कृष्णप्रसाद दुवाल सम्झिना साथ साहित्यको केही नक्सा काभ्रेलीहरूको मन र आँखामा आउँछ होला; आउनुपर्ने हो । साहित्य अध्ययन गर्नेहरू र साहित्यको अन्वेषण गर्न सक्ने मनहरूसँग सोध्नुहोस् सम्भवतः उत्तर पाउनु हुनेछ — उनी त हुन् उनकै कालका सक्रिय साहित्यकार । मलाई यस्तो लाग्छ ‘बनेपाको साहित्यिक इतिहास कोर्दा यदि कृष्णप्रसाद दुवाललाई छुटाइएमा त्यो इतिहास अधुरो रहनेछ । कृष्णप्रसाद दुवाल बेगरको बनेपाको साहित्यिक इतिहास म कल्पना गर्नै सक्दिनँ । यस्तै इतिहासमा बाँची सकेका एक जना साहित्यकार जो नाताले मेरो दाइ पर्नुहुन्छ, मेरा प्रेरणाका स्रोत पनि हुन् । २०१७–१८ सालदेखि निकै सक्रिय रहेर साहित्यिक अभियान सञ्चालन गरेर गएका, नेपाल भाषा र नेपाली भाषाका थुप्रै पुस्तकहरू प्रकाशित गराएर गएका, ‘चिराक’ लगायत थुप्रै साहित्यिक पत्रिका र सङ्ग्रहहरू प्रकाशन गरेर गएका एक जना मिथक जस्तो देखिँदो कृष्णप्रसाद दुवाललाई स्मरण नगर्नु दृष्टि–भूल हुनेछ । राष्ट्र, जिल्ला र आफू जन्मेको बनेपा नगरबाट सम्मानित हुनुपर्ने, इतिहासमा कैद रहनुपर्ने एक जना साहित्यिक अनुहार बिर्सँदै गएकोमा खेद र दुःख लागेकोले बुटवलस्थित साहित्यिक तीर्थ धाममा साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा राख्ने सोच बनाएर उतातिर हामी पुगेका हौँ ।
परिवारजनका फराकिला मनहरूले आर्थिक रूपले साथ दिने वातावरण पाएपछि कृष्णदायीको प्रतिमा स्थापना गर्ने अभियानमा लागेको हुँ । बुटवलको बनगाइमा पुग्ने योजना बनाइयो । २०७८ मङ्सिर २२ गते त्यता तर्फ जाने टुङ्गो लगाइयो । भारती, सिर्जना र म जाने भयौँ । कृष्णदाईका दुई छोरीहरू मिता र सरिता पनि जाने भइन् । भारतीका भाइ दीपेन्द्र, बुहारी विनया, छोरी वर्षा पनि आउने भइन् । मूर्तिकार राजु तुलाधर एक जना बहिनीसँग आउने टुङ्गो दियो । हामी १० दश जना बुटवलको यात्रामा जाने भयौँ । बनेपाका भाइ राजा शाक्यको १४ सिट भएको गाडीमा जाने टुङ्गो लगायौँ । २२ गते बिहानै ५:०० नबज्दै भारती र म घरबाट गाडी रहेको ठाउँमा पुग्यौँ । हिजै उता लाने सामानहरू सबै लगिसकेकाले हामीलाई सजिलो भयो ।
मोटर त चढ्यौँ तर ठाउँ–ठाउँबाट आउनेहरूले अल्छी गर्ला भनेर मोबाइलको घण्टी निरन्तर बजाइयो । मिता र सरितालाई कोटेश्वरस्थित भाटभटेनीको ढोका अगाडि कुर्यौँ । केही क्षणपछि जुवा साहेबले ट्याक्सीमार्फत पुर्याउन आइपुगे । सिर्जना पनि ग्वार्कोमा जुवाई साहेबसँगै पर्खिइराखेकी रहिछन् । सातदोबाटो प्रहरी चौकी अगाडिबाट दीपेन्द्र, विनया र वर्षाह मोटरमा चढे । हामी हुइँकिंदै ताहाचलबाट बाफल पुग्दा कलाकार राजु तुलाधर तम्तयार भई हामीलाई पर्खिइरहेको देख्यौँ । मोटरलाई उनकै बाफलचोक नजिक रहेको घरतिर फर्कायौँ र मूर्ति राख्न दियौँ । राजुले छोरीसँग भएर कृष्णदायीको प्रतिमा ल्याई पुर्याए । सोच अनुसार समयमा नै सबै तम्तयार भयो । बुटवललाई मनमा राखेर बिहान ७:०० बजे नै काठमाडौँबाट हिँड्न सुरु गर्यौँ । अगाडिको सिटमा गुरुजीसँग रम्दै, दायाँबायाँको बाटो नियाल्दै मैले आफूलाई कुदाइरहेँ ।
बाटोमा हिँड्दा जाममा परिएला भन्ने डर, मोटरमाथि कतैबाट केही आपत् आइजाला भन्ने डर, यात्रामा लागेका हामीहरूलाई कतैबाट केही अनावश्यक झन्झट आइदेला भन्ने डर बोकेर हामी कुदिरह्यौँ । मलेखुमा चिया नास्ता चाख्यौँ । मोटरको हँकाइमा केही डर महसुस भएन, अनुभवी गुरुजी बाटोका पारखी भएकै कारणले केही थकाइ, अप्ठ्यारो महसुस गर्नु परेन । नारायण घाटबाट उकालो लागेपछि ठाउँ–ठाउँमा डाइभर्सन बनाउँदै गरेका बाटोको अप्ठ्यारो र धुलामय खालको वातावरणमा पनि हामी एकनासले कुदिरह्यौँ । भाइराजाले ठ्याक्कै एउटा नेवार होटेलमा गाडी थ्याच्च रोके । हामीले यही होटेलमा खाना खायौँ । बाटोको खाना गुरुजीले रुचाइएको होटेलमा नै खानुपर्ने परम्परा थियो; हामीले त्यो परम्परालाई सघाई दियौँ । गुरुजीहरूलाई चित्त दुखाइ दिनुको अर्थ यात्रामा धुमिल वातावरण सिर्जना गर्नुजस्तै हुन्छ । यात्रामा रमाइलो वातावरण नबन्दा जे पनि हुन सक्छ भन्ने अनुभवीहरूको निचोडलाई हामीले पनि स्विकार्यौँ । यात्रामा लाग्दाका अनेकौँ घटनाहरूबाट मैले सिक्न पाएको लागू गर्नुपर्ने यस्तै–यस्तै नियमहरू हुन् ।
ठाउँ–ठाउँमा बाटो बनाउँदै गरेकोले धुलो उडाउँदै, जोल्टिन खप्दै हिँड्नु परेकोले जिउ दुखेजस्तो, कहिले पुगिएला जस्तो हुनु त अस्वाभाविक भएन । कहिले पुग्ने हो बुटवल ? यही प्रश्नमा अल्झेर हामी गुडिरह्यौँ । साँझ खस्न सुरु गर्दै गर्दाको समयमा बुटवल आइपुग्यौ । अझ कुद्नु छ करिब ४० किलोमिटर । बनगाइको कपिल धाममा साहित्य तीर्थ कपिल धाम खोज्दै हामी गयौँ । साँझ खसिसकेको छ । कपिल आरोग्य मन्दिरका अध्यक्ष शङ्कर आचार्य र सक्रिय अभियन्ता ऋषि केशव भारद्वाजहरूसँग भेट भयो । प्रतिमा र शिला पत्र बुझाइयो । भोलि विहानमात्र मिस्त्री डाकेर प्रतिमा स्थापना गर्ने कुरा गरे र हामीहरू बुटवलतर्फ नै फक्र्यौं । माधव नेपालको न्यू एरा होटेल बसपार्क पछाडि नै रहेछ, बल्लतल्ल भेटायौँ, तीनटा कोठामा हामी नौ जना अटायौँ । २० वटा प्रतिमामा माला लगाइदिन २० वटा मालाको जिम्मा सिर्जनालाई दिएँ । । दिनभरको मोटर–यात्रामा सबै थाकेजस्तो देखिएकोले खाना खान सबै तल झर्यौँ, खाना खाइवरी हामी सबैहरू आ–आफ्नो कोठामा उक्लियौँ । जाडो पनि छैन गर्मी पनि होइन ठिकैको मौसममा बुटवल आइपुगेजस्तो भयो । बतास त एकनासले सरसर गरेको गर्यै तर पनि जाडोको त्यति महसुस भएन । हामी सुत्ने नै भयौँ । ती नजना हामीहरू पल्टिइहाल्यौँ । सायद केही क्षणमा नै हामी निदायौँ ।
दलबहादुर गुरुङ (सिद्ध बाबा मन्दिर विकास समितिका अध्यक्ष) तिनाउ–३, पाल्पाले सिद्ध बाबा मन्दिरमा घुम्न आमन्त्रण गरेकोले भोलि जाने सोच बनायौँ । मन्दिरकै आफ्नो गाडी रहेछ लिन पठाउँछु भनेकोले भोलिपल्ट हामी गेटमा पर्खिरह्यौँ । बिहान ७:१५ बजे गाडी आइपुग्यो, बसमा दलबहादुर पनि रहेछन्, एक–अर्कामा मन पराएर आत्मीयता साटासाट गर्यौं । धेरै वर्ष अगाडि नै जनमत पढ्न पाएको जनमतप्रतिको माया दलबहादुर जीले पोखे । उत्निखेर असोज र कार्तिक अङ्क दुइटा जनमत उपहार स्वरूप प्रदान गरियो । पाल्पा जाने अप्ठ्यारो बाटोबाट नै जानुपर्ने रहेछ सिद्ध बाबा मन्दिर । पाल्पाको तिनाउ गाउँपालिकामा अवस्थित यस मन्दिरकै कारणले तिनाउ गाउँपालिकाको शैक्षिक, आर्थिक, सामाजिक, पर्यटकीय तथा वातावरणीय संरक्षणको क्षेत्रमा टेवा पुग्दै आएको देखिन्छ । डाँडाको कापमा रहेको मन्दिरको भौतिक विकास मात्र होइन मन्दिरको आफ्नै एड्स, वेबसाइट, चार भाषामा प्रकाशित हाते पर्चा प्रकाशन भएको देखिन्छ । भर्तृहरि र आदि मानव रामपिथेकसको पनि चर्चा परिचर्चा चलाएर विश्वमा चिनाउन ‘सिद्ध बाबा’ नामक स्मारिका पनि प्रकाशित भएको देखियो । दलबहादुर गुरुङ अध्यक्ष रहेको यस मन्दिरको विकास, निर्माण, प्रसार–प्रकाशनमा यसले दिन दुई गुणा प्रगति पाउँदै गरेको देखिन्छ । अध्यक्ष गुरुङले तलदेखि माथिसम्म घुमाएर मन्दिरको परिचय दिनाका साथै हामीलाई पुस्तकालय देखाउनुका साथै अन्य गतिविधिहरूको जानकारी दिँदै हामी सबैलाई खादा ओढाएर सम्मान गर्दै पण्डितको हातबाट टीका लगाइदिने कार्य पनि भयो । शिष्ट, सभ्य दलबहादुर गुरुङको अक्षर–मोह र लेखकीय भावना भएका बाल साहित्यकार पनि रहेको त्यहाँ बस्दा थाहा लाग्यो । दलबहादुर गुरुङ बौद्ध मार्गी भएर पनि हिन्दु मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष भएर जे जति सेवा पुर्याएको देखियो, त्यो सेवा उल्लेख योग्य रहेको देखियो । गुरुङजीसँग बसेर चिया सम्म पिइयो– हतार भएको कारणले धन्यवाद दिँदै त्यहाँबाट बिदा भयौँ । हामी आएकै बसबाट बसपार्क सम्म पुर्याइदियो ।
बनेपाबाट हामी चढेर आएको मोटरमा तुरुन्तै सबै चढ्यांैं । बनगाइ स्थित कपिल धाम पुग्ने समय भयो । १०:३० बजिसक्यो, १२:०० बजेको कार्यक्रममा भ्याउनु छ । बनगाइमा हुने कार्यक्रम स्थल नजिकैको होटेलमा पुरी पकाउन दियौँ; पेटभरि पुरी राखेर हामीहरू कार्यक्रम स्थलमा पुग्यौँ । ‘साहित्य तीर्थ धाम’ को चौतारीमा मेच टन्न भरिएको छ, प्रतिमा स्थापना भइसकेको रहेछ; हेरियो । मन प्रफुल्लित भयो कुरा भएअनुसार सबै ठिकठाक पारिसकेका रहेछन्; मञ्च माथि चढ्यौँ । अध्यक्ष शङ्कर अर्याल, ऋषि केशव र ऋषि आजादले वचन दिएअनुसार सबैको व्यवस्था गरेर मलाई नै आश्चर्यमा पारिदियो । मन–मनैले धन्यवाद भनियो । कार्यक्रम बनाउन लगायौँ । ऋषि आजाद उद्घोषण गर्न तयार भयो । ठिक १२:३० तिर भैरहवाबाट र बुटवलबाट साहित्यकारहरू आई पुगे । जनमत वाङ्मय प्रतिष्ठान नेपालले प्रसिद्ध बाल साहित्यकार ‘कृष्णप्रसाद दुवाल’ को प्रतिमा अनावरण र सम्मान कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रमको समुद्घाटन र प्रतिमा अनावरण गर्ने कार्य प्रा.डा. कपिल लामिछानेले गर्नुभयो । कार्यक्रम स्थलमा रहेका मेचहरूमा अतिथिहरू टन्न भरिएका छन् ।ती नजना स्रष्टाहरू दलबहादुर गुरुङ, पुरुषोत्तम पाण्डे र हरिप्रसाद भण्डारीलाई जनमतको ‘बाल साहित्य सम्मान’ एक जना स्रष्टा डा. सालिकराम पौडेललाई ‘बाल साहित्य समालोचक सम्मान’ र दुई जना बालप्रतिभाहरु जोशीका कँडेल ‘निशा’ र अस्मिता अर्याललाई ‘बाल प्रतिभा सम्मान’ बाट प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले सम्मान गरे ।
कपिलवस्तु, रुपन्देही, गुल्मी, पाल्पाका तीन दर्जन जति साहित्यकारहरूले कविता वाचन गरेको उक्त कार्यक्रमको सभापतित्व मोहन दुवाल (जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष) र शङ्कर आचार्य (कपिल आरोग्य मन्दिरका अध्यक्ष) ले गर्नुभएको थियो । बटुकहरूबाट स्वस्तिक वाचक गर्दै सुरु गरिएको कार्यक्रमको उद्घोषण ऋषि आजादले गरेको उक्त कार्यक्रममा मूर्तिकार राजु तुलाधरको पनि उपस्थिति रहेको थियो । करिब ३ घण्टा कार्यक्रम भयो । भैरहवा, बुटवलतिरबाट आउनुभएका साहित्यकारहरू वन माली निराकार, बूँद राना, विजय सागर, रुद्र ज्ञवाली, कपिल लामिछाने अन्य उपस्थित हुनुभएका सबै साहित्यकारहरू बस चढेपछि सबैसँग हात हल्लाउँदै हामी पनि आफ्नो मोटरमा चढ्यौँ । हुइँकिँदै मोटर कुद्यो; १०:३० तिर कुरिन टारमा खाना खाने व्यवस्था मिलाइयो, खाना खायौँ । बिच बाटोमा सबै निदाएछ क्यारे; अरूहरूजस्तै म पनि निदाएछु । बिहानको २:३० बजिसकेको रहेछ; थ्याच्च त्रिपुरेश्वरमा मोटर रोक्दा । ३ ठाउँमा जानुपर्नेलाई ३ वटा ट्याक्सी मिलाउन दिइयो । अनामनगर, इमाडोल र ठैवमा कुदे ट्याक्सीहरू । हामी पनि ३:०० बजेतिर बनेपामा पुग्यौँ । आफ्नो कर्तव्य निभाइयो; बुटवलको साहित्य तीर्थ धाममा साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न पाउँदा गौरव अनुभूति भयो ।
०००