१. विषय परिचय
भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली साहित्य परम्परामा प्राथमिककालीन भक्तिधाराका विशिष्ट प्रतिभा हुन् । उनका रामायण, प्रश्नोत्तर माला, बधुशिक्षा र रामगीता जस्ता सबै कृतिहरू भक्तिधारा अन्तर्गत रहेर रचना गरिएका कृति हुन् । यीमध्ये बधुशिक्षाले कर्म र पतिभक्तिलाई जोड दिएको छ भने अन्य कृतिले ईश्वर भक्ति र त्यसमा पनि रामभक्तिलाई नै केन्द्रमा राखेको देखिन्छ । यस समीक्षामा भक्ति साहित्यका अनुशीलनबाट प्राप्त खास खास सूत्रहरूका आधारमा भक्तिसाहित्यका सामान्य सैद्धान्तिक पर्याधार तयार गरी सोही पर्याधारका आधारमा आचार्यको भक्तमाला काव्यकृतिको सामान्य विश्लेषण गर्ने प्रयास भएको छ ।
२. भक्ति साहित्य
भक्तिकाव्यको आधुनिक स्वरूप भजन सिर्जनामा रूपान्तरित भएको छ । नेपाली साहित्य परम्परामा यस किसिमको काव्यधाराको प्रधानता प्राथमिककालीन काव्य सिर्जन परम्पराको दोस्रो प्रहरमा देखियो । यस्तो भक्ति रचना विश्वसाहित्यका जुनसुकै भाषा साहित्य परम्परामा धेरथोर देखिएकै छन् । भक्तिधारा कुन युगमा प्रधान रह्यो भन्ने पक्ष एउटा अलगै पक्ष हो तर यस धाराको साहित्य सिर्जन परम्परा धेरथोर निरन्तर रहेकै छ । आजको युग भक्ति साहित्यको युग होइन तर साहित्य अध्ययनका क्रममा युग सापेक्ष र सम्बन्धित कृति र स्रष्टाको चेतना वा विश्वदृष्टि सापेक्ष अध्ययन गर्नु समीक्षणको धर्म हो ।
भक्ति शब्दले भक्तको निष्ठा आस्था वा पूजा भन्ने अर्थ बहन गर्छ । यसको शाब्दिक अर्थ ईश्वर वा देवी देवताप्रति हुने निष्ठा आस्था वा पूजाको भावना हो । यसलाई पूज्य वा मान्यजनप्रति गरिने आदरभाव वा श्रद्धाका रूपमा पनि चिन्न सकिन्छ । यसको सभ्य अर्थ विश्वास वा आस्था हो भने असभ्य अर्थ चाकरी पनि हो । यस अर्थमा साहित्यमा भक्ति वा श्रद्धाका कारण लेखिने साहित्यलाई नै भक्ति साहित्य भनिन्छ । एक किसिम भक्तिधारा भनेको नेपाली साहित्यको पृष्ठभूमिकालीन लोक साहित्यमा प्राप्त सगुन, मागल, फाग, बालुन एवम् विभिन्न व्रत एवम् पर्व अनुष्ठानका गीति लोक सिर्जन परम्पराको लेख्य रूप पनि हो । यो एक किसिमको धार्मिक आध्यात्मिक कर्मीहरूको साहित्य सिर्जन परम्पराबाट विकसित धारा हो । त्यही आध्यात्मिक धारा भएकै कारणले पनि यस धारामा धार्मिक प्रकृतिका पण्डित, जोगी एवम् शन्त धाराका कविहरूको योगदान उल्लेख्य रहेको छ ।
भक्ति साहित्य सिर्जनाका खास–खास ऐतिहासिक एवम् सामाजिक कारणहरू हुन्छन् । विश्व साहित्यमा युद्ध र प्रकृति प्रकोपले स्रष्टाका कलमलाई भक्तितिर मोडेको देखिन्छ भने नेपाली साहित्यका सन्दर्भमा भक्ति साहित्यका उत्प्रेरक पक्षहरू नेपाली समाज र इतिहास सापेक्ष नै रहेका छन् । यसका उत्प्रेरक पक्षका रूपमा नेपाली इतिहासमा घटेका घटनाहरू देखा पर्छन् । त्यस्ता कारक घटनाहरूमा सुगौली सन्धि, भीमसेन थापाको पतन, कोतपर्व र जङ्गबहादुरको उदय एवम् एकतन्त्रीय राणा शासनकालका गतिविधिहरू पर्दछन् । युद्धमा पराजय, आफन्तहरूबीच भएको विछोड, पुन: युद्ध हुने आशङ्का, सामाजिक नैतिक आध्यात्मिक मूल्यहरूमाथिको हस्तक्षेप जस्ता ऐतिहासिक परिप्रेक्षमा नेपाली समाजमा विकसित वीर भावनाप्रति शिथितता आई भक्ति एवम् धार्मिक परम्परागत चिन्तन बढ्न थालेको देखिन्छ । यसमा लोकानुशासन वा नैतिक मूल्यहरू पनि एकाकार भएर आएका छन् ।
भक्ति काव्य सिर्जन परम्परासँग नेपाली समाजका अनेक पक्षका साथै भारतीय हिन्दुसंस्कृतिका विविध पक्षहरू पनि एकाकार भएर आएका छन् । तत्कालीन समयमा प्रचलित आध्यात्म रामायण र श्रीमद्भागवत महापुराण लगायत संस्कृतका योग, साङ्ख्य र वेदान्त दर्शन एवम् ब्रज–अवधी मैथिली आदि भाषाका रामकाव्य र कृष्ण काव्य तथा गोरखनाथ र ज्योसमनि सन्त परम्पराबाट परिपोषित देखिन्छ (२०४६ : १०६) नेपाली भक्ति साहित्य सिर्जन परम्पराको विकासमा आंशिक मात्रामा भारतका बनारस, अयोध्या र मथुराका साथै बङ्लादेशी भक्ति परम्परा र भक्ति कविता एवम् नाट्यको प्रभाव रहनाका साथै मूलत: नेपाली समाजमा विकसित धार्मिक, लोक संस्कार एवम् संस्कृतिको र त्यस अनुकुल नेपाली जनमानसको मनोविज्ञानले प्रभाव पारेको देखिन्छ । नेपाली समाजमा विकसित धर्ममा शैव, वैष्णव र शाक्तको प्रभाव रहेको र मूलत पाञ्चायन देवताका रूपमा शिव, देवी (शक्ति), विष्णु, सूर्य र गणेशको पूजा गरिने परम्परा रहेकाले तीमध्ये विष्णुलाई शक्तिशाली देवता मानी उनका अवतारहरूको पूजा र भक्ति गर्ने क्रममा राम र कृष्णभक्ति धाराको विकास भएको मान्नु वैज्ञानिक ठहर्छ । यो सगुण भक्तिधाराको वैज्ञानिक आधार हो भने निर्गुण भक्तिधाराको विकासमा सधुक्कडी परम्पराको प्रभावस्वरूप सचिदानन्द ब्रह्मस्वरूप केन्द्रीत भक्तिसँग सम्बन्धित चिन्तनहरू कारक बनेका छन् । सगुण भक्तिले दिएको नैतिक आध्यात्मिक चेतमा निर्गुण भक्ति धाराले सगुणको नैतिक पक्षलाई स्वीकार गर्दै सामाजिक व्यङ्ग्यलाई आत्मसात गरेको देखिन्छ ।
नेपाली काव्यपरम्परामा भक्तिधारालाई सगुण र निर्गुण भक्तिधाराका रूपमा वर्गीकरण गरेर अध्ययन गरिँदै आएको अवस्था छ । यस किसिमको वर्गीकरण अनुसार सगुण भक्तिधारा राम र कृष्ण भक्तिधारामा केन्द्रित देखिन्छ भने निर्गुण भक्तिधारा निर्गुण सच्चिदानन्द ब्रह्मस्वरूपमा केन्द्रित देखिन्छ । यस वर्गीकारण अनुसार रामभक्तिधाराका भानुभक्त आचार्य र रघुनाथ पोखर्याल एवम् कृष्ण भक्तिधाराका इन्दिरस, विद्यारन्यकेशरी, वसन्त शर्मा, पतञ्जली गजुर्याल, यदुनाथ पोखर्याल आदि र निर्गुण भक्तिधारा अन्तर्गत शशीधर, अगम दिलदास, अखण्ड दिलखास, ज्ञान दिलदास जस्ता प्रतिभा पर्दछन् । यद्यपि सगुण र निर्गुण दुवै भक्तिधाराहरू सहअस्तित्वमा रहेर देवभक्ति, सांसारिक मोह भङ्ग, सामाजिक कष्टबाट वैराग्य, परमतत्वको खोजी, मिथ्याप्रति व्यङ्ग्य, मुक्तितर्फको चासो जस्ता बुँदामा समेट्न सकिने देखिन्छ ।
३. भक्तमाला काव्यकृतिको भक्ति साहित्यिक विश्लेषण
भक्तमाला लघुकाव्य कृति भानुभक्त आचार्यको भक्तिधाराको प्रतिनिधिमूलक मौलिक कृति हो । यस काव्यकृतिलाई मोतीराम भट्टले खोज गरी १९४१ सालमा आफ्ना मित्र तेजबहादुर राणालाई प्रकाशन गरिदिन अनुरोध गरेका थिए । जुन कृति तेजबहादुरका प्रकाशनमा अमर यन्त्रालय वाराणसीबाट भएको बुझिन्छ । यहाँ यस काव्यलाई देवभक्ति, सांसारिक मोह भङ्ग, सामाजिक कष्टबाट वैराग्य, परमतत्वको खोजी, मिथ्याप्रति व्यङ्ग्य, मुक्तितर्फको चासो जस्ता सूत्रका आधारमा भक्तिसाहित्यिक विश्लेषण गरिएको छ ।
३.१ देवभक्ति
कुनै पनि कृति भक्ति साहित्य हो कि होइन भन्नका लागि देवभक्तिलाई प्रमुख आधार मान्न सकिन्छ । भक्तिप्रधान कृतिमा देवस्तुति वा देवभक्तिको अपेक्षा गरिन्छ । नेपाली साहित्यमा सगुण र निर्गुण भक्तिरचना हुनेगरेको बुझिन्छ । त्यसमध्ये सगुणभक्तिको केन्द्र पाञ्चायन देवता र त्यसमा पनि विष्णुका पछिल्ला अवतार राम र कृष्णकेन्द्रको भक्तिमा आधारित रचना पाइन्छन् । भक्तमाला रामभक्ति केन्द्रित रचना हो । यस रचनाको आरम्भ नै सीतारामलाई केन्द्रमा राख्दै गरिएको छ :
प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता ।।
प्रतिज्ञा सो बिर्सीकन जनधनै खोजि डुलियो ।
सितारम् भज्न्या हो शिवशिव उसै आज भुलियो । ।
(श्लोक, १)
प्रस्तुत अंशमा सीता रामको भक्ति गरूँला भन्दाभन्दै जीवन बितेको प्रसङ्गलाई समेटिएको छ । बीचमा सीतारामको भजन नगरी वा भक्ति नगरी जनधनको खोजीमा लागेको पछुतो समेटिएको छ । काव्यमा स्वर्ग र नर्कको धार्मिक विश्वास अनुरूप अब नरकमा परिने भैयो वा यमका दुतले दु:ख दिनेभए जस्ता अनेक चिन्ता र पश्चाताप गर्दै म अब भक्ति गर्नेछु मलाई क्षमादान मिलोस् भन्ने भक्ति भाव व्यक्त भएको छ । प्रत्येक श्लोक रामभक्तिमा समर्पित गरिएको हुँदा यसलाई भक्तमाला भनिएको शीर्षकसँग सम्बन्धित पक्ष समेत पुष्टि हुन्छ । यसमा देवभक्ति र पश्चाताप एवम् देवको उचित भक्ति गर्न नसकेको गुनासो समेटिएको हुँदा प्रस्तुत काव्य भक्ति काव्यका कित्तामा सफल ठहर्छ ।
३.२ सांसारिक मोह भङ्ग
भक्ति काव्यको कसी सूत्र संसारिक मोह भङ्ग हो । सांसारिक मोह यथार्थ वा भक्तिका दृष्टिले अनास्तिकता हो भने संसारिक मोह भङ्ग भक्तिभावको जागृति हो । भक्तमाला काव्यकृतिमा बाल्यकाल बालरसमा बितेको, यौवन पनि मोहका बसमा बितेको, वृद्धावस्थामा पनि अझै ईश्वर भक्ति छैन तर यसमा रहिरहनु नहुने भन्ने मोह भङ्गको अवस्था देखाइएको छ । जुन अवस्थालाई सङ्केत गर्ने कवितांश यसप्रकार छ :
गयो बालक्काल्को बय पनि उसै बाल रसले ।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले ।।
भयो वृद्धावस्था अझ पनि भजिँदैन मनले ।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले ।।
(श्लो, ३)
प्रस्तुत अंशमा बालककाल, युवावस्था र वृद्धावस्थामा समेत भक्तिभावमा नलागेकामा यमाराजसँगको डर राख्दै ख्वामित वा रामलाई पुकारा गरिएको छ । समग्र श्लोकको अविधा र ध्वन्यार्थमा यो संसारिक मोह बेकार छ भन्ने भाव प्रतिध्वनित भएको छ । यही सिलसिलामा म मोहवसमा परेको छु तर मलाई कृपा गरिदिनुहोला भनेर चौथो श्लोकमा भनिएको छ । पाँचौँ श्लोकमा जन्मको अर्थ बुझेर आफू कमाउने मात्र होइन दानदक्षिणा पनि गर्नुपर्छ भन्ने भाव अभिव्यक्त छ । त्यसै सिलसिलामा जगत्का मालिकले पनि आखिर केही नलगेको भन्ने भावलाई यसरी व्यक्त गरिएको छ :
………………………..
जगत्मा पृथ्वीका अधिपति बडा दौलथि थिया ।
मरण्का बेलामा बुझिलिनु ति क्या लीकन गया ।।
निरन्तर् यै सम्झी हरि भजि रहोस् शुद्ध मनले ।
परन्तु हक् मन्र्यै छ त बटुलि क्या गर्नु धनले ।।
(श्लो, ६)
यसरी संसारिक मोह भङ्ग गर्दै गर्दै काव्यको अन्तिमतिर संसारिक मोह भङ्गलाई यसरी समेटिएको छ:
जगत्मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती ।
तपस्याको हानी हुनकन गयाको कहुँ कती ।।
तपस्या गर्ने काल् अघि बितिगयो क्यारूँ अहिले ।
यसै योनीमा पार् सहज नतर्या तर्नु कहिले ।।
(श्लो, २१)
यसरी हेर्दा भक्तमाला काव्यकृतिका श्लोक–श्लोकमा संसारिक मोहबाट मुक्तिको भाव व्यक्त भएको छ । संसारको मायामोह, आफन्त, तेरो–मेरो जस्ता भावबाट टाढा रहेर मात्र जीवन सार्थक बनाउन सकिन्छ भन्ने भाव अभिव्यक्तिका लागि काव्य सफल रहेको छ ।
३.३ सामाजिक कष्टबाट वैराग्य
भक्ति साहित्यको एउटा प्रमुख उद्देश्य सामाजिक कष्टबाट वैराग्यको विकास र परमात्मा वा देवताप्रति भक्तिभाव जगाउने हुन्छ । त्यस आधारमा भक्ति साहित्यलाई जाँच्ने अर्को कसी सामाजिक कष्टबाट वैराग्य हो । भक्तमाला काव्यकृतिमा जीवनमा जेजति काम कुरा गरे पनि त्यसबाट केवल दु:ख मात्र भएको र वैराग्य विकास भएको भाव व्यक्त गरिएको छ ।
काव्य अनुसार सांसारिक वा सामाजिक सुखमा रमाउने मान्छे वृद्धावस्था र मृत्युृवस्थामा दुखी बन्छ भन्ने कविको जीवन दर्शन छ । सांसारिक कामहरू परलोक वा जीवनका अन्त्यावस्थामा काम लाग्दैनन् त्यसैले भक्ति गर्नुपर्छ भन्ने भाव व्यक्त गरिएको अर्को कवितांश यस्तो छ :
भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको ।
मरौँला भन्नाको अझ पनि विचार छैन मनको ।।
(श्लो. १०)
प्रस्तुत साक्ष्यमा जस्तै काव्यका विभिन्न सन्दर्भमा सांसारिक पक्षबाट वैराग्य जागृतिको प्रयास भएको छ । पाठकलाई सांसारिक सुख सयलबाट वैराग्य भाव जागृत गरी भक्तिमा प्रेरित हुन उत्प्रेरित गर्न समय सन्दर्भमा निकै सफल देखिन्छ ।
३.४ परम तत्वको खोजी
भक्तिवादी सर्जकले सांसारिक कुरालाई मिथ्या ठान्छन् । लौकिक वस्तुलाई परिवर्तनशील र क्षणिक मात्र ठान्छन् । उनीहरूका दृष्टिमा परमतत्व भनेको ईश्वरको लीला हो । ईश्वरले चाहँदा जे पनि हुन सक्छ । मान्छेले मात्र केही गर्न सक्तैन भन्ने ठान्छन् । त्यस क्रममा साकार वा निराकार ईश्वरको कल्पना गर्छन् र उसैलाई सत्य ठान्छन् । त्यसैले भक्ति साहित्य अध्ययनको अर्को प्रमुख सूत्र ईश्वर वा पारलौकिक परम तत्वको खोजी हो ।
भक्तमाला काव्यका अधिकांश श्लोकमा परमतत्व वा ईश्वरीय शक्तिको खोजी भएको छ । त्यस्तो खोजीका क्रममा परमतत्वलाई आफूले बाल्यकालदेखि युवावस्था हुँदै वृद्धावस्थामा आइपुग्दा पनि नभेटेको । केवल सुखको खोजमा दुख पाएको । केही कमाएँ भन्ने बहानामा ठगिएको जस्ता गुनासो र पश्चातापका माध्यमबाट परमतत्वको खोजी गरिएको छ । काव्यका केन्द्रमा परम तत्वको खोजी यसरी भएको छ :
अविवेकी मूढो त्रिभुवनविशे को छ म सरी
बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी ।।
कउन् ठूलो चिज् हो विषयरस यस पाजि रसमा ।
दिञाँ मैले यो मन् बुझिबुझि पर्याँ मोहवशमा ।।
(श्लो, २०)
प्रस्तुत श्लोकमा गुनासो र पश्चाताप मात्र छैन । परमतत्वको खोजी रहेको छ । मरम तत्व भनेको मूल तत्व हो । यस शलोकका ध्वन्यार्थमा कवि वा म पात्रले परमतत्वको खोजी गर्न नसकेको भाव अभिव्यक्त छ । परमतत्व आर्जनमा लाग्नु पर्ने कुरा बुझिबुझिकनै मोहवशमा परेर आर्जन गर्न नसकिएको भाव व्यक्त भएको छ ।
३.५ मिथ्याप्रति व्यङ्ग्य
मिथ्याको अर्थ असत्य हो । असत्य वा भ्रमबाट मुक्ति भक्ति साहित्यको एक अर्को प्रमुख सूत्र हो । भक्तिवादी स्रष्टाहरू सांसारिक पक्षहरूलाई मिथ्या मान्छन् । सम्पति, नातागोता र माया मोह सबै मिथ्या देख्छन् र त्यसप्रति व्यङ्ग्य गर्छन् । मिथ्या तत्वलाई नचिन्ने मानवलाई पशु सोसरह ठानी उल्याउन थाल्छन् । मानव जीवनलाई आम प्राणीकै केन्द्रमा राखी त्यसलाई सफल बनाउने हो भने भगवत् भक्ति वा ईश्वर भक्तिमा लाग्नु पर्ने सन्देश सम्प्रेषण गर्छन् ।
भक्तमाला काव्यमा मिथ्याप्रति विविध व्यङ्ग्य गरिएको छ । मिथ्याका साथै त्यस्तो मिथ्या कुराहरूमा हराइरहेको मपात्रप्रति व्यङ्ग्य गरिएको छ । अविवेकी मूढो त्रिभुवनविषे को छ म सरी, कउन् ठूलो चिज् हो विषयरस यस पाजि रसमा, मरौंला भन्नाको अझ पनि विचार छैन मनमा, दशेन्द्री डाँकूँले बिच बिच पसी दु:ख् पनि दिया, जगत्मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती जस्ता पंक्तिमा मिथ्याप्रति व्यङ्ग्य गरिएको छ । यसरी व्यङ्ग्य गरिएको साक्ष्यका रूपमा तलका अंशलाई अगाडि सार्न सकिन्छ :
घडी, दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले ।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतीले ।।
–श्लो.४)
अविवेकी मूढो त्रिभुवनविशे को छ म सरी ।
बिताञाँ व्यर्थै यस् विषय रसमा जन्म यसरी ।।
–श्लो. २०)
तपस्या गन्र्या काल् अघि बिति गयो क्यारूँ अहिले ।
– श्लो, २१)
प्रस्तुत साक्ष्यका आधारमा भक्तमाला काव्यमा मिथ्या सांसारिक पक्षप्रति व्यङ्ग्य गरिएको छ । त्यस्तो व्यङ्ग्य भक्ति नगर्ने तर विषय रसमा हराउने पात्रप्रति लक्षित छ । यस काव्यमा भने म पात्र नै व्यङ्ग्यको निसाना बनेको हुँदा काव्य अविधार्थका साथै ध्वन्यार्थ प्रधान समेत बनेको छ ।
३.६ मुक्तितर्फको चासो
भक्ति साहित्य सिर्जनाको मूल उद्देश्य मुक्तितर्फको चासोमा केन्द्रित हुन्छ । सामान्यतया मुक्ति शब्दले छुट्कारा, उन्मोचन, स्वतन्त्रता, मोक्ष जस्ता अर्थ बहन गर्छ । भक्ति साहित्यका व्याकरणमा मुक्ति भनेको पापबाट मुक्ति वा सांसारिक माया मोहबाट मुक्ति भन्ने बुझिन्छ । हरेक भक्ति साहित्यले भगवानको भक्तिबाट सांसारिक वा विषयिक पक्षबाट मुक्तिको उद्देश्य राखेको हुन्छ ।
भक्तमाला एउटा वृद्ध पात्रको सांसारिक मोहमा डुबेको जीवनबाट मुक्तितर्पmको झिनो आख्यान सूत्रमा रचना भएको काव्य हो । यस काव्यको म पात्रले बाल्यावस्था, युवावस्था र वृद्धावस्थासम्मका आफ्ना लौकिक कार्यहरूप्रति पछुतो गर्दै रामको कृपा भए मुक्ति पाउने थिएँ भन्ने प्रार्थना गरेको छ । त्यो प्रार्थनाका क्रममा आफूलाई कमजोर अनाथ मानी प्रभु वा रामलाई नाथ मानि यसरी भक्ति गरिएको छ :
अनाथ्को नाथ् मै हूँ भनिकन हँसीलो मुख गरी ।
हरूँ यस्का पाप् ताप् भनिकन अगाडी पनि सरी ।।
कृपादृष्टी नाथ्ले यदि दिनुभया तर्छु अहिले ।
कृपा दृष्टी बाहेक् तप गरि त पार् तर्छु कहिले ।।
– श्लोक, १९)
प्रस्तुत साक्ष्यबाट साधारण मान्छेले तपस्याबाट पार गर्न नसक्ने तर ईश्वरको भक्ति गरे पार तर्ने भाव अभिव्यक्त भएको देखिन्छ । तपस्वी र अरू साधारण मान्छे सबैको उद्देश्य मुक्तिकै हुनुपर्छ । त्यस्तो मुक्ति कि तपस्याबाट मिल्छ कि ईश्वरको भक्तिबाट मिल्छ भन्ने विकल्प प्रस्तुत छ । काव्यका एकचौथाई श्लोकमा मैले संसारलाई बुझ्न सकिनँ केही गर्न सकिनँ, पार तर्न वा जीवनबाट मुक्त हुन सक्तिनँ होला मलाई यहाँबाट कृपा दृष्टि होस् भनेर रामसँग पुकारा गरिएको छ । त्यस किसिमको पुकाराले मुक्तितर्फको चासोलाई देखाएको छ ।
४. निष्कर्ष
भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली साहित्यका प्राथमिककालीन भक्तिधाराका विशिष्ट प्रतिभा हुन् । उनका रामायण, प्रश्नोत्तर माला, बधुशिक्षा र रामगीता जस्ता सबै कृतिहरू भक्तिधारा अन्तर्गत रहेर रचना गरिएका कृति हुन् । यीमध्ये बधुशिक्षाले कर्म र पतिभक्तिलाई जोड दिएको छभने अन्य कृतिले ईश्वर भक्ति र त्यसमा पनि रामभक्तिलाई नै केन्द्रमा राखेका छन् । त्यस्ता कृतिमध्ये भक्तमाला लघुकाव्य कृति नेपाली कविता परम्परामा भक्तिधाराको र अझ भक्ति साहित्य परम्पराको प्रतिनिधिमूलक कृति हो । यस काव्यकृतिमा देवभक्ति, सांसारिक मोहभङ्ग, सामाजिक कष्टबाट वैराग्य, परम तत्वको खोजी, मिथ्याप्रति व्यङ्ग्य, मुक्तितर्फको चासो जस्ता भक्ति साहित्यिक सूत्रहरू निकै सफल रहेका छन् । म पात्रबाट हरि, ठाकुर, ख्वामित, अधिपति, मुरारी आदिका नाममा संवोधित भक्तमाला लघुभइकन पनि सफल र अनुवाद परम्पराका बिचको एक मौलिक उच्चकोटिको भक्ति काव्य हो ।