शुभकामना छ तिमीलाई
अबिरल बगिरहनु
नदी जस्तै
तर नबन्नु नदी
जसलाई हेक्का नै हुँदैन
आफुले अँगाल्दै छोडेका किनारहरुको
जसलाई याद नै हुँदैन
लम्किँदै छुँदै हिँडेका मिनारहरुको
जसलाई सम्झना नै छैन
हात समातेर बगेका ती बुट्यानहरुको
जसलाई मतलव नै छैन
उसकै देहमा लपेटिँदा –लपेटिँदै
टुक्रिएर बालुवा बनेका चट्टानहरुको
उसलाई महत्व नै छैन
ऊसँग मिसिएर अस्तित्व हराएका
छहराहरुको, कुवाहरुको अनि कुलाहरुको ।
नदीले कहिल्यै बुझेन
बग्नुको अर्थ
मुहान बिर्सनु होइन
छुट्नुको अर्थ
यादहरु मेट्नु होइन
सागरमा मिसिनुको अर्थ
मौलिकता मेट्नु होइन ।
उचाई चुम्न हिँडेको मेरा प्रिय मान्छे
हरेको मान्छेका दुइटा छायाँ हुन्छन्
एक– आफ्नै
जुन तिमी आफुसँगै हिड्छ
अर्को– आफ्नाको
जुन तिम्रो आत्मासँगै हिँड्छ ।
बिन्ती छ
नबन्नु नदी
जसको न आफ्नो छायाँ हुन्छ
न त आफ्नाको मायाँ हुन्छ ।