वि.सं २०७८ भाद्र महिनाको अन्तिम साता ‘मध्यरातमा मुर्कट्टा’(२०७८) शीर्षकको मुक्तलयधर्मी कवितासङ्ग्रह प्रकाशित भएको छ । चालिसको दशकको उत्तरार्धतिरबाट साहित्यिक यात्रा प्रारम्भ गरेका अनिल श्रेष्ठले साहित्यका कथा, कविता, निबन्ध आदि विधामा कलम चलाएका छन् । उनका हालसम्म ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह,२०५०), ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह,२०५१), ‘मृत्युपर्व होइन मेरो देश’(कवितासङ्ग्रह, २०५५), ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह,२०६३), ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छ यी गीतहरू’ (संस्मरणात्मकअनुभूति र कविता, २०६६), ‘मफलर युद्ध’(कवितासङ्ग्रह,२०६९), ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह, २०७१), ‘प्रतिनिधि कविता’ (कवितासङ्ग्रह,२०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह, २०७८) पुस्ताकाकार कृति प्रकाशित भएका छन् । साहित्यिक क्षेत्रमा सक्रिय भएर लागेका कवि अनिल श्रेष्ठ साहित्यसँगै विभिन्न सामाजिक, राजनीतिक, साँस्कृतिक सङ्घसंस्थामा आवद्ध छन् । प्रगतिवादी साहित्यको निरन्तर साधक अनिल श्रेष्ठ ‘एरोमा एसेन्स साहित्य सम्मान’–२०५९, ‘जनमत सहयात्री सम्मान’–२०७१, ‘इच्छुक स्मृति पुरस्कार’–२०७४ आदिबाट सम्मानित तथा पुरस्कृत भएका छन् । उनको पछिल्लो नवौँ प्रकाशित कृति ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहको तल छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
प्रस्तुत कवितासङ्ग्रहको नाम ‘मध्यरातमा मुर्कट्टा’ रहेको छ । ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा सङ्गृहीत पैँतिसओटा कविताहरूमध्ये ‘मध्यरातमा मुर्कट्टा’ पनि एक हो । उक्त कविताको शीर्षकबाट नै सिङ्गो कवितासङ्ग्रहको नाम ‘मध्यरातमा मुर्कट्टा’ राखिएको देखिन्छ । प्रस्तुत कवितासङ्ग्रहको शीर्षक कविले लाक्षणिक रूपमा चयन गरेका छन् । देशमा सत्ता परिवर्तन भएको छ तर देशलाई खोक्रो बनाउन मध्यरातमा मुर्कट्टाहरू हाम्रो समाजमा सल्बलाएका छन् । सुनसान मध्यरातमा कवि ऊध्र्वचेतका साथ जाग्छन् । देशमा मौलाएको विसङ्गति देख्छन् । त्यसका विरुद्ध बुलन्द आवाज घन्काउँछन् । कवि मुर्कट्टाहरूलाई चुनौति दिन्छन् । कवि देश र जनतालाई अन्धकारमा लाने, शोषण गर्ने, हत्या गर्ने मुर्कट्टाहरूलाई मध्यरातमा मुर्कट्टा शीर्षकको कवितासङ्ग्रहबाट लखट्न सफल भएका छन् । मूलतः देशप्रेमको भाव केन्द्रियतामा रहेको ‘मध्यरातमा मुर्कट्टा’ शीर्षकको प्रस्तुत कवितासङ्ग्रह प्रगतिशील विचारले रङ्गिएको देखिन्छ । देशमा मौलाइरहेका विसङ्गत पक्षका गतिविधिमा कवि सचेत छन् । उच्च कलात्मकता भरेर ती यथार्थहरू कवि पाठकमाझ उदाङ्गो पारिदिन्छन् । सम्बन्धित निकायलाई घच्घचाउँछन् । तसर्थ लाक्षणिक तवरले चयन गरिएको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहको शीर्षक सार्थक देखिन्छ ।
‘मध्यरातमा मुर्कट्टा’ शीर्षकको कवितासङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा. लि. काठमाडौँले प्रकाशनमा ल्याएको देखिन्छ । भाव तथा रूप सौन्दर्यले परिपूर्ण प्रगतिशील विचारले ओतप्रोत भएका यी कविताहरू सम्प्रेषणीय छन् । यस ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा छोटा तथा मध्यम आयमका कविताहरू समावेश भएका छन् । पाँच हरफसम्मका कविताहरू रहेका छन् । आयमगत रूपमा यी कविताहरू छोटा भए तापनि भाव तथा विचारगत रूपमा सशक्त छन् । प्रस्तुत कवितासङ्ग्रहमा ‘भाँचिएको सियो’, ‘एकदिन’, ‘वक्त’, ‘आजकाल सिंहदरबारमा फूलहरू फुल्दैनन’्, ‘एक सभासद्को डायरीबाट प्रणय दिवसका कविता’, ‘तिम्रो स्मृतिमा’, ‘सत्ता’, ‘विध्वंशक’, ‘मध्यरातमा मुर्कट्टा’, ‘मृत्यु उत्सव’, ‘आज पनि शहरमा लकडाउन छ’, ‘लय’, ‘संसद्मा कोभिड’, ‘त्यस्तो दिनचर्या केही छैन’, ‘जादुगर’, ‘ईश्वरको जन्म’, ‘हुर्मतमा कविगोष्ठी’, ‘हल्लाहरू छन् र त हामी अझै जिउँदा छौँ’, ‘गुहेलीको फूल’, ‘एक निमेष’, ‘इजलास’, ‘अन्तराल’, ‘छली देवता’, ‘बोन्साइ’, ‘विमल निभा’, ‘विच्छेद’, ‘व्यर्थ हाँसो’, ‘बधशालामा देश’, ‘अनादि लय’, ‘आसक्ति’, ‘अगुल्टा’े, ‘तिनाउ काटेपछि’, ‘सेलिब्रिटी’, ‘श्रीमती भन्छिन्’, ‘अन्तिम अर्थात् चौँथो अनुच्छेद’ शीर्षकका कविताहरू सङ्गृहीत छन् ।
कविले आफ्नो जीवनमा देखे भोगेका विविध विषयवस्तुहरूलाई कलात्मकता भरेर प्रस्तुत ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा प्रस्तुत गरेका छन् । त्यसैले प्रस्तुत कवितासङ्ग्रहमा विविध भाव तथा विचारहरू मुखरित भएका छन् । तल प्रत्येक कविताको अन्तर्वस्तु बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएपछि लेखिएको मुक्तलयधर्मी प्रस्तुत ‘भाँचिएको सियो’ शीर्षकको कवितामा गरिबी अभावजनित वर्गीय पीडा तथा छूत–अछूतजनित जातीय विभेदलाई विषयवस्तु बनाइएको छ । निरङ्कुश जहानिया राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्र आए तापनि गरिब, मजदुर, श्रमीकका पीडा उस्तै छन् । उनीहरूले गणतन्त्रको अनुभूत गर्न सकेका छैनन् । गणतान्त्रिक मूलुकको नागरिक आज पनि खान नपाएर भोकभोकै मर्दै छन् । वर्गीय असमानता चुलिँदो छ । समाजबाट जातीय विभेद हट्न सकेको छैन । जातीय अहङ्कारकै कारण हाम्रो समाजमा अझै पनि नरसंहारसम्मका घटना घट्ने गरेका छन् । कवितामा साइँली सुजिनीको सियो भाँचिएको छ । लकडाउनका कारण बजार गएर सियो किन्ने अवस्था छैन । सियो नभएसम्म लुगा सिलाउन मिल्दैन । लुगा नसिलाएपछि आम्दानी हुँदैन । आम्दानी नभएपछि भोकभोकै बस्नु परेको छ । राज्यले यस्तो विषम महामारीको समयमा गरिब, मजदुर, किसान लक्षित कार्यक्रम ल्याउन सकेको छैन । कवि कवितामा साइँली सुजिनीका मार्फत् गरिब, मजदुर, किसानको पीडा, व्यथालाई प्रस्तुत गर्छन् । सहानुभूति प्रकट गर्छन् । राज्यसत्तालाई राज्यको भूमिका निर्वाह गर्नका लागि घच्घचाउँछन् । कवि कवितामा समसामयिक विषयवस्तु कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको सन्दर्भ देखाउँदै दलित भनिएकी साइँली सुजिनीको मनमा गडेर बसेको हाम्रो समाजमा मौलाएको विकृत जातीय विभेदको तीतोपनलाई साइँली सुजिनीका मार्फत् यसरी प्रस्तुत गर्छन् ः
म अछूत
यसै त अछूत भइहाले
छूतलाई पनि अछूत बनाउने
र, मान्छेलाई घरबाहिर
निस्कन समेत नदिने
यो कोरोना भन्ने के जातिको रोग हो कुन्नि !
साइँली सुजिनीको मन
एकोहोरिन्छ
यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ (पृ.९) ।
‘एकदिन’ शीर्षकको प्रस्तुत मध्यम आयाममा संरचना गरिएको कवितामा विश्वभूमण्डलमा देखिएको अन्तरराष्ट्रियरूपको समस्या वातावरण प्रदूषणलाई देखाइएको छ । कविताको प्रारम्भमा निराशावादी स्वर गन्जिएको छ र अन्त्यमा आशावादी स्वरमा लगेर कवितालाई टुङ्ग्याइएको छ । वैज्ञानिक भौतिक उन्नतिको नाममा हामी मानिसहरूले वातावरणलाई कुरूप बनाएका छौँ । हिमनदीहरू पग्लिएका छन् । ओजन तह पातलिएको छ । हजारौँ पशुपन्छी तथा वनस्पतिहरू लोपोन्मुख भएका छन् । डरलाग्दा भाइरसहरूले विश्वलाई आक्रान्त बनाएको छ । वातावरणको संरक्षण गरे मात्र प्राणीहरूको अस्तित्व रहन्छ । हामीले पर्यावरणको रक्षा गरे मात्र पर्यावरणले हाम्रो रक्षा गर्दछ । कवितामा कविले अहिले देखिएको वातावरण प्रदूषण अन्त्य भई प्रदूषणरहित हराभरा स्वस्थ सुन्दर पर्यावरणको कामना गरेका छन् ।
‘वक्त’ शीर्षकको प्रस्तुत नेपाली र हिन्दी भाषामा लेखिएको लघु आयामको कवितामा श्रमिक डाइभरहरूको दुःख पीडालाई देखाइएको छ । मालबाहक ट्रक नौबिसे नागढुङ्गाको उकालोमा बिग्रिएको छ । तसर्थ नौबिसे नागढुङ्गा सडकखण्ड अवरुद्ध छ । नेपालको सडक, नेपालमा चल्ने सवारी साधनको वस्तुगत यथार्थ प्रस्तुत गर्दै त्यसबाट सर्वसाधरण तथा मजदुर वर्गमा पर्ने दुःख पीडालाई कवि कवितामा मुखरित गर्छन् र ती वर्गप्रति सहानुभूति प्रकट गर्छन् ।
‘आजकाल सिंहदरबारमा फूलहरू फुल्दैनन्’ शीर्षकको क्रान्तिचेतले सशक्त प्रस्तुत कवितामा कविले फूलको प्राकृतिक सौन्दर्यको महिमागान गाएका छन् भने अमुखररूपमा राज्यसत्ताको निर्दयी व्यवहार, शून्य चेतनाप्रति कटाक्ष गरेका छन् । कविलाई फूलहरू मनपर्छ । उनी फूलहरू रोप्दछन् । गोडमेल गर्दछन् । फूलको सौन्दर्यबाट, धर्तीको दिव्य चेतनाबाट कवि आनन्दित हुन्छन् । कवि घरको छतमा फूलहरू नहुँदा अँध्यारोको अनुभव गर्छन् । फूलहरूले मानिसलाई बिहानको सूर्यकिरणसँगै जाग्न सिकाउँछन् । फूलहरू नफुल्ने हो भने ऋतुराज वसन्त वसन्त हुँदैन । घरमा फूलहरू फुल्नाले नै चराचुरुङ्गीको मधुर सङ्गीत सुन्न पाइएको छ । फूलहरू फुलेका छन् । त्यसैले पुतलीको उन्मुक्तता तथा स्वतन्त्रता देख्न पाइएको छ । जीवनको गतिशीलतालाई मापन गर्न सकिएको छ । फूलहरू रङ्गीन,कोमल, लजालु, निष्कपट हुन्छन् । उनीहरू हिंसा मन पराउँदैनन् । तर अचेल मेरो देशको सिंहदरबारको छतमा फूलहरू मुस्कुराउन सकेका छैनन् । त्यहाँ निर्दयीहरूको शासन चलेको छ । विषाक्त किटाणुहरू मौलाएका छन् । उनीहरूलाई स्वतन्त्रता मन पर्दैन । क्रान्तिको सौन्दर्य मन पर्दैन ।
‘एक सभासद्को डायरीबाट प्रणय दिवसका कविता’ शीर्षकको प्रस्तुत कवितामा कविताका म पात्र सभासद्को सत्तामा पुगेपछिको फेरिएको जीवनशैली र उनको चरित्रलाई प्रस्तुत गरिएको छ । देशबासीमा रहेको दुःख, पीडा, अभाव आज ती सभासदहरुलाई बिझाउने भएको छ । जसका कारण ती सभासदहरु आफ्ना आफन्तहरूलाई प्रेमिल खुसीमय शुभकामना प्रणय दिवसको दिन दिनसकेको छैन । म पात्र सभासद्लाई वीरबहादुरहरूको दुःख, पीडाले सताएको छ । प्रेमिल सन्देश लेख्न बस्दा वीरबहादुरहरूकै मलिन विषादले भरिएको अनुहार उनका अगाडि आउँछ । यी अनुहारहरूले उनलाई प्रेमिल सन्देश लेख्न दिँदैन । कवि कवितामा भन्छन् ः
आज प्रणय दिवस हो
र, जब केही प्रेमपूर्ण शब्दहरूले
प्रेमिल बनाउन बसेको छु
म यो बिहानलाई
वीरबहादुर
किन तेरो विषादले भरिएको अनुहार
मेरोे यो कलममा आएर बस्छ ? (पृ.१५ ) ।
‘तिम्रो स्मृतिमा’ शीर्षकको प्रस्तुत कविता जनगायक खुशीराम पाख्रिनको स्मृतिमा लेखिएको देखिन्छ । शोक तथा निराशाजनित भावले कविता सशक्त बनेको छ । जनगायक खुशीराम पाख्रिनप्रति सम्मानभाव व्यक्त गरिएको कवितामा अहिलेको राज्यसत्ताले उनका विचार, चेतनालाई बेवास्ता गरेकोमा कवि दुःखित छन् । कवि भन्छन् ः
किन कर्कश छ
तिम्रा गीतहरूका विरुद्ध
यो हावा ?
कसले खोस्दै छ
तिम्रो हार्मोनियमको लय ?
र तिम्रो स्मृतिमा बज्दै छ
ज्याज सङ्गीत (पृ.१७) ।
‘सत्ता’ शीर्षकको लघु आयामको कवितामा लैङ्गिक विभेदजनित सामाजिक समस्यालाई देखाइएको छ । देशमा गणतन्त्र आएपछि संविधान निर्माण भएको छ । लैङ्गिक समानताका बारेमा संवैधानिकरूपमा देशमा आमूल परिवर्तन भएको छ । नारीहरूलाई राज्यसत्ताको मूलधारमा ल्याउने कामहरू पनि भएका छन् । तर हाम्रो समाजको मानसिकता अझै परिवर्तन हुन सकेको छैन । हाम्रो व्यवहार परिवर्तन भएको छैन । हाम्रो दिमागमा घरको काम सबैले मिलेर गर्नुपर्छ भन्ने चेतना अझै विकसित भइसकेको छैन । घरको काम महिला वर्गले नै गर्नुपर्छ भन्ने कतै लेखेको छैन । तर हाम्रो सामाजिक मानसिकता अझै परिवर्तन हुन सकेको छैन । कवितामा आमालाई छोरीले घरधन्दामा सघाएको तर छोरो हल्लेर हिँडेको सन्दर्भ देखाई समाजमा रहेको विसङ्गत लैङ्गिक विभेदजनित मानसिकताको उजागरर कवि यसरी गर्छन् ः
एउटी छोरी छे
आमाजस्तै
चुलोमा आमालाई सघाउँछे
तरकारी काट्छे
भात बसाल्छे
जुठाभाँडा माझ्छे
कसिङ्गर बढार्छे
र, भाइ र मेरा लागि
भात पस्कन्छे
एउटा छोरो छ
मजस्तै
भात खान्छ
हात चुठ्छ
र, गाउँ डुल्न निस्कन्छ । (पृ.१९) ।
‘विध्वंशक’ शीर्षकको प्रस्तुत लघु आयामको कवितामा मुसाको विध्वंशक, उपद्रो, अराजक, संवेदनाहीन स्वभावको चित्रण गरिएको छ । व्यङ्ग्यले सशक्त रहेको उक्त कवितामा मुसाका यी स्वभावलाई आचरण गर्ने हाम्रा समाजका दुष्ट, अराजक, संवेदनाहीन पात्रहरूप्रति कटाक्ष गरिएको छ ।
‘मध्यरातमा मुर्कट्टा’ शीर्षकको प्रस्तुत देशप्रेम तथा क्रान्तिचेतले सशक्त मध्यम आयाममा संरचित कवितामा प्रतीकात्मकरूपमा शहरमा मुर्कट्टाहरू हावी भएको सन्दर्भलाई देखाइएको छ । मुर्कट्टाहरूका कारण देशमा सुख, शान्ति र समृद्धि आउन सकेको छैन । मुर्कट्टाहरूले देशलाई दोहन गरेका छन् । देशलाई धुजाधुजा बनाएका छन् । जनतालाई शोषण गरेका छन् । कवि सुनसान मध्यरातमा जाग्छन् । बत्ती निभाएर भएका काला कर्तुतहरूलाई छताछुल्ल बाहिर ल्याउँछन् । देशलाई दोहन गर्ने मुर्कट्टाहरूलाई लखट्न तयार हुन्छन् । क्रान्ति तथा विद्रोहको शङ्खघोष गर्छन् । मुर्कट्टाहरूलाई चुनौति दिन्छन् । कवि अँध्यारामा ऊध्र्वचेतका साथ जाग्छन् । मुर्कट्टाहरूको व्यवहारलाई उदाङ्गो पार्छन् । कवि आफ्नो गतिशीलतालाई जस्तोसुकै परिस्थितिमा पनि जीवन्त बनाउँछन् ।
‘मृत्यु उत्सव’ शीर्षकको प्रस्तुत मध्यम आयाममा संरचित कवितामा क्रान्ति सफल हुने र उज्यालो भविष्यको आगमन हुने आशा व्यक्त भएको छ । क्रान्तिको चेतले विश्वलाई नै जग्मगाएको छ । क्रान्ति सफल हुँदैन भन्ने शङ्का नगर्न भनिएको छ । क्रान्तिको आगोले सारा दुःख पीडाहरू दहन गर्ने छ । क्रान्तिको आँधीले अन्धकारलाई चिर्ने छ । अन्धकार, दुःख, पीडा, अभावहरूको मृत्यु हुँदै छ । अन्धकार, दुःख, पीडा, अभावको मृत्युमा उत्सव मनाउन भनिएको छ । क्रान्ति सफल भएपछि शान्त, स्वस्थ, उज्यालो भविष्यको आगमन हुने भाव कवितामा मुखरित भएको छ ।
‘आज पनि शहरमा लकडाउन छ’ शीर्षकको प्रस्तुत मध्यम आयाममा रचिएको कवितामा कोरोना भाइरसका कारण नेपालमा सरकारले लकडाउन गरेको समसामयिक विषय नै यस कविताको भावभूमि हो । लकडाउनका कारण मानिसका धेरैजसो क्रियाकलापहरू बन्द भएका छन् । घरबाहिर आवतजावत गर्ने वातावरण छैन । पसलहरू बन्द भएका छन् । रोगबाट बच्न प्रहरीले माइकबाट सूचनामूलक सन्देशहरू प्रसारण गरिरहेको छ । मानिसका सबै काम अस्तव्यस्त भए पनि रोग, भोक र शोकले छोडेको छैन । कोठाभित्र थुनिएर खानु र सुत्नुबाहेक काम छैन । लकडाउनका कारण जीवन आलस्यमय, गतिहीन भएको वस्तु्स्थितिको चित्रण कवितामा गरिएको छ । कोरोनाका कारण हाम्रो जीवनशैली बारे पुनः घोत्लिनु पर्ने समय आएको छ ।
‘लय’ शीर्षकको कवितामा गतिशीलतालाई देखाइएको छ । जस्तोसुकै परिस्थितिकोे सामना गर्नुपरे पनि अन्ततोगत्वा पानीले आफ्नो शीतल धर्मलाई छाड्दैन । हिमालबाट बगेको पानीलाई मानिसहरूले विविध प्रयोजनका लागि बाँध बाँधेर सुरुङभित्र हाले पनि अन्नतः सुरुङ पार गरेपछि समुद्ररूपी यात्रामा शान्त भएर लाग्छ नै । पानीले आफ्नो बग्ने धर्मलाई त्याग्दैन । कवि पानीको बग्नु धर्मको दृष्टान्त दिँदै अमुखररूपमा समाज रूपान्तरणका लागि हिँडेको योद्धाको अगाडि बाटामा विविध दुःख, कष्ट र व्यवधानहरू आउन सक्छन् । आफ्ना पराइ हुन सक्छन् । आफ्नो लयलाई छोड्नु हुँदैन । गतिशीलताले नै एक दिन विजय हासिल गर्नेछ । पानीको निरन्तरको थोपाले ढुङ्गा फुटाउन सफल हुन्छ ।
‘संसद्मा कोभिड’ शीर्षकको प्रस्तुुत व्यङ्ग्यात्मक शैलीमा रचिएको लघु आयामको कवितामा जनताको प्रतिनिधिहरूको स्थालो संसद्मा जनप्रतिनिधिहरू कोभिडले संक्रमित भएको भाव मुखरित भएको छ । जनप्रतिनिधिहरू जनप्रतिनिधि बन्न सकेका छैनन् । स्वकीय स्वार्थमा नै रुमल्लिएका छन् । जनता कोभिड महामारीका कारण रोग, भोक र शोकले गुज्रिएका छन् । जनताका दुःखमा जनप्रतिनिधिहरू सहभागी हुन सकेका छैनन् । सरकारले गरिब, मजदुर, किसान लक्षित राहत कार्यक्रम ल्याउन सकेको छैन । जनताका आँसुका मूल्य बुझ्न सकेका छैनन् । जनप्रतिनिधिहरूको संस्था संसद् गैरजिम्मेवार, गतिहीन आलस्यमय बनेकोमा कवि कवितामा यसरी व्यङ्ग्य गर्छन् ः
रोग छ
भोक छ
शोक छ
यहाँ सबथोक छ
केवल आँखामा आँसु छैन
साँच्चै
सरकार के यो देशको सिंहदरबार पनि
यतिखेर कोभिड–१९ ले
सङ्क्रमित छ ? (पृ.३१) ।
‘त्यस्तो दिनचर्या केही छैन’ शीर्षकको प्रस्तुत संवादशैलीमा मध्यम आयाममा संरचित कवितामा समसामयिक नेपाली सामाजिक, राजनीतिक विकृति विसङ्गतिलाई देखाइएको छ । देशमा लोकतन्त्र स्थापना भए तापनि जनताले लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतन्त्रलाई लुटिखाने भाँडो बनाएका छन् । देशमा हत्या, हिंसा, बलात्कार बढ्दो छ । कवि बैतडीकी १७ वर्षीया युवती भागिरथी भट्टको बलात्कारपछि हत्याको घटनालाई चित्रण गर्छन् । दुःख व्यक्त गर्छन् । चेलीहरूको अस्मिता लुटिएको छ । निर्मम हत्या भएको छ । तर दोषीहरू खुल्लमखुल्ला हिँडिरहेका छन् । जनताले न्याय, शान्ति, सरक्षाको अनुभूत गर्न सकेका छैनन् । सरकार शोक र संवेदनाका विज्ञप्ति मात्र टाँस्दछ । दोषीलाई सार्वजनिक गरी कार्वाही गर्न सक्दैन । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउँछ । आवाजहरूलाई दबाउन चाहन्छ । नीति, नियम, सिद्धान्त छाडेर उखानटुक्कामा सरकार सञ्चालन गर्न चाहन्छ । यस्तो समसामयिक विषम अन्याय, अराजकतापूर्ण सामाजिक, राजनीतिक परिवेशको चित्रण त्यस्तो दिनचर्या केही छैन शीर्षकको कवितामा कवि श्रेष्ठले गरेका छन् ।
‘जादुगर’ शीर्षकको प्रस्तुत मध्यमम आयाममा संरचित कवितामा यथार्थ धरातललाई बिर्सिएर जादुगरको तिलस्मी समृद्धिमा मख्ख भएका शासकप्रति कटाक्ष गरिएको छ । यथार्थ कहालीलाग्दो वस्तुस्थितिलाई भुलेर जादुगरीय स्वप्नमा रमाइरहने हो भने समृद्धि हासिल गर्न सकिँदैन । जादुगरीय स्वप्न क्षणिक हुन्छ । यथार्थले झस्काइ रहन्छ ।
‘ईश्वरको जन्म’ शीर्षकको कविता मध्यम आयाममा संरचित रहेको छ र यो व्यङ्ग्यात्मक रहेको छ । कवितामा ईश्वर निन्दक, मूर्तिपूजा विरोधी व्यक्तिले समाधि लिएपछि उनका समर्थक अनुयायीहरूले उनको मूर्ति बनाई पूजा गरेको चित्रण गरिएको छ । उनलाई ईश्वरको रूपमा स्थापना गरिएको छ । यसरी ईश्वरका नाममा लुटिखानेप्रति कटाक्ष गरिएको छ । समाजको व्यक्ति पूजक प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ ।
‘हुर्मतमा कविगोष्ठी’ शीर्षकको प्रस्तुत कविता मध्यम आयाममा रचिएको छ । धैर्य नभएका कविहरूप्रति कवितामा व्यङ्ग्य गरिएको छ । कवितामा अन्य ठाउँमा पनि कविता वाचनका लागि जानुपर्ने भएकाले कविले उद्घोषकलाई कविता सुनाउने पालो अघि सारिदिनका लागि आग्रह गरेको विषयवस्तु कवितामा उजागर भएको छ । आजका मान्छेहरू आफ्ना कुरा सबैले ध्यान दिएर सुनुन् भन्ने चाहन्छन् तर अरूका कुरा सुन्न चाहँदैन । अरूका कुरा सुन्ने समय हुँदैन । समय भए पनि सभाको बिचमा बसेर कानाखुसी गर्न छोडेको हुँदैन । कवि श्रेष्ठ सभाको मर्यादा पालन गर्दै आफ्ना कुरा अरूलाई सुनाउन चाहनेले अरूका कुरा सुन्ने धैर्य हुनुपर्दछ भन्ने कुरा कवितामा अमुखररूपमा प्रस्तुत गर्छन् ।
‘हल्लाहरू छन् र त हामी अझै जिउँदा छौँ’ शीर्षकको प्रस्तुत कविता कवि भूपि शेरचनको ‘यो हल्लैहल्लाको देश हो’ शीर्षकको कविताको विकसित रूप हो । कविले कविताका प्रारम्भमा भूपि शेरचनका हरफहरूलाई राखेका छन् । हल्लाहरू छन् । त्यसैले हामी अझ जिउँदा छौँ । कवि कवितामा बाल्यकालमा आमा हजुरआमाहरूले झोलुङ्गामा हल्लाउनु भएको स्मरण गर्छन् । आमा हजुरआमाका हल्लाबाट नै बाल्यकाल बित्छ । हामी नेपालीका लागि प्रकृति प्रदत्त हल्लाहरू अतिप्रिय छन् । हल्लामा बाँच्ने हाम्रो आदत भइसकेको छ । हल्ला हाम्रा लागि आनन्ददायक छन् । सवारी साधनमा चढ्दा, सुपरमार्केटमा जाँदा, स्कुलका तथा विश्वविद्यालयका कक्षा कोठामा, कविगोष्ठीमा, मन्दिरभित्र, गिर्जाघरभित्र, मस्जिदभित्र, न्यायालयमा, अस्पतालमा, गाउँमा, शहरमा, टोलमा, घरमा, छिमेकमा हल्लैहल्ला छ । अझ कवि मान्छेहरूको सपना क्रय, विक्रय हुने ठाउँ संसद्मा ठूलो हल्ला रहेको बताउँछन् । यी हल्लाहरू भएकै कारण हामी जिउँदा रहेका छौँ भन्छन् कवि । हामी काम गर्दैनौं । कुरा चर्का गर्छौं । हल्ला चर्का गर्छौं । वस्तु यथार्थ नबुझी हल्लैहल्लाको पछि लाग्नाले आजसम्म दुःखपूर्वक नेपालीहरू जिउँन बाध्य छन् ।
‘गुहेलीको फूल’ शीर्षकको प्रस्तुत लघु आयामको कवितामा कवि आफ्ना प्रियसीलाई केशमा सिउरिनका लागि सुन्दर गुहेलीका फूल ल्याइदिन तयार भएका छन् तर सिंहदरबारका नेतृत्व कर्ताहरूको असक्षमताका कारण जनताहरू रुष्ट भएका छन् । गालीहरू मौलाएका छन् । जनताहरू गाली गर्न बाध्य भएका छन् । कवि गालीका फूलहरू सिंहदरबारका छतमै फुलिरहुन् भन्छन् । गालीका फूलहरू संसद्घरलाई सुहाउँछ भन्छन् । कवि गुहेलीका फूल आफ्नी प्रेयसीलाई मात्र सुहाउँछ भन्छन् । कवि काव्यात्मक शिष्ट भाषामा असक्षम नेतृत्वप्रति उचित झटारो हान्न सफल भएका छन् । कवि भन्छन् ः
पर्ख,
बरु म तिम्रा लागि
गुहेलीका फूलहरू ल्याइदिन्छु
ती गालीका फूलहरू
ऊ त्यो संसद् घरको छतमाथि नै
फुलिरहून् (पृ.४५०) ।
‘एक निमेष’ शीर्षकको प्रस्तुत लघु आयामको कविता पाँच हरफमा संरचित रहेको देखिन्छ । अन्धकारमय रात्रीमा मिलिक्क बिजुली चम्कँदा यात्रुले परसम्मको बाटो पहिल्याउँछ भन्ने अभिधागत अर्थ कवि कवितामा मुखरित गर्छन् र अन्य अर्थमा पाठकलाई खेल्न दिन्छन् । क्रान्तिचेत अन्धकारमा चम्किएको बिजुलीजस्तो हुन्छ । जसले संसारलाई गतिमय बनाउँछ । क्रान्तिचेतमा अनन्त शक्ति हुन्छ । जसले संसारलाई परिवर्तन गर्छ । क्रान्तिले उज्यालो खुसी ल्याउँछ । कन्दरामा हाँसो ल्याउँदछ ।
‘इजलास’ शीर्षकको प्रस्तुत कविताको प्रस्तुति न्यायालयकै भाषाशैलीबाट गरिएको छ । देशमा सत्ता परिवर्तन भएर दासमुक्ति भए तापनि कविताको म पात्र दासबाट मुक्त हुन सकेका छैनन् । व्यवहारतः म पात्रको दास दिनचर्या नहटे पनि यो मुलुकको संविधानले उसलाई दास हुँ भन्ने स्वतन्त्रता दिँदैन । म पात्र आफूलाई दास साबित गर्न न्यायालयको कठघरामा उभिएको छ । उक्त कविताले मूलुकमा सत्ता परिवर्तन भएर संविधान निर्माण भए तापनि सत्ता परिवर्तन भएको, संविधान लागु भएको सर्वसाधारण जनताले अनुभूत गर्न नसकेको परिस्थिति देखाइएको छ । जनता दास जीवनशैलीबाट माथि उठ्न सकेका छैनन् । संविधानका अक्षरले दासमुक्त गरे पनि व्यवहारमा नभएको वस्तुसत्यलाई कवितामा उजागर गरिएको छ । यी उपेक्षित पात्रप्रति कवितामा सहानुभूति प्रकट गरिएको छ ।
‘अन्तराल’ शीर्षकको प्रस्तुत प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित लघुआयामको कवितामा अमुखररूपमा जनताका ढाँडमा टेकेर राज्यसत्तामा पुगेकाहरूले जनभावना बिर्सेको प्रति खेद प्रकट गरिएको छ । जनताका साथ सहयोगले माथि उक्लिएको पात्र आज ती साथ सहयोग गर्नेहरूलाई लिलिपुट सम्झन्छ । जमिनमा नै ‘भोकै मर’ भन्न पछि पर्दैन । यस्ता मुखमा रामराम बगलीमा छुरा बोक्ने पात्र र प्रवृत्तिप्रति कवितामा खेद प्रकट गरिएको छ । गुनलाई नबिर्सन भनिएको छ । कवितामा कवि भन्छन् ः
उसले
मेरो काँध माग्यो
मैले काँध दिएँ
र, ऊ ममाथि उक्ल्यो
अहिले
ऊ मलाई भन्छ –
तिमी लिलिपुट हौ
कहिल्यै अग्लाइ देख्दैनौ
जमिनमै मर (पृ.४९) ।
‘छली देवता’ शीर्षकको प्रस्तुत कविता उखु किसान, मजदुरका पीडा व्यथासँग सम्बन्धित रहेको छ । यो मूलुकमा सत्ता परिवर्तन भएको छ । पात्रहरू परिवर्तन भएका छन् । तर प्रवृत्ति परिवर्तन हुन अझै सकेको छैन । सम्भ्रान्त वर्गले अझै पनि किसान, मजदुरमाथि शोषण गरिरेहका छन् । चिनीको गुलियो रसास्वादन गरिरहेको सरकार उखुकिसानका आँखाबाट बगेका अमिला आँसुका धारा देख्दैन । उखु किसानले उखुको उचित मूल्य पाएका छैनन् । वर्षौंदेखिका उखुको पैसा उखु मिलका मालिकहरू दिन तयार छैनन् । उखु किसानहरू बैँकको व्याज र ऋणको पीरले मर्ने अवस्थामा पुगेका छन् । श्रमिक, मजदुर किसानका नेता भनिएर चिनिएकाहरू राज्यसत्तामा रहँदा उखु किसान बहुलाउन बाध्य भएका छन् । मजदुर किसानका ढाँडमा टेकेर राज्यसत्तामा पुगेका नेतृत्व वर्गले मजदुर किसानमाथि छल गरेको छ । राज्य भएको अनुभूत दिलाउन सकेका छैनन् । श्रमिकका आँसु पुछ्न सकेका छैनन् । कवि कवितामा किसान मजदुर वर्गको राज्यसत्ताप्रतिको वितृष्णाको भाव यसरी प्रस्तुत गर्छन् ः
जसलाई
मैले आफ्नो कुलको देवता मानेथेँ
र जसको अघिल्तिर
सधैँ खुसीले मेरा आँखाहरू
नतमस्तक रहन्थे
हामी किसानलाई
भ्रम परेछ
आखिर
तिमी छली रहेछौ
छली देवता
सरकार
अब म विद्रोहले
बहुलाउँछु
र जेल जान्छु (पृ.५०–५१) ।
‘बोन्साइ’ शीर्षकको प्रस्तुत लघु आयामको कवितामा नेपाली समाजमा बढ्दो बिलासीपन, अनुत्पादक क्षेत्रमा लगानीजस्ता प्रवृत्तिप्रति अमुखररूपमा व्यङ्ग्य गरिएको छ । कवितामा कसैले गमलामा बोन्साइको कलमी हाँगो सारिदिन्छ । गोडमेल गर्छ । मल, पानी हालिदिन्छ । बडो जतनसाथ सजिएर बेडरुमको सिरानीनेर सजिएर बोन्साइ झार बस्दछ । यहाँ बोन्साइको सौन्दर्यको महिमागान गाएर कवि हाम्रो समाजमा अनुत्पादक विलासी क्षेत्रमा हुने लगानीप्रति कटाक्ष गर्छन् । कवितामार्फत् कवि अमुखररूपमा फजुल मनोरञ्जनको क्षेत्रमा लगानी नगरी मानिसका दैनिक उपभोग्य वस्तुका क्षेत्रमा लगानी गरी यथेष्ट मात्रामा फसल बढाउने सन्देश दिन्छन् ।
‘विमल निभा’ शीर्षकको प्रस्तुत कवितामा कवि विमल निभाका योगदानहरूको स्मरण गरिएको छ । विमल निभा विचार चेतनाका ज्योति हुन् । क्रान्ति तथा परिवर्तनका नायक हुन् । उनी समाजमा उपेक्षित रहेका भोका, नाङ्गा अशक्तका आवाज बुलन्द गर्छन् । उनीहरूप्रति सहानुभूति प्रकट गर्छन् । समाजका विकृत र विसङ्गत पाटालाई उदाङ्गो गरिदिन्छन् । समाजका असङ्गतिहरूसँग विमति राख्छन् । विमल निभा देश र जनतालाई माया गर्छन् र भ्रष्ट शासकहरूप्रति घृणाभाव राख्छन् । अचेल क्रान्तिका नायक, परिवर्तनका गायक विमल निभालाई सिंहदरबार एउटा शत्रु ठान्दछ । उसका आवाजहरू मन पराउँदैन । विमल निभा उपेक्षित भएका छन् सिंहदरबारबाट तर कवि क्रान्तिका नायक विचारका ज्योति विमल निभाप्रति उच्च सम्मान राख्छन् ।
विमल निभा
जब सडकमा उभिन्छन्
हातमा बोकेर आन्दोलनको
एउटा प्लेकार्ड
सत्तालाई लाग्छ–
विमल निभा एउटा द्रोह हो
यो राज्यका लागि
सिंहदरबारलाई सधैं
अप्रिय लाग्छ विमल निभाको नाम (पृ.५५) ।
‘विच्छेद’ शीर्षकको प्रस्तुत कवितामा राज्यसत्ताका नेतृत्वकर्ताहरूले जनतालाई भ्रम छरेर स्वार्थपूर्ति गरिहेको विकृत राजनीतिक वस्तुसत्यलाई काव्यको सैद्धान्तिक पारिभाषिक शब्दहरूको सन्दर्भबाट कविले देखाएका छन् । यदि भाषाले वक्रोक्ति, लक्षणा, व्यञ्जना, ध्वनि लगायतको अर्थ सन्दर्भलाई छोडेर अभिधागत अर्थ मात्र धारण गर्ने हो भने राज्यसत्ताका नेतृत्वकर्ताहरूले जनताबाट प्रेमका शब्दाञ्जलि होइन गालीका शब्दाञ्जलि प्राप्त गर्छन् । राज्यसत्ताका घिनलाग्दा व्यवहारका कारण जनता निराश भएका छन् । जनताका मनमा राज्यसत्ताका नेतृत्वप्रति घृणाभाव, वितृष्णा पैदा भएको छ । कवि राज्यसत्ताका नेतृत्वप्रति चुनौति दिन्छन् । व्यवहार परिवर्तन नभए सडकबाट विद्रोहका स्वरहरू उठ्ने प्रगतिशील क्रान्तिकारी विचारको शङ्खघोष कवि कवितामा यसरी गर्छन् ः
भाषाले वक्रोक्ति छाडेर
जब दिनेछ सीधा अर्थ
तब ठान्नुहोस्
नागरिकको शब्दकोशबाट हराउनेछ
शासकप्रतिको प्रेम
र, सडकमा
निस्कनेछन् सत्तासँग विच्छेदका शब्दहरू (पृ.५६) ।
‘व्यर्थ हाँसो’ शीर्षकको कवितामा पठन संस्कृतिमा देखिएको ह्रासलाई देखाइएको छ । पठन संस्कृति देखावटीमा परिणत भएको छ । कोठाभित्र पुस्तकहरू सजाइएका हुन्छन् । त्यसको अध्ययन हुँदैन । तर सामाजिक सञ्जालमा पठनदास बनेको भ्रम पुस्तकसहितका आत्मचित्रबाट प्रसारित गरिन्छ । नाटकीय ढङ्गमा विषयवस्तु अगाडि बढेको प्रस्तुत ‘व्यर्थ हाँसो’ शीर्षकको कवितामा कवि अनिल आफैँप्रति व्यङ्ग्य गर्छन् ः
फेसबुक वालमा यी ¥याकहरू सजिएका
किताबका फोटाहरू हालेर
यो अनिल आफू खुबै पढन्त हुँ भन्ने
अरूलाई देखाउँछ (पृ.५७–५८) ।
यसरी प्रस्तुत व्यर्थ हाँसो शीर्षकको कवितामा जीवनमा परिणाम दिन नसक्ने, खुसी ल्याउन नसक्ने, ज्ञान बाड्न नसक्ने देखावटी रमझमको हाँसोलाई व्यर्थ हाँसोको रूपमा हेरिएको छ । पठन संस्कृति परिणाममुखी नबनेर अचेल हाम्रो समाजमा देखावटी बनेको छ । प्रस्तुत यथार्थमय विषयलाई कविले उच्च कलात्मकताका साथ प्रस्तुत गरेका छन् ।
‘वधशालामा देश’ शीर्षकको प्रस्तुत कवितामा विचारबाट पलायन भएको भावलाई चिडियाखानाको सन्दर्भबाट देखाइएको छ । कवितामा वातावरणविद्हरूले सहरमा ठूलो चिडियाखाना निर्माण गर्छन् । चराहरूका लागि उपयुक्त चिडियाघर निर्माण गर्छन् । देशव्यापीरूपमा चराहरूको संरक्षण अभियान सञ्चालन गर्छन् । जङ्गलबाट खोजेर ल्याएका एक एक चराहरूलाई चिडियाखानामा कैद गर्छन् । जङ्गलबाट चराहरूको सुमधुर सङ्गीत बन्द हुन्छ । केही समयपछि चिडियाघरबाट चराहरू हराउन थाल्छन् । सहरमा मासु व्यापारी बढ्छन् । वातावरणविद्हरू खुशी भएका छन् । उनीहरू प्रयोगशालामा चराका क्लोन बनाउन थालेका छन् । कवितामा चराहरूको संरक्षणको नाममा भएको भक्षणलाई सशक्त रूपमा देखाइएको छ । त्यसका साथै अमुखररूपमा स्वकीय स्वार्थमा लिप्त भएर विचारबाट विमुख भएको वस्तुस्थितिको चित्रण गरिएको छ । वातावरणविद्हरू चराहरूको संरक्षणमा स्वकीय स्वार्थमा लिप्त नभएर कटिबद्ध भएका भए चराहरूको विनाश हुने थिएन । आज प्रयोगशालामा क्लोन बनाउनुपर्ने अवस्था सिर्जना हुने थिएन ।
‘अनादि लय’ शीर्षकको प्रस्तुत मध्यम आयाममा संरचित कवितामा क्रान्तिको चेतनाको गति कहाँ गएर टुङ्गिन्छ भन्ने प्रश्न उठाइएको छ । प्राकृतिक सौन्दर्यमय विषयवस्तुसँगै कविता अगाडि बढेको छ । कविको अनादि लयको यात्रामा रुखपात, कीटपतङ, चराचुरुङ्गी, जङ्गल, घाम, नदी, हावा, विभिन्न फूलहरू, पुतलीको स्वतन्त्र उडान, जुनेली रात, जुनकिरीको उज्यालो, तारा गण आदि छन् । कवि सपना अनादि लयको यात्रामा हिँड्दा सिंहदरबारका ढोकासम्म पुगेका छन् । कवि सिंहदरबारभित्र गएर कतै अनादि लयको यात्रा टुङ्गिने त होइन शङ्का गर्छन् ः
ती अग्ला ढोकाहरूसम्म पुगेर
यो बाटो हराउँछ
र, म कहिले
सपनामै देख्छु
यसका गर्भहरूभित्र लुकेका
असङ्ख्य खाडलहरू
र मानव जीवावशेष (पृ.६२–६३) ।
कविको चेतनाको क्रान्तिको अनादि लयको यात्रा निरन्तर रही रहोस् । फूल मुस्कुराओस् । पुतलीले स्वच्छन्द गगनमा उडान भरोस् । चराका सङ्गीतहरू गुन्जिरहोस् ।
‘आसक्ति’ शीर्षकको प्रस्तुत कविता द्वितीय पुरुष र प्रथम पुरुष दृष्टिबिन्दुमा लघु आयाममा संरचित रहेको देखिन्छ । उक्त कवितामा स्नेह, घृणा, वितृष्णा, राग, शङ्काजनित आशक्तिको भाव मुखरित भएको छ । आशक्तिकै कारण कवितामा तिमी पात्र म पात्रको मृत्यु चाहन्छ । त्यसै गरी आसक्तिकै कारण म पात्र तिमी पात्रको दीर्घायुको चाहना गर्दछ । अन्ततः कवितामा म पात्र आसक्तिकै कारण तिमी पात्रको चाहना पूर्ण होस् भन्छन् ः
तिमी
मेरो मृत्युको
प्रार्थना गरिरहेछौ
र म तिम्रो
दीर्घायुको कामना
गरिरहेको छु
थाहा छैन
यो जित तिम्रो हुनेछ
या मेरो
फेरि पनि म तिम्रो
जितको कामना गरिरहेको छु (पृ.६४) ।
‘अगुल्टो’ शीर्षकको प्रस्तुत कविता लघु आयाममा संरचित रहेको छ । अगुल्टो प्रतीकात्मक शीर्षकले विचारलाई निर्देश गरेको छ । जसरी सृष्टिको आदिकालदेखिको अग्नितत्त्व निभ्दैन । मानव सभ्यताको बीज अग्नि निभ्दैन । त्यस्तै क्रान्ति, परिवर्तन, उज्यालोको विचार, चेतना पनि निभ्न सक्दैन । कवि विचार, चेतनाको अगुल्टोलाई सदा जोगाइराख्न कवितामा यसरी आह्वान गर्दछन्ः
अगुल्टो
बीज हो आगोको
उज्यालोको
क्रान्तिको
परिवर्तनको
अगुल्टो
मानिसको सभ्यताको
बीज हो
अगुल्टोलाई
मर्न नदेऊ
जोगाइराख (पृ.६५) ।
‘तिनाउ काटेपछि’ शीर्षकको प्रस्तुत लघु आयाममा संरचित कवितामा तिनाउको भौगोलिक, राजनीतिक, सांस्कृृतिक पर्यावरणको अवलोकनपछि कवि मनमा उठेका रहस्यमय भावचित्र तथा अनुभूतिहरूलाई विषयवस्तु बनाइएको छ । प्रस्तुत कविता शाब्दिक तथा आर्थिक सौन्दर्यले सुसज्जित देखिन्छ ।
‘सेलिब्रिटी’ शीर्षकको प्रस्तुत व्यङ्यात्मक शैलीमा लेखिएको लघु आयामको कवितामा त्याग, तपस्या, साधनाविना नै रातारात भाइरल हुन चाहने सेलिब्रेटी कविहरूप्रति व्यङ्ग्य गरिएको छ । कवितामा अरूलाई नैतिकताको पाठ पढाउने कविलाई भट्टी पसलमा रक्सीको उधारो तिर्न नसकेर प्रहरीले गिरफ्तार गरेको छ । यसबाट कविको विचार र व्यवहार बारे पनि प्रश्न उठाइएको छ । नेपाली समाज देखावटी बनिरहेको छ । कार्यगत निपुर्णतामा ह्रास आएको छ । त्याग, तपस्या, साधना नै नगरी कार्यको श्रेय लिन चाहन्छन् । कवि कवितामा सेलिब्रेटी कविको यथार्थमय दृष्टान्त प्रस्तुत गर्दै सिङ्गो समाजलाई नै सचेत गराउँछन् । कवि नेपाली समाजमा बढ्दो कार्यविना चर्चामुखी विकृत प्रवृत्तिप्रति कटु आलोचना गर्छन् ।
‘श्रीमती भन्छिन्’ शीर्षकको प्रस्तुत कवितामा नेपाली समाजमा अझै विद्यमान लैङ्गिक विभेद तथा असमानतालाई विषयवस्तु बनाइएकोे छ । कविता कविको आत्मानुभूतिमा रचिएको देखिन्छ । कवितामा कविकी श्रीमती कविले खाएर छोडेका जुठाभाँडाहरू माझेरै वृद्ध अवस्थामा पुगिसकेकी छिन् । कवि ती भाँडा माज्दा हात छियाछिया परेका व्यक्तिहरूको दुःख, पीडा तथा वेदना लेखेर कवि सम्मानित भएका छन् । कविकी श्रीमती कवितामा तिनै सम्मान तथा प्रमाण पत्रहरू हेरेर खुसी भएकी छिन् । कविकी श्रीमती कवितामा भन्छिन् ः
बुढा
तिमी कवि भएरै
सम्मान थाप्छौ
र म तिमीले सम्मानमा पाएका
ती प्रमाणपत्र हेरेरै खुसी हुन्छु
आखिर
म आइमाई हुँ (पृ.६८) ।
कवितामा नारी हक, हित, सुरक्षा, स्वतन्त्रता तथा अस्मिताका लागि बुलन्द आवाज उठाइएको छ । लिङ्गको आधारमा कार्यको विभाजन हुनु हुँदैन । घरधन्दाका कार्य महिलाले नै गर्नुपर्छ भन्ने मानसिकताको अब अन्त्य हुन आवश्यक छ । असीमित क्षमता भएका नारीहरूलाई घरका दिवारदेखि बाहिर निकाल्न सक्नुपर्दछ । राज्यका अङ्गहरूमा नारीहरूको प्रभावकारी सहभगिता आवश्वक देखिन्छ । कवि आफ्नै कथा प्रस्तुत गरी नारी हक, हित, सुरक्षा, स्वतन्त्रताका पक्षमा वकालत गर्ने कविकै घरमा लैङ्गिक विभेद तथा असमानता देखाई समाजको यथार्थ प्रस्तुत गर्छन् । लैङ्गिक विभेद विरुद्ध आवाज घन्काउँछन् । कवि अमुखररूपमा नारी भएकै कारण हीन भावना नराख्न समेत आग्रह गर्छन् ।
‘अन्तिम अर्थात् चौँथो अनुच्छेद’ शीर्षकको प्रस्तुत कविता यस ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहको अन्तिम कविता हो । यो कविता मध्यम आयाममा संरचित देखिन्छ । प्रस्तुत कवितामा पर्यावरणीय प्रदूषणका कारण पृथ्वीमण्डलमा भयावह स्थिति उत्पन्न भएको भाव मुखरित भएको छ । पर्यावरणीय अस्तित्व सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरिएको छ । कवितामा पृथ्वीमण्डलमा सूर्यको किरण हराएको छ । चिसो बढेको छ । हावा वहन भइरहेको छैन । चारैतिर तुवाँलो बढेको छ । पिरो धुँवाका कारण आँखा हेर्न सकिएको छैन । श्वास फेर्न सकिएको छैन । वायुमण्डलको ताप घटेको छ । वातवरण कष्टकर बनेको छ । अस्पतलमा बिरामीहरू बढेका छन् । मानिसहरू चिन्तित भएका छन् । एकथरी मानिस मन्दिर अगाडि उभिएर ईश्वर खोजिरहेका छन् । अर्कोथरी मानिस मन्दिर अगाडि ईश्वरलाई गाली रहेका छन् । कवि कविताको मध्यभागसम्म पर्यावरणीय प्रदूषणका कारण सिर्जित समस्यालाई देखाउँछन् भने कविताको उत्तरार्धतिर पुगेपछि अहङ्कार, दम्भ, घमण्ड, वर्गीय रवाफ त्याग्न भन्छन् । मृत्युश®यामा लडिरहेका व्यक्तिहरूको खाली हात देखाउँदै आवश्यकभन्दा बढी सङ्ग्रह नगर भन्छन् । कवि कविताको अन्त्यमा पृथ्वीमा पुनः नयाँ सृष्टि हुने बताउँछन् । नयाँ मानिसहरूको गीत गुन्जिने आशा गरिएको छ । कविताको अग्रभागमा पर्यावरणीय प्रदूषणको कारण पृथ्वी मण्डलमा उत्पन्न भएको भयावह स्थितिप्रति चिन्ता व्यक्त गरिएको छ भने कविताको मध्यभागमा वर्गीय अहङ्कार त्याग्न भनिएको छ र कविताको अन्त्यमा पर्यावरणीय स्वस्थता र वर्गीय स्वस्थता कायम हुने स्वर्णिम भविष्यको आशा गरिएको छ ।
श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा सङ्गृहीत पैँतिसओटा मुक्तलयधर्मी कविताहरूको अन्तर्वस्तुगत अध्ययनबाट अनिल श्रेष्ठ प्रगतिशील विचारका, राष्ट्रप्रेमी, समानताका पक्षधर, विद्रोही एवम् क्रान्तिकारी चेत भएका कवि हुन् भन्न सकिन्छ । आफ्ना जीवनयात्रामा देखेभोगेका विविध विषयवस्तुलार्इृ कवि अनिलले कवितामा समेटेका छन् । राष्ट्रप्रेमकै केन्द्रियतामा कवि अनिलका कवितामा प्रगतिशील स्वर घन्किएको छ । नेपाली समाजको सामाजिक, राजनैतिक, आर्थिक क्षेत्रमा मौलाएको विकृति विसङ्गतिप्रति कवि श्रेष्ठले कटु आलोचना गरेका छन् । अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार, कुरीति, कुनीतिका विरुद्ध आवाज घन्काएका छन् । वर्गीय विभेद, जातीय विभेद तथा लैङ्गिक विभेदजनित शोषण, उत्पीडन, दमनको भत्र्सना गरेका छन् । वर्गीय, जातीय, लैङ्गिक विभेद तथा असमानताका विरुद्ध क्रान्तिकारी आवाज घन्काउँदै समानताको वकालत गरेका छन् । कवितामा प्रगतिशीलतासँग जोडिएर नारीवादी स्वर पनि मुखरित भएको छ । नारी हक, हित, स्वतन्त्रता तथा अस्मिताका बारे बुलन्द आवाज घन्काएका छन् । स्थापित उपलब्धिलाई बचाएर राख्न राज्यसत्तालाई घच्घचाएका छन् । जनभावना नबिर्सन चुनौति दिएका छन् । राज्यसत्ताका गैरजिम्मेवार चरित्रलाई उदाङ्गो पारिदिएका छन् । लुटिखानेहरूलाई गतिशीलता र कर्तव्यको पाठ पढाएका छन् । समाजका उपेक्षित वर्गप्रति सहानुभूति प्रकट गर्दै तिनका मुक्तिका लागि कवितामा क्रान्तिकारी विद्रोही स्वर उजागर गरेका छन् । शोषक, सामन्त तथा भ्रष्टको निन्दा गरेका छन् । पर्यावरणीय अस्तित्व बचाइ राख्न तथा पर्यावरणीय स्वस्थता कायम राख्न आह्वान गरेका छन् । क्रान्ति र चेतनाका स्रष्टाहरूलाई स्मरण गरेका छन् । कवि अनिल श्रेष्ठले समसामयिक युगीन नेपाली समाजको चित्र ‘मध्यरातको मुर्कट्टा’ कविताङ्ग्रहमा उतारेका छन् । हाम्रो समाजको विकृत र विसङ्गत प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । हाम्रो चरित्रलाई सच्च्याउनका लागि क्रान्तिकारी विद्रोही स्वरबाट चुनौति दिएका छन् । भनाइ र गराइमा सामञ्जस्य कायम गर्न कविले आह्वान गरेका छन् । स्वस्थ, सुन्दर वर्गीय समानतायुक्त सामाजिक न्यायपूर्ण समृद्ध मुलुक निर्माणका लागि स्वकीय स्वार्थइतर राखी जनहितका लागि कवि निरन्तर बुलन्द आवाज घन्काइरहेका छन् ।
मुक्तलयधर्मी पैँतिसओटा लघु तथा मध्यम आयाममा संरचित कविताहरू ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा रहेका छन् । यस सङ्ग्रहका कविताहरू अर्थका अनेक तरेलीले सुबद्ध छन् । कविताहरू अभिधामा मात्र सीमित नभई लक्षणा र व्यञ्जनाको तहसम्म पुगेका छन् । ध्वनिका बाछिटाहरू छन् । शब्दालङ्कार र अर्थालङ्कर मुस्कुराएका छन् । सहज किसिमका अन्त्यानुप्रासमा कवि सचेत देखिएका छन् । कविताहरू आन्तरिक लयका कारण सशक्त बनेका छन् । तीव्रतम अनुभूतिहरू पोखिएका छन् । कविताहरू छोटा छन् तर सूक्तिमय रहेका छन् । सरल सहज र सम्प्रेष्य छन् । ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा थोरै मात्र आगन्तुक शब्दको प्रयोग देखिन्छ । मूलतः तत्सम, तद्भव र झर्रो नेपाली भाषाका ओजपूर्ण लालित्यमय शब्दपुष्पहरू प्रयोग भएका छन् । भावगत सौन्दर्य तथा शैलीगत कलात्मकताका कारण यस सङ्ग्रहका कविताहरू रसिला तथा भरिला बनेका छन् । कवि गोपालप्र्र्रसाद रिमाल र कवि भूपि शेरचनका कविताका पारखीहरूलाई कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले केही राहत दिएको छ ।
नेपाली कविताकाव्य परम्परामा समसामयिक धारमा देखा परेको कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रह युगीन नेपाली समाजको प्रतिविम्बन हो । कविले नेपाली समाजको वास्तविक धरातललाई कवितामा देखाएका छन् । हाम्रो समाजको विकृत र विसङ्गत पक्षलाई उदाङ्गो परिदिएका छन् । सच्चिनका लागि घच्घचाएका छन् । मूलतः प्रगतिशील विचार बोकेको, समानता तथा न्यायको वकालत गरिएको, राष्ट्रप्रेम मुखरित भएको, क्रान्तिकारी विद्रोही चेतले सशक्त भएको कविताका रूपमा कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहलाई हेरिएको छ । समकालीन नेपाली प्रगतिवादी कविताकाव्यका स्थानमा अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले विशेष अस्तित्व राख्ने देखिन्छ ।