‘ए आलश्य ! तँ पाजी
झट्ट पर जा !
लौ निस्की जा ! मुन्टी जा…!’
यौटा जागरण कविता स्मरण गर्दै
अविलम्ब बिच्छ्यौनामुक्त रहन्छु म
आलस्यले गाँजिरहन खोज्छ मलाई
अलिकति
सिरकको न्यानो प्रभाव देखाउँछ
अलिकति
बाहिरको चिसो दबाब देखाउँछ
भन्छ—
नखोल् झ्याल
नउघार् पर्दा
ननिस्की बाहिर
तर, मत्यसको गनगन सुन्दिनँ
त्यसको आदेश मान्दिनँ
बरु दुत्कार्छु त्यसलाई—
‘ए आलश्य ! तँ पाजी
झट्ट पर जा…!’
एकाबिहानै घडीचराले
अलापिसक्यो जागरणको आलाप
बगैँचामा चिर्बिराइसके चराहरू
आँगनभरि
मलाई पर्खिरहेछन् स्वर्गका फूल
पँधेर्नी दिदीबहिनीले
भरिसके गाग्रीमा साइत
बहिरहेको छ बाहिर
जीवन बोकेर प्राणवायु
उता
वन गएका आमाहरूले
ल्याउँदै छन् डोकाभरिभरि रक्तिम सूर्य
इन्द्रेणी सपना सँगाली
अरबका लागि
देश छाड्दै गरेका युवा बोकेर
मेरै घरमाथिबाट
भर्खरै उडेको छ अर्को यौटा जहाज
यताचाहिँ मलाई
अँगालिरहन खोज्छ एक अँगालो आलश्य
तर, म
त्यसको अँगालोमा बाँधिन्नँ
बरु लत्याउँछु त्यसलाई
‘जा आलश्य ! तँ पाजी
झट्ट पर जा…!’
रातले
काटिसकेको छ चार भन्ज्याङ
पहाड ब्युँझिएर
साउती मार्दै छ आकाशसित
गुन्गुनाउँदै बटुवाहरू
छोट्ट्याइरहेछन् गन्तव्यको आयतन
फ्रेस भएर खोलाले
समातिसकेको छ जीवनको लय
रातभरि शीतले नुहाएर
झरिलो भएका छन् फूलहरू
ढोकाबाहिर
मलाई कुरिरहेछ जाँगरिलो पवन
यता अलगर्जी यो समय
बाँधिरहन खोज्छ एकनास मलाई
तर, म बाँधिन्नँ त्यसको लालचमा
सिरकसँगै मिल्काउँछु त्यसलाई
र, निस्कन्छु बाहिर !!