बालसाहित्य सर्जक माधव सयपत्रीको बाल उपन्यास ‘साहसी साथी’ हालै बजारमा आएको छ । ०६८ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त उपन्यासमा बाल अधिकारको कुरालाई केन्द्रमा राखिएको छ ।
उपन्यासमा चार बालबालिकाहरु रमा, ललिता, कृष्ण र मधुकरको कथा समावेश छ । बुबा नभएकी रमा, आमा नभएकी ललिता र बुबा आमा दुवै नभएका दाजुभाइ कृ्ष्ण र मधुकरले आफ्नो अधिकारका साथसाथै पढाइका लागि गरेको संघर्षलाई सयपत्रीले उपन्यासमा उनेका छन् । उपन्यसामा उनीहरुको परिवार, दुख, व्यथा, संघर्ष र खुशी अटाएको छ । आफ्नो अधिकारका लागि रत्तीभर पछि नहट्ने हक्की बालबालिकाको अदम्य साहसलाई उपन्यासले उजागर गरेको छ ।
निम्न आयभएकै कारण पेशा गर्दा बाबुआमाले पाएको दुख र दुर्व्यवहारलाई बालबालिकाको आँखाबाट देखाइएको छ । साथै सडकमा फालेका सरसामग्री बटुलेर आफ्नो खर्च जुटाउँदा उनीहरु आफैंले भोगेका अनगिन्ती चोटहरुलाई उपन्यासमा उतारिएको छ । चार बालबालिकाहरुको विगत झन् कहालीलाग्दो छ । माओवादी–सेनाबीचको सशस्त्र द्वन्द्वमा रमाका बाबु बेपत्ता छन् भने कृष्ण र मधुकरले बाबु–आमा नै गुमाएका छन् । त्यस्तै, ललिताले पहिरोमा आमा गुमाएकी छन् ।
यी बालबालिकाको विगत पीडादायी हुँदाहुँदै पनि उनीहरुले संघर्ष गरी भविष्य सुखमय बनाएका छन् । आमा नभएकी ललिता र बुबा नभएकी रमाले आफूहरुबीचको अभाव पूर्ति गर्न आफ्ना एकल बुबा र आमाको बिहे गराउन अघि सरेका छन् । अभाव र अभिभावकत्व पूर्ति गर्ने उनीहरूको सोच दूरगामी र प्रगतिशील छ ।उनीहरु माध्यमिक तहको शिक्षा पार गरेपछि आफूजस्तै अवस्थाका सडक बालबालिका र अधिकारका लागि कटिबद्ध भएको कुरा अन्य बालबालिकाका लागि पक्कै प्रेरणादायी हुनेछ ।
सयपत्रीको यसअघि ‘पांग्रे’ नामको बाल उपन्यास प्रकाशित छ भने दर्जनभन्दा बढी बालकथाहरु प्रकाशित छन् । रमेश डंगोलका आकर्षक चित्रहरु समावेश ‘साहसी साथी’लाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो । किताबको मूल्य २५० रुपैयाँ रहेको छ ।