ई. सुष्मा खत्री रञ्जितद्वारा लिखित ‘ओडेसा डायरी’ नामक कृतिको लोकार्पण भएको छ । इन्जिनियरिङ पढ्न ओडेसा पुगे पछि उनको लेखन यात्रा साहित्य तिर मोडियो । हरेक दिन डायरी लेख्ने र केही तीता मिठा अनुभव भई हाल्यो भने गीत, कविता लेखि हाल्ने सुष्माको ओडेसा डायरी र आँखाहरू झिमिक्क गर्ने नपाई गीतको सिर्जना भएको हो ।
सिमल बुक पब्लिकेशन बाट प्रकाशित उक्त पुस्तक लोकार्पण गर्दै शिल्ट कन्सल्ट्यान्ट प्रा.लि.का प्रबन्धक इन्जिनियर केशव कुँवरले युक्रेन र रसियाबिच युद्ध चलिरहेका समय ‘ओडेसा डायरी’ आउनुले त्यस ठाउँको महत्त्वमाथि थप उजागर गर्ने बताएका छन्। साथै, प्रबन्धक कुँवरले नेपालका लागि ओडेसा सहरको महत्त्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ओडेसाको योगदानको चर्चा गरे । हाल युक्रेनमा पर्ने ओडेसामा नेपालीहरू अध्ययनको सिलसिलामा वर्षौं देखि जाने गरेका छन् ।
नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्व अध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ कलेजका पूर्व डिन प्रोफेसर डा. त्रिरत्न बज्राचार्य इन्जिनियर क्षेत्रमा आबद्ध भईकन पनि लेखक सुष्मा खत्रीको साहित्य क्षेत्रमा देखाएको रुचि र प्रकाशित कृतिले लेखकमा भएको अन्तर्निहित प्रतिभा आम पाठकमाझ पुग्नु आफैमा खुसीको कुरा भएको बताएका छन् । मित्र कुञ्जका पूर्व अध्यक्ष तथा रुसी साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्यले सुष्मा खत्रीको कृति ओडेसाले पुराना दिनहरूको सम्झना पुर्न ताजगी हुने र तत्कालको ओडेसा परिवेशलाई पाठकले नजिकबाट नियाल्न सक्ने कुरा व्यक्त गरे ।
सुखी परिवारका प्रबन्धक डा. तुम्ला लाकोल शाहले ‘ओडेसा डायरी’मार्फत लेखकको लेखकीय क्षमता उजागर हुनुका साथै नेपालले पनि आफ्नो राष्ट्रलाई शैक्षिक हबको रूपमा विस्तार गर्नतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा खत्रिद्धारा रचित तथा स्वरबद्ध गरिएको ‘आँखाहरू झिमिक्क पार्न नपाउँदै’ बोलको गीतसमेत सार्वजनिक गरिएको छ । उक्त गीतका शब्द लेखन सुष्मा खत्री स्वयंले गरेकी हुन् भने, संगीत सन्तोष भक्त श्रेष्ठ, एरेन्जमा जुगल डंगोलले गरेका हुन् ।