धेरै पटक तिम्रो भाषण सुनेको छु मैले
ताली बजाएको छु
र, टाउको हल्लाउँदै
समर्थन गरेको छु
चुपचाप तिम्रा सपनासँग
मैले मेरा सपना साटेको छु
तिम्रो यात्रासँग
मेरो यात्रा साटेको छु
हुनसक्छ
सपनाहरूको साटफेर तिमीलाई थाहा नहोस्
यात्राहरूको साटफेर तिमीलाई पत्तो नहोस्
तर, मैले
आफैँलाई तिम्रा आदर्शहरूसँग साटेको छु
मैले मेरा सत्यलाई असत्य ठानेँ हुँला
तर, तिम्रो सत्यलाई
सधैँ सत्य ठानेको छु
सोच्छु—
अहिलेसम्म मैले जे गरेँ,
इमानदारीका साथ भन्छु—
ठीकै गरेको छु
तिम्रो यात्रा रोजेर
म जुन विन्दुमा आइपुगेँ
तिम्रै विचार बोकेर
मैले जुन परिचय बनाएँ
तिम्रा आदर्श च्यापेर
मैले जेजति प्राप्ति गरेँ
सम्झन्छु—
मैले ठूलै उपलब्धि हासिल गरेको हुँ
तर, यतिबेला मभित्र
थाहै नहुने गरी
एउटा सानो गुनासो
उब्जिएको छ
तिमीले ठह¥याएको सत्य
तिमी आफैँले असत्य भनिदिँदा
तिमीले बोकेको आदर्श
तिमी आफैँले बिर्सिदिँदा
हिजोआज
म आफैँ आफैँसँग
विश्वस्त हुन सकिरहेको छैन
आफैँभित्रको विश्वास
यति घातक हुँदोरहेछ कि
दिनदिनै मभित्र
झन्झन् गुनासाहरू बढ्न थालेका छन्
समय छँदै
यत्ति गुनासो सुनिदिए….!
समय छँदै
यत्ति गुनासो मनन गरिदिए…. !