विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेसलाई सर्दी लागेको छ ।
अब कुरा गर्दागर्दै मानिसका आवाजहरू जम्नेछन्
बहँदाबहँदै हावा जम्ने छ
बग्दाबग्दै नदी जम्ने छ ।
चुलोमा बलिरहेको आगो जम्ने छ ।
अब मुटु जम्ने छ छातीको देब्रे कोठामा
रगत जम्ने छ शरीरको हाँगा हाँगामा
कसरी गुहार माग्ने हामीले ?
चिच्याऊँ भने पनि
घाँटीसम्म आएर आक्रोश जम्ने छ ।
आत्महत्याको लागि कतै पुलबाट हाम फालौँ कि ?
तर लाग्दै छ- शरीर हावामै जम्नेछ ।
पृथ्वीको गुरुत्व बल जम्ने छ ।
यस्तो लाग्दै छ-
मुखसम्म आएर प्राण जम्ने छ ।
विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेसलाई सर्दी लागेको छ ।
यो मधेसमा
हतियार बोकेर आउँछन् हरेक वर्ष
सीमापारिबाट डाँकाहरूको हुल
र रित्ता बाकस, भकारी र घरसँग क्रोधित बनेर
बन्दुक पड्काउँदै फर्किन्छन् ।
यहाँ आउन बिराउने त अनाजको मूल्य हो, अस्पताल हो
यहाँ आउन बिराउने त नागरिकता हो, अमन हो
आउनु पर्नेले पर्खाइरहने
र नआउनु पर्नेले तर्साइरहने यो मधेसमा
तिन हत्यारा छन्, जो नबिराई आइरहन्छन्-
लु
बाढी
र शीत लहर ।
अहिले शीत लहर आएको छ ।
आउन त
नबिराई आउँछन् आन्दोलन पनि मधेसमा ।
विद्रोहको भुसमा आगो सल्किन्छ
रङ्गभेद विरुद्ध मुठी उठ्छ
कहिलेकाहीँ भाला र बन्चरा लिएर सडकमा उत्रिन्छन् मानिसहरू
मितेरी पुलमा ढुङ्गाको असिना बर्सिन्छ
देशै विरुद्ध नाकाबन्दी पनि चल्छ
सभा चल्छ । शब्दहरूको पटाका पड्किन्छ ।
कहिलेकाहीँ
भाषण कानबाट छिर्छ र पाखुराबाट निस्कन्छ ।
आउन त
नबिराई आउँछन् चुनाव पनि मधेसमा
मानिसहरू मतपेटिकामा आफ्नो भविष्य जम्मा गर्छन् ।
मानौँ ती बाकस होइनन्
मानिसहरूले सपना जम्मा गर्ने बैङ्क खाता हुन् ।
चुनाव परिणाम आउँछ
विजेता बन्छन्- पहिचान यादव, सङ्घीय ठाकुर र समावेशी महतो
देहात खुसीले अबिर जात्रा गर्छ ।
तर जब माला र अबिर लगाएर राजधानी छिर्छ चुनाव
ऊ फेरी मतपेटिका अघि नलगाएसम्म
कहिल्यै मधेस फर्किन्न ।
विकास बाबु
कसैले नपत्याए पनि
यो राज्यलाई अरूले जत्तिकै माया गर्छौँ हामी पनि
र माया गर्छौँ तिमीलाई पनि ।
तर तिमी किन बोल्दैनौँ ?
भन तिमी दरबारको कुन कुनामा निदाइरहेछौ ?
वा प्रदेश सरकारको कुन फाइलमा उँघिरहेछौ ?
बाबा भन्थे,
‘विकाश फाइलमा जन्मिन्छ, फाइलमा च्यापिन्छ र फाइलमा मर्छ !’
के तिमी मरिसक्यौ ?
वर्षौँदेखि पर्खिरहेछौँ हामी तिमीलाई
मधेसलाई सर्दी लागेको छ ।