जिन्दगी केवल दुर्घटनाहरूको जोडघटाउ मात्रै हो, अरू केही होइन, हाइफाले भनिन् । हटलेमनको लामो सीप लिँदै मैले उनलाई हेरेँ । कालो, बाक्लो उनको अनुहार राम्रो भन्न नमिले पनि खासै नराम्रो छैन ।
जीवनमा निश्चितता खोज्नु भनेको एउटा ठूलो ठट्टा गर्नु हो आफैस“ग – उनीसँग परिचय भएदेखि आजसम्मको भेटमा मैले उनको आँखामा विचित्रको उदासी र गाम्भीर्य महसुस गरेको छु । कुनै–कुनै आँखामा पीडालाई अति नजिकबाट अनुभव गर्न सकिन्छ भन्ने कुरा मैले हाइफालाई भेटेपछि नै थाहा पाएको हुँ ।
तिमीलाई मेरो कुरा सुनेर दिक्क लाग्दो होला हगि ?मैले केही नबोलेको देखेर उनले सोधिन् ।
मलाई त रमाइलो लाग्छ हाइफा, जिन्दगीका अनुपम रहस्यहरू सुन्न पाउ“दा –मैले भनेपछि उनी खुसी भइन् – साउदी अरब छोड्नुअघि मैले तिमीजस्तो असल स्रोता पाउ“छु भनेर सोचेकीसमेत थिइन“ । हटलेमन सकिएपछि हामी विश्वभाषा क्याम्पसको क्यान्टिनबाट बाहिरियौँ र आ–आफ्ना कक्षातिर लाग्यौं, उनी नेपाली भाषा पढ्थिन् र म जापानीज भाषा पढ्थेँ ।
विश्वभाषाको क्यान्टिनबाट सुरु भएको हाम्रो परिचय विस्तारै–विस्तारै कफिसप र क्याफे हुँदै गजल रेस्टुरेन्टसम्म पुगिसकेको थियो । हटलेमनबाट कफी, बियर हुँदै ह्विस्कीसम्म पुग्दा हामी निकै नजिक भइसकेका थियौं । हाम्रो भेटघाटको क्रम बढ्दै गएपछि उनले बताएकी थिइन् – मणि, मेरा दुइटी छोरी छन्, एउटी १० वर्षकी र अर्की ७ वर्षकी । दुवैलाई होस्टेलमा राखेकी छु ।
हाइफा, अनि तिम्रा श्रीमान् … ?
काली हाइफा नीली भइन्, एकैचोटि । विचित्रको उदासीले भरिएका उनका आँखा एक्कासि सागरमा परिणत भए । काला र बाक्ला ओठहरू थर्थराउन थाले – मणि, म संसारकी सबैभन्दा दु:खी स्वास्नीमानिस हु“ ।
उनले हातमा समाइरहेको नोटबुक मेरो हातमा दिइन् र लगाइरहेको हाइनेक अलिकति तन्काएर घाँटीमा देखिने दाँतले टोकेझैं लाग्ने खत देखाउँदै भनिन् – तिमीले यहा“ नीलो खत देख्यौ ? …. यो सन् १९९० को घाउ हो । त्यतिखेर विश्वका प्रत्येक मानिसको आ“खा यही घाउमा थियो । मैले सामान्यभन्दा सामान्य सोचेको यो स्वास्नीमानिस मलाई ज्यादै रहस्यमयी लाग्यो । त्यो दिन मैले चाहेर पनि बढी कुरा गर्न पाइनँ । कुवेतबाट आएकी एउटी साथीलाई भेट्न भनेर उनी ठमेल गइहालिन् ।
हाइफा पनि कुवेतकी नागरिक हुन् र उनी सन् १९९० को अगस्ट ५ को दिन कुवेतबाट भागेर साउदी अरब गएकी हुन् । यो कुरा फारा अख्तीले नबताएसम्म मलाई थाहा थिएन । हाइफाले त मलाई यति मात्रै भनेकी थिइन् – म साउदी अरबबाट आएकी, मेरो नाम हाइफा अल रुमाही हो, दुइटी छोरीहरू गल्र्स होस्टेलमा छन् र श्रीमान् …. योभन्दा बढी उनले मलाई कहिल्यै बताइनन् या यसो भनौं उनको आँसुले उनलाई योभन्दा बढी कहिल्यै बोल्न दिएन ।
व्यवसायको सिलसिलाले काठमाडौं गएकी हाइफाको साथी फारा अख्तीसँग एक रात मैले डिनर लिएँ । त्यो रात हाइफा आफूसँग भाषा सिक्ने विदेशीहरूसँग नगरकोट क्याम्पिङ गएकी थिइन् ।
फारा, तिमी मेरो पहिलो कुवेती साथी हौ – कुराको सिलसिलामा मैले सुरु गरेँ ।
के रे ? के भन्यौ मणि तिम्ले ?उनी छक्क परिन् – हाइफा पनि त कुवेती हो ।
अब छक्क पर्ने पालो सायद मेरो थियो । तर हाइफाले मलाई ऊ साउदी अरबबाट अँएकी भन्थी ।
मेरो भनाइको प्रतिवाद उनले यसरी गरिन् – ऊ आफ्नो अस्मिता लुटिएको भूमिलाई बिर्सिन चाहन्छे तर सक्दिन । किनभने त्यो उसको जन्मभूमि पनि हो । मुखमा पुगिसकेको एन्साइमादाको गाँस घाँटीमै अड्केजस्तो हुन्छ । त्यो रात फाराले मलाई कुवेती खाना खुवाउने रहर गरेकी थिइन् । तर विडम्बना, हामी गएको होटलमा कुवेती खाना त्यतिखेर सम्भव भएन र हामीले स्पेनको खाना एन्साइमादा मगायौं । काँटा चलाउँदै उनले भनिन् – मणि, मैले हाइफाजत्तिकी दु:खी र आ“टिली स्वास्नीमानिस कुवेतमा अर्को देखेकी छैन ।
वास्तवमा मैले एउटी विदेशी साथी हाइफाका बारेमा कथा लेखेर छपाउँछु भन्ने सोचेको समेत थिइनँ । तर, जब फाराले हाइफाको पीडादायी दर्दनाक इतिहास मलाई बताइन्, त्यसपछि म यो कथा लेख्न हतारिएँ ।
सन् १९९० को अगस्टमा कुवेतीहरू इराकी आक्रमणबाट डराएर साउदी अरबतिर भाग्न थालेपछि हाइफा पनि भागेर साउदी अरब पुगेकी रहिछ । त्यतिखेर इराकी सेनाले कुवेती जनतामाथि धेरै अत्याचार गरेको थियो । शिया समुदायलाई खत्तम पार्ने नाममा कुवेतका थुप्रै जनतालाई मारेको थियो । कुवेतका सुल्तानलाई पराजित गरेर अमेरिकालाई थर्काउने नाममा थुप्रै कुवेती महिलाहरूमाथि इराकी सेनाले बलात्कार गरेको र हाइफा पनि इराकी सेनाको …. पख्नोस् ! फारा अख्तीले हाइफाका बारेमा मलाई जे बताइन्, ती कुराहरू अब सिलसिलाबद्ध ढङ्गबाट लेख्ने कोसिस गर्छु …. ।
इराकले कुवेतमाथि हस्तक्षेप गरेको तेस्रो दिन अर्थात् सन् १९९० को अगस्ट ४ को दिन भएको घटना रहेछ यो । कुवेतीहरू इराकी सेनाको अत्याचार सहन नसकेर धमाधम साउदी अरबतिर भाग्न थालिसकेका थिए । दुई छोरीका बाबु मोहम्मद अल रुमाही पनि आफ्नी श्रीमती हाइफाका साथमा भाग्ने सुर कस्दै थियो । मरुभूमिको लामो बाटो हिँड्नुपर्ने भएकोले छोरीहरूका लागि आवश्यक ग्यास किन्न ऊ एकछिन घरबाट बाहिरियो । बाहिर कोलाहल मच्चिसकेको थियो । इराकी सेनाको सम्भाव्य अत्याचारबाट बच्न हाइफाले हत्तपत्त ढोका लगाइन् । उनकी पाँच महिनाकी छोरी निदाइरहेकी थिई । उनले दुई वर्षकी जेठी छोरीलाई बेडरुममा लगेर लुकाई । त्यत्तिकैमा इराकी सेनाहरू ढोका ढकढक्याउन आइपुगे ।
के चाहियो ? उनले भित्रैबाट सोधिन् ।
ढोका खोल ! होइन भने हामी गोली चलाउ“छौं – सेनाहरूले बाहिरबाट धम्की दिए । हाइफाले दौडेर भान्छाकोठाबाट छुरा लिएर आई केही भइहाल्यो भने छोरीहरूलाई बचाउनुपर्छ उनले मनमनै विचार गरिन् । बलजफ्ती ढोका फुटालेर तीनजना सेना घरभित्र पसे र उनको लोग्नेका बारेमा सोधखोज गरे । उनीहरूले मोहम्मद घरमा नभएको थाहा पाए । हाइफालाई छुरा तल भुइँमा राख्न अह्राए – छुरा भुइ“मा राखिनस् भने सिधै त“लाई गोली हान्छौं । डराएर हाइफाले छुरा भुइँमा फालिन् र उनीहरूलाई घरबाट गइदिनका लागि बिन्तीभाउ गरिन् । उनले मोहम्मद अलि ढिलो घर फर्कियोस् भनेर मनमनै अल्लाहसँग प्रार्थना पनि गरिन् । मोहम्मद फर्किहाल्यो भने यिनीहरूले मार्नेछन् भन्ने उनलाई डर थियो ।
त्यसपछि भान्छाकोठामा गएर सेनाहरूले फ्रिजबाट चिकेन र अन्य खानेकुराहरू निकालेर खान थाले । रक्सीको बोतल फोर्न थाले । यसैबीच एउटा सेनाले हाइफालाई भन्यो – मलाई बेडरुममा लिएर हिंड् । बेडरूपमा छोरीहरू भएकाले उनले मानिनन् । छोरीहरूलाई देखे भने यिनीहरूले बाँकी राख्दैनन् भन्ने उनलाई थाहा थियो । बाँकी दुवैजना पनि हाँस्दै उठे र तीनै जनाले हाइफालाई तान्दै बेडरुममा लगे ।
तिमीहरू जे गर्दैछौ, अल्लाहको आज्ञाविपरीत गर्दैछौ । यदि तिमीहरूका पनि दिदीबहिनी, आमामाथि कसैले यस्तो गर्न खोजेमा तिमीहरू के गर्छौ ? उनी रुन थालिन् । तर त्यहाँ उसको आँसु र शब्दको कुनै अर्थ थिएन । त्यत्तिकैमा उनकी दुई वर्षकी छोरी चिच्याउँदै दौडेर आई । तर एउटा सेनाले बच्चीलाई बीचैमा समात्यो र टाउकोमा बन्दुक सोझ्याएर भन्यो – यदि तैंले हामीलाई मोजमज्जा गर्न दिइनस् भने हामी तेरी छोरीको टाउकोमा गोली छिराइदिनेछौं । मातृवात्सल्यका अगाडि हाइफा पराजित भइन् । निर्दोष बच्चाको निश्छल आँसुका अगाडि उनी आफूलाई लुटाउन तयार भइन् र आफूलाई सुस्त पारिन् – मलाई जे गर्नुपर्छ गर्नु तर छोरीहरूलाई केही नगर्नु । उनी फेरि रुन थालिन् । त्यसपछि उनी पालैपालो लुटिइन् र के नपुगेर हो एउटा सैनिकले उनको घाँटीमा समेत बेस्सरी टोकिदियो । (हाइफाले केही दिनअघि मलाई देखाएको खत त्यही सेनाले टोकेको घाउको रहेछ ।)
जब मोहम्मद घर फर्कियो, उसले आफ्नी श्रीमतीलाई नाङ्गै छोरीलाई च्यापेर रोइरहेको देख्यो, सेनाहरू मोहम्मदलाई हेर्दै हाँस्न थाले । हाइफाले आफ्नो लोग्नेलाई अघि भर्खर आफूमाथि बितेको लज्जास्पद र घृणात्मक घटना बताउन सकिनन् । तर नबताएरै पनि मोहम्मदले सबै कुरा बुझिसकेको थियो । उसले छुरा उठायो र सेनामाथि जाइलाग्यो । एउटा सेनाको पेटमा छुरा धस्न त भ्यायो मोहम्मदले तर श्रीमतीको आँसु पुछ्न भ्याएन । अर्को सेनाले गोली हानेर मोहम्मदलाई त्यहीँ लडाइदियो । सेनाहरू घरबाहिर गएपछि ऊ निकै बेर रगतमा डुबेको आफ्नो लोग्नेको लाससँग रोइरहिन् र भोलिपल्ट अर्थात् सन् १९९० अगस्ट ५ को दिन उनी साउदी अरबतिर लागिन् दुइटी छोरी बोकेर ।
फारा अख्तीसँग छुट्टिएर आएपछि म रातभरि निदाउन सकिनँ । भोलिका दिनहरूमा हाइफाको सामु म हिजोको दिनहरूमा झैं सजिलोसँग प्रस्तुत हुन सक्छु भन्ने कुरामा अब मलाई विश्वास थिएन । रातभरि मेरो सामु काला बाक्ला ओठहरू थर्थराइरहेझैं लाग्यो – मणि, म संसारकी सबैभन्दा दु:खी स्वास्नीमानिस हु“ ।