बुद्धिचाल सँग मेरो माया बसेको धेरै अगाडिदेखि नै हो । म युवा छँदा देखि नै बुद्धिचाल खेल्ने गर्थेँ । मलाई याद छ, सायद १६ वर्षको छँदा देखि बुद्धिचाल खेल्ने गरेको । भोलाखाटोलमा काठमाडौँका भाइ रत्न शाक्य डेरामा बस्नुहुन्थ्यो । उहाँको पसलमा बुद्धिचाल र क्यारम खेल्नेहरूको भीड लाग्ने गर्थ्यो । हरिदाई अर्थात् मेरो साहिँला दाई हरिप्रसाद दुवाल बुद्धिचालको सौखिन खेलाडी हुनुभएको र सबैजसो दाजुभाइको बुद्धिचालसँग माया मोह रहेकोले र हामी सबै बुद्धिचाल खेल्ने गथ्र्याैं । कृष्ण दाइ र देवेन्द्र दाइ पनि बुद्धिचाल मन पराएर खेल्नुहुन्थ्यो । कहिलेकाहीँ घरमा हामी दाजुभाइहरू खेलमा सामेल हुन्थ्यौ ।
समय बचेको बखतमा अरूमा भन्दा बुद्धिचालमा समय लगाउँथे । सबैले चिन्छन् मलाई बुद्धिचालका खेलाडी भनेर । जहाँ जहाँ म पुगेँ, यस खेलबाट अलग भइनँ । मेरो प्रिय र मन पर्ने साथी बन्यो बुद्धिचाल खेल । गोरखा क्याम्पसमा २०३४ सालतिर शिक्षा शास्त्र अध्ययन संस्थान अन्तर्गत सहायक प्राध्यापक हुँदाताका होस्, त्यसभन्दा अगाडि पाँचखाल, भैंसेपाटी, धुलिखेल, साँगा, काठमाडौँमा म शिक्षक हुँदाताका होस्, जहाँ पनि मेरा बुद्धिचाल खेल्ने साथीहरूसँग अन्तरङ्ग सम्बन्ध कायम भएका थुप्रै उदाहरणहरू छन् । गोरखा क्याम्पसमा पढाउन जानुभन्दा अगाडि प्रसिद्ध लेखिका पारिजातसँग धेरै पटक उहाँकै निवास घरमा बुद्धिचाल खेलेका सम्झनाहरू आइरहन्छ । राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक निरञ्जन गोविन्द वैद्य मेरो पुराना बुद्धिचाल खेलका मित्र । भोटाहिटीस्थित उहाँको पुस्तक पसलमा दिनका दिन जसो उहाँसँग बुद्धिचाल खेलेका दिनहरू आजपर्यन्त सम्झना आइरहन्छ । बीएड पढ्दै गर्दा २०३२ देखि २०३४ सम्म म इटुम्बहालमा डेरा लिएर बसेको बेला निरञ्जन दाईको पसलमा नगएको दिन नै हुँदैनथ्यो । त्यो पुस्तक पसलसँग मेरो अनन्य सम्बन्ध गाँसिएको यसै खेलमार्फत हो ।
खेलमा झेल पनि हुन्छ, खेलबाट मेल पनि हुन्छ । तर यस बुद्धिचाल खेलमार्फत धेरै जनासँग मेरो सम्पर्क बढाइदियो । काभ्रेबाट लखेटिएर सहिद स्मारक माविका शिक्षक भइजाँदा बुद्धिचाल खेल्ने शिक्षक साथीहरूसँग विशेष मित्रता बढ्दै गयो । कालिम्पोङतिरका पाख्रिन सर अहिले पनि याद आइरहन्छ । थानकोटस्थित प्रभात निमाविका शिक्षक गोविन्द केसी, चन्द्र मोहन जोशीहरू आजसम्म पनि सम्झना भइरहेको छ । थुप्रै स्कुलमा पढाएँ, थुप्रै ठाउँमा मेरो बुद्धिचाल खेल खेल्ने खेलाडी मित्रहरूसँग साइनो बढ्यो । मेरा लागि स्फूर्तिदायक खेल बन्यो बुद्धिचाल ।
गोरखामा करिब एक वर्ष बसेँ । मेरा गोरखाका प्रिय मित्र होमकुमार श्रेष्ठको मेडिकल पसलमा दिनका दिन जसो म पुग्ने गर्थेँ । त्यसको प्रमुख कारण बुद्धिचाल खेल नै हो । दुर्गमजस्तो ठाउँ गोरखामा सबैजसो जागिरदारहरू तास खेल्न मस्त भइराख्दा म बुद्धिचालमा मगज लगाइरहँदा शङ्काको नजरले मलाई हेर्ने गर्थे जिल्लाका तत्कालका प्रशासकहरू । मेरो खेल हेर्न गोरखालीहरू झुम्मिने गर्छन् । मलाई बुद्धिचाल खेल्ने सर भन्दा सबैले चिन्छन् । त्यहाँ पनि गोरखामा रहँदा सधैं जसो यस खेलबाट म टाढा रहिनँ, बुद्धिचालको खेलाडी बनिरहेँ । २०३५ मा काभ्रेमा फर्केँ । काभ्रेको टुसाल गाउँमा शिक्षक भएँ । त्यहाँ पनि बजगाईँ, दाहाल सरहरु सँग केही महिना मात्र भए पनि यस खेलको माध्यमबाट मन साटासाट गरियो । महेन्द्र निमावि छँदा ताका २०३६ सालतिर साँगामा प्र अ भई गएँ । त्यहाँ पनि शिक्षकहरूसँग यही खेलमार्फत आत्मीयता साट्न पाएँ । अझ विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवनारायण जोशी मेरा दिनका दिन जसोका यस खेलका मित्र बन्यो । निकै मनोरम हुन्थ्यो, हामी विद्यालय कार्यालय कोठामा यस खेलका पारखी बनेर खेलमा मन साटिरहन्थ्यौ । त्यसताका चर्चित विश्व च्याम्पियनहरू कार्पोभ र फिसरका पुस्तकहरू हेर्ने गर्थेँ । हरि दाइ अक्सरतया बुद्धिचालका किताबहरू अध्ययन गर्नुहुन्थ्यो । मेरो अध्ययनका सामग्री दाइले हेर्ने किताबहरू हुन्थ्यो ।
जेमा पनि निरन्तर लागिरहेपछि उपलब्धि प्राप्ति हुँदो रहेछ । बुद्धिचालमा पनि म जिल्लाभर चिनिँदै गएँ । २०३८ असोज २८ गते बनेपामा भएको प्रथम काभ्रे जिल्ला व्यापी बुद्धिचाल प्रतियोगितामा द्वितीय भएर म पुरस्कृत भएँ । हर्षको सीमा बढ्यो मनमा । मनले अझ आत्मसात् ग¥यो यस खेललाई । जहाँ जहाँ पुगेँ म बुद्धिचालमा रमाएँ । एकताका म पोखरामा पुग्दा रातभर जसो पोखरेलीहरूसँग बुद्धिचाल खेल खलेको सम्झना बिर्सन गाह्रो छ । २०४६ साल कार्तिक २२ गते पनि दोस्रो जिल्ला व्यापी बुद्धिचाल प्रतियोगितामा तत्कालीन मन्त्री भद्र कुमारी घलेबाट म दोस्रोमा पुरस्कृत भएको थिएँ । झन् हौसला बढ्यो र मनभित्रको मर्ममा बुद्धिचाल थपक्क बस्यो । यस अवधिमा हामीले बाग्मती अञ्चल व्यापी बुद्धिचाल प्रतियोगिता गर्ने जाँगर चलायौँ । बनेपा युवा क्लबको आयोजनामा भव्य खालको आयोजना भयो बनेपामा । बुद्धिचालका हस्तीहरू सबै बनेपामा ओइरिए । चारदोबाटो स्थित शाक्यहरूको ठुलो घरमा अञ्चल स्तरीय बुद्धिचाल प्रतियोगिताको उद्घाटन गरे मन्त्री पशुपति शमसेरले । प्रतियोगितामा बनेपाका ईश्वरभक्त बादे सहविजयी बनेपा । बनेपाको हैकम बुद्धिचालमा प्रस्ट देखे राष्ट्रले । हामी चिनाइदिन पायौँ ईश्वरभक्त बादेलाई । साथीहरू सबै खुसी थिए । हामी आयोजकहरू सबै प्रफुल्ल रह्यौँ । यो घटना बुद्धिचाल खेल जगत्मा सधैँ सम्झिनुपर्ने घटना बन्यो । बनेपा, काभ्रे र राष्ट्रले इतिहासमा अङ्कित गरिदिनुपर्ने खेल जगत्को स्रोत भयो यो आयोजना । यस आयोजनाले बनेपालाई सामेल गराउन पायौँ बुद्धिचालको ऐतिहासिक शृङ्खलामा ।
हामीमा हौसला बढ्दै गएको कारणले पछिल्लो कालखण्डमा काभ्रे बुद्धिचाल सङ्घ गठन गर्यौं । बनेपाको चारदोबाटोस्थित एउटा सानदार घरमा बुद्धिचालको अफिस खोल्यौँ । पाँचखालका शङ्कर काफ्ले, दामोदर अधिकारी, साँगाका माधवनारायण जोशी, बनेपाका राज भाइ डंगोल, रोशन श्रेष्ठ, पुष्प कर्माचार्य त्यस कार्यालयमा रमाई रमाई बुद्धिचाल खेल्थ्यौँ । अरू ठाउँमा पुग्नु सट्टा, अरू ठाउँमा अल्मिलिनु भन्दा हामी त्यहीँ अल्मलिन्थ्यौं । बुद्धिचालले त्यसताका मलाई मोहनी नै लगाइदियो । मेरो मनसँग बुद्धिचालको साइनो मजबुत हुँदै गयो । सम्झना भइरहन्छन् राज भाइ डंगोल, शङ्कर काफ्ले र रोशनहरू । बुद्धिचाल खेल्दा समय गएको ख्यालै नहुने । एक खेल खेल्दा नै घण्टौँ समय जाने, दोहोराइ –तेहेराई खेल खेल्न मज्जा लाग्ने । खेलमा सामेल भइरहँदा केहीको पनि अत्तोपत्तो नहुने, एक दिन प्रसव पीडामा रहेकी मेरी जीवन सँगिनीले छोरा पाउँदा पनि म खेलमा मस्त भइरहेको सम्झना गरिँदा आफैँमा हाँसो उठ्छ ।
मभन्दा अगाडिका बुद्धिचाल खेलका हस्तीहरूमा बनेपाका हरिप्रसाद दुवाल, ईश्वरभक्त बादे, नेमलाल मुस्याजु, केशवकाजी वैद्यहरु, पनौतीका श्यामसुन्दर सैंजू र पाँचखालका शङ्कर काफ्ले चर्चित नामहरू हुन् । बुद्धिचाल खेल जगतका पछिल्लो कालखण्ड बनेपामा जन्मेका मदनकृष्ण कायस्थले बुद्धिचाल जगत्मा नेपाल च्याम्पियन भएर बनेपाको नामलाई बुद्धिचालमा दर्ता गरिदिए । हालका सक्रिय बुद्धिचाल खेलाडी तथा संगठकहरुमा कृष्णप्रसाद कायस्थ, रघुवर चौ प्रधान, पुष्प कर्माचार्य, कृष्णप्रसाद कायस्थ, श्याम मानन्धरहरू सक्रिय देखिन्छन् । काभ्रे जिल्ला बुद्धिचाल सङ्घ बनेपामा सक्रिय भएको इतिहास छ । यस सङ्घको सक्रियतामा भएको १८ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता र तेस्रो राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताले बनेपा, काभ्रेलाई अझ बुद्धिचाल जगतमा माथिल्लो स्तरमा चिनाइदिने जुन प्रशंसनीय कार्य भएका छन् सोको लागि विशेष धन्यवाद दिनुपर्छ । माघ ६ गतेदेखि माघ १० गतेसम्म भएको उक्त कार्यक्रममा देशका विभिन्न भागबाट ८० जना चुनाएका खेलाडीहरू बनेपामा खेल खेल्न आइपुगेको घटना ऐतिहासिक सन्दर्भ हो भन्नुपर्छ ।
नेपाल बनेपा पोलिटेक्नि ईन्ष्टिच्यूटमा भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा दुई दिन र म पनि खेल मन परेकै कारणले अरू काम छोडेर सामेल भई दिएँ । माघ ६ गते उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल बैङ्कका व्यवस्थापन समितिका संयोजक महेश्वर श्रेष्ठ र राष्ट्रिय बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष राजेशहरि जोशी, पत्रकार नवराज बजगाईँ लगायतका वक्ताहरूले मन्तव्य राखेको उक्त समारोहमा मैले पनि ‘मित्रता पहिले, त्यसपछि मात्र प्रतियोगिता (Friendship first than competition) को भावनाले खेल खेल्नुपर्ने भन्नाका साथै आफ्नो बुद्धिचाल सम्बन्धमा मेरो भावना सुनाइदिएको थिएँ । १० गते भएको समापन समारोहमा पनि डाकेकै कारणले म पुगेँ । त्यस दिन बुद्धिचाल खेलाडीहरूसँग बिसौँ वर्ष पछि खेल खेलेँ, तर नराम्रो भएन – खेलमा जितेँ पनि । आयोजनाका लागि बनाइएको संयोजन समितिमा पनि मलाई सल्लाहकार बनाइएकोले म पुग्नु आफ्नो कर्तव्य सम्झेर पुगेको हुँ ।
समापन कार्यक्रममा नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्यूटका प्राचार्य मिस्टर कान्त मैनाली प्रमुख अतिथि बनाइएको उक्त समारोहमा बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठ र मलाई विशिष्ट अतिथिका रूपमा मञ्चमा बोलाइएको थियो । मलाई ज्यादै खुसी लाग्यो, हामीले त्यसताका शुभारम्भ गरेको बुद्धिचाल जगतको नेतृत्व नयाँ पुस्ताले गर्दै छन् र अझ खुसी कुन अर्थमा पनि लाग्यो भने बनेपामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता भयो । त्यस समारोहमा तीन चोटी च्याम्पियन बनिसकेका काभ्रे दाप्चाका विकास लामा लगायत यसपल्ट च्याम्पियन बनेका केशव श्रेष्ठ, मनिष हमाल, पुण्यमान कर्माचार्य, सजिन महर्जन, सुजेन्द्र प्रसाद श्रेष्ठ, पुरुषोत्तम चौलागाईं, सुरवीर लामा, भगवतीप्रसाद शर्माहरूलाई माला दिएर हात मिलाउन पाएँ । म देखिरहेछु मेरा बुद्धिचालका मेरा मनका तरङ्गहरू, जिल्ला स्तरीय प्रतियोगिताका अनेकौँ परिघटनाहरू, बागमती अञ्चल स्तरीय प्रतियोगिता गर्न पाउँदाका प्रसङ्गगत प्रकट भएका प्रेमील तरङ्गहरू बिर्सी पठाउन गाह्रो भइरहेछ । यसै गरी रसियन ग्राण्ड मास्तर सँग बुद्धिचाल खेल्दाका स्वर्णिम क्षणहरू, भक्तपुर जिल्लासँग भएका मैत्रीपूर्ण खेलहरूका साथै काभ्रे जिल्लाको दुर्गम क्षेत्र डाँडापारिको घर्ती छापमा शङ्कर काफ्ले र म खेल खेल्दा निर्णायक बनेका कमानसिंह लामा पनि आज मेरो मन मस्तिष्कमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदा बुद्धिचालका खेलभित्र देखिरहेछु ।
खेलहरूमध्ये बुद्धिचाल खेल मलाई निक्कै मन पर्ने भएकोले म जहाँ जहाँ पुगेँ बुद्धिचालसँग मित्रवत् सम्बन्ध कायम भइरह्यो । खेल बौद्धिक मात्र होइन शान्त दिल, दिमाग र बुद्धिलाई ठाउँमा राखेर भलाद्मी ढङ्गले खेल्नुपर्ने भएकैले पनि मलाई प्रभाव पारिरह्यो । आज पर्यन्तसम्म मेरो मनमा बुद्धिचाल छ, समय मिलाउन नसकेर मात्र यस बुद्धिचाल खेल जगत्बाट टाढा टाढा भइरहेको छु । तर पनि मेरो मनभित्र बुद्धिचाल खेलले लुकामारी खेल्ने गर्छन् र सपना र बिपनामा बुद्धिचाल खेलले ‘के तिमी मसँग ठुस्किएको पो हो कि’ भनी सोधिरहेजस्तो लाग्छ ।
०००