युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ ।
सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एघार हजार राशिसहित सम्मानपत्र र स्मृति चिन्ह प्रदान गरिनेछ । सो निर्णय संवाद सन्जाल परिवार चयन समितिको सिफारिसमा गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहनुभएको छ ।
यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत हुनुभएको थियो ।