कोरोना अर्थात् कोविड १९ ले संसारलाई नै हायलकायल बनाइ रहेको छ । डेढ वर्ष नाघि सक्यो । यसले बिदा हुने छाँट अझै देखाएको छैन । यस स्थितिमा कोरोनाबारेको सचेतता उत्तिकै आवश्यक हुन गएको छ । त्यसैले आफू कोरोनाबाट उम्केर आउँदाको अनुभव बाँडचुँड गर्नका लागि म यहाँ उपस्थित छु ।
नेपालमा वि.सं. २०७६ को हिउँददेखि कोरोनाबारे गाइँगुइँ चलेको हो । सुरुमा चीनमा र त्यसपछि संसारका अरु मुलुकमा यसले प्रवेश पाएको कुरा चल्यो । यो निकै खतरनाक भएको कुरा पनि व्यापक रुपमा प्रचार भयो । सुरु सुरुमा अन्यत्रको कुरा भएकाले होला यहाँ खासै वास्ता गरिएन । विस्तारै विदेशबाट नेपाल आउने नेपालीहरुका साथमा लागेर यसले नेपाल प्रवेश गर्यो । अब के के हुने हो भन्ने त्रास चारैतिर फैलियो । संक्रमितका लागि क्वारेन्टाइन, एकान्तवास (आइसोलेसन) र कोभिड अस्पतालको व्यवस्था गर्न थालियो । साबुनपानीले हात धुने, मास्क लगाउने र भौतिक दूरी कायम गर्ने सरकारी निर्देशन जारी भयो । त्यतिले मात्र नपुगेर बन्दाबन्दी(लकडाउन) लागु भयो । कार्यालय, पसल, कारखाना, यातायात सबै बन्द भए । मान्छेहरु आ–आफ्ना घरमा बन्दी भए । घर बाहिर स्वदेशका कुनै भागमा वा विदेशमा रहेकाले घर फर्किन नसक्ने भए । छिमेकी मुलुक भारतमा कोरोनाले उधुम मचाउन थालेपछि त्यताबाट नेपाल फर्कनेहरुको लर्को लाग्यो । सरकार नाका खोल्न विवश भयो । यसले गर्दा संक्रमितहरुको संख्या ह्वात्तै बढ्यो ।
युरोप र अमेरिका जस्ता विकसित मुलुकहरुले पनि यसका अगिल्तिर हात खडा गर्नुपर्ने अवस्था आयो । अमेरिकी राष्ट्रपति ट्रम्पले मास्क नलगाउन र बन्दाबन्दी नगर्न देखाएको दम्भ चकनाचुर भयो । चीनको अनुशासित जीवनशैलीका अघिल्तिर भने कोरोना पछि हट्न थालेको समाचार आयो । कोरोना कुनै जीवाणु नभएको र यो बोसोभित्र बस्ने भएकाले संसारमा विद्यमान औषधिले यसलाई छुँदैन भन्ने प्रचार भयो । यसले घाँटीको वास गर्ने भएकाले तातो पानी, झोल पदार्थ, कागतीपानी, गुर्जोपानी, बेसारपानी, अदुवापानी, तुलसीपानी आदि खानाले बोसो पग्लिई यसलाई असर गर्छ र ठीक हुन्छ भन्ने कुरा फैलियो । व्यायाम, योग र ध्यानमा जोड गरियो र घर घरमा यिनको अभ्यास हुन थाल्यो । घाँटीबाट अगि बढेर फोक्सोलाई यसले क्षति पुर्याउने र सास फेर्न गारो बनाउने हुँदा अनुलोम–विलोम, कपालभाँती, भस्त्रिका, भ्रामरी, ओमकार जस्ता प्राणायामको पनि अनुसरण गर्नु राम्रो हुन्छ भन्ने चर्चाले व्यापकता पायो । नाकको एउटा प्वालबाट पानी पठाई अर्कातिरबाट निकालिने जलनेती गर्न आयुर्वेदिक प्राकृतिक चिकित्सकले मात्र नभई एलोपेथिक डाक्टरले पनि सल्लाह दिन थाले ।
यी सबै कुरालाई ख्याल गरी हाम्रो परिवारले पनि कोरोनाबाट जोगिन सक्तो उपाय गरेका थियौँ । हाम्रो परिवारमा म आफू र मेरी जीवन सँगिनीसमेत दुई जना छौँ । यस्तैमा २०७७ असोज १० गतेतिर अलिकति टाउको दुखेको अनुभव मलाई भयो । यसलाई मैले सामान्य रुपमा लिएँ । त्यसपछि अर्को दिन जिउ कटकट खायो र असजिलो भयो । समस्या बढ्दै जान थाल्यो । जिउमा जाडोको अनुभूति हुन थाल्यो । बाक्लो कपडा लगाउँदा पनि त्यो कम भएन । एक दिन त अलि बढी जाडो लाग्यो, जिउ कटकट दुखिरह्यो र छानाबाट कोठामा आई बाक्लो सिरग ओढेर सुतेँ । निकै पसिना आयो । लगाएका लुगा र ओढेको सिरक निथु्रक्क भिजेका थिए । राति सुत्दा पनि सिरक, सिरानी र अन्य कपडा भिजि नै रहे । पहिले पहिले पनि ज्वरो आउँदा पसिना आउँथ्यो र पसिना आएपछि जिउ हलुङ्गो भई सन्चो हुन्थ्यो । यसलाई मैले त्यसै रुपमा लिएँ तर यस पटक जाडोले छाडेन । ज्वरो पनि घट्नुको साटो बढ्यो । यसैबीच दाँत दुखेकाले दाँत सम्बन्धी उपचार पनि गर्नु पर्यो । डाक्टरको सल्लाहमा एमोक्सिसिलिन नामको एन्टिबायोटिक एक हप्ता र सिटामोल केही दिन सेवन गरेँ । मेरो उपचारमा सहयोग गरिरहेकी ठूली छोरी मधु गिरीले त्यतिखेरै पी.सी.आर. गर्ने कि भनेकी थिइन् तर मैले पर्दैन होला भनेँ । छोरी आफै फार्मेसिस्ट भएकाले ठीकै कुरा गरेकी रहिछन् । मलाई मैले सेवन गरिरहेका औषधिले नै ज्वरोबाट छुटकारा दिलाउलान् भन्ने लागेको थियो तर त्यसो भएन । ज्वरो बढ्दै गएर १०० सेन्टिग्रेड नाघ्न थाल्यो । छोरीले हामीसँगै रहेर अक्सिमिटरबाट नियमित अक्सिजनको मात्रा पनि हेर्न थालेकी थिइन् । सुरु सुरुमा ९३ भन्दा माथि भएको अक्सिजनको मात्रा घट्तै जान थाल्यो । मैले नरदेवी अस्पतालबाट पाएको गुर्जो आदिको काँडाको झोल पटक पटक पिएँ । तातो झोल पदार्थ भएको खाना बढाएँ । मनतातो पानीले घाँटी गलगल गरेँ । मनतातो पानी हालेर जलनेती गरेँ । तातो पानीको बाफ लिएँ । व्यायाम र योग बढाएँ । तर ज्वरो घटेन, उल्टै खोकी समेत बढ्न थाल्यो । त्यसपछि पी.सी.आर. गर्ने सल्लाह भयो र छोरी मधुले हामी आमाबुबा दुबै जनालाई हेम्स अस्पताल पुर्याइन् ।
यति बेलासम्म असोज २२ गते भइसकेको थियो । श्रीमतीको २३ गते नै पी.सी.आर. नेगेटिभ भएको रिपोर्ट मेरो मोबाइलमा आइपुग्यो तर मेरो रिपोर्ट आएन । किन यसो भयो होला भन्ने चिन्ता लाग्यो । भोलिपल्ट छोरीले बुझ्दा मेरो कोरोना पोजिटिभ भएकाले रिपोर्ट मोबाइलमा नआएको र अस्पतालमा गएर नै रिपोर्ट ल्याउनुपर्ने थाहा भयो । पोजिटिभ रिपोर्ट आएपछि हामी बढी सचेत हुनु पर्ने भयो । मैले मेरो स्वास्थ्योपचार गर्दै आउनु भएका डाक्टरसँग सम्पर्क गरेर आफूलाई कोविड पोजिटिभ भएको जानकारी दिएँ र ज्वरोको अवस्था बताई के गर्ने भनी सल्लाह मागेँ । उहाँले ५०० मिलिग्रामको सिटामोल सेवन गर्न र ठीक नभए पाटन अस्पतालमा भर्ना हुन सल्लाह दिनुभयो । छोरीले त्यही औषधि सेवन गराइरहेकी थिइन् । मलाई घरमै औषधि र तातो खाने कुरा खाएर तथा योग व्यायाम गरेर कोरोनालाई ठीक पार्छु भन्ने लागेको थियो । यो कुरा मैले मेरो स्वास्थ्यबारे चासो राखेर फोन गर्ने मित्रहरुलाई पनि उच्च मनोबलका साथ भन्दै आएको थिएँ तर ज्वरो भने घट्नुको साटो बढ्दै गयो । त्यसपछि छोरीले फेरि आफन्त र आफूले चिनेका स्वदेश विदेशमा रहेका डाक्टरहरुसँग सल्लाह गरेर १००० मिलिग्रामको सिटामोल खानु उपयुक्त हुने र त्यसले पनि ठीक नभए अरु नै उपाय गर्नुपर्ने विचार व्यक्त गरिन् । उनले एन्टिबायोटिक पनि एमोक्सिसिलिनभन्दा प्रभावकारी चलाइ सकेकी थिइन् तर त्यसले पनि ज्वरो रोक्न सकिरहेको थिएन । यस अवस्थामा के गर्ने भनी हामीले सल्लाह गर्यौँ ।
कोरोना पोजेटिभ भएको थाहा नहुँदासम्म हामी हाम्रो घरको अलग अलग कोठामा भए पनि एउटै तलामा सुतिरहेका थियौँ । थाहा भएपछि भने दूरी कायम गर्न श्रीमती र छोरी अर्कै तलामा सुत्न थाले । शौचालय पनि आ–आफ्नै तलाका प्रयोग गर्न थालियो । यस बेलासम्म एउटै भान्साकोठामा खाना खाइरहेका थियौं । अब भने मेरा लागि आफू सुतेकै कोठामा खाना खाने बेग्लै व्यवस्था गर्यौँ । मैले प्रयोग गर्ने भाँडा पनि अलगै व्यवस्था गर्यौँ । आफूले खाएका भाँडा पनि म आफैले माझ्ने गरेँ । घरको काममा सघाउन आउने सहयोगीलाई पनि घरमा नआउन भन्यौँ । तापक्रम र अक्सिजनको मात्रा पनि रातदिन हेर्न थाल्यौँ । हामीले घरमा नै कोरोना नियन्त्रण गर्न सकिन्छ कि भनी धैर्य गरिरह्यौँ तर तापक्रमले १०२० नाघ्यो, सासको मात्रा ९० भन्दा तल झरेको अक्सिमिटरले देखायो । सास फेर्न पनि अप्ठेरो भएको मैले महसुस गरेँ । अब भने कोरोनाको सिकार भइहालिन्छ कि भन्ने डर लाग्न थाल्यो । यो कुरा व्यक्त नगरे पनि मनले हिसाबकिताब लगाउन थाल्यो । मैले मेरो कम्प्युटरमा रहेको आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ सम्झेँ र हत्तपत्त त्यसलाई अरु सम्पादक साथीहरुकहाँ पठाएँ । यो स्थिति खतरनाक हो भन्दै छोरीले अस्पतालमा भर्ना हुनैपर्ने कुरा गरिन् । कुन अस्पतालमा भर्ना हुने भनी हामीले छलफल गर्यौँ । सुरुमा कोभिड अस्पतालका रुपमा रहेको हेम्स अस्पतालमा जाने कुरा हामीबीच भयो तर त्यहाँ बस्ता हेरचाहमा समस्या आउने ठहर हामीले गर्यौँ । जीवनसँगिनी पार्वतीको स्वास्थ्य नाजुक रहेको र स्वास्थ्यकर्मी भएका नाताले ठूली छोरीले नै हेरचाह गर्नुपर्ने भएकाले उनी कार्यरत अस्पतालमै भर्ना भएमा उनले जागिरमा हाजिर रहेरै हेरचाह गर्न सक्ने हुँदा हामीले गङ्गालाल हृदय केन्द्रमै भर्ना हुने निधो गर्यौँ । त्यसपछि छोरी र जीवनसँगिनीले मलाई गङ्गालाल हृदय केन्द्रमा भर्ना गर्न २५ असोजको बिहान ५.०० बजे नै त्यहाँ पुर्याए । त्यहाँ कोभिड वार्ड तयार गरिएको र सिट खाली भएको हुँदा भर्ना गर्न सकिने अवस्था रहेको कुरा अघिल्लै दिन छोरीले बुझेकी रहिछन् ।
त्यहाँ पुग्ने बित्तिकै मलाई भर्ना गरियो र कोभिड वार्डको बेड नं. ३०४ मा पुर्याइयो । त्यहाँ कोभिडको बिरामीप्रति कस्तो व्यवहार गरिएला, डाक्टर, नर्स र अरु स्टाफ नजिक पर्लान् कि नपर्लान् भन्ने कुराले मलाई पिरलिरहेको थियो । त्यहाँ त नर्स, ल्याब टेक्निसियन र सफाइ कर्मचारीहरु पी.पी.ई. पोसाकमा कोठामै पसेर रातदिन सेवामा जुट्ता रहेछन् । उनीहरुको काम देखेर उनीहरुप्रति म नतमस्तक भएँ । डाक्टरहरुले पनि ढोका बाहिरबाटै भए पनि स्वास्थ्य अवस्थाको जानकारी लिने र सल्लाह दिने गरेको देख्ता मन प्रफुल्लित भयो । उनीहरुले आफ्नो ज्यान जोखिममा राखेर उपचार गर्नु सामान्य कुरा थिएन । पछि मैले कविताका माध्यमबाट उनीहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेको छु । बेडमा राखिएपछि मलाई तुरुन्तै अक्सिजन दिइयो । यसले मलाई सास फेर्न सजिलो बनायो । जाँच गरिसकेपछि औषधि चलाइयो । इन्जेक्सनबाट झोल एन्टिबायोटिक पठाइयो, भिटामिन सी, भिटामिन डी, मल्टिभिटामिन, जिंक र एल्लेग्रा ट्याब्लेटहरु खान लगाइयो, मैले पहिलेदेखि खाइरहेका मधुमेह र उच्च रक्तचापका औषधीहरुलाई निरन्तरता दिइयो । त्यतिले पनि मेरो ज्वरो नियन्त्रण नभएपछि अब जे पनि हुन सक्छ भनी छोरी र जीवनसँगिनी निकै आत्तिएछन् । पछि छोरीको अनुरोधमा मेरो एक्सरे गरियो । फोक्सोमा निमोनियाले छोइसकेको रहेछ । सो थाहा भएपछि थप औषधि चलाइयो । कोरोनाका बिरामीहरुलाई दिन थालिएको रेम्डिसिभिर पनि मलाई दिइएको रहेछ । छोरीबाट पछि मैले थाहा पाएँ । त्यसपछि ज्वरो घट्न थाल्यो । मेरो भोक बढ्यो र मज्जैले खाना खान थालेँ । त्यतिबेला मैले तातो झोल खाने कुरा खुब खाएँ । जिउलाई प्रोटिन बढी चाहिन्छ भन्ने थाहा पाएपछि कुखुराको मासु र अन्डा पनि खान थालेँ । यसअघि मैले स्वास्थ्यका कारण प्रकृतिप्रेमी समूहका सल्लाहमा माछामासु खान छाडेको थिएँ । भात, रोटी, चिउरा, मम, गेडागुडी, तरकारी, बिस्कुट आदि खाने कुरा दिनमा पटक पटक खान थालेँ । अस्पतालको शैयामा रहँदा पनि कपालभाँती र अनुलोम विलोम जस्ता योग गरिरहेँ भने तातो पानीको बाफ लिइरहेँ । ज्वरो घट्ने र खानामा रुचि बढ्ने स्थितिले अब पक्का सन्चो हुन्छ भन्ने विश्वास ममा बढ्यो । फोनमा कुरा गर्दा समेत शक्ति नष्ट हुन्छ भनी त्रासवश एस.एम.एस. गर्न साथीहरुलाई अनुरोध गरिरहेको मैले आत्मविश्वास बढेपछि आफ्नो स्थिति सार्वजनिक गर्ने र अरुलाई समेत उत्साहित गर्ने विचार गरेँ । यस क्रममा मैले “बेड नं. ३०४ बाट“ भन्ने कविता सामाजिक सञ्जालमा सार्वजनिक गरेँ । मेरो सुस्वास्थ्यको कामना गरिरहेका आफन्त, साथी र शुभेच्छुकहरुका अनेक सकारात्मक टिप्पणीहरुका साथ मैले निकै बधाई र शुभ कामना पाएँ । भैरवी भूगोल र बलराम दाहालले साहित्य वाटिका कार्यक्रममा यस कवितालाई वाचन गरेर तथा ’रारापाटी’ र ’हेल्थ आबाज’ अनलाइन पत्रिकाले प्रकाशन गरेर सार्वजनिक पनि गरे । यसैबीच प्रगतिशील लेखक सङ्घका सल्लाहकार, साहित्य सन्ध्याका अध्यक्ष एवम् मेरा घनिष्ठ मित्र राम विनयका पिता र दुई भाइको कोरोनाका कारण देहान्त भएको र राम विनय स्वयम्को आई.सी.यु.मा उपचार भइरहेको समाचार मैले मित्र रमेश पोखरेलले पोस्ट गरेको सामाजिक सञ्जालमा देखेँ । यसले मलाई निकै पीडा भयो । मैले मित्र वासुदेव अधिकारीबाट राम विनयको स्वास्थ्यस्थितिबारे जानकारी प्राप्त गर्ने क्रममा एक दिन उहाँलाई आई.सी.यु.बाट बेडमा ल्याइएको र स्वास्थ्यमा सुधार भएको खबर पाएँ । यसले आफूमा सञ्चार गरेको सुखद अनुभूतिलाई कविताका माध्यमबाट सार्वजनिक गर्ने मेरो चाहना “राम विनय दाइ“ कविताका रुपमा प्रकट भयो । राम विनयले निकै पछि सो कविता पढ्नु भएर मलाई सहर्ष धन्यवाद दिनु भएको म सम्झन्छु । अस्पतालबाट म आठ दिनपछि २०७७ कार्तिक १ मा डिस्चार्ज भएँ । त्यतिखेर मेरो कोरोना नेगेटिभ भइसकेको पी.सी.आर. रिपोर्टबाट जानकारी भयो । डिस्चार्ज हुन लागेको खबर पाएपछि मैले “ग्राउन्डेड जहाज तयार भएको छ“ शीर्षकको कविता लेखेर फेरि सार्वजनिक गरेँ । कोरोनालाई परास्त गरेको सन्देश त्यसमा मैले प्रवाहित गरेको थिएँ । पछि यो कविता ’शब्दपथ’ अनलाइन र ’शब्द संयोजन’ मासिक पत्रिकामा सार्वजनिक भएको थियो ।
अस्पतालबाट छिटो डिस्चार्ज हुने भएपछि घरमा वातावरण नमिल्ने र स्याहार नपुग्ने हुन्छ कि भन्ने चिन्ता एकातिर लागेको थियो भने अर्कातिर अस्पतालमा नयाँ नयाँ बिरामी आइरहने हुँदा संक्रमणको खतराले पनि तर्साइ रहेको थियो । अस्पतालले छुट्टी दिएपछि घरमा आउनु नै पथ्र्यो र म घरमा आएँ । घरमा छोरी, ज्वाइँ र जीवनसँगिनीका प्रयासमा सरसफाइ गरी औषधि छर्केर मलाई राखिने कोठा र त्यस वरपर उपयुक्त वातावरण सिर्जना गरिएको रहेछ । त्यो देख्ता मन खुसी भयो । बिरामी अवस्थामा यस प्रकारका कुराबाट बेग्लै प्रकारको तागत मिल्ने रहेछ । रोगको सामान्य असर छँदै थियो । घाँटी खसखसाउन पूरै बन्द भएको थिएन, अलि अलि टाउको दुख्तै थियो र सामान्य अवस्थामा भन्दा बढी पटक दिसा जानु पथ्र्यो । यस स्थितिमा मैले सजगताका साथ कोरोनाका सबै असरलाई निस्तेज पार्नु थियो । त्यसैले मेरा आहार, विहार र विचारमा म चुक्नु हुँदैनथ्यो । मैले विगत २०७५ असोजदेखि प्रकृतिप्रेमी समूहको सल्लाहमा खाना खाइरहेकाले त्यसका धेरै कुरा अँगालिरहेँ । प्रोटिनका लागि केही मात्रामा माछा, कुखुराको मासु र अन्डा पनि खाइरहेँ । तातो पानीको बाफ केही महिनासम्म नियमित लिइरहेँ । आफूले गर्दै आएका योग, व्यायाम र ध्यानलाई निरन्तरता दिइरहेँ । मित्र वासुदेव अधिकारीका सल्लाहमा तातोपानीमा नुहाउने र बिहानको कलिलो घाम ताप्ने पनि गरेँ । डिस्चार्ज हुँदा अस्पतालले केही औषधिहरुको सूचीका साथै डिस्चार्ज भएका कोभिडका बिरामीहरुले पालना गर्नुपर्ने नियमहरु उल्लिखित कागज दिएको थियो । त्यसमा पर्याप्त हावा आउने कोठामा बस्न र गुम्सिएको कोठामा नबस्न, घरमा जताततै हिँड्ने कुरा कम गर्न, संयुक्त रुपमा प्रयोग गरिने कुर्सी, टेबुल, रुमाल, साबुन आदि प्रयोग नगर्न, संयुक्त रुपमा प्रयोग हुने भान्छाकोठा, चर्पी आदिमा प्रशस्त हावा आउने र झ्याल खुला राख्ने व्यवस्था गर्न, परिवारका सदस्यहरुसँग कम्तीमा ६ फुटको दूरी कायम गर्न, विशेषत: शरीरबाट उत्पन्न हुने थुक, सिँगान आदि विकारहरु छोएमा साबुनपानीले २० सेकेन्डसम्म हात धुन भनिएको थियो । त्यसमै शरीरका विकारहरु परेका वस्तुहरु र हातले छोइएका वस्तुहरु कीटनाशक रसायनले पटक पटक सफा गरिराख्न, मास्कको प्रयोग गर्न र दिनहुँ फेरेर लुगा लगाउन, आफ्ना लागि छुट्टै सिरक, डसना, कप, चम्चा र प्लेट प्रयोग गर्न, पारिवारिक खाने टेबलमा बसेर नखान, आफूले लगाएका कपडा, प्रयोग गरेका रुमाल, डसनाको खोल, तन्ना आदि डिटरजेन्टमा १० मिनेट डुबाएपछि मात्र धुन तथा काममा जानुपर्नेले कोभिडको लक्षण सुरु भएको एघारौँ दिनमा गरिएको पी.सी.आर. नेगेटिभ आएमा एक हप्ताको र पोजिटिभ आएमा दुई हप्ताको आइसोलेसनपछि काममा फर्कन पनि आग्रह गरिएको थियो । यी कुराहरुको पनि मैले अनुसरण गरेँ । यति सचेतता अँगाल्दा अँगाल्दै पनि अस्पतालबाट घरमा आएको तीन दिनपछि कौसीबारीमा काम गर्न खोज्दा ढाड सड्केर करिब एक महिना ढाड बङ्ग्याउँदै हिँड्नु पर्यो । त्यसैले सन्चो भइहाल्यो भनेर छिटै तरकमरक गर्नु नहुने रहेछ भन्ने चेत खुलेको छ ।
कोरोनाले उति बेला दु:ख त दियो, तर केही पाठ सिकाएर पनि गयो । त्यसैले अहिले कोरोनापछिको जीवनचर्या झन् व्यवस्थित र अनुशासित गरेको छु । प्रकृतिप्रेमी समूहको सल्लाह अनुसार दिनकै बिहान ५ बजे अघि उठ्नु, उठ्ने बित्तिकै तीनचार गिलास मनतातो पानी पिउनु, शौचालय जानु, नुहाउनु पर्दा व्यायाम आदि गर्नु अघि नुहाउनु, एक घण्टा व्यायाम, योग र ध्यान गर्नु तथा चियाको साटो तुलसीका पात, गुर्जो, सुप, लेमोन ग्रास, गुँड आदि हालेको तातो झोल पिउनु नियमित रुटिन बनेको छ । यसरी नै बिहान बेलुकाको खानामा भात, रोटी वा ढिँडोको मात्रा पहिले खाने गरेको मात्राको पाँच भागमा एक भाग घटी, त्यससँग एक कचौरा रायो, चम्सुर, मेथी, फर्सीको मुन्टा वा सोपको साग तथा एक कचौरा हरियो तरकारी (मूलत: हरियो सिमी, हरियो बोडी, लौका, घिरौला, ब्रोकाउली, बरेला, गाँजर, परबर, हरियो प्याज, हरियो लसुन र अंशत: भेडे खुर्सानी, कुरिलो, भन्टा, फर्सी, कर्कलो, आलु, पिँडालु, गान्टे मूला, मूला आदिबाट बनेको) र खानापछि स्याउ, गाँजर, चुकन्दर वा मौसम १००/१५० ग्राम खाने गरेको छु । खानामा माछामासु, अन्डा, मैदा, दुध र यिनबाट बनेका कुनै पनि खाने कुरामा बन्देज लगाइएको छ । दालले बिहानको खानामा मात्र प्रवेश पाएको छ र त्यसमा पनि प्रायजसो मुगको दाल कम मात्रा अड्कलेर खाने गरेको छु । दिनभर घण्टा घण्टामा एक एक गिलास मनतातो पानी पिउनु (खाना खानु एक घण्टा अगि र एक घण्टापछि बाहेक) पनि मेरो रुटिन कार्य बनेको छ । रक्सी, जाँड जस्ता मादक पदार्थ मैले आजीवन सेवन गरेको छैन भने सिगरेट, खैनी आदि छाडेको पनि चार दशकभन्दा बढी भइसकेको छ । आहार विहारको यस शैलीका साथै जिब्रालाई के मिठो लाग्छ भन्दा पनि शरीरलाई केले फाइदा गर्छ भन्ने विचारबाट निर्देशित भएर जीवनलाई हिँडाउँदा अहिले मेरा स्वास्थ्य सम्बन्धी समस्या प्राय: हल भएका छन् । प्रकृतिप्रेमी समूहको दलचोकीस्थित निरोग धाममा एक हप्ता बिताएर फर्केपछि हत्केला सेकी, व्यायाम, योग र ध्यानको नयाँ प्रशिक्षण प्राप्त गरेको छु । आहार, विहार र विचारका साथै रोगहरु र तिनबाट जोगिने तरिकाहरुबारे पनि थप जानकारी प्राप्त गरेको छु । यसबाट म मात्र नभई मेरो परिवार र आफन्तहरु समेत लाभान्वित भएका छौँ ।
कोरोनाले छाडे पनि यसबाट जोगिने प्रयत्न गर्दागर्दै कसरी यसका फेला परियो भन्ने तर्कना अहिले पनि मनमा आइरहन्छ । विश्वेश्वरप्रसाद कोइरालाको शत्रु कथामा झैँ अनेक कुरा यसका कारणका रुपमा आँखा अगाडि झुल्कन्छन् । हामीले बाहिर आउन जान बन्द गर्ने कुरा निधो त गरेका थियौँ, तर केही अपरिहार्य कामकुरा नगरी कहाँ सुख पाइयो र ? तरकारी, फलफूल र कतिपय दैनिक उपभोगका सामग्री किन्न घर बाहिर ननिस्की भएन । हाम्रो दुई जनाको जहानमा जीवनसँगिनीको भन्दा मेरो स्वास्थ्य राम्रो भएकाले म नै घर बाहिर निस्किने गरेको थिएँ । बिरामी पर्दा दुबै जना डाक्टरकहाँ पनि पुगिएकै हो । अत्यन्त प्रियजनको मरुपरुमा मन थाम्न नसकेर भान्जाको भटभटे चढेर भए पनि एक पटक त्यता पुगेको हुँ । लामै समय नकाटेको कपाल काट्न एकदुई पटक हजामकहाँ पनि उपस्थिति लगाएकै हुँ । सामाजिक कामका निम्ति आएको बोलाहट टार्न नसकेर एक पटक चौबाटे भेलामा पनि टुप्लुकिएकै हुँ । अखबारको भोकले पनि कहिले कहीँ पसलमा पुर्याएकै हो । विद्यार्थी र म सम्बद्ध संस्थाका साथीहरुको अनुरोधलाई हर्न नसकेर कहिलेकसो सम्पर्क पनि दिएकै हुँ । यीमध्ये कुन चाहिँ अवसरलाई कोरोनाले उपयोग गर्यो होला भनी खासै ठम्याउन सकेको छैन । बाहिर निस्किँदा मास्कले नाकमुख ढाकेकै थिएँ । साबुन पानीले मिची मिची तोकिएको समयसीमासम्म हात धोएकै थिएँ । भौतिक दूरी पनि कायम गर्ने भरमग्दुर प्रयत्न गरेकै हो । कसरी कोरोना मसँग टाँस्सिन आइपुग्यो कुन्नि, म केही भन्न सकिरहेको छैन । अब भनेर पनि हुने त केही होइन, तर मान्छेको जातलाई नसुल्झेको प्रश्नले बारम्बार उत्तर खोज्न उद्वेलित गरिरहँदो रहेछ । आफूलाई परेको मार अरुलाई नपर्ने बनाउन पनि त उत्तरको अपेक्षा गरिनु स्वाभाविकै होइन र ? पक्कै हो । त्यसैले त जनप्रिय ’जनमत’ले हाम्रा अनुभव र अनुभूतिको खोजी गरिरहेको होला नि ।
कोरोनाबाट उम्केर आउँदाका यी अनुभूति र अनुभवसँगै अस्पतालको शय्याबाट सार्वजनिक गरिएको “बेड नं.३०४ बाट“ शीर्षकको कविता पाठकहरुमाझ पस्कँदै बिदा हुन्छु ।
बेड नं. ३०४ बाट
छु म अहिले
कोभिड वार्डमा
बेड नं. ३०४ मा
गङ्गालाल हृदय केन्द्रमा
बिहानै आउँछिन् सफाइ गर्न प्रिय बहिनी
आधुनिक कुचो बोकेर
जिउ छोपेको पिपिईको पोसाकमा
अनुहार चिन्दिन म
मैले छरेका कति भाइरस
पुछपाछ पार्दै बढार्दै लान्छिन् उनी
मनमनै सलाम गर्छु म ।
फेरि आउँछिन् अर्की योद्धा
उस्तै सहयोगी भावना लिएर
लगाउँछिन् सुई नाडीमा समातेर
चलाउँछिन् झोल औषधी
पाइपबाट कुलो सोझ्याएर
खुवाउँछिन् गोली एक एक गरेर
म कति अनुगृहीत हुनु !
यस महामारीमा उनको त्याग र समर्पण देखेर
अन्तरात्माले शिर झुकाउँछु म ।
फेरि आउँछन् अर्का महायोद्धा
मै हुँ तपाईंको शत्रुसँग लाप्पा खेल्ने भन्दै
बुझ्छन् स्थिति दिन्छन् सल्लाह र आत्मविश्वास
मन उत्साहतिर उक्लिन्छ
नयाँ कोरामिन पाएर चिकित्सकको उपचार र बोलीको
अभिवादन छ महामारी विरुद्धका अग्रिम कमान्डर !
सलाम छ तिमीलाई हजार हजार ।
बिहानै चरा आएर बिउँझाउँछ
बाँसको झ्याङबाट
उठ् अब धेरै सुत्ने होइन भन्छ
एकछिनपछि कलिलो घाम नै छिर्छ कोठामा
र मलाई हेरी हेरी मुस्कुराउँछ
म पनि हाँसि दिन्छु उसरी नै
जसरी आमा हाँस्छिन्
आफ्ना कलिला नानीको खिलखिलाहटमा ।
ए लबस्तरा कोरोना !
भन् त तँ किन मेरा पछि लागिस् ?
यो ७० खाएको बुढो हो
मधुमेह र उच्च रक्तचापले चापेको छ
वेला यही हो भनी दाउ गरिस् कि ?
देखिनस् मेरो दलबल
अन्दाज गरिनस् मेरो तागत
तँ जाबालाई उडाउने कति जुक्ती आए
मेरा साथीसँगाती र शुभ चिन्तकका
देशका कुना कुनाबाट
विदेश र दूर देशका चप्पा चप्पाबाट
तँलाई घृणा मलाई माया
चेत् कोरोना चेत् ।
ए अब भन् त
तँ कसरी छिरिस् के मेरा शरीरमा ?
जान्न मन छ
मास्क लगाएकै थिएँ
साबुन पानीले हात धोएकै थिएँ
हिँड्दा दुई मिटरको दूरीमै थिएँ
योग व्यायाम
एक घण्टाको छानाको हिँडाइ
कौसीखेतीमा श्रमको पसिना
सबै चल्दै थिए
सुटुक्क कुन चोरदैलो उघारिस् तैँले ?
सायद अखबार पसल जान्छ भनेर
बाटो ढुकिस् कि ?
ल्याबमा रगत जँचाइ रहन्छ भनेर
कुरी बसिस् कि ?
घरको एक्लो छ फलफूल तरकारी किन्न
यतै आउँछ भनेर मौका छोपिस् कि ?
या यसको प्राज्ञिक सल्लाह खोज्न आउनेका
पछि लाग्छु भनेर पछ्याइस् कि ?
या त भूमिका लेखाउन आएका
पाण्डुलिपिका बुई चढेर आइस्
कि यसकी श्रीमती बिरामी छन्
डाक्टरकहाँ धाउँदा त्यहीँ अँगालो मार्छु भनिस् ?
या त खुरिल्ले कपाल खौरन आउँदा
हजाम पसलमै ङ्याक्छु भनेर बसिस् ?
या त निर्माण विकासका सल्लाहमा
प्रयाग मार्ग चोकमै समातिस् ?
दागा त धर्नु धरिस्
गर्नु गरिस् ।
थाहा छ मलाई तँ आउँदा
सुरुमा टाउको गह्रुङ्गो बनाइस्
अलि अलि खसखस चलाइस्
टेरिन मैले चलि रहेँ आफ्नै नियमित चाल
जिउ कटकटी खाइस्
सुतिदिएँ झन् सिरक च्यापेर
पसिना पो खलखली निकालिस्
लगाएका लुगा भिजाइस्
ओढेको सिरक भिजाइस्
गुर्जोका डाँठ च्याप्तै उमालेर सुर्क्याएँ
नरदेवीको काँडाको तातो तातो झोल तन्काएँ
बेसार अदुवा ज्वानो र जिराको पानी पनि जिउमा चढाएँ
जलनेतीका धारा नाकका दुई पोरामा
वारपार गराएँ
नुनपानीका गलगलले घाँटी खकाल्नु खकालेँ
तातो पानीको बाफ नाकमुखबाट उकालेँ
टेरपुच्छर लाइनस् हगि ?
झन् पो मात्ती मात्ती सिँगौरी खेल्न थालिस्
सिटामोल १००० एमजी खाँदा पनि
१०२ माथि ज्वरो निकालिस्
खोकीको खसखसको मात्रा चढाइस्
सास फेर्न हम्मेहम्मे बनाइस्
केही पाइला हिँड्दै स्याँ स्याँ गराइस्
भर्याङ चढ्दा आच्छु आच्छु खेलाइस्
टाउको तताइस् भाउन्ने बनाइस्
कहिले काला सपना देखाइस्
कहिले भविष्यको हिसाब गराइस्
तर थाकिन म गलिन म ।
बरु कुदेँ म अस्पतालतिर
परेँ शरणमा आधुनिक औषधि विज्ञानको
ज्ञान सिप भएका मनुष्यको
अब केही लाग्दैन तेरो लबस्तरा
कोरोना नकच्चरा !
कति पोल खोल्छु तेरो हेर्दै जा न
ध्वस्त नपारी छाड्दिन तेरा जरा जरा
छो मात्र मान्छेलाई
फुकेरै ढल्ने बनाइ दिन्छु पातकी मोरा !
यस्तै यस्तै कुरा खेलि रहेका वेला मनमा
उत्तरतिर आँखा तन्काउँछु
तारे भिरले हेर् मेरो दरो छाती भन्छ
शिवपुरीको हरियालीले
पात हल्लाउँदै आँखा झिम्क्याउँछ
आकाशमाथि नाचेर बादलुले
हाड हँसाउँछ मन नचाउँछ
गागल र कपनका बस्तीहरु साक्षी छन्
बिर्सेका छैनौँ तिमीलाई भन्छन्
सम्झिन्छु विगतका यस्तै दिनहरु
बस्ती र प्रकृतिले जोगाएका क्षणहरु
संकटलाई कुल्चिँदै अगि बढेका पाइलाहरु
त्यसै त्यसै मन हौसिएर आउँछ
र भन्छ,
आच्छिउँ खाइस् बाच्छिउँ खाइस् झुसे बारुलो
कत्ति विचलित नहो
ढुक्क बन् कुलेलम ठोक्छ कोरोना
बनको बाघले नसकेकालाई
मनको बाघले केही लछार्दैन ।