“हाँस्नु र हँसाउनु तपाईं हामी सबैको अधिकार र कर्तव्य पनि हो” भनी जीवनको सार्थकताबारे यस्तै खालको अनुभूति पोखिरहन मन गर्ने डण्डा, झण्डा र सिपाही लिएर मकहाँ नआउनुका सूचनाहरु पत्र–पत्रिकामा प्रकाशित गराएर आफ्नो स्वाभिमान देखाइरहन रुचाउने, सभा–समारोहहरुमा कतै नधाउने, अन्तर्वार्ता दिएर सस्तो लोकप्रियता नखोज्ने, चाप्लुसी गर्न नजान्ने, खह्रो मिजासका एकजना साहित्यिक महारथी हुन् – वासुदेव शर्मा लुइँटेल । केही न केही साहित्यिक क्रियाकलाप गर्न पाएपछि दङ्गदास परिहाल्ने वासुदेव शर्माका माथि उल्लेख भएका स्वभाव र आत्मस्वीकारोक्तिले गर्दा सबै साहित्यिकहरु उनीसँग दङ्ग पर्ने गर्दछन् । हाल उनी हाम्रा माझमा छैनन् । २०६३ भाद्र २५ गते उनी दिवंगत भएका हुन् ।
भूतको भिनाजू डरलाग्दो अड्बाङ्गे नामका स्रष्टा वासुदेव माड्साहेबले थुप्रै साहित्यिक मित्रहरुलाई पनि नाम जुराइदिएका छन् । अनौठो स्वाभावका अड्बाङ्गेजस्तो व्यवहार गरेर पनि मनमा पाप नसोच्ने उनको स्वभाव र व्यवहारले गर्दा उनलाई कसैले दुश्मन सोचेर व्यवहार गरेको देखिँदैन । भूतको भिनाजू आफै भएर पनि २००६ सालमा नै भूत छैन भनी पुस्तक प्रकाशित गर्ने उनले थुप्रै नाउँमा चिठी चपेटा लेखेका छन् ।भीमसेनपाती चढाएका छन् जय नेपालका गाथा सुनाएका छन् । ….बाट के–के सिकेका, भोगेका सन्दर्भ व्यक्त गरेका छन् । …बाटको बाँकी कुरा निर्भिकतापूर्वक पोखेका छन् । व्यक्तिगत चिठी लेखेर व्यवहारका खरा कुराहरु आफ्ना मान्छेहरुलाई भनेका छन् र आफूसँग बाँकी रहेका चिठीपत्र, टुक्रा–टाक्री, लेख–रचना निमन्त्रणा, टिपन, चिनारी, सोहोरसाहर गरी पुस्तक छपाएका छन् । आफूले जे–जे लेखे त्यो सबै खालका लेखोटलाई छापिहाल्ने र आफूले जे–जे लेखोट प्राप्त गरेका छन् ती सबै प्रमाणपत्र, चिठीहरु पनि छापेर प्रकाशनमा ल्याइहाल्ने उनी खुल्ला पुस्तकझँै खुल्ला र सुन्दर छन् ।
नैकापे काकाका नामले पनि प्रख्यात उनलेकौवा प्रकाशन, सङ्ग्रह प्रकाशन, हाम्रो प्रकाशन, भैरव प्रकाशन, ढुङ्गा अड्डा प्रकाशन, नयाँ नैकाप भन्ज्याङ्ग प्रकाशन र तेत्तीस पुतली प्रकाशनबाट मात्र पुस्तकहरु प्रकाशित गराएका छैनन् अपितु उनले आर्थिक रुपले कमजोर थुप्रैलेखकहरुका पुस्तक प्रकाशित गरिदिएर र साहित्यिक सङ्घ संस्थालाई आर्थिक सहयोग जुटाइदिएर कसैले नगरेको सुन्दर कामहरु गरेर गएका छन् । पण्डित सोमनाथ सिग्द्यालजस्ता विद्वान साहित्यकार, बालकृष्ण समजस्ता साहित्यकार, गोरखापत्र छापाखानाको पण्डित पद र मदन पुरस्कार गुठीजस्ता साहित्यिक संस्थाबाट नै साहित्यिक क्षेत्रमा प्रवेश गर्न प्रेरणा पाएको सन्दर्भ उनी सुनाउने गर्दछन् । उनले भैरव–वासुदेव छात्रवृत्ति, जानकी–नन्दी गाउँसेवा छात्रवृत्ति, वासुदेव शान्ति विद्यावारिधि विद्यावृत्ति र वासुदेव लुइँटेलजस्ता पुरस्कार र वृत्तिहरु स्थापना गरेको देखिन्छ ।यिनी २१ वर्षसम्म शिक्षणसेवा गरेर, ४७ वर्षसम्म जागिरे भएर पनि विभिन्न ढङ्गको साहित्यिक सेवा पुर्याएर गएको देखिन्छ । प्रकाशक र सम्पादकका रुपमा पनि नाम चलाएका उनको फोटो खिच्ने र टेप गर्ने, जीवनी साहित्य र हास्यब्यङ्ग्य लेखन गर्ने रुचि र अम्मल देखेर सबैजसो छक्क पर्ने गर्छन् ।
वि.सं. २००४ सालतिर शै®यादान को लिन्छ ? गोरखापत्रमा लेख छपाएर हास्यव्यङ्ग्य साहित्यमा मन लगाएका उनले आफूले कहिल्यै राजनीति नपढेको र नगरेको कुरा सुनाउँछन् । सन्देश, शुभेच्छा, आशीर्वाद दिन नरुचाउने वासुदेव लुइँटेल भन्छन् –“लेखेर पाउँला, खाउँला भन्ने आशै नराखेको हुनाले निराशा हुने त प्रश्नै उठ्दैन ।” उनी कहिल्यै साहित्यिक अभियानमा निरास भएनन्, आफूले सक्दो मन खाएको क्षेत्रमा उनी एकनासले जुटिरहेका हुनाले उनको सङ्गत पाएका सबै साहित्यकर्मीहरु उनलाई धन्य सम्झने गर्छन् ।उहिलेदेखि चलिआएको ऐजन…ऐजन व्यहोरा सदर… गरेर आफ्नो भनाइको व्यहोरा व्यक्तिगत चिठीमा भाइको नाममा छोरालाई यसरी पोखेका छन् –“भाइ ! मैले आफ्नो निम्ति जे गर्नुपर्ने धर्म–कर्म, काज किरिया सब गरिसकेको छु । त्यसमा तिमीले थपथाप गर्नै पर्दैन । म बाँचुन्जेल मात्र होइन म मरेपछि पनि । म बिरामी हुँदाचाहिँ दुईवटा कुरा विचार गर्नु । मलाई लागेको रोग निको नहुने खालको रहेछ भने कुनै पनि औषधि नगर्नु । औषधि गर्दा निको हुन्छ तर सद्दे भएर पनि कुनै काम कुराको निम्ति लायक हुन्न भने पनि औषधि गर्नु पर्दैन । बाँचेको प्रमाण मात्र देखाउनु मलाई मन छैन ।” बाँच्नु भनेको केही गर्नका लागि हो जीवनको सार्थकता यस्तैमा रहन्छ भनी केही गरिरहन मन फुकाउने उनले आफ्ना छोरा डा. विद्यादेव शर्मा लुइँटेललाई ‘भाइ’को नाममा जीवनमा गर्नुपर्ने व्यवहारको सम्बन्धमा, पैसाले मान्छेलाई नीच पनि बनाउन सक्छ भन्ने सन्दर्भमा मार्मिकताले भरिएको चिठी लेखेर प्रकाशमा ल्याएका थिए ।
वि.सं. १९७४ साल भदौ २३ गते शुक्रबार, सप्तमी तिथि (७ सेप्टेम्बर १९१७) मा झङ्कनाथ शर्मा लुइँटेल र चन्द्रप्रभा लुइँटेलको कोखबाट वासुदेव शर्मा लुइँटेलको जन्म ढुङ्गाअड्डा काठमाडौंमा भएको थियो । दुईटै श्रीमती जानकी र शान्तिले छाडेर गए तापनि आफ्नो जीवन उत्सर्गहरु बाँड्न सिपालु उनले छोरा–बुहारीका साथै छोरीहरु, नाति–नातिनीहरुबाट माया र हेरचाह जीवनकालमा पाएको देखिन्छ । वि.सं. १९९७ सालको शारदामा आमा कविता सर्वप्रथम प्रकाशित गराएर साहित्यमा देखापरेका वासुदेव शर्मा लुइँटेलको मौलिक कृतिहरुमा भूत छैन (२००६), चिठ्ठी चपेटा (२०२२), भीमसेनपाती (२०२४), जय नेपाल (२०२८),… बाट (२०४३),… बाटको बाँकी (२०४६),काकाको कुरा (२०४६),कुराउनी (२०४६), व्यक्तिगत चिठी (२०५२)आदि प्रकाशित छन् । उनले लेखेका धेरै कुराहरु हेक्का राखिराख्नुपर्ने मान्छेकै लागि अति उपयोगी दृष्टान्तहरु हुन् –
क) खाँदा–होश हराउने चीजबीज नखाऊ ।
ख) लाउँदा–भड्किलो देखिने गरेर केही पनि नलाऊ ।
ग) काम गर्दा–इमान्दारी मेहनतका साथ गर्ने गर ।
घ) ज्याला लिँदा–चलनचल्ती अनुसार लेऊ ।
तीनधारा पाठशालाबाट १९९० देखि १९९९ सम्म अध्ययन गरेका उनले नेपाली भाषा प्रकाशिनी समितिमा १९९९–२००४, गोरखापत्र छापाखानामा २००४–२०१०, जुद्धोदय पब्लिक हाइस्कूलमा २००५–२०२५, कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कूलमा २००७–२०२६, रात्रि पाठशाला हाइस्कूल नक्शालमा २०१०–२०१६, जगदम्बा प्रकाशनमा २०१५–२०३०, नेपाल टाइप फाउण्ड्रीमा २०२६–२०४३, जगदम्बा गुठीमा २०३१–२०४६, जगदम्बा प्रेस प्रा.लि.मा २०१५–२०४८, मदन पुरस्कार गुठीमा २०१५–२०५१ सम्म पण्डित, शिक्षक, दोस्रो हाकिम, जनरल म्यानेजर, आन्तरिक लेखापरीक्षक, प्रमुख व्यवस्थापक र कारिन्दादेखि कार्यालय सचिवसम्म रहेर सेवा पुर्याएर गएको देखिन्छ ।
भूतको भिनाजू नाम रहेकाले मात्र होइन उनको चालढाल, बानी व्यहोरा, बोलीबचनले पनि उनी अनौठो मान्छे भन्न सुहाउँदा किसिमका छन् । उनको सिर्जना, समर्पण र भावभङ्गीमा हेरेर उनकै सन्दर्भमा थुप्रैले आ–आफ्नै ढङ्गको करिब एक दर्जन पुस्तक, पुस्तिका लेखेर उनलाई समर्पण गरेका छन् । उनको भर्तृहरिको वैराग्यशतक र नीतिशतक पुस्तकको संस्कृत भाषाबाट नेपालीमा उल्था गरेर आफ्नो अनुवादकला पनि देखाएर गएका छन् । नेपाली भाषा र साहित्यका सेवक र साधक । हास्यव्यङ्ग्य विधाका मर्मज्ञ सारथी । योग्य, दक्ष समाजोन्मुख अभिभावक । साहित्यकारहरुकै मर्मज्ञ सहयोगी मित्र वासुदेव शर्मा लुइँटेलले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कम गौरवपूर्ण छैनन् । अरुको कल्याणमा खर्च गरेर आनन्द लिने उनको स्वभावले बताउँछ, उनको क्रियाकलापमा स्वार्थ छैन । सहयोग गर्न पाएपछि हुरुक्कै हुने वासुदेव माड्साहेब आधुनिक दधीचि अर्थात् कलियुगकै दधीचि हुन् । हास्यब्यङ्ग्य क्षेत्रका विविध विधाका लागि ठूलो राशिको पुरस्कार राखेर गएका हास्यब्यङ्ग्य साहित्यका शिखरपुरुष यिनी २०६३ भदौ २५ गते हास्यव्यङ्ग्य क्षेत्रलाई रुवाएर गए ।