फुचाउबाट तीव्र गतिको रेलमा घान्झाउ जाने भनेपछि मैले यसभन्दा धेरै पहिले गरेका रेलयात्रा सम्झिन पुगेँ । ०३५ सालमा जोगबनीमा पहिलोपटक रेल देखेको थिएँ । तर चढ्न भने २०४२ सालमा जोगबनीबाटै कटिहार नजिकसम्म पुगेर फर्केको थिएँ । त्यस्बेला मसँग मेरै साहिँला बडिबाका छोरा पिताम्बर धमला साथमा थिए । त्यो रेलयात्रा एकतर्फी ३ घण्टाजतिको थियो होला । त्यस्पछि २०५७ सालमा जर्मनीमा ३ महिना बस्दा त्यहाँको मेट्रो दिनहुँ चढ्नै पथ्र्यो । त्यसैताका सप्ताहान्तमा लण्डन पुगेका बेला त्यहाँको भूमिगत रेल पनि चढ्ने मौका मिलेको थियो । त्यसै फ्रान्सको भूमिगत रेल पनि एकपटक चढ्न भ्याएको थिएँ । पछि दक्षिण कोरिया जाँदा पनि त्यहाँको मेट्रो पटकपटक चढेको थिएँ भने चीनमै पनि सन् २००६ मा एउटा कार्यशालामा सहभागी हुन गएका बखत बेँजिङको मेट्रो ट्रेनमा यात्रा गरेको थिएँ । रेल चढेका यस्तै सम्झनाहरुका झल्का एकपछि अर्को गर्दै आउँदै जाँदै गरे । तर चीनमा तीव्र गतिको भूसतही रेलयात्रा भन्ने बित्तिकै अलि बेग्लै रोमान्च उत्पन्न भएको थियो यसपटक ।
त्यो दिन हामी निकै लामो रेलयात्रा गरी चेच्याङ प्रान्तीय राजधानी घान्झाउ आइपुगेका थियौँ दिउँसो २ बजेतिर, जुन १४, २०१७ का दिन । फुचाउबाट ९ बजे बिहान शुरु भएको हाम्रो रेलयात्रा झण्डै ८ सय कि.मि. जति थियो होला । रेलको गति कति छ भन्ने कुरा यात्रु बसेका डिब्बाका अघिपछिका ढोकामाथिको पर्दामा हेर्दा थाहा हुन्थ्यो । अधिकतम ३ सय कि.मि. प्रति घण्टाका दरले फुचाउदेखि घान्झाउसम्मको यात्रामा झण्डै २५÷३० वटा स्टेशनमा रोकिँदै, यात्रु ओराल्दै चढाउँदै रेल हुइँकिएको थियो ।
त्यस रेलयात्राले हामीलाई दक्षिणी चीनको ग्रामीण दृष्यलाई केही न केही बुझ्न मद्दत पनि ग¥यो ।
हामी २० जना मिडिया टिमका सदस्यहरु एउटै डिब्बमा बसेका थियौँ । हाम्रा झोला÷पोकपन्तरा (लगेज) निकै भएकाले तिनलाई मुस्किलले डिब्बाको पछिल्तिर अनि सिट माथिपट्टिको लगेज बक्समा खाँदेर राखियो र सिटसँगै पनि एकएक ओटा झोला त भई नै हाले ।
रेलको गति बढेसँगै झ्यालबाट बाहिर हेर्दा देखिने दृष्यहरुले हाम्रो ध्यान खिच्न थाले । सबै साथीहरु आफू बसेनेरका झ्यालबाट चियाउन थाले ।
चिनियाँ गाउँका दृष्यहरुले मनलाई खिच्दै गए । ग्रामीण परिवेश पिछडिएको अवस्थामै देखिन्छ । डाँडाकाँडा, भीर, जंगल, खोल्साखोल्सी, बुट्यानघारी, खोलो, पहिरो, सबै उस्तै छ, हाम्रो कुनै पहाडी बस्ती जस्तो । धेरै अग्ला पहाडहरु भने देखिएनन् । चिनियाँ पहाडहरु जताततै बाक्लो जंगलले ढाकिएका छन्, तिनका फेदीतिर एक तिहाईजति भागमा र त्यसभन्दा तलका समथल भागमा ग्रामीण बस्तीहरु छन् । २÷३ तले घरहरु ठ्याक्कै हाम्रो पहाडी क्षेत्रतिरकै जस्ता देखिन्छन् । ती घरहरु ढुंगामाटाले बनेका हुनुपर्छ । जहाँका पनि आधारभूत आवश्यकताहरु एउटै त हुन् नी । फेरि स–साना शहरहरु छिनछिनमा देखा पर्ने, उतिखेरै जंगल अनि फेरि उतिखेरै स–साना शहरहरु देखिँदै छन् । ग्रामीण परिवेशबाट क्रमशः शहरमा रुपान्तरण हुँदै गएका बस्तीहरु । शहरहरु यसरी नै बढ्ने क्रममा छन् चीनमा । साना बजारहरु धेरै देखिँदै छन् । कतै औद्योगिक क्षेत्रहरु देखिन्छन्, विद्युत स्टेशनहरु ठाउँठाउँमा छन् । कतै रातो माटोको पहिरो बगेको, ठाउँठाउँमा पानीका छाँगाहरु, खोलाका दायाँबायाँ भर्खर रोपाईँ गरेका खेतका गह्राहरु; कतै मेरो आफ्नै गृहजिल्ला ओखलढुंगाको पाखापखेरा नै पो हो कि क्या हो ! हो पहाडी भू–बनोटमा समानता छ, त्यहाँ हुने प्रकृतिको नियमितता एवं क्रमबद्धतामा समानता छ, र जीवनको लयबद्धतामा पनि समानता छ । प्रायः २५० कि.मि. प्रतिघण्टामा दौडने रेलको झ्यालबाट देखिने दृष्यहरु बग्दै छोडिँदै जान्छन् ।
पर्खेर हेर्ने भन्ने सम्भावनै छैन । आधाजति रेलमार्ग त सुरुङभित्र मात्रै छ । बाहिर हेर्दाहेर्दै सुरुङभित्र पसिसक्छ रेल, फेरि कहिले २÷३ मिनटमै फुत्त उज्यालो सतहमा, फेरि ५÷१० मिनटपछि सुरुङमा, चिनियाँहरुको मिहिनेतलाई म अनुमान गरिरहेँछु । भूसतही भनिए पनि वास्तवमा यो रेलयात्रा अर्ध भूमिगत खालको थियो । पहाडी प्रदेश भएकोले रेलमार्गका लागि सुरुङ नखनी हुँदैन । सोच्छु, नेपालमा कल्पनामा सीमित धेरै विकासका सम्भावनाहरु त्यहाँ यथार्थ भइसकेका छन् । वनजंगलको सुरक्षा र संरक्षण राम्रो देखिन्छ चीनमा । ठाउँठाउँमा पैह्रा त जहाँ पनि जाँदा रहेछन् । साथीहरुको गफ सुन्दैछु, प्लेनको भन्दा त रेलकै यात्रा राम्रो, जमिनमै त गुडिन्छ रेलमा कमसेकम । काठमाडौँ—गोञ्जाउ उडान सम्झेका होलान् साथीहरुले । प्लेन बादलभित्र पस्यो भने वास्तवमा मनमा पनि बादल मडारिन थाल्छ । फुचाउबाट घान्झाउसम्म आइपुग्न झण्डै ५ घण्टा लाग्यो । घान्झाउको रेल स्टेशन एशियाभरिकै ठूलो हो भन्दै थिए हाम्रा गाइडहरु ।
होटन नरादामा पुगेर झोला, लगेज थन्क्याए पनि रेलयात्रामा छुटेका दृष्यहरुको झझल्कोले छोडेकै थिएन । जे होस् एकदिनको रेलयात्रा भएपनि चिनियाँ ग्रामीण बस्तीलाई केही न केही बुझ्न राम्रै सहयोग पु¥यायो, त्यस यात्राले । चिनियाँ गाउँहरु र नेपाली गाउँहरुको मौलिकतामा खासै भिन्नता देखिएन । प्रकृतिका सिर्जनाहरु जहाँपनि उस्तै हुँदा रहेछन् ।