तिम्रा खुट्टाले
यो माटो दब्नुपर्छ अझ तल
रबरजस्ता खुट्टा घरमा थन्क्याएर
किन
यी बूढा खुट्टा सापटी मागेको ?
आफ्नै खुट्टाले हिड्नुपर्छ बाटो
तिम्रा खुट्टा
कुने ईश्वरले बनाएका थिएनन्
जसलाई धरतीमा हिँड्न
कुनै साइत चाहियोस्
तिम्री आमाका मुटु–कलेजो
बाका आँखाको पसिनाले
निर्मित खुट्टा
काँधमा हालेर
किन यसरी
यी रोगी खुट्टाबाट यात्रा गर्दै छौँ
हिँड्नुपर्छ आफ्नै खुट्टाले
अनि, तरिन्छन् भेलहरू
अनि, पार गरिन्छन् पहिराहरू
योे सानो नानीलाई हेर त
आमाको काखबाट ओर्लिएर भुइँमा
कसरी हिँडाइको गर्व गर्दै छ !
यो धरतीमा
तिम्रै खुट्टाको छाप रहनुपर्छ
अनि, एउटा बाटो तेर्सिन्छ
तिम्रो भविष्यलाई
कहिले नाकै नभएकाहरूका
काँधमा चढेर हाँसिरहेको देख्छु
कहिले नाक लामो भएकाहरू,
जसको नाकले सधैँ ढलमात्र छोइरहन्छ
तिनीहरूका हातबाट
ताली बजाइरहेको देख्छु
हिँड्दा आफ्नै खुट्टा फट्कारेर हिँडे
कैयौँ दुःखहरू टाङमुनि छिर्छन्
अरूका खुट्टा उचाली हिँड्दा
कैयौँ खुशीहरू टाङमुनि पर्छन्
बेलुन अकासिएर के गर्नु
फुटेको समेत पत्तो हुँदैन !