मरुगणेश, विष्णुमतिको झोलुङ्गे पुल, चागल स्वर्णिम बस्ती, डल्लु आवासक्षेत्र र छाउनी सैनिक ब्यारेकको बाटो हुँदै स्वयम्भुको उकालो लाग्छु । यही मेरो मर्निङवाकको रुट हो । बिहानको चिसोचिसो हावामा डुल्न मलाई असाध्यै मनपर्छ ।
छाउनी सैनिक ब्यारेकछेउमा एउटा वधशाला छ । राँगाहरुलाई मार्ने स्थान । धेरैजसो यो बन्द रहने गर्छ । तर, भित्र वधको क्रिया भने तीव्रगतिले चलायमान रहन्छ । ढोका बन्द भएकाले केही देखिँदैन । अतएव म बन्द ढोकाका खापाहरुमा एक नजर दिएर अघि बढ्ने गर्छु ।
एक बिहान
मेरो बाटोमा पर्ने वधशालाको ढोका खुला थियो । म बेतोडले कुदेर अघि बढिरहेको थिएँ । टक्क रोकिएँ । बाहिर सडकमा राँगाको मासु लोड गर्ने ठेलाहरु खडा थिए । वधशाला खुला रहेको कारण थाहा भयो । मैले भित्र चियाएर हेरेँ । त्यो एउटा ठूलो साइजको कोठा थियो । रगतको सानोतिनो पोखरी भने पनि हुन्छ । यताउता राँगाहरु लडेका थिए । मरेका, मर्न नसकेर छटपटाइरहेका, छटपटाएर मरिरहेका । र केही प्राणवान् राँगाहरु पनि थिए । एक किनारमा लहरै बाँधिएका, आफ्ना बन्धुहरुका लास एकनासले नियालिरहेका भावहीन आँखाले अथवा केही थियो त्यहाँ, मलाई आँखाको भाषा पढ्न आउँदैन ।
ह्वास्स गनायो ।
मैले हत्तपत्त पाकेट रुमालले नाक छोपेँ । केही व्यक्तिहरुले मासुका बडेमानका चोक्टाहरु ठेलामा लाद्न थाले ।
अर्को कोठा
अलिक समयपछि त्यो कोठाभित्रको अर्को कोठा पनि खुल्यो । उपकोठा । सायद राँगाहरुको हत्या गर्ने प्रमुख ठाउँ । त्यहाँ मार्न तयार पारिएको एउटा राँगा देखा पर्यो । सानो काँटको निक्खर कालो दुब्लो राँगो । करङहरु स्पष्ट देखिने । तै राँगाको बच्चाचाहिँ नभनूँ । त्यसलाई एउटा बलियो खाँबोमा बाँधिएको थियो । एक मोटो जीउडालको झ्यापुल्ले बधक हातमा निकै लामो खुँडा खेलाइरहेको थियो । उसले खाँबोमा बाँधिएको राँगातिर हेर्यो र हातको अर्धचन्द्राकार खुँडा तौलन थाल्यो । म सास रोकेर हेरिरहेको थिएँ । कमजोर उज्यालोमा पनि त्यो गजबले चम्किरहेको थियो । खुँडा खेलाइरहेको झ्यापुल्ले बधिक सन्तुष्ट भयो । उसको ओठको एक कुनामा स्मित देखियो । ऊ अघि बढ्यो । आफ्नो हातको खुँडालाई हावामा माथिसम्म उचालेर राँगाको गर्दनमा बेसरी हिर्कायो । एक निमेषमा शिर अगाडि गएर बजारियो । रगतको धारो बग्न थाल्यो । भलभल । चारैतिर फैलियो ।
त्यसपछि दुई सहायक बधिकहरु आएर राँगाको शरीरबाट छाला निकाले । कुनै चुपीजस्तो हतियारले । चुपी नहुन पनि सक्छ । मलाई हतियारको ज्ञान छैन ।
राँगाको शरीरबाट छाला अलग भइसकेपछि रगतले लटपतिएको मासुको रातो ढिक्का देखा पर्यो । हल्लिरहेको बिस्तारैबिस्तारै, सायद मासु पूरै मरिसकेको थिएन । त्यहाँबाट धुवाँजस्तो निस्किरहेको थियो, रक्तवाष्प ।
त्यो झ्यापुल्ले बधिकले राँगाको भुँडीमा खुँडा छिराएर सर्रर चिर्यो । अनि खुँडालाई घुमायो । अङ्ग्रेजीको ‘एल्’ आकार बन्यो । भिœयाँस प्लात्त बाहिर निस्क्यो । त्यसलाई एउटा ठूलो भाँडोमा राखियो । अघिका सहायकहरु त्यसलाई सफा गर्न थाले । मुख्य बधिक भने अब राँगालाई टुक्राटुक्रा पार्ने कार्यमा यन्त्रवत् ढङ्गले लागेको थियो । सबभन्दा पहिले खुट्टा काट्यो । अनि फिला । कमर । पेट । छाती । गर्दन । एकाएक मलाई लाग्यो, त्यहाँँ राँगा होइन, कुनै मानिसको लास ढलेको छ र त्यसलाई क्रूरतापूर्वक काटकूट पारिँदै छ ।
म ढोकामा अडेस लाएर उभिइरहेँ । मलाई सो अवस्थामा देखेर त्यो झ्यापुल्ले बधिकले ढयाम्म ढोका बन्द गर्यो ।
अन्त्यमा
म भयभीत भएर अघि बढेँ । र, अगाडिको भुइँखेलस्थित पुलिसचौकी पार गरेर शान्तिको एक जोडा आँखा रहेको स्तूप स्वयम्भूको उकालो चढ्न थालेँ ।