२०३७ साल तिरको कुरो हो । जेठी छोरी सिर्जना एक वर्षकी थिइन् । दुःख/सुख गरेर बाँचेको बेला थियो । म साँगाको महेन्द्र निमाविमा शिक्षक थिएँ, भारती शिक्षा सदन बनेपाकी शिक्षिका थिइन् । घरमा बुबा–मुमा हुनुहुन्थ्यो । बुबाको नुन–तेलको पसल थियो । म पसलमा बसिरहेको थिएँ । कहिले काहीँ मात्र पसलमा बस्ने गर्थेँ ।
पसलमा बसिरहँदा एक जना मान्छे अचानक पसल भित्र छिर्नु भयो । अनौठो लाग्दो अनुहार । क्यापले छोपिएको कालो चस्मा लगाएको मुहार । लुङ्गी अघि पारेर खुट्टामा बाँध्नुभएको थियो । हातमा ट्रान्जिस्टर बोक्न भएको थियो । झ्याउरे गीत ठुलो–ठुलो स्वरले घन्काएर आउनु भएको उहाँले मलाई चिने जस्तो गर्नुभयो र सोध्नुभयो— “छोरी कहाँ छ ?” म त अचम्ममा परेँ किनभने मैले उहाँलाई चिन्न सकिनँ । कसलाई छोरी भनेको हो मैले बुझ्न नसकेको हाउभाउ देखेर ‘भारती कता छ’ भनेर सोध्नुभयो । बिस्तारै उहाँको अनुहार मैले चिनेँ । उहाँ त निर्मल लामा पो हुनु हुुँदोरहेछ । भारती र मैले अनुरोध गरेपछि एक रात हामी कहाँ बस्ने हुनुभयो ।
कोही थिएन घरमा । बुबा/मुमा र सानी सिर्जना छोरी मात्र थिइन् । बुबा, मुमासँग परिचय गराइयो । लामाजीकै लागि भनेर खसीको टाउको किनेर ल्यायौँ । खसीको टाउको उसिन्न दियौँ र खसीको टाउको पचाउने खालको झोलको पनि व्यवस्था गर्यौँ । रमाइलो मानेर खानुभयो; खुसी भएर पिउनु भयो । खाजा खाँदै गर्दाको क्रममा उहाँको लाहुरे अनुहारको प्रसङ्ग चलाउँदै मैले सोधेँ — “किन ठुलठुला स्वरमा ट्रान्जिस्टर मा गीत बजाउँदै लुङ्गी र क्याप लगाएर आउनुभयो ?” उहाँले प्रस्ट भन्नुभयो — “निर्मल लामा लाई छोप्न नै यसरी आफूलाई लाहुरेजस्तो बनेर आएको हुँ । कसले अनुमान गर्ला म यसरी हिँड्दा निर्मल लामा भनेर ! सिआइडीको आँखा छल्न, कसैको आँखामा नपर्न नै यसरी लाहुरे भएर आएको हुँ ।” अनौठो लाग्यो र धन्य–धन्यजस्तो लाग्यो उहाँको चातुर्यता । पञ्चायती कालमा अनुहारलाई लुकाउन नसक्दा धेरै खालका दुःख, कष्टहरू भोग्नुपर्छ । लुकी–लुकी हिँड्नुपर्छ, छल्न सिक्नुपर्छ नत्र त धरापमा परिजान्छ । लामाजीले आफ्नो नेता रूपलाई लुकाएर मकहाँ बनेपामा आउन हुँदा लाहुरे दाई बनेर आउनुभयो । मैले जीवनमा कहिल्यै भुल्न नसकिने लाहुरे दाई बनेर आउनु हुँदाको उक्त क्षण जहिले पनि झलझली सम्झना आइरहन्छ ।
त्यत्रो नाम चलेको नेता, नपत्याउँदो किसिमले लाहुरे दाई बनेर आउनुभएको देखेर बुबा–मुमा पनि छक्क पर्नुभयो । कम्युनिस्ट नेताहरूमा निकै सरल, निकै नै खटेल र त्याग–समर्पणकै एउटा नाम बनेर जानुभएका निर्मल लामाले आफूलाई हाम्रो घरमा पाल्नुहुँदा आफ्नो स्वच्छ छवि र सरल व्यक्तित्व देखाउनुभयो । र हामी सबै परिवारका सदस्यहरू विस्मयमा पर्यौँ । बुबाले राजनीतिका केही कुरा उत्सुकता पूर्वक सोध्नुभयो र लामा दाईले बुबाको उत्सुकतालाई सरल ढङ्गले बुझ्ने गरी कुरा फुकाउनु भयो । तार्किक प्रश्नलाई उचित जवाफ दिनुभएर लामा दाइले बुबाको मन जित्नुभयो ।
भोलिपल्ट बिहान मेरा मित्र श्याम श्रेष्ठ, विष्णुदेवी श्रेष्ठ र सानी छोरीसँग भारती, सिर्जना र म भएर निर्मल लामा दाईलाई तातोपानी घुमाउन लाने भयौँ । चार दोबाटो बाट बस चढ्यौँ । रमाइलो मान्दै हामी यात्रामा लाग्यौँ । कम्युनिस्ट आन्दोलनका शिखर भूमिगत नेतालाई सुरक्षित घुमाउन पञ्चायत कालमा निकै गार्हो थियो । तर लामाजी निकै सरल व्यक्ति देखिनुभएर घुम्ने गर्नुभएकोले कसैको पनि आँखा परेनन् । उहाँ भन्नुहुन्थ्यो — “यही सरल लाहुरे भेष र ट्रान्जिस्टर को घन्काइले मलाई कसैले चिन्दैन । तपाईँहरू डराउनुपर्दैन; ढुक्क रहे हुन्छ ।” कुरा बुझाउन खप्पिस, दर्हो विचारका धनी व्यक्तित्व निर्मल लामाको कमजोरी भनौँ वा बानी सम्झौँ उहाँ अलिक रक्सी पिउन पाउँदा खुसी हुने, रक्सी ठाउँ–ठाउँमा लुकाएर भए पनि पिउनुपर्ने बानी–ब्यहोरा अनौठो लाग्दो छ । उहाँ भन्ने गर्नुहुन्थ्यो — “सानो छँदा कोक्रोमा रहँदादेखि दूधजस्तै रक्सी पिएर आएकोले रक्सी हाम्रो ‘नियति’ जस्तो बन्यो । कहिले नखाने जातिकाहरुले पो पिउँदा गाई जात्रा देखाउने गर्छन् । उनीहरू अभद्र व्यवहार गर्छन्, बान्ता गर्ने चलनजस्तै देखाउँछन् र मनपरी गर्न पाउँदा खुसी हुन्छन् । हामीहरूले जातिले पाएर सेवन गर्दै आएको कारणले रक्सी पिएर हामीले कहिल्यै अभद्र गर्दैनौँ । जाति विशेषले पाएको यो गौरवको चलन हो ।” उहाँ भन्ने गर्नुहुन्थ्यो । उहाँको यस खालको साधारण बानी–ब्यहोरा बाहेक अरू कसुर केही देखिँदैन ।
स्वच्छ छवि बोकेका त्यागी राष्ट्रिय कम्युनिस्ट नेतासँग हिँड्न पाउँदा हाम्रो खुसीको सीमा थिएन । तर लामा दाईका लागि त्यो दिन स्वतन्त्र र पिकनिक आएजस्तो महसुस गर्नुभयो । निर्मल लामा दाई पार्टीको काम बोकेर आउनुभएको थिएन यो दिन; उहाँ घुम्न नै आउनुभएको थियो । त्यसैले उहाँ बस जहाँ–जहाँ रोकिए त्यहाँ–त्यहाँ ओर्लिनुभयो मात्र होइन मनको प्यास पनि मेट्नुहुन्थ्यो । उहाँ पाँचखाल ओर्लिनुभयो, दोला घाटमा पनि झर्नुभयो, बस रोकिएको समयमा एक्लै जानुभएर ठाउँ हेर्नुभयो र आफ्नो इच्छा पनि पूरा गर्नुभयो । बलेफी, बार्हबिसेमा पनि बस रोकिएपछि निस्कनुभयो । निस्कने क्रम तातोपानी नपुगेसम्म पनि भयो ।
तातोपानीमा हामी पुग्दा करिब ५:०० बजिसकेछ । तातोपानीमा एक क्षण मुख धुने, नुहाउने काम भयो । तातोपानीको स्पर्श लियौँ । श्यामजी र म होटेल खोज्न गयौँ । ३ वटा कोठाको व्यवस्थापन गर्नु थियो । एउटा होटेलमा व्यवस्था मिलाइयो । बेलुकीको खाना त्यही होटेलमा खाने व्यवस्था मिलाइयो । तर लामा दाई कता हराउनुभयो; हामीसँग थिएन । मनमा तरङ्ग खेल्यो । श्यामजी पनि छक्क पर्नुभयो । विष्णुदेवी र भारती पनि सायद आश्चर्य मानिन् होला ! रात खसिसकेको छ तर लामा दाईको अत्तोपत्तो भएन । बल्ल ७:३० तिर हाम्रो होटेलमा छिर्नुभयो । ‘माथि डाँडामा चढेको । साथीभाइ भेट भयो । निकै रमाइलो भयो । मैले त खाना खाएर आयौँ, तपाईँहरू खानुस्’ भन्नुभयो । एक क्षण कुराकानी गरियो । ‘चीनसँगको मित्रता अगाढ र मैत्रीपूर्ण छ । चीनको सिमानामा आउन पाउँदा निकै खुसी लाग्यो ।” उहाँले भन्नुभयो । श्यामजी र मैले पनि यस्तै कुरा गरेर रात कटाएँ । अनि हामी कोठामा विभाजित भएर सुत्न गयौँ । झ्वार्र झ्वार्र पानीको बहाव एकनासले बहिरहेको थियो । सपनामा पनि भोटेकोसीको शक्तिशाली तरङ्गमा हामी नुहाउँदै थियौँ । रात कटाइयो ।
बिहानको खाना खाएर फर्किने चाँजोपाँजो मिलाइएको थियो । खाना खाइसकेपछि लामा दाई फर्किने बारेको कुरा राख्यौँ । उहाँले ‘हुन्छ’ भन्नुभयो । दिनभर जसो लगाएर हामी तातोपानीबाट फर्कियौँ । बनेपामा पुग्न लाग्दा २०१७ सालको काण्डमा पक्राऊ परेका बनेपाका मित्रहरू विष्णुप्रसाद सेवाचार्य र कुवेर कृष्ण कायस्थ कहाँ छन् भनी सोध्नुभयो । मैले बनेपातिर छन् होलान् भनेँ । हामीलाई डर थियो भूमिगत नेता निर्मल लामा पक्राउमा पर्ला भनेर त्यसैले ठेगाना बताइएन । तर उहाँ निर्भीक र निश्चिन्त रहेछन्, उहाँलाई कसैले चिन्दैन भन्ने कुरामा । हामी बनेपा चार दोबाटोमा झरेर घरतिर लाग्यौँ । निर्मल लामा दाई पनि सँगै थिए ।
एक रात बनेपामा नै बस्ने हुनुभयो निर्मल दाई । खुसी लाग्यो; फेरि एक रात लामा दाई हाम्रो घरमा बस्ने हुनुभयो । खसीको टाउको खोजेर ल्याएँ । इच्छा भोजनसँग बिताइएका निर्मल लामाका श्वास–प्रश्वासहरू छाम्न पाइयो । इतिहासको कालखण्डमा मेरो जीवनले देख्न पाएका र भोग्न पाएका निर्मल लामासँगका क्षणहरू बिर्सि नसक्नु छ । यही बिर्सन गार्हो क्षणलाई जीवनको सुखद क्षण सम्झिएर मेरो जीवन वृत्तमा राखेर नियालिरहेछु ।
०००