हिजोआज चखेवा चखेवी आउन छाडेछन्
मेरो आँगनमा
चारा मैले हिजै छरेथें –
अलिकति पहारिलो घाममा
अलिकति शिशिर र वसन्त याममा …
दूर गाउँको मेरो आँगन
सुनासुना छ हिजोआज
उल्लास र हर्ष हराएको देख्छु
शुष्क आँखाहरूमा – शरीर कारागारभित्र व्याकुल छ
मन उतै घरको मझेरीमै छ …
उजाड रसहीन् वसन्तहरू कति आए / गए
नववादको नाउँमा गाडिएका झण्डाहरूले पीडा थप्दै गयो
पिता हराए / दाइभाइहरू हराए
कतिका परिवार नै बिलाए
रगतको आहालमा डुबेछन्
मेरा गाउँका खुसीहरू प्यारा ढुकुर र चखेवाहरु …
रक्तक्रान्तिको नाराले गाउँ टारहरू भक्कानिए
जब बलिष्ठ हातहरू परदेशिए …
अनि क्रमशः
चखेवा-चखेवीका जोडीहरु पनि लापता भए
सुगामैनाका जोडीहरु पहरामा ठोकिएर आत्महत्या गरेछन् …
मनले त्यही चहलपहल-हाट / जिउँदो गाउँ खोजिरहेछ
शरीर मेरो अँधेरो कारागारमै निर्दोष छट्पटाइरहेछ
यो आत्मसम्मानको मझेरीमै मन चट्पटाइरहेछ ।
(अंधेरो कारागारबाट – २०७९/०९/३०/०७ )
मर्मस्पर्शी 👏