‘बिगुल’ म सँगसँगै डोरिएर बजेको साहित्यिक आन्दोलनकै धुन हो । २०२७ सालमा प्रकाशन सुरु भएको प्रगतिशील सामयिक सङ्कलन ‘बिगुल’ प्रगतिशील साहित्यको बनेपा, काभ्रेबाट प्रकाशित पहिलो साहित्यिक दस्तावेज पनि हो । मित्र राजभाइ प्रधानसँग जोडिएर सुरु भएको यो ‘विगुल’ राष्ट्रमा नै उल्लेख भएको प्रगतिशील विचार–दृष्टि व्याप्त भएको राष्ट्रिय स्तरमै व्याप्त साहित्यिक आन्दोलनकै प्रगतिशील सामयिक धारकै इतिहास हो । मेरो जीवनमा भए–गरेका सिर्जनात्मक इतिहासकै धरातलमा देखिंदो जीवन–संघर्षको यो एउटा देखिंदो नाम बनेको छ – ‘विगुल’ ।
राजभाइसँग मेरो आत्मीयता जोडिएको पनि ५० सौं वर्ष नाघिसकेको छ; हालसम्म पनि जनमत साहित्यिक मासिकमा, जनमत वाङ्मय पुस्तकालय भवन बनाइदिने अभियानमा सँगसँगै यात्रामा क्रियाशील छौं ।
पहिलो अङ्क घण्टाघरस्थित साप्ताहिक मातृभूमिकै प्रेसबाट २०२७ सालमा प्रकाशित भएको हो । वरिष्ठ पत्रकार गोविन्द वियोगी र पत्रकार तथा साहित्यकार टी.आर. विश्कर्मासँग यही ‘विगुल’ प्रकाशनकै दौरानमा नजिकको सम्पर्क बढ्दै गएको स्मरण अद्यावधिसम्म पनि मनमा तरङ्गित भइरहेको छ । ‘मातृभूमि’ साप्ताहिक ‘जनदूत’ दैनिक यतैबाट प्रकाशित समाचारपत्रका नामहरु हुन् अर्थात् गोविन्ददाइ र टी.आर. विश्वकर्माका अक्षर–कर्महरु हुन् । २१ वर्षको युवा छँदाको स्फूर्ति नै बेग्लै । काठमाडौंमा धाइरहन्छु । आफूले सम्मान गर्न लायक देखिएका आदरयोग्य स्रष्टाहरुका घर–घर पुगिरहन्छु । विशेषगरी त्यसताका राजभाई र म गोविन्द भट्टलाई भेट्न डिल्लीबजारस्थित उहाँको डेरामा पुग्ने गर्थें । निकै प्रभावित थिएँ हामीहरु उहासँग । त्यहीँ नेपालका विविध जिल्लाका प्रगतिशील साहित्यकारहरुसँग भेटघाट गर्न पाउँथे ।
डिमाइ साइजमा ६० पृष्ठ छापिएको यस सामयिक संकलन ‘विगुल’ को पहिलो अङ्कमा गोविन्द भट्ट, मोहन दुवाल र टी.आर. विश्वकर्माका तीनवटा कविताहरु प्रकाशित छन् । तीनवटा कविता नै विश्व सन्दर्भ र घटनालाई लिएर लेखिएका छन् । गोविन्द भट्टले ‘मेरो हातको अखबारले यही भनिरहेछ’ कवितामा विश्वमा जताततै जनताले विजय कायम गरेका सन्दर्भहरुकै सन्दर्भमा उल्लेख गर्दै कवितामा लेखेका छन् – “पाँचै महादेशहरुमा जनआन्दोलनहरुको बाढी आइरहेछ ।’ यसैगरी मोहन दुवाल ‘काका होलाई लाल सलाम छ’ कवितामा ‘भियतनामको मुक्तिका लागि हामी आवाज दिन्छौं’ भनी साम्राज्यवादका विरुद्धमा आवाज उरालेका छन् । टी.आर. विश्वकर्माले पनि ‘एशियाः सिंह बनेर गर्जिरहेछ’ शीर्षकको कवितामा अन्तर्राष्ट्रिय स्वर उरालेर एशियामाथि भइरहेको ठूला–राष्ट्रहरुको विरोधमा, जनताको मुक्तिका सन्दर्भमा क्रान्तिकारी आवाज उरालेका छन् । यस अङ्कमा थाइलैण्डको एउटा कविता ‘एउटा गीतः क्रान्तिकारी वीरहरुप्रति’ र नेपालभाषामा कवि दुर्गालाल श्रेष्ठको ‘लेनिन दिवसया सुथय्’ र भक्तभोँमीको ‘लेँपंख्याःतय्त’ कविताहरु प्रकाशित छन् ।
कथामा खगेन्द्र संग्रौलाको ‘उज्यालो खस्नुभन्दा अघि’, गंगाराज राई ‘हतुवाली’ को ‘बर्सात्को मान्छे समसामयिक प्रगतिशील चेत् व्याप्त कथाहरु हुन् । अनुवाद कथामा प्यालेस्टाइनको कथा ‘यौटा तन्नेरी गुरिल्ला जोधाहा’ कथा र नेपालभाषामा नातिवज्रको लघुकथा ‘न्हयसःयात ल्वःगु लिसः प्रकाशित भएको देखिन्छ ।
लेख–निबन्धमा माओत्सेतुङको ‘सही विचार कहाँबाट आउँछ ?’ र आनन्ददेव भट्टको ‘देशको माया’ प्रकाशित छन् । समालोचना लेखमा ‘नरेन्द्रदाई’ को मूल्याङ्कन र विवेचना’ वासुदेव शर्माले गरेका छन् । पत्र–पत्रिका परिचयमा ‘जन–जागृति’ र ‘मन्त्र’ को टिप्पणी भएका छन् । सम्पादकीयमा ‘भ्रष्ट मरणासन्न पश्चिमाको पूँजीवादी साहित्य र प्रगतिशील क्रान्तिकारी साहित्य’को परिचय र सन्दर्भ चर्चा भएका छन् ।
बिगुलको सामयिक संकलन–२ कार्तिक २०२७ मा नै मातृभूमि प्रेस, घण्टाघर, काठमाडौंबाट प्रकाशित भएको थियो । यस संकलनमा प्रकाशित लक्ष्मीप्रसाद देवकोटाको अंग्रेजी कविताको अनुवाद सुपुत्रहहरु ए चीनका गोविन्द भट्टले गर्नुभएको थियो । र अर्को कविता जवाहरद्वारा लिखित ‘माटोका डल्ला आव्हान गर्छन्’ प्रकाशित छन् । यसमा केदार प्रधान र राजभाइ प्रधानका कथाहरु, निर्मलकुमार अज्र्याल र गोविन्द भट्टका लेख र समालोचना प्रकाशित भएका छन् । अनूदित साहित्यमा माओत्सेतुङ्ग, अन्ना लुइस स्ट्रोंग, सुतोजो (इण्डोनेसियाका कवि) लेख र कविता प्रकाशित हुनाका साथै ‘अफ्रो–एशियाली लेखक ब्यूरोको वक्तव्य’ पनि प्रकाशित छन् । नयाँ कलम स्तम्भमा श्रीकृष्ण धौभडेल, कृष्णराम श्रेष्ठ, किशोर श्रेष्ठ, भवानी राजवंशी, मोक्षबहादुर अमात्यहरु प्रकाशित छन् ।
यस अङ्कको स्थायी स्तम्भमा पुष्परत्न तुलाधर र काजीमान ‘जवा’ का दुईटा नेपालभाषाका कविताहरु, पाठक प्रतिक्रिया, पुस्तक परिचय, सम्पादकीय, प्रकाशकीयहरु छापिएका छन् । ७२ पृष्ठमा छापिएको यो अङ्क पनि पहिलो अङ्कका तुलनामा परिमार्जित भएर देखा परेको देखिन्छ । देशकै साहित्यिक वृत्तमा आफूलाई चिनाउन सफल ‘बिगुल’लाई तेस्रो अङ्क फुक्न प्रतिवन्ध लगायो ।
२०२८ मा तेस्रो अङ्कको तयारीमा राजभाइ प्रधान र म निरन्तर लागिरह्यौं । तेस्रो अङ्क तीर्थमान ज्यापूको न्हययाकंतलास्थित प्रेसमा छापिंदै थियो । प्रशासनले हाम्रो यात्रालाई हेर्न सकेनन् र हामीले बिगुलमार्फत् फुकेका धुनहरु सुन्न चाहेनन्; प्रेसबाट सबै पत्रिकाहरु जफत गरेर प्रशासनले लगे । तेस्रो अङ्कका् कभर नभएको दुईप्रति विगुल मैले सुटुक्क प्रेसबाट ल्याएको थिएँ; त्यो पनि सुरक्षित गर्न पाएनौं । राल्फाका दुई दर्जनजति क्रान्तिकारी गीतहरु र शक्ति लम्सालद्वारा लिखित ‘चेकोस्लोभाकियाको छातीमा रसियन संगीन’ चर्चित लेख त्यस अङ्कमा प्रकाशित थियो । घरमा ल्याएको दुई प्रतिमा राजभाइ प्रधान र मंजुलले लगेको सम्झना छ । तर प्राप्त भएन – तेस्रो अङ्कको फेहरिस्त राख्न पाएनौं ।
युवा जोश, जाँगरबाट प्रकाशित सिर्जनात्मक प्रगतिशील चेत् र दृष्टिलाई पञ्चायती शासकहरुले बलात् प्रतिवन्ध लगायो र सत्ताका उन्मादीहरुले हाम्रो प्रगतिशील–चेत्को बिगुल–ध्वनि फुक्न दिएनन् ।