पद्मश्री साहित्य पुरस्कार-२०७९ का लागि संक्षिप्त सूची सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दोस्रो चरणमा १५ पुस्तकमध्येबाट ५ पुस्तकलाई संक्षिप्त सूचीमा छनोट गरेको हो । निर्णायक मण्डलको सिफारिसबमोजिम विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) का रूपमा सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले शनिबार बिहान जानकारी दिएका छन् ।
सर्टलिस्टमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ परेका छन् । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
प्रतिष्ठानले चयन प्रक्रियाको पहिलो चरणमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो ।