उत्तरतिर देखिन्छ वन सुन्दर पहाड
शीतल हावा झरना धन वसन्त बहार
दक्षिण दिशा भारत भूमि मित्रता धारक
बेटी र रोटी सम्बन्ध हाम्रो संस्कृति कारक ।
बीचको भूमि हरियो फाँट तराई मधेस
मलिलो माटो सजिलो बाटो सुन्दर प्रदेश
गर्मीमा गर्मी चर्केको घाम खल्खली पसिना
जाडोमा शीत लहर छोप्छ दिवस मसिना ।
वर्खाको ऋतु कठिन धेरै बाढीको जीवन
खेत र घर पानीमा हुन्छ विपत्ति मिलन
सर्पको डर आगोको त्रास मच्छर अपार
वर्ष नै भरि मधेस झेल्छ ऋतुको प्रहार ।
विगत हेर समृद्ध कति देखिन्छ भूगोल
अहिले पनि उत्तिकै प्यारोे भूमि यो अमोल
यहींका बुद्ध, सहलेस यही जानकी जनक
अनेक लोक देवता जन्मे संसार चहक ।
पबनी छठ उत्पत्ति यही फैलियो संसार
लोकको पर्व दिइयो नाम भेटियो आधार
अनेक रीति अनेक थिति सर्वत्र भेटिन्छ
चाड र पर्व, कर्म र धर्म तिर्खा नै मेटिन्छ ।
अनेक धर्म अनेक जात मिलेर बसेका
अनेक भाषा अनेक भेष मिलेर खिलेका
खुसीमा हाँस्दै दु:खमा रुन्छन् समग्र जनता
विपत्ति टार्दै सुखको खोजी गर्दछन् जनता ।
सुखको खोजी गर्दैछ सब आशमा रमेर
सबैको आशा फुलाऔं फलौं यहीं नै रहेर
विशाल हुन्छ जहिले पनि आशाको आकाश
आशाकै भर चढ्छन् यात्री कठिन पहाड ।
पथिक बनी अगाडि बढे अन्नको भण्डार
बन्छन् साँच्चै नेपाली सारा खुसीको संसार
पसिना श्रम माटोमा रोप्दै मनमा नेपाल
अगाडि बढे नेपाल हाम्रो होऔंला नेहाल ।