मगर आदिकविद्धय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको योगदानको चर्चा गरिएको छ । जनगणनाको तथ्यांकअनुसार मगर जातिको जनसंख्या २० लाख १३ हजार ४ सय ९८ रहेको छ । मगर जातिभित्र ढुट, खाम, काइके र तिछुरोङ पोइके भाषा बोलिन्छन् । त्यसमा मगर ढुट भाषा बोल्नेको संख्या ८ लाख १० हजार, मगर खाम बोल्ने ९१ हजार ७ सय, मगर काइके बोल्ने १ हजार २ सय र तिछुरोङ पोइक बोल्न ४ सय १० जना रहेका छन् ।
जितबहादुर सिंजाली मगरको जन्म १९८८ जेठ १८ गुल्मीमा भएको थियो भने २०७५ पुस ८ मा निधन भएको थियो । रेखबहादुर थापा मगर २००१ भदौ २८ गते तनहुँमा जन्मेका थिए भने २०६१ असार २९ गते निधन भएको थियो । यी दुवै कविले संयुक्त कविता संग्रह ‘मगर भाषाङ ल्हीङ ड टुक्कौ किताब’ (मगर भाषामा गीत र टुक्काको किताब) प्रकाशित गरेका थिए । मगर ढुटमा प्रकाशित उक्त संग्रह मगर भाषाको पहिलो कविता कृति थियो । त्यही आधारमा नेपाल मगर संघले २०५१ सालमा कविद्वय जितबहादुर र रेखबहादुरलाई आदिकवि घोषणा गरेको थियो ।
अहिलेसम्म मगर भाषाका १ सय ९६ कृति प्रकाशित छन् । जसमा सबैभन्दा धेरै मगर ढुट भाषामा १ सय ५७ वटा रहेका छन् । मगर खाममा ३६ वटा र मगर काइकेमा एउटा कृति प्रकाशित छन् । यसबाहेक तीनवटै भाषाको संयुक्त कृति २ प्रकाशित छन् । ढुट भाषामा ५ कक्षासम्म र खाममा २ कक्षासम्म पठनपाठन भइरहेको छ । सिक्किममा मगर ढुटमा ८ कक्षासम्म पठननपाठन हुँदै आएको छ । मगर भाषा लेखनमा अक्खा लिपि प्रयोगमा रहेको छ । गोष्ठीमा भाषाशास्त्री पूर्णबहादुर राना मगरले आदिकविद्वयको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने मगर भाषा पाठ्यक्रम संयोजक मनबहादुर थापा मगरले टिप्पणी गरेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा आयोजित गोष्ठीमा मगर आदिकविद्वयको योगदानको चर्चा गरिएको हो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले गोष्ठीको उद्घाटन गर्दै भाषा ज्ञानले जुनसुकै समुदायमा घुलमिल गर्न सकिने र आत्मीयता बढ्ने बताइन् । त्यसैले मुलुकमा विद्यमान मातृभाषाहरूको संरक्षण हुनुपर्नेमा जोडदिइन् ।
‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ नारासहित मुलुकमा बोलिने भाषा र साहित्यमा योगदान पुर्याउने सर्जक घोषणा गरिसकेको आदिकविको जन्मजयन्ती मनाउनु सार्थक हुने प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बताए । उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङ, लेखक सञ्जोग लाफा मगर, श्याम राना मगरले विचार राखेका थिए ।