० हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
म मूलत: कविता नै लेख्ने गर्छु । साथै मेरो पेशागत विषय – सार्वजनिक खरिद, निर्माण आयोजना व्यवस्थापन र प्राविधिक शिक्षाका बारेमा पनि लेखिरहेको छु ।
० प्रत्येक स्रष्टाको साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
साहित्यले समय र घटनाको प्रतिनिधित्व गर्छ भन्ने लाग्छ । साहित्य मानिसले भोगेको सामाजिक–साँस्कृतिक एवम् आर्थिक परिवेशको इतिहास पनि हो । त्यसैले साहित्य निरपेक्ष नभएर समय र समाज सापेक्ष हुन्छ । तर, साहित्य–शाषकहरुको नभएर दबिएका वा आवाजहीनहरुको, हार्न विवशहरुको आवाज बन्न सक्नुपर्दछ । त्यसैले साहित्यले समाजमा रहेको विसंगति र उत्पीडनलाई उजागर गर्नु पर्दछ, जसले समाजलाई अग्रगामी हुन मद्दत गर्दछ । यस अर्थमा सच्चा साहित्य सत्ता र शक्तिको विरोधी खेमामा बसेको देखिने भएकोले सरकार सच्चा एवम् प्रखर साहित्यसँग सधैं डराइरहेको हुन्छ र साहित्यिक अभिव्यक्तिहरुलाई नियन्त्रण गर्न खोजिरहेको हुन्छ । साहित्यमा वर्गीयता र प्रगतिशीलताको विषय पनि यहि नै हो भन्ने लाग्छ ।
० तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
समाज र जनतासँग जोडिएका लेखनहरु मलाई मनपर्छ । सरल र कलात्मक अभिव्यक्तिहरु होस् भन्ने लाग्छ । समाजमा विद्यमान विकृति र विसंगतीलाई बिम्ब र प्रतीकहरुको माध्यमबाट कलात्मक रुपमा प्रस्तुत गरिएका र जीवनप्रति आशा जगाइएका लेख रचनाहरु बढी मनपर्छ । त्यसैले समाजसँग जोडिएका र जीवनप्रति आशा जगाइएका लेख रचनाहरु नै उत्कृष्ट हुन्छन् ।
० साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रष्ट पारिदिनुहोस् ।
साहित्यकारहरु समाजप्रति जिम्मेवार हुनै पर्दछ । लेख्ने कर्ममात्र गरेर पुग्दैन । ऊ आफै लेखनको नजिक हुन सक्नुपर्छ । यसको अर्थ साहित्य जीवनदायी हुनुपर्छ र अग्रगामी सन्देश प्रवाह गर्न सक्षम हुनुपर्छ । साहित्यले समाज र समाजले साहित्यलाई डोर्याउनु पर्छ । त्यसैले विचारसहितको साहित्य पनि गुट र उपगुटबाट मुक्त हुनु पर्दछ र साहित्यिक अभिव्यक्तिलाई नारा बन्नबाट जोगाउनु पर्दछ । साहित्यकारहरुको चेतनास्तर पनि उँचो भएको हुनुपर्छ तर कतिपय अवस्थामा साहित्यकारका आफ्नै रचनामा व्यक्त भएका विचारभन्दा स्वयम्को चेतनास्तर चाहिँ तल रहेको पनि महसुस हुन्छ । यस्तो भएमा साहित्यिक रचना उपदेश मात्र बन्ने स्थिति पैदा हुन्छ । यसतर्फ साहित्यकारहरुले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।
० हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
नेपालमा राम्रा र सशक्त साहित्य लेख्ने लेखक साहित्यकारहरुको उपस्थिति राम्रो छ भन्ने लाग्छ । साहित्यप्रति रुचि पनि बढेको देख्छु । काठमाडौं बाहिर पनि उल्लेखनीय साहित्यिक गतिविधिहरु हुन थालेका छन् । यो राम्रो संकेत हो । केही साहित्यकारहरु आफ्नै प्रयासमा नेपाली साहित्यलाई विश्व साहित्यमा परिचित गराउन लागिरहनु भएको छ भने विदेशमा रहनु भएका नेपालीहरुले पनि नेपाली साहित्यको विकासमा राम्रो योगदान गरिरहनु भएको छ । यति हुँदाहुँदै पनि सरल सामाजिक सञ्जालको कारण हल्का सामग्रीहरुले बढी चर्चा र प्रश्रय पाउन थालेको देखिन्छ । अर्काेतिर, साहित्य राजनीति र गुटहरुमा सीमित हुँदै गएको छ । यसले नेपाली साहित्यलाई स्वतन्त्र रुपमा आफ्नो क्षमता स्थापित गर्नमा बाधा पुर्याएको छ । क्षमतावान र राम्रा लेखनहरु ओझेल पर्ने र गुटगत साहित्यले चाहिनेभन्दा बढी प्रचार प्रसार पाउने अवस्थाले नेपाली साहित्यको इतिहास लेखनलाई अलमल्याउन सक्ने हुँदा साहित्यको स्तर बृद्धि गर्दै लैजानको लागि जिम्मेवार संस्थाहरु र समालोचकहरुको नैतिक क्रियाशीलताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्यिक संस्था एवम् समालोचकहरुमाथि निकै ठूलो दायित्व थपिएको छ । नेपाली साहित्यको कुरा गर्दा, राजधानी बाहिर र देश बाहिरबाट लेखिने र लेखिएका साहित्य र साहित्यकारहरुको पनि चर्चा गर्नुपर्ने हुन्छ । कुनै साहित्यकारलाई सम्मान गर्दा, पुरस्कार प्रदान गर्दा र सञ्चार माध्यममा चर्चाहरु गर्दा समेत समग्र साहित्य सृजना र साहित्यको विकासमा त्यस्तो साहित्यकारले गरेको योगदान र त्यसप्रतिको प्रतिबद्धताको आधारमा गर्ने गर्नुपर्दछ । नयाँ सर्जक र सृजनाहरुलाई उचित मञ्च र पुरस्कारको माध्यमबाट प्रोत्साहन गर्ने वातावरण हुनु पर्दछ ।
० तपाईं आफू कुन–कुन साहित्यकार, चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपी शेरचन, हरिभक्त कटुवाल, भैरव अर्याल, निनु चापागाइँ, डी.आर. पोखरेल, झमक घिमिरे, राहुल सांकृत्यायन, म्याक्सिम गोर्की, प्रेमचन्द, जर्ज अरवेल, अर्नेष्ट हेमिङ्गवे आदि जस्ता लेखक साहित्यकारका लेखन/रचनाहरुले मलाई प्रभाव पारेका छन् ।
० तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
वि.सं. २०३६ सालतिरबाट कविता लेख्न थालेको हुँ । पहिलो प्रकाशित/अप्रकाशित रचना निक्र्यौल गर्न सकेको छैन । १५ असार २०३८ मा लेखिएको ‘जिन्दगी’ भन्ने छोटो कविता संसार (द्वैमासिक) को अंक ६ मा प्रकाशित भएको थियो । सोही कविता नै पहिलो प्रकाशित रचना हो कि जस्तो लाग्छ । उक्त कविता यस्तो थियो :
जिन्दगी
जिन्दगी
कुम्भकर्णले सुत्दासुत्दै बिताएको
अगस्तीले खाँदाखाँदै सिध्याएको
हो वा,
चाणक्यले नीतिशास्त्र पढाउँदा पढाउँदै
कर्णले दान गरेर रित्याएको हो,
तर, मलाई लाग्छ
दु:शासनको दुष्ट्याइँले गर्दा
दधिचीले त्यागेर हिँडेको हो
जिन्दगी ।
० तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनु हुन्छ कि ?
स्थानीय विकास विभागको ओभरसियर पदको नियुक्ति पाएर २०३५ सालको फागुन महिनामा तत्कालीन जिल्ला पञ्चायतमा हाजिर हुन म सुर्खेत जिल्ला पुगेको थिएँ । त्यहींको वातावरणले मलाई कविता लेख्न उत्प्रेरित गरेको हुनुपर्छ । पछि २०४० सालतिरबाट घर बसेर जागीर खान मिल्ने स्थिति बनेपछि चाहिँ घरको वातावरण, पिताजी गोर्खापत्र संस्थानमा काम गर्नुहुने भएकोले घरमा गोर्खापत्र र मधुपर्क नियमित रुपमा पढ्न पाइने हुँदा लेखनप्रति म थप आकर्षित हुँदै गएँ ।
० तपाईंले विविध विधामा कलम चलाउनुभएको छ । कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
मैले केही विधामा कलम चलाएँ । मैले समसामयिक विषयहरुमा पनि लेखें र सुन्दर सिंह नामबाट जनएकता साप्ताहिकमा स्तम्भ पनि लेखें । उक्त स्तम्भ त्यतिबेला मनपराइएको पनि थियो तर पछि मेरो निरन्तरता टुट्यो । शायद: २०५० पछिको खुकुलो र सहज परिस्थिति भएकोले नयाँ लेखकहरु आकर्षित हुन थालेकोले पनि हुनसक्छ ।मैले केही समय चलचित्र समीक्षा पनि गरेँ । त्यतिबेलाको हाइभिजन हलमा हरेक हप्ता सिनेमा हेर्ने र त्यसको समीक्षा गर्ने गर्थें – त्यसमा मेरो त्यति धेरै लगाव चाहिँ थिएन । विस्तारै चलचित्र समीक्षा गर्ने काम छुट्दै गएको हो ।
२०५४–५५ सालतिर मैले जनएकता साप्ताहिकमा नारी स्तम्भ पनि लेखें । त्यतिखेर नारी स्तम्भ लेख्ने पुरुष म मात्रै रहेछु । प्रत्युस वन्तले लेख्नु भएपछि थाहा पाएको हो । वहाँले लेख्नुभएको थियो :
However, it is true that among the many male columnists writing today, Rajendra Prasad Adhikari (Jana-Ekata) is the only one who has a column on this theme, while a handful of other male writers have contributed an occasional piece or two.” श्रोत: Pratyoush Onta, ‘Women’s writings’ in the media, The Kathmandu Post, November 21, 1997). मैले कथाहरु पनि लेखेँ र छापिएका पनि छन् । कथा लेखनमा म सन्तुष्ट नै थिएँ तर कथा लेखन अनायसै छुटेको हो । निरन्तरता दिन सकिनँ । यो कुरा अलि पछि आएर मात्रै महसुस भयो । सायद कथा लेखनप्रति अन्याय भएको हुनसक्छ । कविता लेखनले चाहिँ निरन्तरता पाएको छ र कवितालाई नै मूल रुपमा अँगालेको छु । म कवितासँगै रमाएको छु र सन्तुष्ट पनि छु । विषयवस्तु, परिस्थिति वा घटनाले भित्रबाटै दवाव सृजना हुन थालेपछि अरु काम छाडेर कविता उतार्न थाल्छु ।
० साहित्यकारको रुपमा तपाईंको सही मूल्यांकन भएको छ कि छैन ?
म निर्माण व्यवस्थापन र प्राविधिक शिक्षाको क्षेत्रमा काम गरिरहेको छु । त्यो मेरो पेशागत क्षेत्र हो र म मूलत: प्राध्यापन गर्छु । साहित्य मेरो जीवनको अभिन्न अङ्ग भएको छ । ऊसँगै म बाँचिरहेको छु र कविता लेखिरहेको छु । कविता लेखनले मलाई सन्तुष्टि पनि दिएको छ । म लेखिरहेको छु र मेरा रचनाहरु प्रकाशित पनि भइरहेका छन् । वि.सं. २०६३ (भानु जयन्ती) मा इञ्जिनियरिङ्ग साहित्य समाजले सम्मान–पत्र प्रदान गरेको छ । अहिले जनमतले प्रदान गरेको यस अवसरले पनि मेरो साहित्यिक यात्राको मूल्यांकन गरेको महसुस गरेको छु । जनमतप्रति आभारी छु ।
० साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
जब समाज र समाजमा रहेको विकृति र विसङगतिलाई केन्द्रविन्दुमा राखेर साहित्य सृजना गरिन्छ त्यहाँ राजनीति आइहाल्छ । लेखक साहित्यकारहरु राजनीति र सिद्धान्तबाट अलग हुन पनि सक्दैनन् । लेखाईहरु विचारबाट डोरिन्छ नै । दृष्टिकोण राजनीति र सिद्धान्त सापेक्ष हुनेगर्छ । तर लेखक साहित्यकारले राजनीति र सिद्धान्तको नाममा पार्टी, सत्ता र नेताको चाकडी गर्न वा गुनगान गाउनबाट भने बच्नु पर्दछ । समयको गतिलाई बुझेर सिद्धान्त र विचारलाई पनि अग्रगामी दिशातिर उन्मुख गराउन साहित्यले ठूलो भूमिका खेल्न सक्छ र खेल्नु पनि पर्छ । त्यसैले हाम्रो जस्तो समाजमा, धेरैजसो अवस्थामा साहित्यले पार्टी, सत्ता र नेताको विरुद्धमा प्रस्तुत हुने आँट गर्नु पर्ने पनि हुन्छ ।
यथास्थितिको विरोध गर्नुपर्दा राजनैतिक पार्टी वा राजनैतिक नेतृत्वले साहित्यको उपयोग गर्नेगर्छ र आफु सत्तामा पुगेको बेलामा साहित्य (अभिव्यक्ति) लाई बेवास्ता गर्न खोज्छ । कतिपय अवस्थामा हामी विचार र सिद्धान्त मिल्ने नाउँमा गलत राजनीतिको पक्षपोषण गरिरहेका हुन्छौं । त्यस्तो अवस्थामा जिम्मेवार साहित्यकारले आफुलाई जोगाउन सक्नुपर्छ । साहित्यकारको निमित्त यो ठूलो चुनौती पनि हो भन्ने मलाई लाग्छ ।
राजनीति जनताबाट अलग्गिन सक्छ तर साहित्य जनताबाट अलग्गिन सक्दैन । त्यसैले राजनीति, सत्ता र नेता कतिपय अवस्थामा जनताबाट धेरै टाढा पुगेको हुन्छ तर जिम्मेवार साहित्य र साहित्यकार जनताहरुकै विषयवस्तु बोकेर जनतासँग नै रमाइरहेको हुन्छ । प्रगतिशील साहित्यले राजनीति र नेतृत्वलाई जनतासँग जोड्ने पुलको काम गरिरहेको हुन्छ । त्यसैले साहित्य र साहित्यकारलाई वैचारिक र नैतिक रुपमा बलियो र दरो बनाउनु पर्दछ । प्रकृतिलाई पनि प्रगतिशील ढङ्गबाट साहित्यमा उतार्न सकिन्छ । मायाप्रेमका विषयहरुले पनि साहित्यमा स्थान ग्रहण गर्नुपर्दछ किनकी त्यो पनि जीवन हो र समाजभित्रकै विषय हो । त्यसैले स्वस्थ्य मायाप्रेमका कुराहरु वा प्रकृतिजन्य भावनाहरु साहित्यमार्फत व्यक्त हुने गर्दछन् ।
० कृपया तपाईंको साहित्यिक सिर्जनाका जीवन–यात्रा क्रमहरु बताइदिनुहोस् ।
–कविताहरु लेख्न थालेपछि, स्वाभाविक रुपमा त्यसबेलाका पत्रिकाहरुमा पठाउन थालियो । म प्राय: हुलाकबाट पठाउने गर्थे । आफ्नो रचना छापिएपछि खुशी लाग्थ्यो र लेख्ने उत्साह थपिन्थ्यो ।
–विस्तारै कविताहरु मधुपर्क लगायत अन्य साहित्यिक पत्रिकाहरुमा छापिन थाले । पछि कथा पनि लेख्न थालें । मेरो लेखनको निरन्तरता भने कवितामा नै रहेको छ ।
–साहित्यिक कृतिको रुपमा २०३९ सालमा खै ! के हाँस्नु र ? र २०७५ सालमा आयान कुर्दी एकल कवितासङ्ग्रह २०४२ सालमा आजको आकाश र २०६३ सालमा आजको आकाश (२०६३) पाँच कविका संयुक्त कवितासंग्रह (आशिष शैली, जीवराज घिमिरे, प्रह्लाद पोख्रेल र आर.के. धर्मस्थली सहित) प्रकाशित छन् ।
–फुटकर अन्य लेखरचनाहरु पनि बेलाबखत प्रकाशित भइरहेका नै छन् ।
० सफल लेखक हुन के–के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
सफल लेखनको लागि म पनि प्रयासरत छु । लेखकहरुका लागि लेखनप्रति प्रतिबद्धता, अध्ययन र धैर्य जस्ता गुणहरु आवश्यक हुन्छन् भन्ने लाग्छ । प्रविधिको विकाससँगै भएको विश्वव्यापीकरणले समाजमा पारेको प्रभावसँगै समाज विकासको क्रमलाई गहिरोसँग बुझ्ने र त्यसलाई साहित्यको माध्यमबाट प्रतिविम्वित गर्ने चुनौती अहिलेको लेखक/साहित्यकारलाई छ । समाज, अर्थव्यवस्था र प्रवधिको विकासलाई बुझेर लेख्न नसकुन्जेल लेखन वा साहित्य अपुरो रहन्छ कि भन्ने लाग्छ ।
० ‘लेखक स्वतन्त्र हुनुपथ्र्यो’ यस भनाइप्रति तपाईंको भनाइ के छ ?
लेखकीय स्वतन्त्रता आवश्यक कुरा हो । लेखक सोच्न र लेख्न स्वतन्त्र हुनैपर्छ । साथसाथै लेखक आफ्नो जिम्मेवारीप्रति सचेत र विचारप्रति प्रतिबद्ध हुन पनि जरुरी छ । अन्यथा लेखन र लेखक अराजक हुनसक्छ । लेखकीय स्वतन्त्रता राजनैतिक दल र गुटभित्र खुम्चिंदै गएको छ । यसले समाज र राजनीति दुवैलाई अगाडि बढ्न मद्दत गर्दैन । त्यसैले साहित्यकारको जिम्मेवारी र भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । अहिले नेपालको लेखनमा पनि यो समस्या छ जस्तो लाग्छ । स्वतन्त्रताको अर्थ मैले लेखें त्यसकारण साहित्य भईहाल्यो नि भन्ने त अवश्यै नहोला ।
० तपाईं साहित्यका एकजना क्रियाशील लेखक हुनुहुन्छ । राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
समय र घटनाका अनुभूतिहरु साहित्यको रुपमा प्रकट हुने हुन् । यस अर्थमा साहित्य आफू बाँचिरहेको समय र घटनाको दस्तावेज हो । साहित्य पढ्दा समकालीन समय र घटनाका प्रतिनिधि पात्र भेटिनुपर्छ । आफू बाँचिरहेको समयको प्रतिनिधि अवस्थाको चित्र देखिनु पर्दछ । त्यसैले साहित्य मानिसले भोगेको र अनुभूत गरेको समय र घटनाको चित्रण हो । यसरी हेर्दा साहित्य र साहित्यकारले समकालिन देश र समाजको प्रतिनिधित्व गर्दछ । त्यसैले साहित्य गहन हुन जरुरी छ भने साहित्यकार पनि त्यत्तिकै जिम्मेवार हुनु पर्दछ । देशको भाषा, संस्कृति र संस्कारको मानक (कोशे) ढुङ्गा हो साहित्य । त्यसैले लेखनमा प्रयुक्त शव्द एवम् प्रस्तुतिको गहनतामाथि साहित्यकार सजग हुनुपर्दछ । साहित्यमा सरल अभिव्यक्ति र गहन भावको खोजी गरिनु पर्दछ । समाज विकासका प्रत्येक चरणले आफ्नो समयको चित्रण साहित्य मार्फत छोड्न सक्नुपर्छ । म मेरो लेखनमा आफ्नो समयको न्यूनतम स्तर प्रतिविम्वित गर्न सकुँ भन्ने चाहन्छु ताकी सक्रिय र क्षमतावान सर्जकहरु मैले सोचेको त्यस स्तरभन्दा धेरै अगाडि बढुन् र म बाँचेको समयको स्वर्णिम प्रतिनिधित्व गरुन् ।
० नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो । तर त्यसो नभई नेपाल सरकारको कार्यालयजस्तो भयो । यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
यो विषय लेखकीय स्वतन्त्रतासँग जोडिएको छ जस्तो लाग्छ । दलगत राजनीति र गुटभित्रका लेखक/साहित्यकारहरुको नियुक्ति हुन थालेपछि र प्रज्ञा प्रतिष्ठानहरुमा नियुक्तीको लागि दल र गुटको पछि लाग्ने लेखक/साहित्यकारहरु हुन थालेपछि यो स्थिति हुनु स्वाभाविकै हो । लेखकीय/साहित्यिक योगदान, प्रतिबद्धता र व्यवस्थापकीय/प्रशासकीय जानकारी भएका स्वतन्त्र चिन्तन गर्न सक्ने लेखक/साहित्यकारहरुलाई अगाडि ल्याउन सकियो भने मात्र प्रज्ञा प्रतिष्ठानहरु प्राज्ञहरुको थलो हुनसक्छ । प्रज्ञा प्रतिष्ठानहरुले विधागत रुपमा सैद्धान्तिक वहसहरु चलाउने र विहङ्गम समीक्षाहरु निरन्तर रुपमा गर्न सक्नु पर्दछ । प्राज्ञहरुबाट देशको साहित्यलाई डोर्याउने, विचार निर्माण गर्ने र देशको साहित्यको प्रतिनिधित्व गर्ने खालको मन्थनयुक्त प्रवचनहरु प्रस्तुत हुनुपर्ने हो तर त्यस्तो हुन सके जस्तो लाग्दैन । त्यस्ता कार्यहरु पछाडि परेको देखिन्छ । वौद्धिक चिन्तन र विचार मन्थन हुनसके जस्तो लाग्दैन । जसले गर्दा प्रज्ञा प्रतिष्ठानहरु जस्ता संस्थाहरु पनि सरकारी कार्यालय जस्तो देखिनु स्वाभाविकै हो । वास्तवमा प्राज्ञ भनेको जागीरे पद होइन, दर्शन, ज्ञान र सिद्धान्तसहितको विषयमा प्रवेश गर्न सक्ने क्षमता प्राज्ञमा हुनुपर्छ ।
० जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
केही पाउने आसा गरेर लेख्नै सुरु गरिएको थिएन र लेखनको कारण आर्थिक कठिनाईको अनुभव पनि गर्नु परेन । त्यसैले यो कर्मबाट निराशाको अनुभव भएको छैन । आफ्नो पेशागत क्षेत्र प्राविधिक भएको हुँदा साहित्य अध्ययन र लेखनको निमित्त समय व्यवस्थापनको दवाव भने परिरहेको हुन्छ । साहित्यको अध्ययन र सृजनाका लागि चाहे जति समय दिन सकिन कि भन्ने चाहिँ बेलाबखत महसुस हुने गर्छ ।
० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरुबारे जानकारी दिनुहुन्छ कि ?
पेशागत क्षेत्रमा पनि सक्रिय नै रहेको हुँदा समय एकदम व्यस्त बितिरहेको छ । साहित्य अध्ययन र लेखनलाई समय निकाल्ने गरेको छु । सोचेजस्तो गरी पुस्तकहरु पढने समय निकाल्न भने गाह्रो परिरहेको हुन्छ । समय व्यवस्थापनको कोसिस गरिरहेको हुन्छु । साहित्यसँग जोडिन नपाएको समय चाहिँ अलि खल्लो लाग्छ ।
० तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइ दिनुहोस् न ।
त्यस्ता थुप्रै क्षणहरुमध्ये केही महत्वपूर्ण सम्झनाहरु यस प्रकारका छन् :
०पञ्चायती शासनकालको कठीन समयमा मैले वेदना साहित्यिक पत्रिकाको कार्यकारी–सम्पादक भएर काम गरेको थिएँ । धेरै जिल्लाहरुमा वेदना जाने गथ्र्यो र जिल्लाहरुबाट समेत थुप्रै नयाँ–पुराना साहित्यकारका रचना एवम् पाठक प्रतिक्रियाहरु हुलाकमार्फत् आउने गर्दथे । काठमाडौं बाहिरको त्यस प्रकारको सहभागिता सम्झदा मलाई अहिले पनि आनन्द लाग्छ ।
०त्यो बेला पत्रिका निकाल्न बेग्लै खालको वातावरण थियो । प्रुफ हेर्न मात्रै कम्तीमा पनि तीन पटकजति प्रेसमै जानुपथ्र्यो । मेशिनमा हालिसकेपछि छाप्नुअघि मेशिन प्रुफ हेर्नुपथ्र्यो र छाप्ने काम प्राय: राति हुन्थ्यो । त्यसैले राति ढिलो ११ देखि १ बजेको बीच घर फर्कने अवस्था हुन्थ्यो । सरकारी नजरमा वेदना सरकार विरोधी पत्रिकामा पर्ने हुँदा राती घर फर्कदा पुलिसको फन्दामा परिने हो कि भन्ने डर सधैं रहन्थ्यो भने अर्को चाहिँ सुनसान रातमा घर फर्कदा सडकका कुकुरहरुले ज्यादै दु:ख दिन्थे, टोकिहाल्छ कि भन्ने डर हुन्थ्यो । त्यतिबेला त जसरी–तसरी काम गरियो अहिले सम्झँदा पनि डर लाग्छ, रमाइलो पनि लाग्छ । कतिपय अवस्थामा राती घर फर्कन आफ्नो साइकल दिने पाटनका साथी, आफ्नो समयका प्रख्यात गीतारवादक शम्भु अमात्यज्यूको सहृदयतालाई यहाँ स्मरण गर्न चाहन्छु ।
०सहिद दिवसको दिन त्यसबेलाको नगर पञ्चायतले कविगोष्ठी आयोजना गर्ने गथ्र्यो र हामी पनि त्यस गोष्ठीमा कवि पूर्ण विराम लगायतका जोशिला कविता सुनेर ताली बजाउन र आफ्ना पनि पञ्चायत विरोधी कविता सुनाउन उपस्थित हुने गथ्र्योैं । अहिलेको पिँढीलाई यस्तो कुरा नौलो लाग्छ होला ।
०साहित्यिक जीवनको अति विशिष्ट र महत्वपूर्ण अवसरको रुपमा सुप्रसिद्ध साहित्यकार पारिजातसँग जोडिने अवसर पाउनु हो भन्ने लाग्छ । हरेक हप्ताजस्तो म्हैपीस्थित पारिजात निवासमा गएर पारिजात दिदीलाई आफ्नो रचना सुनाइन्थ्यो । साहित्य, दर्शन र महिला मुक्तिका विविध पक्षका बारेमा वहाँका विचारहरु सुन्ने अवसर पनि प्राप्त भएको थियो । वहाँको विचार, दर्शन र साहित्यिक क्रियाशीलताले प्रभाव पारेको छ ।
०कवि स्नेह सायमी, साहित्यकार हरिगोविन्द लुइँटेल र म प्रतिभा प्रवाह कार्यक्रमको लागि पारिजात दिदीलाई म्हैपीस्थित वहाँको निवासबाट त्रिचन्द्र कलेजसम्म पुर्याउने र दोश्रो तल्लामा रहेको हलमा बोकेर उकाल्ने र त्यहाँबाट बोकेर ओरालेर मोटरसाइकलमा राखेर निवाससम्म पुर्याउने गरिन्थ्यो । त्यो समय सम्झदा पनि रमाइलो लाग्छ ।
०वि.सं. २०४४ सालमा पारिजात दिदीको बृहत् अन्तर्वार्ता लिने अवसर जुटेको थियो । मेरो लागि त्यो ऐतिहासिक एवम् महत्वपूर्ण घटना हो । डा. महेश मास्केको सहयोगको कारणले म पारिजात दिदीको अन्तर्वार्ता लिन सक्ने अवस्थामा पुगेको हुँ । उक्त अन्तर्वार्ता कार्तिक–चैत २०४४ को वेदना पत्रिकामा प्रकाशित भएको थियो भने पछि जेठ २०५० मा मूल्यांकन मासिक पत्रिकामा पुन: प्रकाशित भएको थियो ।
०वि.सं. २०४६ सालमा प्रकाशित पारिजातको नवौं उपन्यास परिभाषित आँखाहरुलाई पारिजातले लेख्न थालेपछि साफी गर्ने अवसर पनि मलाई प्राप्त भएको थियो । त्यो पनि मेरा लागि जुटेको विशिष्ट अवसर भएको महसुस गरेको छु । पारिजात दिदीले नै ‘राजेन्द्रजी म उपन्यास लेख्दैछु, त्यसलाई तपाईंले साफी गर्नुपर्छ है’ भन्नु भएको म बेलाबखत सम्झने गर्छु ।
०वि.सं. २०५० सालमा पारिजात दिदी दिवंगत हुनु भएपछि स्थापना भएको पारिजात स्मृति केन्द्रको सदस्य–सचिवको रुपमा समेत मैले सुरुदेखि नै लगभग १३ वर्ष काम गरेँ । पारिजात स्मृति केन्द्र स्थापना हुँदा त्यसको संयोजक सुकन्या वाईवा हुनुहुन्थ्यो भने सदस्यमा विशिष्ट साहित्यकारहरु रमेश विकल, गोविन्द भट्ट, शक्ति लम्साल, पद्मरत्न तुलाधर, निनु चापागाईं, रायन, खगेन्द्र संग्रौला, रामहरी पौड्याल र डा. महेश मास्के हुनुहुन्थ्यो । साहित्यसँग जोडिएकै कारण मलाई प्राप्त भएको विशिष्ट अवसर थियो त्यो ।
०इञ्जिनियरिङ्ग साहित्य समाज (इन्सास)ले वि.संं. २०६३ सालमा सम्मानपत्र प्रदान गरेको थियो । इञ्जिनियरिङ्ग क्षेत्रमा रहेर साहित्य सृजनामा लागेको कारण सम्मानित गरिएको उक्त क्षण पनि मलाई महत्वपूर्ण लाग्छ ।
० भविष्यमा तपाईंको के योजना छ ?
साहित्यिक सामग्रीको अध्ययन र लेखनमा अलि बढी समय दिन पाए हुन्थ्यो भन्ने लागेको छ । पेशागत विषयको लेखनले पनि समयको माग गरिरहेको छ । साहित्यिक र पेशागत क्षेत्रको लेखनलाई सन्तुलित हिसाबले अगाडि बढाउने सोच छ । हेरौं समयले कत्तिको साथ दिन्छ ।
० तपाईंको कुनै खास अम्मल छ कि ?
मलाई चिया मन पर्छ । त्यसैलाई अम्मल भन्नुपर्छ होला । अरु अम्मल छैन ।
० तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसङ्गती सम्बन्धमा ?
मलाई दार्शनिक पृष्ठभूमिका लेखरचनाहरु पढ्न मन लाग्छ । बढी त्यसैमा रमाउँछु । घुम्न र गीत सुन्न पनि मन पराउँछु । साकाहारी खाना खान्छु । दुध, दही, फलफूल बढी मन पर्छ । सबै खालका र सबै उमेरका साथीहरुसँग रमाउँछु ।
० रोगब्याधीले कत्तिको सताउने गर्छ ?
रक्तचापको औषधी खान थालेको धेरै वर्ष भइसकेको भएतापनि रोगले दु:ख दिएको छैन ।
० अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
नेपाली साहित्यको अभिबृद्धिमा निरन्तर रुपमा जनमतले पुर्याएको योगदान निकै महत्वपूर्ण छ । जनमत नेपाली साहित्यको एक हिस्सा भएको छ । संस्थागत रुपमा जनमतको निरन्तरताको कामना गर्दछु । जनमतको स्तरीयता एवम् समावेशितामा अभिवृद्धिका लागि, उपलब्ध प्रविधिको प्रयोग समेत गर्दै, जनमतका पाठक, लेखक वा सर्जक र जनमतबीच प्रत्यक्ष संवाद र अन्तक्र्रिया हुने वातावरण पनि बन्न सके अझ राम्रो होला भन्ने लाग्छ । अत: यस विषयमा पाठक र लेखकहरुबाट नविन विचार तथा सुझावहरु आउन भन्ने चाहन्छु । अन्त्यमा जनमतप्रति हार्दिक आभार व्यक्त गर्दछु ।