उनीसँग मेरो मित्रता गाँसिएको धेरै भयो । ‘मित्रता’ भनेको खराब र असल दुवै सँग थाहै नपाई गाँसिँदो रहेछ । यस्तै खालको सम्बन्ध चुरोटसङ मेरो गाँसियो । करिब १२/१३ वर्षको बालक छँदा नै बुबालाई तमाखु भरेर पसलमा पुर्याइ दिने गर्थेँ । तमाखु भरेर लगेपछि चिलिममा आगो फुकिदिनु पर्थ्र्यो । तमाखु सल्क्यो–सल्केन, तमाखुको स्वाद आयो कि आएन त्यसको अभ्यास मैले गर्नुपर्थ्यो । हुक्काको प्वालमा मुख जोरेर क्वारक्वार गरेपछि तमाखुको स्वादिलो ढङ्गको आफ्नै प्रकारको गन्धले मलाई मोहित पार्दै लग्यो । यसरी तमाखुको लागू–मोहनीमा म पर्दै गए । धेरै वर्षसम्म बुबालाई खुसी तुल्याउने अभियानमा लागेर बुबाको तमाखुको ‘हुक्के’ भएकै कारणले म धूम्रपान बाट प्रभावित बन्दै गए । यसरी थाहै नपाईकन तमाखुको सम्मोहनमा म परेँ र धूम्रपानको अनुयायी बन्दै गए ।
तमाखुको यस खालको संसर्गले मलाई चुरोटको सम्मोहनले पनि तान्दै लग्यो । पछि घरबाट लुकी–लुकी चुरोट सेवन गर्न थालियो । सानो छदा नै चुरोट पिउने यस खालको बानीले मेरो छातीमा, दाँतमा र स्वास्थ्यमा चोट पुर्याइरह्यो । सानो छँदा देखि नै कविता लेख्दै आएको म कवि । अझ भनौँ कक्षा ७ मा पढ्दै गर्दा नै कनीकुथी साथीहरूलाई कविताहरू सुनाउँदै आएको हुनाले स्कुले साथीहरूका माझ् म त्यसताका कहलिएको कवि थिएँ । त्यसताका साथीहरूलाई कविता सुनाइरहन्थे । कविहरू चुरोटका प्रिय हुन्छन्, देवकोटाजस्तो महाकवि बन्नका लागि चुरोटलाई साथी बनाउनु पर्छ । चुरोट नपिई ठुला कवि बन्न गार्हो छ । यस्तै खालका खराब कुराहरू कवि बन्ने धुनमा म सिकिरहन्थेँ । साथीहरू कवि बन्न चुरोट पिउनुपर्ने खराब कुरा सिकाएर मलाई कवि बन्न प्रेरित गर्थे । म आफू ठुलो कवि बन्ने धुनमा चुरोटको प्रिय मित्र बन्दै गएँ । ढाँटेर, छलेर, मागेर र अरू काम–कुरामा खर्च कटौती गरेर पनि चुरोटको प्रिय बनिरहेँ । सधैँ चुरोट सेवन गर्न सक्ने वातावरण बनाउँदै म यसैमा रमाइरहेँ । कहिलेकाहीँ अर्थ सङ्कट पर्दा बुबाको ‘कन्तुर’ र ‘इस्टकोट’ छामेर यही चुरोटका लागि ‘चोर’ बन्न सिकेँ । कहिले कुनै समयमा दाजु, भाउजू, दिदीहरूसँग अर्कै कार्यको लागि पैसा मागेर चुरोट पिउनका लागि ‘ढँटुवा’ हुन सिकेँ । काममा लाग्दा–लाग्दै, बाटोमा हिँड्दा–हिँड्दै, कतै जाँदा–जाँदै इष्टमित्रको आँखा छलेर चुरोटको सर्को तान्ने ‘छलुवा’ भएँ । चुरोट पिउने इच्छामा साथ पाउन पैसाका लागि साथीहरूका माझ् ‘मगन्ते’ पनि बनेँ । गर्नुपर्ने काम र हुनुपर्ने खर्चमा खर्च नगरी अनावश्यक चुरोटका लागि खर्च गर्ने चुरोटका एक जना ‘दास’ बन्दै गएँ । यस खालका थुप्रै चोटका सन्दर्भहरू जीवनमा बिर्सिपठाउन गाह्रो भइरह्यो । गर्नुपर्ने काम र हुनुपर्ने खर्चमा खर्च नगरी अनावश्यक चुरोटका लागि खर्च गर्ने चुरोटका एक जना ‘दास’ बन्दै गएँ । यस खालका थुप्रै चोटका सन्दर्भहरू जीवनमा बिर्सिपठाउन गाह्रो भइरह्यो ।
‘सिंह’ चुरोट हुँदै ‘याक’मा मन दिँदै पछिल्लोपल्ट ‘सूर्य’सम्मको सम्मोहनमा म पर्दै आएँ । चुरोटलाई छोड्ने मन कति बनाउने मैले ? कस्तो व्यथा ! कहिल्यै छोड्न सकिएन । यही चुरोटको बढी सेवनले गर्दा खोकी लागेर रगत बान्ता हुने, छाती दुख्ने, रिङ्गता लाग्ने, ओठ मुख सुक्ने, अनावश्यक खर्चको भार थपिने, सामाजिक रूपमा तिरस्कृत बन्नुपर्ने आदि प्रसङ्गहरू जीवनमा बिर्सिजान गार्हो भइरहेछ । चुरोटको अम्मली भएकै कारणले यस्तो दुःख लाग्दो तथा अप्ठ्यारो भोगाइहरू भोगेँ । स्कुलका विद्यार्थी छँदा नै सिक्दै आएको यो खराब बानी ब्यहोरा भनूँ या चुरोटसँगको सम्मोहन म मास्टर हुँदा पनि छोड्न सकिएन । जहाँसुकै जस्तोसुकै अवस्था वा अभावमा पनि चुरोटका लागि खर्चको जोहो गरिन्थ्यो । बरु भोक–भोकै रहन्थेँ तर चुरोटका लागि खर्च जुटाइ हाल्थेँ । मैले अघि नै लेखेँ – चुरोटका लागि थुप्रै खालका षड्यन्त्र र झूठहरु रच्न सिकेँ । खराब जस्तो लागेर पनि खराबलाई ओँठ मुखमा झुण्डाइराख्ने यो मनोरोगबाट मुक्त हुन मैले के मात्र गरिनँ ? चुरोटसँग म हायलकायल बनेँ ! खराब साथी सँगी छोड्न नसक्दाकै पीडामा अल्झेजस्तै भएर म चुरोटको फन्दामा झुण्डिरहने । थुप्रै कबुलहरू, वाचाहरू, सङ्कल्पहरू, अठोटहरू पूरा हुँदै गएका थुप्रेरै मेरा अभियानहरू छन् । तर चुरोट छोड्ने कबुल, वाचा, सङ्कल्प, अठोटलाई पछ्याउँदा–पछाउँदै हार खानुपरेका मेरो थुप्रै घटनाहरू सम्झिंदा म आफैमा दुखित र लज्जित छु ।
प्रावि शिक्षकदेखि मावि प्रअसम्म भई मैले सेवा पुर्याएँ । २७ वर्षसम्म शिक्षण सेवामा लागेँ । यस क्रममा मैले धेरै पटक चुरोट छोडेँ । केही दिन/महिनापछि चुरोट फुकाउँदै फेरि चुरोटका सेवक बनेका घटनाहरू सम्झिंदाआफै प्रति आफै लज्जित बन्नुपर्ने अवस्था नआएको होइन । दुई दिन छोड्ने, पुनः सेवन गर्ने । महिना दिनसम्म सेवन छोड्ने, पुनः सम्झना भयो पिउन सुरु गर्ने । बर्सौँ दिनसम्म पनि त्यागेँ । छोड्न सकिएन फेरि पिउन सुरु गरेँ । घरमा सङ्कल्प गर्ने बाहिर गई पिइदिने । मेरा मित्रहरू छक्क पर्छन् । त्यसै गरी मेरा श्रीमती छक्क पर्छिन् । चुरोटले रचेका यस खालका सम्मोहनहरू कहिल्यै बिर्सिन नसकिने जीवनका मेरा सम्झनाहरू हुन् । ५० औँ वर्ष पुग्न लागेको यो चुरोटसँगको मायाप्रीति बिर्सन मैले खोजिरहेछु । यसले मलाई ‘चुम्बन’ त दियो तर मेरो मुखमा ‘विष’ सम्प्रेषण गरिदियो । यसले मलाई तरङ्ग त दियो तर बेढङ्गका रोगका सङ्क्रमणहरू उपहार दियो । एकान्तको मित्र त हुन् यिनी तर दुष्ट खालका मित्र पो रहेछन् । तरङ्गित भयो चुरोटसँगको मेरो माया मोहहरू ।
थोरै सेवन गर्छु । नियन्त्रण गर्छु । आफूले कति चोटि यस खालको योजना बनाइयो । कुरा मात्र हुँदा रहेछ; तर नसकिने रहेछ ! मात्रा बढ्दै जाने । घर, पसलमा नपिउने । बाहिर मात्र पिउने भनियो । काम न काज घरबाट बाहिर गइरहन मन पर्ने स्वभाव बढ्दै गयो । खाना खाएपछि, चिया पिएपछि मात्र चुरोट पिउने भनियो; अनावश्यक रूपमा चिया पिउने क्रम बढ्यो । चटक्क छोड्ने सङ्कल्प नगरेसम्म चुरोटसँग हाम्रो केही लाग्दो रहेनछ ! हाम्रो मनलाई बलियो बनाउन नसकेसम्म चुरोट नै बलियो भइरहने रहेछन् । चुरोटसँग पराजित भइरहेका यस खालका थुप्रै घटना प्रसङ्गहरूलाई सम्झिदा मात्र पनि आफूलाई ताजुब लाग्छ । कसैले दिएपछि मात्र पिउने भनियो; चुरोटका पारखीहरू खोज्दै घरघरमा पुगिरहने ! चुरोट सेवन गरिरहँदा सेवन गर्नु नै धर्म र कर्म हुँदो रहेछ । चुरोट छाड्न अनुरोध गर्नेहरू, चुरोट पिउँदा रिसाउने हित–चिन्तकहरू कस्तो–कस्तो मनमा अप्ठ्यारा बिम्ब पो भइदिँदा रहेछन् । मैले यस खालका थुप्रै चुरोटका तरङ्गहरू भोग्न पाएकै कारणले चुरोटसँगको मेरो परिचय अविस्मरणीय छन् ।
चुरोटसँग घटेको रमाइला धेरै घटनाहरू छन् । तर एक दुई वटा मात्र यहाँ सम्झनाका लागि उल्लेख गरिरहेछु । एक दिन साहित्यकार कृष्णप्रसाद पराजुलीसँग भएर विराटनगरबाट काठमाडौँमा हवाई जहाजबाट आउन खोजेको थिएँ । विराटनगरको हवाई मैदानमा काठमाडौँ जाने हवाई जहाज नआई पुगेकोले केही क्षण हामी त्यहीँ अलमलिनु पर्यो । पराजुलीसर त्यसताका चुरोटका सौखिन चुरोट बाज । म आफू त्यसताका चुरोट छोडिराखेको पराजुलीसरका हितैषी साहित्यिक भाइ । त्यसताका पराजुलीसरले रमाई–रमाई तानेको ५५५ मार्का चुरोटको सर्को तानौँ–तानौँ लाग्ने खालका चुरोटको तनाइ थियो । प्लेन समयमा आइ नपुगेका क्षणमा पराजुलीसरले मीठो मान्दै/तान्दै गरेका चुरोटका धूवाँका चक्काहरूले मलाई लट्ठ तुल्याउँदै लगे । मैले विचार गरेँ एउटा चुरोट पिइदिएर के बिग्रिन्छ ? एउटा चुरोट पराजुलीसर सँग मागी हालेँ । र बाली हालेँ र चुरोट तानी हालेँ । विराटनगरको प्लेनबाट काठमाडौँमा ४५ मिनेट भित्र आइपुग्यौँ । पराजुलीसर आफ्नो घरतिर लागि हाले म आफ्नो घरमा लागेँ । एक सर्को चुरोटको सम्मोहनमा परेर फेरि चुरोटको सेवक बनेँ ।
केही वर्ष अगाडि चीनको बाटो हुँदै उत्तर कोरियाको भ्रमण गर्न पुगेका थियौँ हामी २४ जना नेपालीहरू । १० दिनको कोरिया बसाइमा चुरोट पिउँदा–पिउँदै चुरोटसँग कायल भएर उनीसँगको सङ्गत छोड्ने सङ्कल्प उठ्यो । चिसोको कारणले छाती दुखेजस्तो, खोकी निस्फिक्री आएको आए आइरहने, रुघाले गर्दा खाएको केही स्वाद नआउने यी आदि कारणले चुरोट छोड्ने मनदेखिको वाचालाई पूर्ति गर्न चुरोट छोड्न खोेजेँं । एक दिन अगाडि मात्र मेरा मित्र कमानसिंह लामाले एक कार्टुन ५५५ चुरोट मलाई कोरियामा दिएको थियो । भोलिपल्ट नै चुरोट छोड्ने सङ्कल्पको उद्घोष गरेँ र चुरोट पिउन छोडेको मलाई सम्झना छ । उता कोरियाका प्रसिद्ध कोरियो होटेलमा ‘चियर्स’ गरी चुरोट छोड्ने घोषणा भयो । मित्र कमानसिंह लामाको चुरोटको कार्टुन कमानजीलाई नै जिम्मा दिइयो। । यो घटना झलझल्ली याद आइरहन्छ । १० दिन पछि हामीहरू कोरियाबाट फर्कियौँ बेइजिङमा । बेइजिङबाट रेलमा हामी साङ्घाइमा आइपुग्यौँ । २३ जना साथीहरूलाई एकातिर राखेर पिसाब फेर्ने बहानामा चुरोट पिउन पुगेको साङ्घाइको त्यस क्षण आजपर्यन्त सम्म पनि मलाई याद आइरहन्छ । त्यसपछि पुनः चुरोट सेवन गर्ने बानी बस्यो । लाजै पचाएर चुरोटको सम्मोहनमा परेर आफूलाई चुरोटको प्रेममा फसाउँदै गएका प्रेम–प्रसङ्गहरू मेरा जीवनका क्रमहरू जस्तै बनेका छन् । यिनीसँगको मेरो प्रेम पुरानो हो । खराब मनोवृत्ति मनमा पसेपछि खराब तरङ्गहरू छचल्किँदा रहेछन् । खराबले यो मन अलमलिएपछि असलको प्रादुर्भाव हुन गार्हो हुँदो रहेछ । चुरोटले मेरो जीवन क्रमहरू उठाइदिएका यी यावत् प्रश्नहरूले मलाई मन–मनमा बराबर तरङ्गित तुल्याइदिएका छन् । विष वृक्षले विष नै उत्पादन गर्छ भन्ने थाहा पाउँदा–पाउँदै किन विषलाई अमृत सम्झ्निे मन हुँदा हुन् ? म चुरोटलाई मनमा राखेर यस्तो प्रश्न मनसँग सोधिरहेछु ।
चुरोटसँग म कायल भएँ । चुरोटको जादु र मोहनी कति विषालु रहेछन् – थाहा पाउँदा–पाउँदै म किन चुरोटको सम्मोहनमा परिरहेँ । भर्खरकै कुरो हामी २१ जना साहित्यकारहरू चितवनमा गएका थियौँ । म बाहेक कोही पनि चुरोट नपिउने । म एक जना बाहिर–बाहिर चुरोट पिउन पाएपछि रमाउने ! केही महिना अघिसम्म विजय चालिसे (मेरो पुराना मित्र) चुरोटका पारखीले पनि चुरोट छोडिसकेको कुरा त्यहीँ सुनाए । कोही छैनन्; चुरोट पिउने । नारायणगढ पुग्दा पनि त्यही स्थिति रह्यो । नारायणगढका प्रेम विनोद नन्दन मात्र एक जना चुरोटका मित्र देखियो । सबैजसोले तिरस्कार गर्दै ल्याएको यो चुरोटलाई मैले किन घृणा गर्न सकिएन ? म आफैमा ताजुब मान्दै चुरोटलाई मनमा राखेर सोचिरहेछु । क्यान्सर हस्पिटलभित्र पुग्दा पनि चुरोट पिउने रहरले मलाई गाँजी रह्यो । कस्तो सम्मोहन चुरोटसँग मेरो ।
यो पटक बल्ल ५ वर्ष जति भयो मैले मनमनमा प्रतिज्ञा गरेँ –चुरोट मेरो दुस्मन, खराब मित्र जसलाई के नाम दिऊँ म ? अब भने म कसरी तिमीलाई मेरो राम्रो सुन्दर साथी भनूँ ! म हायल कायल भएँ । तिमी सँगको सम्बन्ध र सम्पर्कले । मलाई अप्ठ्यारो बनायो तिमीले । तिमीलाई च्यापेर समाजमा हिँड्दा तिम्रो बल्दै गरेको रूप बोकेर म असल बन्न सकिनँ । तिम्रो स्वागत घरमा गरेर म आफू राम्रो हुन सकिनँ । तिमीलाई सेवन गरेर म चोखो, स्वच्छ र निरोगी बन्न गार्हो भयो । मैले बिदाइ गरेँ तिमीलाई ! मेरो मित्र भयौ धेरै वर्षसम्म तिमी तर तिमीले मलाई दुःख, पीडा रोग बाहेक के दियौँ ? भ्रममा मलाई राखेर तिमीले माया दियौ । छलछालमा तिमीले मलाई राखेर प्रेम दिएजस्तो गर्यौँ । छलछाम, धोका, षड्यन्त्रका अनेकौँ रूपहरू व्याप्त तिम्रो काला षड्यन्त्रकारी रूपलाई यो मेरो अन्तिम पटकको मन देखिको बिदाइ ! चुरोट प्रतिको अन्तिम तिरस्कारको यो मेरो सार्वजनिक घोषणा पनि हो । म अन्त्यमा लेखिरहेको छु –
चुरोट तिमी विष हौँ, विष पो छर्दोरहेछौं
चुरोट तिमी दुष्ट हौँ, खराब पो रच्दोरहेछौं ।