काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे ।
कलिङ साहित्यिक महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदानप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए । अर्का वक्ता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोहीअनुरुप महत्त्व नदिने धारणा राखिन्। आगामी शृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन् ।
प्राध्यापक माधवप्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताए ।