० तपाईंको साहित्य–लेखनको थालनी कसरी भयो ?
मेरो लेखनको थालनी १३/१४ वर्षको उमेरमा नै भएको हो । स्कुलमा शुक्रबारीय कार्यक्रम हुन्थ्यो । म सधैंजसो उक्त कार्यक्रममा भाग लिइरहन्थेँ । गीत–कविता सुनाउथेँ । पुरस्कार पनि पाएकी थिएँ । गुरुहरूले पनि मेरा लयबद्ध गीत–कविताहरू सुनेर मलाई हौसला, प्रेरणा दिइरहनुहुन्थ्यो । मेरो स्वर राम्रो भएको हुनाले मुनामदन, गौरी जस्ता कविताहरूलाई गाउन लगाउनुहुन्थ्यो । यसरी विद्यार्थी जीवनमा मैले राम्रो वातावरण पाएकी थिएँ । लक्ष्मीजयन्ती, लेखनाथजयन्तीमा भाग लिएर आफ्नो प्रतिभा देखाइरहन्थेँ । विद्यालयबाट लेख्ने–गाउने यात्रा सुरु भयो ।
० साहित्य–सिर्जना गर्ने भावना र प्रेरणा कसरी कोबाट पाउनुभयो ?
मेरो जन्मठाउँ पोखरा, त्यसमा पनि फेवातालकै छेउ, जहाँ माछापुच्छे« हाँस्दै फेवातालको पानीमा ऐना हेर्छु पारिपट्टि हरियो रानीवन सुसाउँछ । त्यही फेवामा पौडी खेलेर बाल्यकाल बित्यो । त्यही फेवाको पानी पिएर हुर्कियो । त्यही मेरो प्यारो फेवाले, मेरो पोखराले, मेरो माछापुच्छे«ले भाका फिराएर गाउन सिकायो, लेख्न सिकायो । मैले अहिलेसम्म जति गाएँ, जति लेखेँ ती सबै सिर्जना फेवाका सुसेली हुन्, फेवाका छाल हुन्, माइती वैदामका प्रतिबिम्बहरू हुन् । घरमा मेरा हजुरबुबा एक कुशल सिकारी हुनुहुन्थ्यो । पूजापाठ योग, ध्यान गर्नुहुन्थ्यो । मेरो काम फूल टिप्नु हजुरबुबाका लागि पूजासामग्री तयार गर्नु, भाइबहिनी हेर्नु । ठूलो परिवार, ४०/५० जनाको । राति आमाहरू सुत्दा १२ बज्थ्यो । बिहान ३ बजेदेखि नै ढिकी–जाँतो चल्थ्यो । त्यो ठूलो घरको चलनचाँजो, बुहार्तन देख्दा मेरो बाल्य मानसपटलमा नमिठो अनुभूति हुन्थ्यो । मेरी फूपू वर्षेनी स्वस्थानीको व्रत बस्नुहुन्थ्यो । म मीठो लयमा स्वस्थानी पढ्थेँ । सबैले मेरो स्वर मन पराउँथे । म झ्न् हौसीहौसी स्वस्थानी लय मिलाएर पढ्थेँ । हजुरबुबाले भने अशुद्ध पढी भनेर हप्काउनुहुन्थ्यो । कहिले त रुँदै–रुँदै पढ्थेँ । मामाघरकी हजुरआमा मीठो स्वरमा सिलोक गाउनुहुन्थ्यो । दन्त्यकथा सुनाउनुहुन्थ्यो । मेरो बाल्यअवस्था एक रमाइलो र रसिलो परिवेशमा बित्यो । यिनै यावत् सांस्कृतिक, सामाजिक र प्राकृतिक वातावरणले लेख्ने–गाउने मेसो मिलाइदिएजस्तो लाग्छ ।
० साहित्यसेवामा निरन्तर लागिपर्नुभएकी तपाईं यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्म जेजति सिर्जना गर्न सकेँ त्यसैमा चित्तसम्म बुझएर बसेकी छु, पूर्ण रूपमा सन्तुष्टि त पटक्कै छैन । सोचेजति कोर्न सकिरहेकी छैन । मोफसलको पीडा आफ्नै ठाउँमा छ । जन्मथलोको आँगनमा बसेर स्वाभिमानपूर्वक बाँच्न पाएकोमा गर्व गर्दछु । जीवनमा ठूलो सपना बुन्दिनँ । त्यसैले म खुसी छु । सिर्जनाको बाटो हिँड्न धेरै बाँकी छ । कर्म गर्दै जाऊँ त्यही नै ठूलो कुरा हो । म त्यति ठूलो लेखिका, गायिका होइन, सिक्ने क्रममा छु । जुन रूपमा बाँचेकी छु, सन्तुष्ट छु ।
० नेपाली साहित्यमा महिला लेखिकाको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
पुरुषको तुलनामा महिला लेखिकाहरूको उपस्थिति ज्यादै न्यून रहेको कुरा त सर्वविदितै छ । अवश्य पनि यसका धेरै कारण छन् । हाम्रो सामाजिक संरचना, परम्परागत सोचाइ, शैक्षिकजस्ता अन्य कारणहरूबाट महिलाहरू हेपिएका छन् । हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन तर पनि यस्तो विषम परिस्थितिलाई छिचोलेर पनि लेखनयात्रामा आशालाग्दो अवस्था छ । अहिले धेरै राम्रा–राम्रा लेखिकाहरूको आगमन भइरहेको छ । उत्कृष्ट कृतिहरू जन्मिरहेका छन् । विकासका हरेक क्षेत्रहरूमा समाजका हरेक अङ्गहरूमा महिलाहरूको समान सहभागिता, समान भूमिका भएमा मात्र राष्ट्रले काँचुली फेर्ने हो । जबसम्म महिलाहरूको, हक, अधिकार क्षमता सुनिश्चित हुँदैन; तबसम्म असल समाज निर्माण पनि हुँदैन । त्यसैले स्वयम् महिलाहरू पनि सचेत र जागरुक हुनुपर्ने परिस्थिति छ । आशा गरौं अवश्य पनि अब महिलाहरूको कलम सशक्त बन्नेछ, बनेका पनि छन् । समग्र रूपमा मूल्याङ्कन गर्दा साहित्य यात्रामा महŒवपूर्ण भूमिका निभाइरहेका छन् । अबको समय भनेको, अबको युग भनेको महिलाहरूको विकासको युग हो ।
० ‘साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोणलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यसाथ प्रस्तुत गरिन्छ, यो भनाइप्रति तपाईंको के धारणा छ ?
साहित्य समयको दर्पण हो । साहित्यले समयको आवाज बोल्छ । जीवन र जगत्का यावत् यथार्थहरू लेख्छ । त्यसैले साहित्य जीवन हो, जीवन साहित्य हो । जीवनका सबै रङ्गहरू साहित्यमा फुल्छन् । सबै रङ्गहरू नफुलेको साहित्य निरस हुन्छ । साहित्यमा सीमा, साँधभन्दा पनि व्यापक र विस्तृत खालको परिवेश साहित्यलाई सुहाउँछ । मैले भन्न खोजेको साहित्यमा विचार र दृष्टिकोण हुन्न भनेको होइन तर त्यो सिद्धान्त र दृष्टिकोण लोककल्याणका लागि हुनुपर्छ, लोकहितका लागि हुनुपर्छ । बहुसङ्ख्यक मानवका लागि हुनुपर्छ । कुनै दल, कुनै गुट, कुनै विचारका आग्रहमा बाँधियो भने साहित्य फस्टाउन सक्दैन । साहित्य सत्यका पक्षमा लेखिनुपर्छ । साहित्यले युगको धर्म छोड्नु हुँदैन । नि:स्वार्थ रूपमा लेखिएको साहित्य मात्र जनताको साहित्य हुन सक्छ । साहित्य कसैको निर्देशनमा लेखिँदैन । कसैलाई रिझउन पनि लेखिँदैन । माथि उठेर मानवताका लागि अनि राष्ट्रियताका लागि समर्पित हुनुपर्छ जस्तो लाग्छ ।
हालका विभिन्न साहित्यिक प्रतिष्ठानका गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
अहिले धेरै सङ्घसंस्था, प्रतिष्ठानहरू जन्मिरहेका छन् । यिनका गतिविधिहरू अगाडि बढिरहेका छन् । अवश्य पनि यिनले नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा टेवा पुर्याएका छन् । विचार आस्था, जहाँ जे भए पनि वाङ्मयको सेवाको भावले समर्पित भएका प्रतिष्ठानहरूलाई धन्यवाद त दिनैपर्छ । यस्ता प्रतिष्ठानहरूले समन्वयका रूपमा साहित्यको नि:स्वार्थ सेवा गरिदिए भने वाङ्मयको विकासमा टेवा पुग्ने थियो । यदाकदा अस्वस्थ गुटबन्दी र प्रतिस्पद्र्धा नदेखिएको पनि होइन, व्यक्तिगत स्वार्थले पनि कतिपय सङ्घसंस्था सञ्चालित छन् । जे भए पनि धेरै प्रतिष्ठानहरू विशुद्ध साहित्यिक सेवामा समर्पित छन् । यो हुनु धेरै गौरवको विषय हो ।
० तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
स्वदेशीमा भूपि, देवकोटा, बी.पी., पारिजात, माधव घिमिरे, धर्मराज, अलि मियाँ हुन् भने विदेशी साहित्यकारहरूलाई त्यति अध्ययन गरेकी छैन । थोरै पढेकोमा प्रेमचन्द्र, गोर्की, सेक्सपियर आदि हुन् ।
० तपाईंलाई सधैं सम्झ्ना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झ्र्को नमानीकन उल्लेख गरिदिनुहोस् !
साहित्यिक र गायनयात्रामा हिँड्दा सम्झ्न लायक रोचक घटनाहरू त थुप्रै छन् जुन सधैं ताजा रहिरहेका छन् । यस्ता घटनामध्ये २०४१/४२ सालतिर लमजुङ बसाइको क्रममा वेसीसहरमा भएको साहित्यिक कार्यक्रममा पाइन खबर गीत गाउँदा धेरै आमाहरू, दिदीबहिनीहरूले मन पराएर १ रुपियाँदेखि २० रुपियाँसम्म दिनुभएको थियो । पाइनँ खबर गीत सुनेर रुनुभएको थियो । दु:खीको बिलौना कविता सुनेर निकै प्रभावित हुनुभएको थियो त्यो क्षणले मलाई निकै भावुक बनाएको थियो । यो क्षणले मलाई ऊर्जा पनि दिएको थियो । त्यो वेसीसहरको साहित्यिक कार्यक्रमलाई म कहिल्यै भुल्न सक्दिनँ । त्यो कार्यक्रममा दिएको २७०/– जति त्यही आयोजक संस्था कर्मचारी मिलन केन्द्रलाई दिएकी थिएँ ।
० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
सन्तानजस्तै माया लाग्छन् आफ्ना रचनाहरूलाई, एउटी आमालाई सबै छोराछोरीको बराबरी माया लागेजस्तै । मलाई पनि त्यस्तै हुन्छ । सन्तानजस्तै प्रिय छन्, माया उर्लेर आउँछ आफूले गाएका र लेखेका सिर्जनाहरू सम्झ्ँिदा । भन्नु नै पर्दा नाम लिनुपर्दा गीतमा पाइनँ खबरर कवितामा जीवन शीर्षकको रचना अत्यन्त मनपर्छ । पहिलो रचनामा कवितातर्फ एउटा धोका हो भने गीत रेडियोमा रेकर्ड भएको आँखाभरि आँसुको धाराहो ।
० यसबाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्य, सङ्गीत र कलालाई यो राष्ट्रले कहिल्यै पनि माया दिन जानेनन् । यस क्षेत्रमा लाग्ने साधकहरू राज्यबाट अपहेलित छन्, उपेक्षित छन्, मुग्लानमा भाँडा माझन विवश छन् । भन्ने बेलामा राष्ट्रका गहना भनेर फलाक्छन् व्यवहारमा सर्जकहरूको हितमा कोही छैन । राजनीतिक भागबन्डा र हालीमुहाली गर्नेहरूका छातीमा यो राष्ट्र दुख्तैन, यदि राष्ट्र दुख्छ भने त्यो सर्जकहरूको छातीमा मात्र दुख्छ । अन्तमा जनमतप्रति हार्दिक धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना ।
(जनमत, १३४)