युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । एनसिएम डेको अवसरमा, गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सोमबार ललितपुरमा आयोजित समारोहमा श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिएको हो ।
श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’ लाई पुरस्कारका लागि छनोट गरिएको थियो। अन्य उत्कृष्ट चार कृतिहरूमा युवाकवि पल्लविवको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थियो ।
पुरस्कार ग्रहण गर्दै श्रेष्ठले यस सम्मानले आफ्नो कविता साधनाको मूल्याङ्कन भएको र साहित्य लेखनमा थप जिम्मेवारीबोध गराएको बताउनुभयो । क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापित यो पुरस्कार हरेक वर्ष नवीनतम काव्यकृति प्रकाशित गर्ने युवा स्रष्टालाई प्रदान गरिन्छ। पुरस्कार संयोजक अमनप्रताप अधिकारीका अनुसार देशभर र विदेशबाट १० वटा उत्कृष्ट कविता संग्रह प्राप्त भएको थियो ।
पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, आईएसबिएन नम्बर प्राप्त वा स्वप्रकाशित गद्य तथा पद्य दुबै शैलीका कविता संग्रहहरू योग्य थियो । कविको उमेर ३५ वर्षभन्दा कम र प्रकाशन मिति २०८० फागुन १ देखि २०८१ फागुन १ सम्म हुनुपर्ने शर्त थियो।
‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार – २०८१’ बाट यसपटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटीलाई सम्मान गरिएको छ। नेपाली साहित्यमा नवीन शैली र विचार प्रस्तुत गर्ने लेखक तथा गीतकार विप्लव प्रतीकलाई उहाँको पछिल्लो कृति ‘शाडेनफ्रोएडा’ का लागि विशेष सम्मान प्रदान गरिएको छ। NCM Cover Artist Award 2081 अन्तर्गत, बेगेन्द्र बुढा विजेता घोषित हुनुभएको छ ।