वरिष्ठ साहित्यकार तथा जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव शनिबार अरनिको पार्टी प्यालेस, बनेपामा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन संस्कृति शिरोमणि हरिराम जोशीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो।
वार्षिकोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। हृदयचन्द्र-वरिष्ठ जनमत साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ), गणेश/खिलकुमारी दुवाल-जनमत सम्मान किशोर पहाडी (काठमाडौँ), केदार/सुदर्शना बाल साहित्य सम्मान प्रा.डा. ध्रुव घिमिरे (नुवाकोट), धर्म/संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा), अनुवाद राष्ट्रिय सम्मान मधुसूदन पाण्डेय (दाङ), स्वास्थ्य सम्मान डा. प्रकाशराज रेग्मी (पाल्पा), साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा), दीपा जनमत सम्मान आकाश अधिकारी (तनहुँ), सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर), केवलपुरे सम्मान मोमिला जोशी (धनकुटा), कमला सैंजू सम्मान इल्या भट्टराई (काठमाडौँ), कलाकार सम्मान कालु कुमाले (ललितपुर), सहयात्री सम्मान देवीचरण भण्डारी (झापा), ज्ञानरत्न/मङ्गल तारा राष्ट्रिय सम्मान फूलमान बल (काभ्रे), र समाजसेवा सम्मान पूर्णबहादुर गुरुङ (सुनसरी) लाई सम्मान प्रदान गरिएको थियो।
यसैक्रममा, २०७९ सालको भारती जनमत साहित्यिक पत्रकारिता पुरस्कार मेरिना स्मृति (काठमाडौँ) र जनमत-ज्ञानरत्न/मङ्गल तारा राष्ट्रिय सम्मान दिनेश गुप्ता (वीरगञ्ज) लाई प्रदान गरिएको थियो।
शिक्षा, पत्रकारिता र समाजसेवामा विशेष योगदान पु-याउने गोविन्दमान प्रधानाङ्ग, प्रह्लाद शर्मा हुमागाईँ र त्रिरत्न रञ्जितकारलाई कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा मोहन दुवालद्वारा लिखित पौरखीहरू भाग १ र २, सम्झनामा सम्झनाहरू–१, जनमत जानकारी : मोहन दुवाल र जनमत : सङ्क्षेपमा जस्ता कृतिहरूको लोकार्पण पनि गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि हरिराम जोशीबाट सम्मान पत्र, विशिष्ट अतिथि प्रा.डा. रामप्रसाद ज्ञवालीबाट दोसल्ला, र जनमतका मानार्थ संरक्षक राजभाइ प्रधानबाट नगद सम्मान प्रदान गरिएको थियो।
प्रमुख अतिथि जोशीले जनमतले भाषा, साहित्य, संस्कृति र पत्रकारितामा पुर्याएको योगदान ऐतिहासिक रहेको बताउँदै मोहन दुवालको त्याग र समर्पण सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। विशिष्ट अतिथि प्रा.डा. ज्ञवालीले दुवाललाई विचारको सौन्दर्यमा अडिग रही नेपाली साहित्यमा गहिरो छाप छाडेका व्यक्तित्वका रूपमा चर्चा गर्नुभयो।
पाल्पाबाट आएका अतिथि पुष्कर अथक रेग्मीले जनमतले देशका कुनाकन्दरामा साहित्य पुर्याएको उल्लेख गर्दै मोहन दुवालको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो। सम्मानित डा. प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीसँग मोहन दुवाल र जनमतसँगको सम्बन्धका संस्मरण सुनाउँदै ‘कमलराज रेग्मी पुरस्कार’ स्थापनाको इच्छा व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्मानित स्रष्टा आकाश अधिकारी र देवीचरण भण्डारीले कविता वाचन गर्नुभएको थियो। समापन मन्तव्य दिंदै अध्यक्ष मोहन दुवालले “संस्था विचार बनाउँछौं, साहित्यलाई परिवर्तनको माध्यम बनाउँछौं” भन्ने दृष्टिकोण व्यक्त गर्दै, जनमतको पहुँच देशभित्र मात्र नभई देशबाहिर पनि विस्तार भएको बताउनुभयो।
कार्यक्रमको उद्घोषण जनमत वाङ्मय परिषद्का सदस्य रामसुन्दर देउजाले गर्नुभएको थियो।