’
तारिणी नाजवाफ भए । उनले पिउनलाई आफ्नो खल्तीबाट तीस–चालिस रुपैयाँ दिएर माइक फिर्ता लिए । तारिणीले त्यहाँ काम गर्ने कर्मचारीलाई दुई–तीन महिनामा जसोतसो गरी तलब बाँड्थे, फेरि दुई–तीन महिनासम्म पैसाको नामनिशान केही हुँदैन । तारिणीले त्यसबेला काम गर्नेलाई दिने पैसा मेरो विचारमा कहीँबाट चन्दा उठाएर ल्याएको हुनुपर्छ । यो कुरा जनकलाल शर्मालाई केही थाहा भएजस्तो मलाई लागेको थियो, तर मैले त्यसबेला उनीसँग कोट्याउनतिर लागिनँ । यो पंक्ति लेख्नलाग्दा मैले उनलाई सम्झेँ, तर उनी बितिसकेको केही महिनामात्रै भएको थियो । समाचार लेख्न कागज नभएर मैले पनि घरबाट कति पटक त लगेको थिएँ, यो रेडियो नेपालको विवशता थियो त्यसबेलाको ।
त्यस समयमा कर्मचारी अथवा कलाकारको अवस्था सम्झँदा अहिले मलाई आत्मग्लानी हुन थाल्छ । रश्मिका पति जगतजंग शाहले त्यही क्यान्टिन खोले, कलाकार तथा कर्मचारीहरुलाई भात ख्वाउन । कलाकारले पैसा तिर्न सकेनन्, उधारो डब्लिदै गयो, आखिर क्यान्टिन नै बन्द भयो । यसको धेरै वर्षपछि कलाकार ज्ञानबहादुर श्रेष्ठले पनि क्यान्टिन खोले, तर उनी पनि त्यसै बिलाएर गए । तर पनि रेडियो नेपालका कर्मचारीहरुमा कहिल्यै नमर्ने उत्साह थियो, जुन उत्साह एउटा सानो बीजाङ्कुरको रुपमा रहेको मलाई प्रतीत हुन्छ । त्यही बीजाङ्कुरको परिणाम हो आजको यो रेडियो नेपाल ।
हरि श्रेष्ठ
जन्म : वि.सं. १९७९ फागुन ८
भोसिकोटोल, काठमाडौं
अवसान : वि.सं. २०७० फागुन १५
जनमत ३०० अंकवाट