विश्वेश्वरप्रसाद कोइरालाको बहु आयामिक व्यक्तित्व माथि जानकारी गराउने उद्देश्यले कांग्रेसले सुरु गरेको साहित्यिक महोत्सव आइतबार सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु तीनदिने महोत्सवको पहिलो दिन चार विधाका सेसन सकिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे लगत्तै महोत्सवमा साहित्यकार अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनबारे अभिव्यक्ति दिएका थिए। त्यसपछिको सत्रमा ‘बीपीका दृष्टिमा बीपी’ शीर्षकमा भुवन ढुंगाना, कृष्ण खनाल र सीके लालले बहस गरे। ‘बीपीको आख्यान’ मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्र्रतीक्षा वक्ता थिए।
साहित्यमा पर्यावरण’ शीर्षकमा अम्मरराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ता थिए। नेपालको मातृभाषा साहित्यका विषयमा बमकुमारी बुढा मगर, अमृत योञ्जन, चन्द्रकिशोरले बहस गरेका थिए। प्राध्यापक कृष्ण खनालले समकालीन नेताहरूले बीपीको चरित्र अनुसरण नगरेको बताए। नेताहरूमा ‘मै जान्ने, म सुन्ने, अरू कसैले जानेको छैन’ भन्ने अहंकार पलाएकाले राजनीतिमा विकृति भित्रिएको बताए। सभापति देउवाले राजनीतिमा मात्रै नभएर साहित्यमा समेत बीपीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै कांग्रेस बीपीको बाटोमा हिँडिरहेको दाबी गरे। तर, त्यसपछि विभिन्न सत्रका वक्ताहरूले भने बीपीको दर्शन र चरित्रमा कांग्रेस नचलेको बताएका थिए। बीपीमाथि बहस भइरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको काम गर्ने शैली र प्रवृत्तिमा आमूल परिवर्तन गर्न खोजिएको बताए।
सोमबारका सत्रमा ‘मार्क्स, गान्धी र बीपी कोइरालाका लोकतान्त्रिक समाजवादीको खोजी’ को विषयमा आनन्दकुमारले बोल्नेछन्। ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले, मञ्चला झा, ‘बीपीका आख्यानमा मधेश’ मा सनत रेग्मी, नयनराज पाण्डे, सञ्जिता बर्मा, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ शीर्षकमा बाबुराम भट्टराई, नारायण खड्का, प्रदीप ज्ञवाली र इन्द्र अधिकारी वक्ता छन्। त्यस्तै ‘युवा स्रष्टामा बीपी पठन’ बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईले आफ्नो भनाइ राख्दै छन्।