इच्छा हुन् मूल सारा सकस कठिनता चित्त सन्ताप भर्ने
यो गर्दा ऊ नपुग्ने उसतिर गरिए यो भरङ्गै बिगार्ने
इच्छा गर्दै नगर्नू जुन हुनु छ हुँदै गर्छ भन्ने त जानेँ
के गर्ने बुद्ध मेरो हृदय अलि अरू ढङ्गले सोच्न थालेँ ।।
सामुन्ने दु:ख पाई धुरुरु धुरु अरू मित्र रोएर बस्ता
यस्तै हो हुन्छ ता होस् म किन अघि सरूँ ठान्न थोपै नसक्ता
लागी पर्दै म केही जति बल छ गरूँ भावना आइदिन्छ
राम्रो केही भएमा जति फरक बसूँ चित्तमा हर्ष हुन्छ ।।
यी सारा हर्ष चिन्ता बहन जति परोस् गर्छु भन्ने बिचारी
केही जो पर्न सक्ने वर पर सबका पूर्ण ठेक्का सकारी
बढ्दै जाँदैछु मेरो कति पर कुन हो के छ कस्तो मुकाम
यो हो मेरो तपस्या भन कि त जडता ती सबैमा सलाम ।।