जनमतको २०५८ सालको वार्षिकोत्सवमा प्रमुख आतिथ्य गर्न बनेपामा पुग्दा मैले यिनलाई नजिकैबाट चिन्न पाएको हुँ । जनमत मासिकमा लैनसिंह बाङ्देल विशेष अङ्क निकाल्ने क्रममा केही दिन यिनको घरमा धाएको याद छ । जनमतको विशेष अङ्क तयारी गर्दागर्दै बाङ्देलको अवसान भयो । २०५९ चैत्रमा बाङ्देलका जीवनसँगिनी मानु बाङदेललाई उक्त पत्रिका जनमतको उक्त सभामा प्रदान गरेको सम्झना छ । ९० औं वर्षगाँठको अवसरमा कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देललाई समर्पण गर्दै संस्मरण स्वरुप यो लेख प्रकाशित छ ।
“साहित्यकारहरु भनेका जन चेतना फैलाउने मूल प्रवाह हुन् र राष्ट्रियताको ऊर्जा दिने पुञ्ज हुन्”– उक्त भनाइ वरिष्ठ साहित्यकार तथा कलाकार लैनसिंह बाङ्देलले साहित्यकारहरु र कलाकारहरुका दायित्व सम्बन्धमा र उनीहरुले रोज्नुपर्ने बाटोहरुबारे व्यक्त गरेका हुन् । चित्रकारिता सम्बन्धमा पनि उनी आफ्नै दृष्टि यसरी राख्ने गर्छन् –“जीवनमा घटित वा घट्न सक्ने सम्भावनाहरुको वस्तुसापेक्ष चित्र नै यथार्थ हो । तसर्थ यथार्थ कल्पना होइन, प्रत्यक्ष सत्य हो ।”
साहित्यकारहरु र कलाकारहरु राष्ट्रका सबल निधिहरु हुन् । राष्ट्रका निधिहरुलाई एउटा समूह, पार्टीका पेवाका रुपमा मात्र सीमित गरिनु हुन्न । साझा र सम्मानित देशकै व्यक्तित्वका रुपमा उठाउनुपर्छ । यसरी सटिक ढङ्गले उनले आफ्नोविचार ठाउँ–ठाउँमा सन्दर्भ पारेर उल्लेख गरेको देखिन्छ । कला र संस्कृति लोप हुँदै गएको आजको स्थितिमा चिन्ता व्यक्त गर्दै उनले आफ्नो विचार यसरी राखेका छन् –“राष्ट्रियताको भावनामा विचलन देखिएको अवस्था र यस्तो अवस्थामा विशुद्व साहित्यिक पत्रपत्रिकाहरुलाई संरक्षण र प्रोत्साहन दिइनुपर्छ । एकेडमीलाई केन्द्रमा मात्र सीमित नराखी क्षेत्रीयस्तरमा फैलाउनुपर्छ र सबै क्षेत्रका साहित्यकारहरुलाई समान अवसर प्रदान गरिनुपर्छ ।”
शिष्टताका धनी, नम्रताका उदाहरण, प्रतिभाका सबल हस्ताक्षर लैनसिंह बाङ्देल पेरिसजस्तो अति व्यस्त, मस्त र चुस्त शहरमा रहँदा पनि आफ्नो मौलिकतालाई किच्न दिएनन् । उनले यूरोपका ठूलाठूला सुविधासम्पन्न नगरमा रमेर पनि मुनामदनका दुःख र दर्दहरु कलामा सजाउन सक्रिय रहे र नेपालको वास्तविक चित्रण भएको चित्र कोर्न रमाए । सभ्यताकै नाम र घामजस्तै चुस्त भइदिएका छन् – लैनसिंह बाङ्देल । निरन्तरताकै सुन्दर आयामभित्र रमेका बिम्बजस्तै उदाहरण भइदिएका छन् उनी । पूर्वाग्रह नराखी भन्न सकिन्छ उनी कलाक्षेत्रमा जाज्वल्यमान हिमाल हुन् । साहित्यिक लेखनक्षेत्रका एउटा राम्रो सामाजिक यथार्थ लैनसिंह बाङ्देललाई हेरेर भन्न सकिन्छ उनी नेपाल देशभित्रकै एउटा सुगन्धमय सुन्दर फूल हुन् ।
चित्रकलाको इतिहासमा एउटा महत्वपूर्ण नाम । प्रवासमा जन्मेर पनि नेपाल र नेपालीको औधी माया र प्रेम गर्ने एउटा सबल स्रष्टा । विषम समाजको पृष्ठभूमि व्यक्त गर्न सिपालु उपन्यासकारका रुपमा चिरपरिचित लैनसिंह बाङ्देलले दार्जीलिङ्गमा कक्षा सातमा भर्ना हुनु अघिदेखि नै चित्रकलामा आफ्नोरुचि देखाएर जीवन्तता प्रकट गरेका हुन् । त्यसबेलादेखि उनी निरन्तर चित्रकारितामा लागेर वि.सं. २००२ सालमा नै चित्रकलामा डिप्लोमा उत्तीर्ण गरे र कलाकारितामा आफ्नो आयाम बनाउन सफल भए । लगनशीलता, विश्वास र निष्ठाका धनी मान्छे भनेर विवेचना गरिदिंदा अप्ठ्यारो नहुने लैनसिंह बाङ्देलले कलाक्षेत्रका साथै साहित्यिक सिर्जनामा पनि उल्लेखयोग्य कृतिहरु प्रकाशित गराएका छन् । उनले लेखेका पुस्तकहरुमायुरोपका चिठ्ठी(ई.सं. १९५७),स्पेनका सम्झना (२०२१),रोमको एउटा फूल र प्यारिसको एउटा काँडा (यात्रा संस्मरणका पुस्तकहरु) र यस्तै सामाजिक यथार्थताका चित्रहरु खिचेर लेखेका उनका उपन्यासहरुमामुलुक बाहिर (२००४), माइतघर (२००५), लङ्गडाको साथी (२००८) र रेम्ब्रान्ट (२०२६) छन् ।
साहित्यमा पनि आफ्नै पहिचान र मौलिकता देखाउँदै आएका साहित्यकार लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८१ तिर अर्थात् इ.सं. १९२४ डिसेम्बर २१ मा दार्जीलिङ्गमा पिता रङ्गलाल र माता चन्द्रमाया बाङ्देलको कोखबाट भएको हो । सानैछँदादेखि नै सम्वेदनशील स्वभावका लैनसिंह बाङ्देललाई आफ्नी हजुरआमाले नेपालका बारेमा सुनाएका कथाले मर्माहित बनाएको र नेपालप्रति गहिरो छाप पारेको देखिन्छ । यस्तै प्रभावमा परेर पेरिसमा रहँदारहँदै राजा महेन्द्रको विशेष आग्रहमा नेपाल फर्केका उनी आफ्नो भनाई यसरी राख्ने गर्छन् –“नेपाल आउन पाउ“दा मलाई सा¥है खुशी लाग्यो । यहाँ आएर आफ्नो देशको कला र साहित्यको सेवा गर्न पाएको छु । यो मेरो निम्ति ठूलो सौभाग्य हो । नेपाल आमाको ऋण तिर्न पाएकोमा खुशी छु । यसर्थ मजस्तो भाग्यमानी कोही छैन जस्तो लाग्छ । यदि नेपाल आउन नपाएको भए प्रशस्त धन पैसा कमाए पनि साधारण मान्छे भएर युरोप अमेरिकातिर मेरो जीवन बित्ने थियो ।”
नेपालको भनेर चिनाउन पाउँदा आफूलाई भाग्यशाली सम्झिने लैनसिंह बाङ्देलले मानु क्षेत्रीसँग पेरिसमा नै विवाह सम्पन्न गरेका थिए । राई र क्षेत्रीबीचको यो सम्बन्ध एउटै पत्रिकामा दुई जनाको लेख छापेपछि नजिक तुल्याइदिएको हो । उनीहरुकै कोखबाट जन्मेकी एउटी छोरी डिना बाङ्देल पि.एच.डि. सिध्याएर अमेरिकामा नै प्राध्यापन गर्दै छिन् । छोराछोरीको केही भेद नराख्ने बाङ्देल मानु बाङ्देलसँग रमेर जीवनका क्षणहरु बिताएर गएको देखिन्छ । जीवनका धेरैजसो क्षणहरु कलासिर्जना र साहित्य लेखनमा बिताएर गएका बाङ्देलले चार हजार ओटाभन्दा बढी त पेन्टिङ मात्र छोडेर गएका छन् । उनी कलामा मात्र नभई साहित्यिक कृतिमा पनि स्मरणीय प्रतिभाका रुपमा चर्चित भएर गए ।
वि.सं. २०१७ सालमा पहिलोपटक काठमाडौं आएका बाङ्देल र उनकी श्रीमतीलाई राजा महेन्द्रको आदेशानुसार श्रीमती बाङ्देललाई प्रसूतिगृहमा र लैनसिंह बाङ्देललाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यमा व्यवस्था मिलाइदिएको देखिन्छ । वि.सं. २०३० सालमा प्रज्ञा प्रतिष्ठानको उपकुलपति पदमा, २०३५ सालमा पहिलोपटक कुलपति र २०४० सालमा दोस्रोपल्ट कुलपति नियुक्ति पाएका लैनसिंह बाङ्देलले ने.रा.प्र.प्र. मा २८ औं बर्ष सेवा पु¥याएको देखिन्छ ।
नेपाली साहित्यकारहरुमध्ये बालकृष्ण सम र गुरुप्रसाद मैनालीलाई अत्यधिक मन पराउनुहुने लैनसिंह बाङ्देलले विदेशी साहित्यकारहरुमा ह्यामशन र तुर्गनेभ बढी मन पराएको देखिन्छ । खानामा गुन्द्रुकको अचार खान पाएपछि मीठो मानेर खाने उनलाई गुलाफी रङ्ग सबभन्दा बेसी मन परेको बताउने गर्छन् । आशावादी जीवनको दृष्टि मनमा साँचेर सिर्जनाका डोबहरु छोड्दै बाँचेका लैनसिंह बाङ्देल साहित्य रचनाले र अरु मन पर्ने गद्यरचनाहरु पढ्नाले जीवनलाई सधैं ज्ञान र आनन्द दिन्छ र यस्तो आनन्द अरु कुनै माध्यमबाट पाउन सकिंदैन भन्ने गर्छन् ।
सानैदेखि प्रकृतिसँग बसेको हुँदा प्रकृतिबाट नै साहित्यलेखनको प्रेरणा पाएको बताउने लैनसिंह बाङ्देलले प्रकृति र जीवनको सामीप्यबारे, प्रकृतिको गहनता र सुन्दरताबारे र प्रकृतिको महत्व र गेयताबारे थुप्रै चित्रहरु र साहित्यका अनुभूतिहरु पोखेका छन् । युरोपका जम्मैजसो देश चाहारिसकेर त्यहाँको संरचना, धारणालगायतका क्रिया–प्रतिक्रियाका ज्ञाता कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देलले कहिल्यै पनि नेपालको दयनीताबारेको आत्मग्लानिलाई आफ्नो मनमा ठाउँ दिएनन् ।नेपालको कायापलट फेर्न नेपालीहरु नै लाग्नुपर्छ । नेपालीहरुको भावनामा संस्कृतिको माधुर्य कञ्चन ढङ्गले सम्प्रेषण गर्नुपर्छ – उनी सन्दर्भमा भन्ने गर्छन् । यस्तो भावना राख्ने उनले साहित्यका महत्वपूर्ण पुस्तकहरुमात्र लेखेनन्, अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त गरेका कलासम्बन्धी पुस्तकहरु पनि नेपालीहरुकै पहिचान छोड्ने गरी प्रकाशित गराएका छन् । उनका कलासम्बन्धी प्रकाशित पुस्तकहरुमा प्राचीन नेपाली चित्रकलाको इतिहास (२०३४), प्राचीन नेपालको मूर्तिकलाको इतिहास (२०३९), इयर्ली स्कप्चर अफ नेपालीज आर्ट (२०४३), द्दछण्ण् इयर्स अफ नेपालीज आर्ट (२०४३), इस्टोलन इमेज अफ नेपाल (२०४५) रइभेन्टोरी अफ स्टोन स्कप्चर अफ द काठमाडौं भेली (२०५३) आदि छन् ।
यूरोप र अमेरिकाजस्ता अति विकसित देशहरुमा त्यहाँका जनताले नै तारिफ गर्ने गरी चित्रकला प्रदर्शनी गर्ने पहिलो नेपाली पनि उनी नै हुन् । युरोपको जर्मनी, फ्रान्स र ब्रिटेनलगायतका देशहरुमा उनले पाँच पटकसम्म एकल चित्रकलाप्रदर्शनीको आयोजना गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान देखाइसकेका छन् । कलाकार लैनसिंह बाङ्देलले आफ्नै पिता रङ्गलाल बाङ्देल स्मृति पुरस्कारको पनि व्यवस्था गरे । नेपाली कलाक्षेत्रमा नीजिस्तरमा स्थापना भएको यो उत्साहजनक स्मृति पुरस्कारका संस्थापक भई कलाकार लैनसिंह बाङ्देलले कलाकारिताकै इतिहासमा एउटा नयाँ ढङ्गको श्रृङ्खला पनि छाड्न सफल भए । दुई सय एकतीस जना कलाकारहरुको सहभागिता रहेको उक्त बृहत् नेपाल कलाप्रदर्शनी आयोजना हुनु कलाकै उत्थान र कलाकारहरुकै प्रेरणाका लागि अति गरिमापूर्ण कार्य हो भनी स्वीकार्न सकिन्छ । यस किसिमका महत्वपूर्ण कार्यका संस्थापक लैनसिंह बाङ्देलले कलासम्बन्धमा आफ्नो विचार प्रकट गर्दै भनेका छन् –“कला र संस्कृति भनेको राष्ट्रको मुटु हो । त्यसलाई छाम्दा राष्ट्रको मुटु थाहा पाइन्छ । हाम्रो कला र संस्कृतिको विकास र सम्बद्र्धनका लागि राष्ट्रले अरु विकासका क्षेत्रमा जति लगानी गरेको छ त्यसको तुलनामा नेपाली कला र संस्कृतिको सम्वद्र्धनमा जति प्रतिशत छुट्याइएको छ त्यो एकदम नगण्य छ । कलाका लागि राष्ट्रले कति खर्च गरेको छ त्यो कुरा त सबैलाई थाहै छ । अरु कुरालाई छोडेर पुरस्कारको रुपमा मात्रै भए पनि सरकारले पन्ध्र–बीस लाख छुट्टै वार्षिक रकम छुट्याइदिनुपर्छ ताकि त्यसमा समर्पित कलाकारहरुले केही राहत, केही उत्साह, केही प्रेरणा पाउन सकून् –कलाकारहरुले आफ्नो देशका लागि केही न केही कामहरु गर्न सकून् ।”
कलाको खोजमा, साहित्य अनुभूति पोख्नमा, साहित्य तथा कलाको गोष्ठी–सङ्गोष्ठीमा र नेपाली कलाको बृहत् इतिहासलेखनमा सधैं सक्रिय लैनसिंह बाङ्देल राष्ट्रका लागि अमर विभूति हुन् । कलाकै खोज र अन्वेषणबाट जीवन भोग्दै गरेका लैनसिंह बाङ्देल नेपाली कलाकारिताको इतिहासमा उल्लेखनीय नक्षत्र हुन् । पुरातत्व विभागले पनि खोज्न नसकेका कला खोज गर्न सिपालु चर्चित अन्वेषक हुन् – लैनसिंह बाङ्देल । यस्तै उल्लेखयोग्य कार्यहरु गरेर कला र साहित्यमा सेवा पु¥याएबापत उनलाई २०५५ सालको भानुजयन्तीमा बग्गीमा राखी काठमाडौं नगरपरिक्रमा गरी सम्मान प्रकट गरिसकेका र अन्तर्राष्ट्रिय स्तरमा पनि थुप्रै संघ–संस्थाबाट सम्मानित भइसकेका व्यक्तित्व हुन् ।
उनको कलाप्रतिको हेराइ र क्रियाशीलता हेरेर सबैजसो कलापारखीहरु उनीप्रति ज्यादै नतमस्तक रहेर श्रद्धा व्यक्त गर्ने गर्छन् । नरम र सरल स्वभावका लैनसिंह बाङ्देल लब्धप्रतिष्ठित, कुशल शिल्पी र आधिकारिक विद्वान्का रुपमा राष्ट्रमा प्रख्यात थिए । दिक्तेलको रावा खोला पुख्र्यौली घर भएका बाङ्देललेसाहित्य भनेको भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो भनेर गए । जुन कुरा पढ्नाले शिक्षा दिन्छ, ज्ञान दिन्छ, आनन्द दिन्छ त्यसैलाई म साहित्य भन्छु –साहित्यको परिभाषामा विचार पोख्ने गर्छन् । उनको भनाइमा साहित्यले समाजलाई केही दिनुपर्छ, समाजलाई केही प्रयोजन नहुने साहित्यको प्रभाव समाजमा पर्दैन । यसै सम्बन्धमा उनी यसरी विचार राख्ने गर्छन् –“हालको साहित्यले समाजलाई त्यति फाइदा गरेजस्तो लाग्दैन । पहिलेका कविलेखकहरु जस्तै ः देवकोटा, सम, सिद्धिचरण, लेखनाथ, गुरुप्रसाद मैनाली आदिले लेखेर गएको जस्तो साहित्य अब कहाँ पाउनु ?”
“जीवनबाट म कहिल्यै निरास भएको छैन । बिहान उठ्छु, अलिकति हिंडडुल गर्छु, चिया खाना खान्छु, आफ्ना फूलबारीहरु हेर्छु, मलाई गुलाफ सबभन्दा ज्यादा मनपर्छ । हेर्छु, फूल्न आँटेछन् भनेर खुसी हुन्छु, केही चित्र कोर्छु । दिउँसोको भोजन गर्छु, फेरि पुस्तकहरु पल्टाउँछु, लेख्छु, अध्ययन गर्छु, अनि त्यत्तिकै साँझ पर्छ । टी.भी.मा समाचार हेर्छु । बेलुकीको भोजन खान्छु । नौ–दस बजेतिर सुत्छु । राति उठ्छु, केही कामहरु गर्छु, लेख्छु र चित्रहरु कोर्छु ।”सिर्जनाका धनी कलाकार तथा वरिष्ठ साहित्यकार लैनसिंह बाङ्देल आफ्ना अद्वितीय ऐतिहासिक सिर्जनाहरु देश र देशवासीका लागि अर्थात् मान्छेका लागि बाँड्न सेवारत हुँदाहुँदै २०५९ मा यस धर्तीबाट बिलाएर गएका छन् – उनको सम्झना सधैं जीवन्त रहिरहनेछ ।