लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल साँझ सम्पन्न भएको छ। राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ मा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिएकी थिइन्। केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए।
अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह-आयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’ बोलको गीतबाट सुरू भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन्।
विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरूवात गरेकी ७३ वर्षिया गायिका थापाले ‘म त खाँदिनँ कुवाको पानी, ‘ढुंगे बगर माया, झम्के फूली नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जाँदो रैछ, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाइ हो’ लगायत गाएकी थिइन्।
कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन्। ‘दाइ काँ को’ बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए। एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज खुसी रहेको बताए।
‘मेरो सपना पूरा भयो। आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो। आमालाई यसरी नै आगामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,’ उनले भने।
५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत गाइसकेकी छन्। उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, विरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छन्।