हत्केलाको—
किरिङ्ग मिरिङ्ग बाटोहरू पछ्याउँदै
हिँडिसकेछन् मेरा पाईलाहरुले, कयौँ बैँसालु यामहरु ।
गुराँसका हाँगाहरू समाउँदै—
जीवनका कठिन तर रोमाञ्चक उकालीहरु उक्लिएझैँ
रहस्यका मोतिहरू भेट्न—
किनारै—किनार नदीहरु ओर्लिरहेझैँ
कुन्नी कहाँसम्म पुग्नु थियो मलाई ?
कुन बिसौनीमा रोकिनु थियो ?
फर्केर हेर्दा—
सबै यात्राहरु बेहोशीमै छिचोलेछु मैले ।
दिनले आधा बाटो हिँडिसकेपछि
बादलको ढोका खोलेर बिस्तारै निस्किएको घामले
साँझ पर्नुअघि नै
एकसरो न्यानो स्पर्शले नछोई हिँड्दो हो त—
हराउने थियो शायद
जिन्दगीबाट एउटा स्वर्णिम गोधूली ।
हुस्सुसँगै फिक्का उदाउने मभित्रको इन्द्रेणीमा
एक धर्को गाढा गुलावी रङ ब्युँझिएपछि
अब मेरो यात्रा —
टुंगियो भनौँ कि सुरु भयो भनौँ ?