जीवनका किनारामा
रङहरूका नशालु आँखाले
खेलिरहेको छु बल्छी,
थाहै नपाइकनै झुण्डिरहन्छु
आफ्नै हातले खेलाइरहेको बल्छीमा ।
म माझी हुँ
मलाई सपनीमा पनि
नदीको नृत्य मनपर्छ,
नदीको नृत्यमग्न मन छाम्न
गहिराईहरू टेक्छु म आँखाले
सर्वत्र छरिइरहन्छन् मेरा दृष्टिपत्रहरू
पानीको अग्नि वेगमा,
अग्ला अग्ला पहाडहरूको
हृदय छोएर बज्दै बग्ने
नदी किनारको माझी हुँ म
बूढी औंला आकाशमा चोपलेर
धरतीभरि संवेदनाका
औंंठा छापहरू लगाएको छु मैले,
बहकिँदा कविताको एकलास अनुष्ठानमा
सिङ्गै नदी पिएर पनि
असाध्यै तिर्खाएको हुन्छु म,
त्यतिखेरै
अक्षरको अमत्र्य पाठेघर उधारेर
टक्क अडिन्छु र
पुग्नुको सीमानासम्म
कुलो बनाउँछु कविताको,
म माझी हुँ
झुण्डिरहन्छु जीवनको एक यात्रा झुण्डिरहन्छु
आफ्नै हातले खेलाइरहेको बल्छीमा,
मनका रातहरू
सन्दर्भहरू टुक्र्याएर
नदी छुन झरेका छन्
अँध्यारोका खु्ट्टाहरू टेकेर,
दियोले भन्यो
म उभिएको ठाउँमा
ज्यादै अँध्यारो छ कवि
सभ्यता रोएको जस्तो अँध्यारो,
म सभ्यताको
सम्पूर्ण अँध्यारो विरूद्घको सम्भावनालाई
एउटै उज्यालोले कसेर
बिटो बनाउँछु
कविताको आँखाका नानीमा
आकाशमा ताराहरू झैं भएर टाँसिरहन्छु र
धेरै अध्यायमा विभाजित हुन सक्ने
जीवनको
आफ्नै जस्तै लाग्ने लासमाथि
आगोका जिब्राले
थुक्ने प्रयत्न गर्छु,
म माझी हुँ
नदीले च्यातेको माटो सुँघेर
खोजिरहन्छु आफैलाई
नदीका पाइला पाइलामा,
झुण्डिरहन्छु
एउटा प्रेमी युग जस्तै झुण्डिरहन्छु
आफ्नै हातले खेलाइरहेको बल्छीमा
म माझी हुँ
जीवन जस्तै झुण्डिरहन्छु
जीवन नामको बल्छीमा ।