जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

बेबी बम्प

मिरा गोतामे मिरा गोतामे
प्रकाशित २१ चैत्र २०७८, सोमबार
आख्यान, कथा भित्र
0
बेबी बम्प

रजनी गर्भवती छिन् । उनी आजभोली सधैं कल्पनामा डुबेकी हुन्छिन्, आफ्नो हुनेवाला सन्तानलाई लिएर । विवाहको पाँच वर्षपछि बल्ल उनको गर्भाधारण भएको हो । छिट्टै बच्चा नजन्माउने उनी र उनका श्रीमान्को योजना भएपनि चाहेको बेला भने गर्भ बसिदिएन । अनि त रजनीले साहै्र तनाव झेल्नु पर्‍यो । घरपरिवार, नातागोता, माईती मावली सबैतिरबाट ओइरिने प्रश्नहरुले वाक्क भइसकेकी थिईन् उनी । कताकता उनी निसन्तान भएजस्तै गरेर उनीमाथि आफन्तको व्यवहार पनि हुन थालिसकेको थियो ।

“हैन, यसका त बच्चाबच्ची पनि हुन्नन् कि क्या हो ?” एकपल्ट उनकी सासूले भनेकी थिईन् । वाक्य एउटै भएपनि त्यो वाक्यले हजार भालाले रोपेझैं भएको थियो रजनीलाई । हप्ता दशदिनसम्म पनि यहि कुराले उनलाई उदास बनाएको थियो । मनमा सधैं खिन्न लागिरहने हुन थालेको थियो ।
सिन्धुपाल्चोकको खाडीचौरभन्दा अलि माथि पर्छ उनको घर । दुर्गम त होइन तर साह्रै सुबिस्ता पनि छैन उनीहरुलाई । पहाडी इलाका भएकाले उकाली ओराली गर्नै पर्ने । उनले पढाउने स्कुल तल लामोसाँघुमा पर्छ । दिनदिनै तलमाथि गर्न उनलाई मुश्किल हुन थालेको छ ।

उनका श्रीमान् साजन काठ्माडौंमा जागिरे छन् । प्रत्येक शुक्रबार घर आउने अनि आईतबार बिहानै फर्कने उनको रुटिन नै बनिसक्यो । यद्यपी सार्वजनिक छुट्टीहरु परेका बेला अघिल्लो दिन नै उनी घर आइपुग्छन् । त्यसैले लामो समय उनीहरु छुट्टिएर बस्नु परेको छैन । रजनीले पनि काठ्माडौं बसेर नै स्नातकको पढाई पुरा गरेकी थिईन् । गाउँको स्कुलमा शिक्षण गर्न थालेपछि नै हो उनको राजधानी आउजाउमा कमी आएको ।

स्नातक पढुन्जेल आफन्तकोमा बसेकीले आधुनिक रहनसहनको पनि स्वाद नबसेको कहाँ हो र ? देखेको आफ्नो होईन, लेखेको मात्र हो भन्ने भनाईमा उनलाई विश्वास लाग्न थालेको छ । काठ्माडौं बस्दा उनले फेसबुक अकाउन्ट खोलेकी थिईन् । सबै कुराको जानकारी हातमै हुँदा के के नै पाए जस्तो हुन्थ्यो उनलाई । स्नातक सक्किने बित्तिकै उनको विवाहको कुरा चल्यो । स्नातकोत्तर गर्ने इच्छा हुँदाहुँदै विवाह बन्धनमा बाँधिएकी थिईन् उनी ।
मागी नै भएपनि जर्बरजस्तीको चाँहि थिएन उनीहरुको विवाह । कुरा चल्दाचल्दै, भेटघाट गर्दागर्दै साजनले उनको मन जितिसकेका थिए । बकम्फुसे कुराले होईन, समझदारीका कुराले रजनी उनीप्रति आकर्षित भएकी थिईन् । कम बोल्ने तर सटिक कुरा बोल्ने उनको बानी रजनीलाई निकै मन परेको थियो । साजन पनि उनको चञ्चले स्वभावले उनीतिर तानिएका थिए ।

विवाहपछि पनि उनी आफ्नो फुर्सदको समयमा फेसबुक चलाउँथिन् । समसामयिक विषयहरुमा जानकारी राख्दा उनलाई आफूले अध्यापन गर्ने विषयबस्तुमा बढी ज्ञान हुन्थ्यो, आत्मविश्वास पनि बढ्थ्यो । झन् गर्भवती भएपछि त यससम्बन्धी सम्पूर्ण ज्ञान नै सामाजिक संजालबाट लिन सकिने भयो । कसैलाई सोध्न नसकेर पिल्सिनु पनि परेन ।

आफ्नो मोबाईलमा टिकटक पनि डाउनलोड गरेपछि त धेरै कुराहरुको ज्ञान हुन थालेको छ उनलाई । चाहिने र नचाहिने कुरा त आफैंले छुट्टयाएर हेर्न जान्नुपर्छ । कपमा चिया हाल्दा चिया छान्नेले चियापत्ति छानेजस्तै आफूलाई अनावश्यक कुरालाई पनि छान्ने अनि आवश्यक कुरा मात्र ग्रहण गर्दा राम्रै हुने रहेछ ।
आजभोली सामाजिक संजालमा एउटा कुरा भाइरल छ, एक लोकप्रिय नायिकाको बेबी बम्प । उनको बेबी सावरका तस्वीरहरु दिनहुँ जसो सार्वजनिक हुन्छन् । रजनीलाई ती तस्वीरहरु साहै्र राम्रा लाग्छन् । उनी आफैं पनि गर्भवती भएकीले होला उनको फोटोहरु हेरेर आफ्नो हुर्कंदै गरेको भुँडी छाम्छिन् । ती नायिकाले गर्भावस्थालाई उत्सव जस्तैगरी मनाएकोमा रजनीलाई पनि रमाईलो लाग्छ ।

उनी त यस्तो गर्न सक्दिनन् । उनलाई अप्ठ्यारो लाग्छ । घरीघरी आफ्नो बढ्दै गरेको भुँडी छोप्नै उनलाई सकस पर्छ । सबै कपडाहरु साँघुरिंदै गईसके । कुनै पनि ठीक हुँदैनन् । अस्ति भर्खर टाइट कपडा लगाएर बाहिर निस्कँदै गर्दा सलले पेट छोप्न नभ्याउँदै ससूरा बुवा टुप्लुक्कै देखा परे । उनको नजर भुँडीमा पर्नुभन्दा पहिला सासूका वचन उनको कानमा परे । “कस्तो भुँडी देखाएर हिंडेकी ? छोप्नु पर्दैन ? अरु त कसैले बच्चै नपाएको जस्तो !”
“हो नि त । अरुका बच्चा त अरुकै हुन् नि, मेरो बच्चा त मेरै भुँडीमा छ, म जे मर्जी गरौं ।” फरक्क फर्किएर यहि जवाफ दिन मन थियो रजनीलाई, तर उनलाई उनको संस्कारले रोक्यो । आफूभन्दा ठूलाको मानमर्यादाले रोक्यो । बच्चा हुन अलि ढिलो हुँदा उनै सासू थिईन्, “यसको त बच्चा हुँदैनन् कि ?” भन्ने । अहिले बच्चा हुन लाग्दा फेरि अरुले चाँहि नपाएजस्तो भन्ने वचन सुन्नु परेको छ ।

पाइला पाइलामा यस्ता कुरा खेप्न बाध्य हुनु परेको छ रजनीले । उनले मात्र होईन, गाउँका अरु छोरी बुहारीको पनि यहि हालत छ । अरुका सासूले पनि यस्तै भन्ने गर्छन् । गर्भावस्थालाई सकेसम्म लुकाउने चलन छ गाउँघरमा । उर्खमाउलो गर्मी महिनामा पनि घम्लङ्ग ओढ्ने ओढेर हिंड्नु परेको बाध्यता कसले बुझिदेलान् ?
बेबी सावरका नाममा पार्टी गर्दै हिंड्ने उनको चाहना होईन । भुँडीको जथाभावी प्रदर्शन गर्ने पनि उनको रहर छैन तर कमसेकम आफ्नो गर्भावस्थालाई मजबुरी होईन, उत्सवका रुपमा लिन पाईयोस् भन्ने चाहना छ रजनीको । आखिर यो दिनको लागी उनले पनि त लामै समय पर्खनु परेको थियो । सबैको वचनको वाण सहनु परेको थियो । आफ्नो अस्तित्वमै प्रश्न चिन्ह लाग्ने डरले थुरुरु हुनु परेको थियो ।

अर्को शुक्रवार साजन घर आए । रजनीको बढ्दो पेट उनले याद गरेपनि केहि बोलेनन् । रजनीलाई भने उनको पेट देखेर आफ्ना पतिले केहि मिठा टिप्पणी गरुन् भन्ने भित्री चाहना थियो । आखिर त्यो उनीहरुकै बच्चा थियो, उनीहरु दुवैले सँगै रोपेको सुन्दर फूल थियो । सजिलैसँग त त्यो पनि कहाँ उनको पेटमा हुर्किएको थियो र ?

केहि वर्ष तनाव दिएपछि मात्र खुसीको समाचार बनेर उनीहरुको जीवनमा प्रवेश गरेको थियो । के थाहा ? भविष्यमा उनीहरुका अरु सन्तान जन्मिने वा नजन्मिने निश्चित पनि थिएन । त्यसैले आफ्नो शरीर र जीवनकै एक अंशको आगमानमा हर्षोल्लास किन नगर्ने ? तामझाम गर्ने होईन तर यति बिघ्न लुकाउनु पनि किन पर्‍यो ?

रजनीलाई आफ्नो शिक्षित लोग्नेले यति कुरा पनि नबुझेकोमा खेद छ । कुरा नबुझ्ने मात्र होईन, उनी त रजनीको पेटसम्म पनि छाम्दैनन् । राती खाना खाएर सुत्ने बेलामा उनलाई आफ्नो पेटमा एकदमै बच्चा चलेको महसूस भइरहेको थियो । उनी चाहन्थिन् साजनले पनि यो कुरा थाहा पाउन्, महसूस गरुन् । अनि बाबु बन्न लागेकोमा गर्व गरुन् ।
यहि उद्देश्यका साथ उनले साजनलाई भनिन्, “हेर्नुस् न, हाम्रो बच्चा कस्तो चलेको ? भुत्रुक भुत्रुक पो चल्छ त जतिखेर पनि । यो त चकचके हुन्छ जस्तो छ ।” आफ्नो कुरा सक्किएपछि उनले साजनतिर नजर दौडाईन् तर उनले प्रतिक्रिया नै जनाएनन् । उनको सोचाई थियो उनको वाक्य नसकिंदै साजन दौडदैं आएर उनको भुँडी छाम्नेछन् । हुन लागेको बच्चाको कल्पनामा डुब्नेछन् । अनि दुबैजना खुसी हुँदै आमाबाबु भएको सपनामा मख्ख पर्नेछन् ।
यस्तो केहि भएन । रजनीलाई आघात पर्‍यो । आफ्नै लोग्ने त बन्द कोठाभित्र पनि आफ्नै बुढीको पेटमा हात राखेर हुने वाला सन्तानलाई महसूस गर्न संकोच मान्छ भने दुनियाँबाट अनेकथरी अपेक्षा गरेर के फाईदा ? सबैले ती नायिकाकोजस्तो लोग्ने कहाँ पाउँछन् र ? उनको जस्तो समझदार आमा बाबु, सासु, देवर सबैका कहाँ हुन्छन् र ? सबैको साथ र मायाले नै त हो नि उनले गर्भावस्था जस्तो कठिन स्थितिलाई पनि उत्सवको रुपमा मान्न सकेको ।
गाह्रोसाह्रो त नायिकालाई पनि हुँदो हो तर परिवारको साथले त दु:ख भुलाईदिन्छ, उत्साह पनि दिन्छ । आलोचना गर्नेहरुले त जे कुरामा पनि औंला उठाईहाल्छन् । मान्छेको त प्रवृत्ति नै हो नकारात्मक टिकाटिप्पणी गरिहाल्ने । जसले जे भनेपनि परिवार साथै भएपछि त पहाड पनि सजिलै फोर्न सकिन्छ भने गर्भावस्था त के हो र ! त्यसैले त उनको मुहारमा सधैं छुट्टै चमक हुन्छ ।

यी कुराहरु सोच्दासोच्दै रजनीका आँखामा आँसु भरिएछन् । थाहै नपाई सुँक्क सुँक्कको आवाज पो आउन थाली हाल्यो । गर्भावस्थामा राम्रो कुरा मात्र सोच्नु पर्छ भन्ने उनलाई पनि थाहा रहेछ क्यारे ! हत्त न पत्त साजन अघि बढे, उनीलाई फकाउन । साजनको हर्कतले उनको चित्त अझै दुख्यो ।
आँसु पुछ्दै उनले भनिन्, “ यदि तपाईंलाई मेरो पेट हेर्दा लाज लाग्छ, छुन मनै लाग्दैन भने, तपाईं मेरो बच्चाको बाबु बन्न पनि लायक हुनुहुन्न ।” उनीभित्रको वीर नारीको आवाजको प्रस्फुटन थियो त्यो ।

कुराको तात्पर्य नै नबुझी साजनले सहज तरिकाले जवाफ दिए, “लाज लाग्ने होइन, अप्ठ्यारो चाँहि लाग्छ ।”
“अप्ठ्यारो ! त्यो पनि कोठाभित्र ? तपाईंलाई त हाम्रो बच्चा हुँदैन कि भन्ने शंका उठ्दा पनि अप्ठ्यारो नै लागेको थियो । अहिले बच्चा जन्मिने तयारीमा छ, फेरि पनि तपाईंलाई अप्ठ्यारो नै लागेको छ । मलाई आज तपाईंले भन्नै पर्छ, तपाईंलाई सजिलो चाँहि कहिले लाग्छ ? ” मातृत्वको भावले ओतप्रोत भईसकेकी रजनीले साजन समक्ष प्रश्नका रास लगाईदिईन् । आफ्नो शिशुको जन्म अघि नै ऊप्रति स्वत्वबोधक भईसकेकी थिईन् रजनी ।
गर्भवती स्वास्नीको मनसाय बुझेर साजन एकछिन मौन भइदिए । अघि आफूले हतारमा दिएको जवाफ सहि र समय सापेक्ष थिएन भन्ने उनलाई बल्ल ज्ञान भयो । उनको गैरजिम्मेवार उत्तर सुनेर रजनीले साह्रै मन दुखाएकी थिईन् । एकैछिनमा उनी रुन थालिहालिन् ।
फेरि आफूलाई सम्हालेर उनले भनिन्, “बच्चा जन्मिएपछि चाँहि कसरी एकाएक अप्ठ्यारो हराउँछ तपाईंको ? यदि अहिले गर्भमा माया छैन भने एक्कासि माया पनि पलाउन सक्दैन । अहिले मेरो पेटको शिशुको धड्कन महसूस गर्न सक्नुहुन्न भने भोलि त्यहि बच्चालाई बोकेर बाबु बन्दै लोलोपोतो गर्ने पनि अधिकार छैन तपाईंको ।”

एकाएक रजनीको मुखबाट गह्रुंगा शब्दवाणहरु निस्किए । ननिस्कोस् पनि किन ? नौ–नौ महिनाको गर्भ हुन्जेलसम्म एकपटक पनि साजनले खुलेर यसबारेमा छलफल गरेका थिएनन् । गर्भको शिशुबारे कौतुहलता उनका सामु व्यक्त गरेका थिएनन् । कम बोल्ने स्वभाव त उनको बाल्यकालदेखिकै हो तर समय परिस्थिति अनुसार आफ्नो स्वभाव त सबैले परिवर्तन गर्नै पर्छ । बिहे अघि रजनीको पनि त स्वभाव बिल्कुल फरक थियो । उनी चञ्चल थिईन्, घरको काम गर्न रुचाउँदैन थिईन् । विवाहपछि आफूलाई उनले चाँहि पुरै परिवर्तन गर्नुपर्ने, साजनले चाँहि किन नपर्ने ?

रातभरि साजन सोचमा डुबे । रजनीसँग धेरै बहस गरेनन् । भोलिपल्ट भयो । दिनभरी रजनीका घरायसी काममा उनले पनि सहयोग गरे । उनलाई सहयोग गरिरहँदा आमाले ओठ लेब्राउँदै छड्क्े नजर नलगाएकी पनि होइनन् तर उनले परवाह नै गरेनन् । रजनीको डेलिभरी हुने दिन नजिकिंदै थियो । उनले स्कुलबाट छुट्टि लिइसकेकी थिइन् । साजन चाँहि अर्को हप्तासम्म अफिस जाने अनि बिदा मिलाउने योजना बुन्दै थिए ।
साँझको खानापछि दुबै मिलेर भाँडा माँझे । रजनीलाई आधी काम नै घटेजस्तो भयो । लोग्नेको साथ पाउँदा जीउ पनि हलुङ्गो भएजस्तै लाग्यो । कोठामा गएर लुगा फेर्नै लाग्दा फेरि गर्भको शिशुले बुर्लुक्क बुर्कुसी मार्‍यो । अनायासै उनका हातहरु पेट छाम्न पुगे । यो देखेर साजनले उनको अगाडि आएर सोधे , “फेरि लात हान्यो ?” एकैछिनमा साजनका हातहरु पनि आफ्नो हुनेवाला शिशुलाई छाम्न पुगे ।

“इ‘। इ।।।।।। टाउको त यहाँ रहेछ ।” रजनीको पेटको देबे्रतिर छाम्दै साजन पनि उत्साहित भए । आफ्नो सन्तानको अंगहरु महसूस गर्दा मात्र पनि उनको मुहारमा मुस्कान छरियो । एकाएक उनमा खुसीका भावहरु संचार भए । बाबु बनेर सन्तानलाई डोर्‍याएको, उसले “बाबा” भनेर पुकारेको आदि इत्यादि भविष्यका कल्पनाले एकैछिनमा उनको मन पनि पुलकित भइहाल्यो ।
आफूले महिनौं अगाडिदेखी अपेक्षा गरेको चीज ढिलै भएपनि प्राप्त गरेझैं भयो रजनीलाई । उनका आँखामा फेरि आँसु छचल्किए । असंख्य प्रार्थना र कामनाहरुपछि बल्ल उनीहरुको इच्छा पुरा हुँदै थियो । तैपनि संकोच र लाजका कारण आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समयमा पनि “हाम्रो” भन्ने धारणा विकसित हुन सकेको थिएन साजनमा ।

“अब मलाई बाबु कहलिने अधिकार दिन्छ्यौ त ?” साजनले जिस्किंदै सोधे । नौ महिनासम्म मनमै गुम्साएर राखेको उनीभित्रको बाबु पनि आज जन्मिएझैं लाग्यो उनी आफैलाई ।

रजनीसँग जवाफ थिएन । मातृत्व सुखको प्रतीक्षामा रहेकी उनी आफूलाई सधैं अपूर्ण पाउँथिन् । केहि वर्षको तनावपछि बल्ल तय भएको आमा बन्ने यात्रामा आफू एक्लो भएको महसूस सधैं हुन्थ्यो उनलाई । गर्भधारण नहुँदा पनि अपजसको भारी उनैले बोकेकी थिईन् । हुँदा पनि संकोच मानेरै यो अवस्था पार हुँदै थियो । उनलाई घरसमाजमा यसरी हेरियो कि उनी एक्लैले आमा बन्ने यात्रा थालेकी हुन्, यसमा अरु कोहि हिस्सेदार नै छैनन् ।


आज कैयन् महिनाको व्यग्र प्रतीक्षापछि बल्ल उनले आफ्नो सहयात्री भेटेकी छिन्, जसको गन्तव्य एउटै हो । हो, धेरै पछि आज उनी मात्र होईन उनीहरु दुवै गर्भवती भएको आभाष भएको छ रजनीलाई । दुवैले एउटै किसिमको भाव महसूस गरेका छन् । मिठो कल्पनामा दुवैले सँगै डुबुल्कि मारेका छन् । छिट्टै संसारमा आउन लागेको पाहुनाको पर्खाइमा छन् उनीहरु । सम्बन्ध अझै गहिरिंदै छ । पतिपत्निबाट बढुवा हुँदैछ उनीहरुको अर्को नामसहित ।


उस्तै नाताले यिनीहरुलाई जोड्ने छ अब, आमा र बाबुको । दुबै नाता उत्तिकै महत्वपूर्ण छ, उत्तिकै वजनदार छ । जीवनभर कायम रहनेछ यो नाता । चाहे श्रीमान् र श्रीमतीको नाता टुटोस्, सन्तानको आमाबाबु हुनुको नाता त मृत्यु पछि पनि टुट्ने छैन । संसारको कुनै शक्तिसँग पनि यो क्षमता छैन कि आमाबाबु हुनुको सम्बन्ध टुटाओस् । आमाबाबुले वा सन्तानले आफ्नो कर्तव्य पुरा नगर्नु अर्कै पाटो होला तर यो नाता त संसारभरकै दिगो नाता हो । सदा अमर रहिरहन्छ यो सम्बन्ध । यस्तो अमर सम्बन्धले त गर्भावस्थादेखि नै माया, ममता र हेरविचारको माग त गर्छ नै ।


Tags: बेबी बम्प
अघिल्लो पोष्ट

लक्ष्मी उप्रेतीका एकल कविता वाचन

पछिल्लो पोस्ट

तिम्रो सहरमा

मिरा गोतामे

मिरा गोतामे

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
तिम्रो सहरमा

तिम्रो सहरमा

अनाम पाठशालामा एकदिन

अनाम पाठशालामा एकदिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

५ जेष्ठ २०८१, शनिबार
छाता

छाता

५ जेष्ठ २०८१, शनिबार
आइमाई

आइमाई

४ जेष्ठ २०७९, बुधबार
नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक