वि.सं. २००७ साल मङ्सिर २४ गते शनिबार भोजपुर बजारमा एकाएक गोली चलेको आवाज आयो । मान्छेहरूको भागाभाग भयो । बजारमै घर भएकी गणेशकुमारी जोशी छोराछोरीलाई अघि लगाई कुम्लो–कुटुरो बोकेर तलतिर झ्रिन् । अलि तल रहेको थपिनी दिदीको घरमा उनीहरू पुगे । त्यहीँ रात बिताउने निधो भयो । तर अबेरसम्म पनि गणेशकुमारीका श्रीमान् गुमानसिंह जोशी देखापरेनन् । उनी राणाकालीन बिचारी पदमा जागिरे थिए । नेपाली काङ्ग्रेसले भोजपुर कब्जा गर्न सशस्त्र आन्दोलन गरेको थाहा पाउनेबित्तिकै उनी पाक्तापाक्तैको भात छोडेर काठमाडौंतिर हानिइसकेका थिए । परिवारका कान्छा छोरा कृष्णप्रसाद जोशी त्यस बेला १० वर्षका थिए । उनलाई परिवारमा परेको विपत्तिका विषयमा केही थाहा थिएन । बाले नयाँ लुगा ल्याइदिनुहुन्छ भन्ने आशामा थिए उनी ।
तर गुमानसिंह जोशी काठमाडौंबाट भोजपुर फर्किएनन् । २००९ साल चैतमा काठमाडौंमा नै उनको चोला उठ्यो । कृष्ण जोशीले बाको अन्तिम दर्शन पाउन सकेनन् । उनी बाको मृत्युको खबर भोजपुरमा पुग्दा डम्बर तामाङको आँगनमा चुरा जोड्ने खेल खेल्दै थिए ।
त्यति बेलासम्म कृष्ण जोशीको घरको आर्थिक स्थिति राम्रै थियो, पछि बिस्तारै ओरालो लाग्न थाल्यो । उनी भन्ज्याङपाटीको उदय मिडिल स्कुलमा पढ्थे । टक्सारको विद्याधरी मिडिल स्कुल र उदय मिडिल स्कुल गाभिएर विद्योदय हाइस्कुल बनेपछि उनी त्यसैमा पढ्न थाले । परशु प्रधान उनका सहपाठी थिए । उनीहरू गुन्द्री, सुकुल र कालोपाटी बोकेर विद्यालय जान्थे । तर कृष्ण जोशीलाई पढाउन उनकी आमालाई असाध्यै गाह्रो पर्यो । किनभने घरको आर्थिक अवस्था अत्यन्त कमजोर भइसकेको थियो । गुमानसिंहले जोडेको जगेडा पूँजी सकिइसकेको थियो र गहनाहरू पनि बेचिइसकेका थिए । विद्यालयको शुल्क तिर्न नसकेपछि २०११ सालमा सात कक्षामा पढ्दापढ्दै कृष्ण जोशीले विद्यालय जानै छोडिदिए र हातमा सानो लौरो लिएर उनी गाई चराउन सार्कीडाँडातिर जान थाले ।
त्यस बखत विद्यालयका सचिव इन्द्रप्रसाद श्रेष्ठ थिए र प्रधानाध्यापक थिए शरद्चन्द्र शर्मा भट्टराई । राम्ररी पढ्ने विद्यार्थी विद्यालय नआएको पाएर उनीहरूले कृष्ण जोशीलाई बोलाउन पठाए, घरैमा आएर पनि फकाए । उनको शुल्क मिनाहा गरियो । बल्ल उनी विद्यालय जान थाले । भएको एउटा गाई पनि बेचियो । उनको अध्ययनमा सघाउ पुर्याउन उनलाई र परशु प्रधानलाई श्रीराम आदर्श पुस्तकालयको लाइब्रेरियन बनाइयो । उनी महिनामा २ रुपियाँ ५० पैसा तलब पाउँथे । २०१४ सालमा उनी एसएलसी परीक्षा दिन काठमाडौं भित्रिए । प्युखाटोलमा डेरा लिए उनले । त्यस घरको माथिल्लो तलामा मदनमणि दीक्षित सपरिवार बस्ने गर्थे । उनका छोरा विनोद दीक्षितसँग कृष्ण जोशीको मित्रता गाँसियो । शान्ता श्रेष्ठ र मिठु दिदीले सञ्चालन गर्ने बाल–कार्यक्रमका लागि रेडियो नेपालमा गई कविताहरू पाठ गर्न थाले उनी । त्यसपछि उनी कृष्णप्रसाद जोशीबाट कृष्ण जोशी बने । काठमाडौंले उनको भविष्यको रेखा कोर्न सघायो । उनी काठमाडौंमै बसे । उनी कवि भए, गीतकार भए, उपन्यासकार भए, सम्पादक भए । यसरी उनी कालजयी भए । जीवननिर्वाहका लागिचाहिँ उनी जागिरे भए । ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा, मनाङ, म्याग्दी, मुस्ताङ, खोटाङ आदिजस्ता दुर्गम जिल्लाहरूमा जागिरे जीवनको अधिकांश समय बिताएपछि उनी उपसचिव पदबाट सेवानिवृत्त बनाइए । २०२१ सालदेखि प्रारम्भ भएको उनको सरकारी जागिर २०४९ सालदेखि समाप्त भयो ।
मैले चिन्दा कृष्ण जोशी सरकारी जागिरमा थिएनन् । त्यसैले मैले उनलाई साहित्यकारका रूपमा मात्रै चिनेको छु । भोजपुरमा जन्म भएका नाताले, उमेरका आधारले, ज्ञान र अनुभवका कारणले र साहित्यिक क्षेत्रका हिसाबले उनी मलाई आफ्नै दाजुजस्तो लाग्छ, र म व्यवहारमा ‘जोशीदाइ’ भन्छु । यहाँ अहिले गरिरहेजस्तो ‘तिमी’ सम्बोधन गर्दिनँ, ‘तपाईं’ भन्छु । उनको मप्रतिको व्यवहार पनि आफ्नै भाइलाई गरेजस्तै छ ।
कृष्ण जोशीसँग आफ्नै प्रकारको महत्व भएका केही प्रसङ्गहरू जोडिएका छन् । उनले आफ्नो सम्पादनमा २०२१ सालमा भोजपुरका कविता निकाले । एउटै जिल्लाका कविहरूलाई समेटेर त्यसअघि त्यस्तो कवितासङ्ग्रह निस्किएको थिएन । पछि कास्की, काभ्रे, धादिङ आदि जिल्लाबाट त्यस्ता कवितासङ्ग्रहहरू त निस्किए, तर कृष्ण जोशीले भोजपुरका कविता, २०६५ पनि निकाले र त्यस्ता सङ्ग्रहहरूचाहिँ अरू जिल्लाका निस्किएनन् । २०२१ सालमै उनले सगरमाथा अञ्चल साहित्य सेमिनार अङ्कको सम्पादन गरे । भोजपुर जिल्ला त्यस बखत कोसी अञ्चलअन्तर्गत थिएन, सगरमाथा अञ्चल अन्तर्गत थियो । अञ्चलकेन्द्रित पहिलो साहित्यिक कृति पनि त्यही बन्यो । काठमाडौंलाई केन्द्रीय विषय बनाएर लेखिएका विभिन्न कविका कविताहरूको सङ्ग्रह निकाल्ने पहिलो व्यक्ति, हालसम्मका अन्तिम व्यक्ति या एक मात्र व्यक्ति उनी नै भए । एघारौं संस्करणसम्म पुस्तक निस्कने पहिलो भोजपुरेसमेत उनी नै भए । त्रिभुवन विश्वविद्यालयले एम.पी.ए.को पाठ्यक्रममा राखेको उनको साहित्येतर कृति सार्वजनिक प्रशासन आधुनिक अध्ययन उनलाई यो श्रेय दिलाउने उत्तम कृति हो ।
अचम्मको र महत्वको यस्तै प्रसङ्ग अर्को एउटा पनि जोडिएको छ कृष्ण जोशीको जीवनमा । जागिरे जीवनको लामो समय दुर्गम जिल्लाहरूमा बिताउँदा पनि सरकारले उनको कदर कहिल्यै गरेन । उनले ‘गोरखादक्षिणबाहु’ पदक पाएनन् । तर सरकारी सेवाबाट निवृत्त भएको १२ वर्षपछिको एक बिहान पदक पाउनेहरूको नाउँ भन्दै गर्दा उनको नाउँ पनि भन्यो रेडियो नेपालले । उनी छक्क परे । पछि गोरखापत्रले पनि उनको नाउँ छाप्यो, २०६२ सालमा पदक पाउनेहरूको सूचीमा । उनलाई साहित्यकारका रूपमा ‘प्रबल गोरखादक्षिणबाहु चौथो’ दिइएको थियो । त्यस वर्ष साहित्यकारका रूपमा त्यो पदक पाउने उनी मात्रै थिए । कसरी त्यो पदक उनलाई दिने निधो गरियो, उनैलाई थाहा भएन । राजा ज्ञानेन्द्रका हातबाट उनले पदक लिए । पृथुलाधीशका रूपमा रानी कोमल शाहले दस्तखत गरेको प्रबल गोरखादक्षिणबाहु चौथोको प्रमाणपत्र उनको कोठामा झ्ुन्डिएको छ । शाहवंशीय राजतन्त्रका राजाबाट त्यो पदक पाउने अन्तिम नेपाली साहित्यकार कृष्ण जोशी नै बने । उनले राजाको हातबाट पदक लिएको एक वर्ष नबित्दै राजतन्त्रको अवसान भयो, राजा ज्ञानेन्द्र कृष्ण जोशीकै नागरिक हैसियतमा झ्रे । यसरी पनि कृष्ण जोशीको नाउँ अभिलेखबद्ध भयो ।
तर अक्षरले मलाई कालजयी बनायो भन्ने अहम् छैन कृष्ण जोशीमा । मान्छेहरूको विशाल भीडमा आफ्नो अलग्गै चिनारी लिएर सगौरव उभिएका छन् उनी । तर उनमा घमण्ड छैन । उनी सौम्यता र भद्रताले पनि साँच्चैका कविजस्ता लाग्छन् । उनका तीनवटा कवितासङ्ग्रहमा त कविता छन्–छन्, बोलीवचन, व्यवहार र भावभङ्गिमाबाट समेत उनी कविताको वर्षा गराइरहेका हुन्छन् । उनको लेखनकौशलले उनलाई हिमालको उचाइ दिएको छ, उनको भावनाले उनलाई समुद्रको गहिराई दिएको छ । धेरै वर्षपछि २०५८ सालमा भोजपुर पुग्दा भोजपुरको माटो निधारमा लगाएर उनी भावुक बनेका थिए । त्यस बखत भोजपुरे माटोको टीको उनका बा गुमानसिंहको सम्झ्ना गराउन पर्याप्त थियो । उनी भावनामा आमालाई पनि ल्याइरहेका थिए । २०३० सालमा आमाको निधन हुँदासमेत बाको जस्तै आमाको पनि अन्तिम दर्शन गर्न नपाएको पीडा २०५८ सालमा भोजपुर पुग्दा समेत उनको अनुहारमा पोखिइरहेकै थियो । कवि उनी साँच्चै कवितामय बनेका थिए ।
कृष्ण जोशी कविता लेख्छन्, छुट्टै प्रकारका लेख्छन् । बिम्बहरूको भूमि बनाएर त्यसमा शब्दहरूलाई खेलाउँछन् । आगो समुद्र पानी समुद्र कवितासङ्ग्रहमा प्रकाशकीय लेख्दा उनका कविताका विषयमा मैले केही लेखेको छु । गोरखापत्र, रचना, प्रगति, उजेली, हिमानी, रूपरेखा, फूलपाती, सिंहनाद, मधुपर्क, कल्पना, मिर्मिरे, समष्टि, बगर, अभिव्यक्ति, रत्नश्री, श्रीजा, कान्तिपुर आदि थुप्रै पत्रपत्रिकाहरूमा उनका कविताहरू छापिएका छन् । २०१३ सालदेखि सुरु भएको उनको साहित्यिक यात्रा अझ्ै चलिरहेको छ । तीनवटा उपन्यास र एउटा गीतसङ्ग्रहसमेत सातवटा साहित्यिक कृतिका कृतिकार बनिसकेका छन् उनी । उनका तीनवटा पुस्तक मेरै कम्प्युटरमा अक्षराङ्कित भएका हुन् ।
कृष्ण जोशी मेरो हृदयमा बारम्बार उदाउँछन् र उदाइरहेका छन् । हिरण्य भोजपुरे, मञ्जुल आदि साहित्यकारहरूसँग मेरो परिचय उनैले गराइदिएका हुन् । हिरण्य भोजपुरेले मैले पाएको नोबेल पुरस्कार निबन्धमा कृष्ण जोशीको सुन्दर तस्विर खिचेका छन् । मेरो आग्रहमा कृष्ण जोशी अतिथि र निर्णायक बनेर काभ्रेमा आएका छन् र साहित्यिक मन्तव्य व्यक्त गरेका छन् । केही सङ्घसंस्थाहरूमा हामी दुवै आबद्ध छौं । श्रीविक्रम राणाको निधनपछि २०५४ सालमा उनको गीतसङ्ग्रह घाउका फूलहरू हामी दुबैले संयुक्त रूपमा सम्पादन गरेका छौं । त्यस पुस्तकको प्रकाशनखर्च जुटाउन उनले धेरै परिश्रम गरेका छन् । उनको अन्तर्वार्ता लिएर मैले पत्रिकामा छपाएको छु, उनको व्यक्तित्वका विषयमा र कृतिका विषयमा पनि आफ्नो प्रतिक्रिया र अनुभूति मैले लेखेको छु । म संलग्न भएको एउटा समितिले मेरै प्रस्तावमा उनलाई २०५६ सालमा सम्मान गर्ने निर्णय गरेको थियो । मेरो लेखन, सम्पादन र प्रकाशनसम्बन्धी कार्यमा उनी सल्लाहहरू दिइरहन्छन् । उनले दिएको एउटा सल्लाहअनुसार मैले काम गर्न सकेको छैन, त्यो हो भोजपुरे लेखकहरूको जीवनीसङ्ग्रहको सम्पादन र प्रकाशन गर्ने । उनीबाट उपन्यासका लागि एउटा विषय मैले पाएको छु र म त्यो लेख्दै पनि छु । यसरी म धेरैतिर उनीसँग कुनै न कुनै रूपमा जोडिएको छु । यसबाट मलाई गर्वको अनुभव हुन्छ र म उनीसँग अझ् नजिकिन्छु ।
कृष्ण जोशी मलाई बुझछन् । आफू कुशल सम्पादक भएकाले होला, उनी सम्पादनकर्मका क्रममा मैले पाइरहेको पीडा अनुभूत गर्न सक्छन् । २०१३ सालमा बालसाहित्यबाट सम्पादनकार्य प्रारम्भ गरेका उनले २०१५ सालमा आँकुरोको, २०१८ सालमा पँधेरोको, २०१९ सालमा सपनाको ओतमाको, २०२० सालमा फूलबारी र कविताकुञ्जको सम्पादन गरेका छन् । २००७ सालको क्रान्ति र नारदमुनि थुलुङको २०५३ सालमा, बिर्सेका अनुहारहरू : बिर्सन नसकिएका घटनाहरू २०५७ सालमा र इन्द्रप्रसाद श्रेष्ठ : जीवनवृत्त र व्यक्तित्व २०६५ सालमा सम्पादन गरेका छन् उनले । यसरी उनीबाट सम्पादित कृतिको सङ्ख्या १४ पुगेको छ ।
कृष्ण जोशीले तयार पारेको व्यक्तिगत विवरण मैले पढ्ने मौका पाएको छु । त्यसमा जागिरे जीवनको उल्लेख छैन, साहित्यिक क्षेत्रसँग संलग्न विवरणहरू मात्र उल्लेख छन् । वासु शशी स्मृति परिषद्, साहित्यिक पत्रकार सङ्घ, नारदमुनि थुलुङ स्मृति परिषद्, वाणी प्रकाशन र घट्टेकुलो शान्तिनगर विकास समाजसँग आबद्ध रहेका उनले भोजपुर साहित्य महोत्सवबाट २०५८ सालमा सम्मानपत्र, साहित्यिक पत्रकार सङ्घबाट २०५९ सालमा व्यथित काव्यपुरस्कार र बगर फाउन्डेसनबाट २०६१ सालमा बगर–सम्मान प्राप्त गरेका छन् । अरू ५ वटा पदक सरकारबाट पाएका छन् । कुलप्रसाद देवानले कृष्ण जोशीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षकमा र नवराज निरौलाले कृष्ण जोशीको उपन्यासकारिताको अध्ययन शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा गरिने स्नातकोत्तरका लागि शोधपत्र लेखेका छन् । कृष्ण जोशीको व्यक्तिगत विवरणमा पनि यी कुरा परेका छन् । उनले गर्व गर्न लायक र उनलाई राष्ट्रमा चिनाउने विषय भनेकै साहित्य हो । उनी नेपाली साहित्यका दीर्घ तपस्वी हुन् ।
कृष्ण जोशीले अध्ययनका क्रममा राजनीतिशास्त्र मूल विषय लिई स्नातकोत्तर गरे, युएसएडको छात्रवृत्ति कार्यक्रमअन्तर्गत अमेरिकन युनिभर्सिटी लेबनानबाट एमपीए गरे । भारत, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिरिया आदि देशको भ्रमण पनि गरे । अध्ययन र अनुभवले खारिएर अनि विचार र अनुभूतिलाई तीव्र बनाएर उनले मृत्यु दोहोरिन्छ म बाँचेँ भने, असम्मत सम्मत, काठमाडौंवरिपरि, विसङ्गत स्वरहरू, पोखरीभित्रको शताब्दी, आगो समुद्र पानी समुद्र र चित्रदंश जस्ता मौलिक कृतिहरू साहित्यवाटिकामा अर्पण गरे । अहिले उनी काठमाडौं घट्टेकुलोमा २०३९ सालमा बनाएको घरमा श्रीमती, छोराबुहारी र नातिनातिनाका साथमा उनीहरू सबैको आदर पाएर बसिरहेका छन् । २०२२ साल जेठ १७ गते विवाह गरेपछि जीवनसँगिनी हुन पुगेकी सरस्वती जोशीको सल्लाह, सेवा र सहयोगले उनी स्वतन्त्र रूपमा अध्ययन, लेखन, सम्पादन र प्रकाशनमा ७० वर्षको उमेरमा पनि व्यस्त रहन सकेका छन् । साहित्यिक समारोह र अन्य सामाजिक क्रियाकलापहरूमा उनको सक्रियता छँदैछ । उनको प्रेरणादायक आत्मकथा पढ्न पाउने अधिकारबाट नेपाली साहित्यका पाठकलाई उनले वञ्चित गराए पनि सङ्ग्रहमा समेटिन नसकेका कविताहरूको सङ्कलन उनीबाट भइरहेको छ । उनको घरमा पुग्दा म उनलाई कुनै पुस्तक या कापी–कलमसँग खेलेको देख्ने गर्छु । उनको अक्षरपूजा देखेर सधैं मैले उनलाई श्रद्धा र आस्थापूर्वक नमन गर्ने गरेको छु ।
आफ्नो कान्छो छोराले देशको यति सेवा गर्ला र ऊ यति प्रसिद्ध होला भनेर निरक्षर गणेशकुमारी जोशीले कल्पना गरेकी थिइन् कि थिइनन्, थाहा छैन । छोराका लागि विद्यालयको शुल्क तिर्न नसकेर छोरालाई गाईगोठालो बनाउनुपर्दा उनको चित्त साह्रै नै कुँडिएको हुँदो हो र फरियाको फेरले आँसु पुछेर उनी विवशतापूर्वक धेरै रोएकी हुँदी हुन् । तर कृष्ण जोशीको घरको बैठककोठाको भित्तामा झ्ुन्ड्याइएको गणेशकुमारी जोशीको तस्विर निन्याउरो देखिँदैन । उनको शरीर नभए पनि आत्माले आफ्नो छोराको पौरख देखिरहेको छ । कति खुसी होला अहिले उनको आत्मा, म भन्न सक्दिनँ । मलाई त लाग्छ, कृष्ण जोशीको पुर्पुरो बलियै रहेछ, र पो उनी सिङ्गो भोजपुर बने, नेपाली भाषासाहित्यको अस्तित्व रहेसम्मका लागि जीवित रहन सक्ने बने र नेपालगौरव बने । धन्य छ कृष्ण जोशी ।
– अक्षरधाम, बनेपा
जनमत १४० अंकवाट