डर लाग्छ मलाई तक्मा देखि
पुरस्कारका गोला देखि डर लाग्छ ।
मान्छे बगाउने खोला देखि डर लाग्दैन
कुममा झुन्डिने झोला देखि डर लाग्छ ।
सामन्त देखि डर लाग्दैन
डर लाग्छ सन्त देखि ।
शत्रु देखि डर लाग्दैन
लाग्छ डर आफन्त देखि ।
गाली देखि डर लाग्दैन मलाई
ताली देखि डर लाग्छ ।
गोली देखि लाग्दैन डर
चिप्लो बोली देखि डर लाग्छ ।
ठडिने देखि डर लाग्दैन, झुक्ने देखि डर लाग्छ
भुक्ने देखि डर लाग्दैन, लुक्ने देखि डर लाग्छ ।
बिजुलीको नाङ्गो तार देखि डर लाग्दैन मलाई
लुगा फुकालेर नाङ्गो हिँड्ने समाचार देखि डर लाग्छ ।
मेरो सरकार
पिएर बेसुरमा हल्लिँदै आयो भने डर लाग्दैन,
तर उसले,
नपिएरै सुरमा राष्ट्रिय गीत गायो भने डर लाग्छ ।।