तिमीलाई भेटेपछि
हाम्रो पुरानो ईश्वरले
आत्महत्या गरेछ ।
कुनै दु:स्वप्न देखेका थिएनौं हामीले
जमिरहेको पोखरीले जस्तै
आत्मकुण्ठामा रूझेर
आफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,
अलिकति म तिर्खाउँदा शीत बन्यौ तिमी
पानीकै किनाराहरूमा तिमीले प्यास उमार्दा
गीत बन्थें म ,
सौन्दर्यको शत्रुजस्तो
धैर्यहीन रहेछ ईश्वर
चिया पसलहरूमा कुरा भैरहेको छ
ईश्वरको बारेमा ।
हामीले कुनै खुरे कुराहरू पनि गरेका थिएनौं
आमा जस्तै विचारलाई लात मारेर
जीवनको नीच नृत्य नाच्ने
कल्पना पनि गरेका थिएनौ ,
दूध पिएर विष भर्ने
सर्पको घृणा लिलाका बारेमा
सोचेका सम्म पनि थिएनौं ,
आत्मास्लाघाको एकोहोरो वक्ताझैं
कागजको मुखुण्डो लगाएर
हाँसेको बहाना गर्ने
धुर्त रहेछ ईश्वर मन ,
मदिराग्रस्त जिब्राहरूले पनि
कुरा काटिरहेका छन् भट्टी–भट्टीमा
ईश्वरका बारेमा ,
हामीले मात्र चिन्न खाजेका थियौं
अरूको खुशीमा बाहिर रमेझैं गरेर
भित्र–भित्र धेरै पटक मर्ने
उनको कुरूप आँखाको अन्वेषणलाई ,
आकारले ओढेको मासुको शिकारमा निस्कने
उनको समयलाई देख्न मात्र खोजेका थियौं ,
धाँजा फाटेको विषालु जिब्रो र
परिचय हराउँदै गएको उनको आराधनालाई
हामीले पहिल्याउन खोजेका मात्र थियौं ,
भ्रमको खेतीमा उभिएको बतासलाई चिर्दा
दु:ख होला अक्षरलाई भनेर
रोकेका मात्र थियौं आवेग हामीहरूले ,
निम्नकोटिको नाटक गर्ने बेईमानी रहेछ ईश्वर
भेट–भेटमा खिस्सी भै रहेको छ
ईश्वरको बारेमा ,
चन्द्रमा !
हाम्रो प्रेमको उत्सर्ग देखेर आत्तिएको रहेछ ईश्वर ,
सहासीहरू डटिरहने भीड देखेर
कहालिएको रहेछ ईश्वर ,
हामीबाट जन्मन सक्ने
कविताको उज्यालोसँग
डराउँदो रहेछ ईश्वर ,
प्रितिकर नयाँ परिभाषाले अभिषेक गरेर
भोरसँग जन्मन सक्ने
अक्षरको नीत–नवीन ईश्वरको त्रासले
आत्महत्या गरेको रहेछ
हाम्रो पुरानो ईश्वरले ,
हिंड्दै जाँदा
अक्षरको चौतारीमा
तिमीलाई भेटे पछि ।